बादल पारीको कला

सुनिल राज ढकाल
सुनिल राज ढकाल २३ असार २०७९, बिहीबार ०६:००
7 Min Read
Aa

क्लासिक ग्यालरी, चाकुपाटमा असार १८ गते देखि २६ गतेसम्म (जुलाई २ देखि १० तारिक) बादल पारीको कला या भनौँ वियोन्ड द क्लाउड्स शिर्षकको कला प्रदर्शनी भइरहेको छ । अमेरिकामा बस्ने विभिन्न किसिमका अपाङ्गता भएका मानिसहरुको कलालाई नेपालमा ल्याई कलाकार सुनिला बज्राचार्यले आफ्नै क्युरेसनमा उक्त प्रदर्शनी गरेकी हुन् । नेपाल आउनु अगाडि यस्तो किसिमको प्रदर्शनी गर्ने बारे सोचाइ नभएको बताउने सुनिला यहाँ आउँदा भने त्यहाँ आफुले काम गरिरहेको संस्था ‘सेडार्स एण्ड मरिन’मा काम गर्दा त्यहाँका विभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरुको कलालाई एकै थलोमा प्रदर्शनीमा ल्याएको बताउँछिन् । अमेरिकामा बस्दा त्यस्ता अपाङ्गता भएका व्यक्तिहरुलाई गरिने व्यवहारबाट निकै प्रभावित भएकी उनी नेपालमा भने अझै पनि त्यस्ता अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएकोमा, दृष्टिकोण बदलिनु पर्दछ भन्ने सोचका साथ बादल पारीको त्यस्तै व्यक्तिहरुले बनाएको कलालाई प्रदर्शनीमा राखेकी छिन् ।

नेपालमा भने अटिज्म, डाउन सिन्ड्रोम, अन्धोपना, प्यारालाइसिस जस्तो रोगबाट अपाङ्गता भएको व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण अझै पनि उस्तै रहेकोमा त्यसलाई चिर्न आवश्यक भएको र नेपालमा रहेका त्यस्ता व्यक्तिहरुहको अभिभावकले हेर्दै त्यहाँबाट पाठ सिकुन् र आफ्ना बालबच्चालाई पनि समान रुपमा व्यवहार गर्न सकुन् भन्ने उद्देश्यका साथ यो कला प्रदर्शनी गरेको कला क्युरेटर सुनिला बज्राचार्य बताउँछिन् । उक्त प्रदर्शनीमा प्रदर्शनी गर्ने कलाकारहरुको बारेमा छोटो जानकारी तल प्रस्तुत गरिएको छः

डेबी वान

उनलाई सिकाइ सम्बन्धी अपाङ्गता रहेको थियो । सेडार्स एण्ड मरिन एक ठूलो संस्था रहेको र त्यहाँ कला पनि एक सिकाइ थियो र उनी त्यहाँ आवद्ध थिइन् । उनका प्रशिक्षकहरुको साथ र सहयोगले गर्दा उनको कलाको विकास भएको मान्दछिन् सुनिला । युन ली नामक प्रशिक्षकले उनलाई कला सिकाउँथिन् । उनले जीवनको ६० औँ वसन्त पार गरिसकेकी छन् र यहाँ प्रदर्शित कामहरु उनको करिब दुइ वर्षको मेहेनतको प्रतिफल भएको सुनिला बताउँछिन् ।

डेबोरा कुपर

उनी आफ्नो जीवनको ७०औँ वसन्तको नजिक छन् । उनलाई पनि अपाङ्गता छ । मूलतः उनी आफ्नो काममा चित्रको सहायताले आफुलाइ लगेको कामहरु देखाउँछिन् । अपाङ्गताले गर्दा मानसिक विकास भने ५ वर्षको बालकको भन्दा माथि नउठेको भएता पनि आफ्नो चित्रहरुमा उनी आफ्नो वरिपरिका मानिसहरुको खुशी, आत्मिय साथीहरुको बारेमा चित्र कोर्न रुचाउँछिन् । उनलाई क्लाउडिया तथा जोसेफले चित्रकला बनाउन सिकाउने गरेको क्युरेटर सुनिला बताउँछिन् ।

