विकल्पमा बर्षातका गीतहरु

सुनिल राज ढकाल
सुनिल राज ढकाल २४ असार २०७९, शुक्रबार ०६:००
6 Min Read
Aa

विकल्प कला केन्द्रमा यहि असार १० गते (जुन २४ तारिक)देखि  एक कला प्रदर्शनी भइरहेको छ । ‘मनसुन हिम्स’ नाम दिइएको उक्त कला प्रदर्शनीमा ७ जना युवा कलाकार आश्मा डंगोल, सुन्दर लामा, अदिती शेर्पा, अनामिका गौतम, देविना जोशी, कात्यानी राइ र प्रियंका सिङका कलालाई प्रदर्शनीमा राखिएका छन् । यस प्रदर्शनीमा विशुद्ध रुपमा सृजनात्मक सोच भएका श्रृजनाहरुलाई प्रश्रय दिइएको छ ।

अन्तर व्यक्तिय सम्बन्धहरु जो आफ्नै मौलिक परिवेश अनि भोगाइहरुबाट गुज्रेका समस्याहरुलाई यस प्रदर्शनीमा राखिएका छन् । युवा पुस्ताको व्यक्तिगत जीवनका विशुद्ध भोगाइहरु अनि  लैङ्गिकता, दिमागी अवस्थाहरुको चित्रणमा पनि यस प्रदर्शनीले ठूलो टेवा पुर्याउने विकल्प कला केन्द्रका कला क्युरेटर सरोज महतोको भनाइ रहेको छ ।

यस कला प्रदर्शनीका क्युरेटर सरोज महतोको अनुसार युवा कलाकारहरु जो कलाको क्षेत्रमा लामो यात्रा तय गर्न चाहन्छन्, उनीहरुलाई कला प्रस्तुतिका बारेमा सिकाउने, उनीहरुका कलालाई ग्यालरीमा प्रदर्शनीमा राख्दा के कस्ता चुनौतीहरुको सामना गर्नु पर्ने हुन्छ जस्ता कुराहरुका बारेमा सिकाउने उद्देश्यका साथ पनि यो प्रदर्शनी गरेको बताउँछन् । यस प्रदर्शनीलाई उनले पप अप एक्जिभिसनको नाम दिएका छन् ।

के हो त पप अप एक्जिभिसन ?

पप अप प्रदर्शनी छोटो समयमा सम्पन्न गर्न सकिने एक प्रदर्शनी हो । यसमा समष्टिगत कुनै विषयवस्तु नभइकन कलाकारको विषयलाई जस्ताको तस्तै प्रदर्शनीमा लगिन्छ । मूलतः विक्रि वितरणमा केन्द्रित हुन्छन् ‘पप अप एक्जिभिसन ।’ कलाकारको कलालाई अर्काे उचाइमा पुर्याउनको लागि कलाको विषयमा चर्चा परिचर्चा पनि गरिने गर्दछ पप अप एक्जिभिसनमा । त्यसैगरी लामो यात्राको क्रममा कुनै कलाकारलाई कुनै ठाउँ मन परेको खण्डमा उत्निखेरै कुनै घरमा वा खुल्ला आकाशमुनि पनि गर्न सकिन्छ यस्ता प्रदर्शनीहरु । समयअवधिले खासै महत्व नराख्ने यस्ता प्रदर्शनीहरु काठमाडौँमा समेत बेला बेलामा आयोजना गरिने गरेको कला क्युरेटर सरोज महतो बताउँछन् ।

यस प्रदर्शनी विशेषतः मौसमसँग सम्बन्धित तथा सङ्गितसँग जोडिएर गरिएकोले मनसुन हिम्स नाम दिइएको सरोज बताउँछन् । नयाँ उपजको खोजी, कला मार्फत आफुलाई नै खोज्ने प्रक्रियालाई यस प्रदर्शनीले टेवा पुर्याउने देखिन्छ । यहाँ प्रदर्शनी गर्ने कलाकारहरु व्यक्तिगत पृष्ठभूमिबाट आउँदै गर्दा पनि आफ्नो समय सन्दर्भलाई भुलेका छैनन् ।

कलाकार आश्मा डंगोलको कामको विषयमा चर्चा गर्दा उनको काम ‘कन्सेप्चुअल’ काम हो । ‘कमिङ्ग अफ एज’, अण्डा फुटेर फ्राइङ्ग प्यानमा गए सम्मको कुरालाई उनले चित्र मार्फत प्रस्तुत गरेकी छिन् । यो एक विडम्बना भएको र यसलाई रुपकको रुपमा प्रयोग गरेको कलाकार बताउँछिन् । यसलाई ब्याङ्ग्यात्मक रुपमा पनि लिन सकिन्छ । सर फ्रग शिर्षक दिइएको उनको अर्काे चित्रमा भ्यागुतालाई टाइ सुट लगाएर राखिएको छ । कलाकारका अनुसार उनले सम्पूर्ण मानव जगतलाई नै प्रश्न उठाएको तथा मानिसहरु जुन उचाइमा भए पनि  मान्छे आखिर मान्छे नै हो भन्ने विषयवस्तुमा उनको कला केन्द्रित भएको बताउँछिन् ।

