प्युठानको झिमरुक सम्बन्धि कला प्रदर्शनी

सुनिल राज ढकाल
सुनिल राज ढकाल ७ श्रावण २०७९, शनिबार १९:००
6 Min Read
Aa

नेपाल आर्ट काउन्सिल, बबरमहलमा यहि श्रवण ७ गतेदेखि ९ गतेसम्म एक कला प्र्रदर्शनी भएरहेको छ । नेपालको पश्चिमी भागमा रहेको प्युठानको झिमरुक/ओखरकोटमा गत वर्ष २०७८ सालको वैशाखमा नेपालका करिब ९ कलाकार तथा एक फोटोग्राफर ओखरकोटमा बन्न लागिरहेको सांस्कृतिक संग्रहालय अवलोकन गर्न तथा त्यहाँ गएको बेलामा त्यहाँको वस्तुस्थितिलाई हेर्दै कला श्रृजना गरेका थिए । त्यसरी जाने कलाकारहरुमा जीवन राजोपाध्यय, नरेश सैँजु, रतन कुमार राई, मुकेश श्रेष्ठ, राजकुमार रानामगर, कुन्ती श्री थापामगर, सुदेशा श्रेष्ठ, सुजिता महर्जन र दुर्गा सुनुवार (सारा टुनिच कोइञ्च ) तथा फोटोग्राफर सुदर्शन कार्की रहेका थिए । उनीहरुले त्यहाँका देखेका विभिन्न विषयमा तयार पारेका कलाहरुलाई नेपाल आर्टकाउन्सिलमा प्रदर्शनी गरिएको छ भने यस प्रदर्शनी पश्चात यी कलाकृतीहरु ओखरकोट सांस्कृतिक संग्रहालयमा संग्रहित गरिने छन् ।

९ दिने कार्यशाला तथा भ्रमणका क्रममा कलाकारहरुले त्यहाँको परिदृश्यहरुलाई अवलोकन गर्दै आप्mना श्रृजना बनाएका थिए । उक्त कार्यक्रमको लागि आर्थिक सहयोग भने झिमरुक गाउँपालिका, भ्यागुते, प्युठानले गरेको थियो । कार्यक्रमलाई संयोजन तथा सहयोग वाम पन्थी नेता मोहन विक्रम सिंह तथा डा. सुमन श्रेष्ठले गरेका थिए । प्रदर्शनीमा सहभागी कलाकारहरुका अनुसार प्युठानको झिमरुकमा बन्न लागेको संग्रहालयको परिकल्पना मोहन विक्रम सिंहको रहेको थियो ।

उक्त कार्यक्रममा सहभागी हुन काठमाडौँबाट कलाकारहरुको समूह भैरहवा विमानस्थलबाट गाडी लिई पुगेका थिए । ओखरकोट ऐतिहासिक रुपमा पहिले बाइसे र चौविसे राज्य हुँदा देखि बस्ती बस्दै आएको प्राचिन गाउँ हो । ओखरकोटलाई प्राकृतिक छटाले भरिपूर्ण भएको र यस ठाउँको ऐतिहासिकताले गर्दा पनि पर्यटकिय क्षेत्रको रुपमा विकास गर्दै त्यहाँको रहनसहन तथा आर्थिक स्थितिमा समेत योगदान पुर्याउनका लागि संग्रहालय बनाउन लागिएको कुरा यस भ्रमणमा सहभागी कलाकार तथा फोटोग्राफर सुदर्शन कार्कीले जानकारी दिनुभयो ।

वैशाखको महिना भएकाले पनि त्यहाँ जाँदा बाटोमा थुप्रै ठाउँमा डढेलो लागिरहेको थियो । झिमरुक गाउँ पालिकाको उत्तर पश्चिम दिशामा रक गार्डेन नामक ढुंगाहरुको एक सुन्दर बगैँचा रहेकोमा त्यहाँको वस्तुस्थितिलाई नियाल्दै कलाकार जीवन राजोपाध्यय तथा कलाकार नरेश सुन्दर सैँजुले आफ्ना चित्रकलाहरु बनाएका छन् । प्राकृतिक रुपमा मानिसको टाउको जस्तो देखिने एक विशालकाय ढुंगाको टुप्पोमा मानिसहरु समेत जान मिल्ने बाटो भएको कुरा कलाकार नरेश सुन्दर सैँजु बताउँछन् । त्यहाँको भौगोलिक वस्तुस्थितिलाई नियाल्दै यी चित्रहरुमा देखिएका रङ्गहरुसँग खेल्न निकै आनन्दित भएको कुरा कलाकारद्वय बताउँछन् ।