इलियट जङ्ग

बोल्न नसक्ने इलियट देहावसान करिव दुइ हप्ता पहिले ८५ वर्षको उमेरमा भयो । उनको अभिव्यक्तिको माध्यम कला मात्रै थियो । सेडार्सले उनलाई भेट्टाउँदा उनी घर विहिन थिए र उनलाई बाटोबाट उद्दार गरी ल्याइएको थियो । उनको खल्तीमा वा सर्टको बाहुलामा कागज भने छुट्दैनथ्यो र भनिएका कुराहरुको उत्तर लेखेर वा चित्र बनाएर दिन रुचाउँथे । करिब ५—६ महिनाको मेहेनतमा उनी एउटा चित्र पुरा बनाउन सक्तथे । हिल्डा गोन्जालेस उनका प्रशिक्षक थिइन् ।

जोन पिटरसन

ब्रह्माण्ड, सामुद्रिक किनारा सम्बन्धी चित्रहरु बनाउन रुचाउने जोन आफ्नो जीवनको ७०औँ वसन्तका वरिपरि छन् । बौद्धिक अपाङ्गता भएका उनी उनका चित्रहरुमा समुद्र किनाराका परिदृश्यहरु तथा ब्रह्माण्डको विभिन्न अवयवहरुलाई चित्र मार्पmत देखाउन रुचाउँछन् ।

पि.जे. रान्डोल्फ

करिव ४० को उमेरमा पुगेका रान्डोल्फलाई लेख्न मन पर्दछ । उनले गर्ने गरेको कलामा उनी अक्षरलाई पनि मिसाउने गर्दछन् । उनलाई प्रशिक्षकहरु जोशेफ र क्लाउडियाले प्रशिक्षण दिने गर्दछन् ।

सियोभान कुक

४० वर्ष जति उमेरका सियोभान कुकलाई डाउन सिन्ड्रम छ । उनलाई पनि जोशेफ र क्लाउडियाले कला सिकाउँछन् । विशेषगरी उनलाई नयाँ कुरा सिकाउने भन्दा पनि जानेका कुराहरुलाई कसरी प्रस्तुत गर्ने भन्ने कुराको बारेमा सिकाउने गर्दछन् ।

तान्या नोस्क

उनलाई चित्रकलाका साथसाथै बुन्नमा पनि रुचि छ । उनी हप्ताको तीन दिन आफुले चाहे अनुसार बुन्ने गर्दछिन् भने बाँकी दुइ दिन जोसेफ र क्लाउडियासंग सिक्दछिन् । ६० वर्ष उमेर समुहकी उनी उनका कामहरुमा सिलाइ बुनाइका काम तथा चित्रहरुमा टाँस्दै काम गर्न रुचाउँछिन् ।

एन्ना प्राइस

हँसिलो तथा कुराकानी गर्न रुचाउने एन्नाको उमेर ४० वर्ष जतिको भयो । कोरोना महामारीको समयमा मात्र उनले करिब ४०० वटा जति काम गरेको बताउँछिन् कला क्युरेटर सुनिला बज्राचार्य । उनको परिवारको साथ र सहयोगले गर्दा पनि उनी प्रदर्शनी उनको वरिपरी हुँदा जाने गर्दछिन् । प्रायः आर्ट स्टिकको सहायताले उनी चित्र बनाउन रुचाउँछिन् ।