अर्का कलाकार सुन्दर लामाको सिर्जना भने मनोग्रन्थी शिर्षकमा बनेका छन् । कलाकार लामा कविता पनि लेख्ने भएकाले  उनको काममा समेत कवितात्मकता देखिन्छ । कोरोनाको समयमा कोरोनाले थलिएको बेलाको विषयवस्तु तथा श्वास प्रश्वासमा आएको समस्यालाई कलाको मार्फतबाट देखाइएको छ ।  उनले बनाएको चित्रकलामा विम्वका रुपमा प्रयोग भएको कमलको फूलहरुले बाहिरी संसारसँग सम्बन्ध जोड्न खोजेको छ ।

अर्की कलाकार अदिती शेर्पाका काम प्रयोगात्मक छन् । उनको काम ‘कोलाज’ मा तयार गरिएको छ । धेरै चिजहरुको सम्मिश्रण, एक माथि अर्काे तह मिलाउँदै राखिने खालको कलालाई कोलाज भनिन्छ । उनले प्रयोग गरेको रङ्गले उनको उमेरलाई प्रतिनिधित्व गर्छ । काममा अति आधुनिकवादको ढाँचा देखिन्छ । उनले उनको समयको युवापुस्ताको विचार अनि शैलीलाई समेत आप्mनो काममा देखाउने सफल भएको कला क्युरेटर सरोज महतो बताउँछन् ।

कलाकार अनामिका गौतम भारतमा पढ्न जाँदा देखेको झुपडपट्टिको विषयवस्तुलाई चित्रमा देखाउन खोजेकी छन् । उनको कलामा ‘क्युविजम’को पनि प्रभाव परेको देखिन्छ । उनले मनोवैज्ञानिक ढङ्गबाट रङ्गहरुको छनोट गरेकी छिन् । उनले मानिसहरुको आकृतिलाई कला मार्फत प्रस्तुत गरेकी छिन् ।

देविना जोशीे फोटाग्राफि सम्बन्धि काम गर्न रुचाउँछिन् । उनले फोटोग्राफिमा देखिने दोश्रो आयामका विषयलाई सोचाइमा राखेर तस्विर मात्र नभइ मनोवैज्ञानिक बुझाइलाई पस्कन खोजेको देखिन्छ । खुट्टा, हातको फोटोहरु खिचेर राखिएको र यी फोटोहरुले प्रतिकात्मक रुपमा भावनात्मकतालाई देखाउन खोजेको उनी बताउँछिन् । उनको काम आर्ट फोटोग्राफि अन्तर्गतका छन् । उनमा दृष्यात्मक विषयलाई त्यसको विविध पाटाबाट हेर्न वा खोतल्ने खुबी रहेको छ । उनका काम सिसामा पारदर्शी सिसामा टाँसेर राखिएको छ । यी फोटोहरु पारदर्शी भएकोले भित्तालाई पनि हेर्न सकिने कलाकार बताउँछिन् । उनको लेटिङ्ग गो शीर्षकको यस काममा जीवन विभिन्न भोगाइहरु भइ नै रहेका हुन्छन् तर त्यसलाई ‘लेट गो’ गर्नुपर्छ भन्ने विषयलाई यस प्रदर्शनीको माध्यमबाट जनमानसमा पुर्याउने प्रयास गरेकी छिन् ।

‘इम्सोम्निया’ अर्थात् अनिद्रा शीर्षकको काम कलाकार कात्यानी राईको रहेको छ । वस्तुहरुको छनौट, मानव आकृति र पुतलीलाई उनले यहाँ प्रस्तुत गरेकी छिन् । जीन्दगीमा धेरै प्रश्नहरु हुन्छन् र ती प्रश्नहरुलाई नै प्रश्न गर्ने उनको कामहरु देखिन्छ । उनका कामहरुमा सोचाइको प्रचुरता पाइन्छ । ‘हिम्स अफ डेथ’ शिर्षक दिइएको उनको कलामा जीन्दगीलाई नै दुःखसँग तुलना गरिएको छ । जीन्दगी अन्धकारबाट उज्यालोतर्फ जाने गर्दछ र उनको कामहरु निकै आकर्षक रहेकाछन् । जीवनको २१औँ वसन्त पार गरेकी उनी आफ्ना कामहरुमा जीन्दगीलाई कसरी बुझ्ने अनि अभिव्यक्ति गर्ने भन्ने कुरामा पोख्त छिन् ।

कलाकार प्रियंका सिङ महर्जनको काममा ‘प्रकृतिवाद’ प्रचुर मात्रामा भेटिन्छ । उनको काममा ‘न्युट्रल’ भावमा नेवारी शैलीका जीवनशैलीलाई प्रस्तुत गरेकी छन् । यस्तो कामलाई हामीले कुनै प्रतिकात्मकतासँग जोड्दैनौँ । भएका चिजहरुलाई जस्ताको तस्तै दर्शकको सामु राखिदिने उनको पस्किने विधि भने निकै सिर्जनात्मक मानिएको कला क्युरेटर सरोज महतो बताउँछन् ।

विकल्प कला केन्द्रले कलाकारहरुको लागि एउटा ठाउँ दिन पाउँदा जहिल्यै खुसी लाग्ने र अहिलेको युवा पुस्ता हाम्रा भविष्य हुन् । उनिहरुलाई लगानी गरिएन भने कलाको भविष्य अँध्यारोतिर धकेलिन सक्दछ । त्यसैले यस्ता किसिमका कामहरु गर्न बढी आनन्द लाग्ने कला क्युरेटर सरोज महतो बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

Array