लुसि सोकोलफ

उनलाई सेडार्स संस्थाले भेट्टाउँदा घरहिन तथा मदिरा सेवन गर्ने गर्दथिन् । उमेरले ७० वर्ष जतिकी उनी आफ्ना कामहरु कागजमा मसीको प्रयोग गर्दै गर्न रुचाउँछिन् । अटिज्मबाट ग्रस्त उनी उनीजस्तै घरहिन मानिसहरुलाई पुलिसले कारागारमा लगेको तथा घरहिन मानिसहरुलाई दुव्र्यवहार गरिनु हुँदैन भन्ने जस्तो चित्रहरु बनाउन रुचाउँछिन् । उनलाई कला क्युरेटर सुनिलाले नै प्रशिक्षण गर्ने गर्दछिन् ।

मरियाना अब्बाज्यो

मोतिका मालाहरु, तथा विभिन्न किसिमका मालाहरुलाई उन्दै काम गर्न रुचाउने मरियाना वाटरकलरमा खेल्न पनि रुचाउँछिन् । हँसिलो मुहार भएकी मरियाना उनलाई भेट्न जाने मानिसहरुसंग हाँसेर कुराकानी गर्न रुचाउँछिन् ।

नेपालको सन्दर्भमा

यो कला प्रदर्शनी पहिलो चोटि भने धेरै अगाडि नेवाः छेँ मा भएको थियो । त्यस बेलामा भने नेपालमा रहेका यस्तै किसिमका अपाङ्गता भएका व्यक्तिहरुका कलालाई समावेश गरेको क्लासिक ग्यालरीकी सञ्चालिका सरिता डंगोल बताउँछिन् । त्यस बेलामा त्यस्ता किसिमका अपाङ्गता भएका व्यक्तिहरुको परिवार आइ कला हेरेको र यस्तै किसिमको कामलाई बढावा दिनुपर्दछ भनी ओकालत त गरेको तर मूर्त रुपमा केही पनि पहलकदमी अगाडि नबढेको अनुभव छ कलाकार सरिता डंगोलको । अमेरिकामा बसोबास गर्दै आएकी सुनिलासँग समय समयमा यस्तो किसिमका मानिसहरुको कलालाई कसरी प्रवद्र्धन गर्न सकिएला भनी कुराकानी हुने गरेको बताउँछिन् सरिता । विभिन्न संस्थाहरु मार्फत शारिरिक तथा मानसिक अपाङ्गता भएका व्यक्तिहरुलाई चित्रकला सिकाउने गरेको करिब १ दशकको अनुभव छ उनमा ।

कुराकानीको क्रममा सरिता बताउँछिन्, ‘सेडारले जत्तिको ठूलो स्तरमा काम गर्न नसकेपनि आफुले सकेको जति यस क्षेत्रमा काम गर्ने सोचाइ म मा रहेको छ । त्यसैले अहिले सुनिला आएको बेलामा उनीसँगै मिलेर विभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरु सम्बन्धि काम गर्नका लागि मिखा नामक संस्था खोलेकी छु । बेला मौकामा सुनिलाले मलाई अमेरिकामा भइरहेको उनको कामको बारेमा जानकारी दिइ नै रहेकी हुन्छिन् र यसले मलाई पनि सहयोग गरिरहेको हुन्छ ।’

मानसिक अपाङ्गता भएका व्यक्तिहरुलाई नेपालमा भने अझै पनि बाँधेर राख्ने तथा बाहिरी दुनियाँसंग घुलमिल हुने वातावरण नभइसकेको परिप्रेक्ष्यमा मिखाले एक नौलो आयाम थप्ने विश्वास सरिताले लिएकी छन् र उनको संस्था हाल क्लासिक ग्यालरी रहेकै भवनमा रहेको समेत कुराकानीको क्रममा जानकारी दिइन् । हाल यस संस्थामा ३ जना त्यस्ता बालबालिकालाई राखिसकिएको समेत जानकारी दिइन् ।

सुनिलाको करिब ७ वर्ष सेडारमा काम गरेको अनुभव रहेको छ । उनीहरुको भावना र केही पाउँला भन्ने आशा विनाको प्रेमले उनलाई जहिले पनि आनन्दित गर्ने गरेको कुरा बताउँछिन् सुनिला ।

प्रतिक्रिया दिनुहोस्

Array