त्यसैगरी अर्का कलाकार रतन कुमार राइले भने गौमुखी ओढारका विभिन्न आयामहरुलाइ एक क्यानभासमा उतारेका छन् । उनको अर्काे चित्र भने खड्ग देवी देवतको मन्दिरको रहेको छ । कलाको क्षेत्रमा लामो समयदेखि साधनारत कलाकार रतन कुमार राईले यस पटक भने क्यानभासमा चित्र कोर्नका निमित्त सामाग्रीको रुपमा दुम्सीको काँडालाई प्रयोग गरेका छन् । ‘चित्र बनाउनका लागि ब्रशहरुको आवश्यकता त हुन्छन् नै, तर यी सामाग्री विना पनि त पहिले पहिलेका मानिसहरुले चित्र बनाउने गरेका थिए नि, त्यसैले पनि मलाई यसरी प्रयोग गर्न मन लागेको हो,’ कलाकार राई बताउँछन् । गौमूखी ओढार भने झिमरुक नदीको श्रोत नदीको रुपमा रहेको र ओढारभित्र रहेको गाइको मुखको जस्तो आकारको कुण्डबाट पानी आइरहेकोले यसलाइ नै झिमरुक खोलाको श्रोतको रुपमा स्थानिय बासीहरुले मान्ने गरेको समेत कलाकारले जानकारी दिए ।

इस्नाथानको चलन अनुसार स्थानिय बासीहरु बडा दशैँ तथा चैते दशैँको नवमीको दिनमा ६ महिना नपुगेको बाख्राको पाठो तथा परेवा चढाउने चलन रहेको छ । त्यस दिनमा भने छुवाछुत नहुने तथा पुरुषहरु मात्र नसिलाएको लुगा लगाई एक स्थानमा जम्मा हुन्छन् । उक्त पाठाहरु तथा परेवाहरुलाई त्यहाँ लुछेर बली दिइन्छ अनि ती बली दिइएको पाठो तथा परेवाहरुको मासु त्यहीँ प्रसादको रुपमा खाएर फर्कने एक अनौठो चलन रहेछ । यसरी मासु खाएर फर्कदा धन सम्पत्तीमा वृद्धि हुने जनविश्वास रहेको छ । यहि किम्बदन्तीलाई आधार मानेर त्यहाँको रहनसहनलाई समेत आधार मानेर कलाकार राजकुमार रानामगरले आप्mनो कला बनाएका छन् । मूलतः लोककला थाङ्कामा काम गर्ने कलाकार रानामगरले बनाएका ती चित्रहरुमा त्यहाँका घरहरु तथा वातारवरणिय अवस्था तथा रहनसहनलाई विशेष महत्व दिइएको छ ।

त्यसै गरी अर्की कलाकार कुन्ती श्री थापा मगरले भने खड्ग देवता देवी मन्दिरको ढोका तथा परम्परागत गाउँघरमा देखिने चित्रलाइ क्यानभासमा उतारेकी छन् । कलाकार सुदेशा श्रेष्ठले भने त्यहि मन्दिरलाई कागजमा काष्ठ छापाकलाको माध्यमबाट प्रस्तुत गरेकी छन् । अर्की कलाकार सुजिता महर्जनले भने ओखरकोटमा रहेको काउछे दरबार तथा मौलाको चित्रहरुलाई इचिङ्गको माध्यमबाट प्रस्तुत गरेकी छन् ।

कलाकार दुर्गा सुनुवार जो सारा टुनिच कोइञ्चको नामले परिचित छन्, उनले भने वादीकोटमा संग्रहित स्थानिय वाजाहरुको समुहलाई क्यानभासमा उतारेकी छन् ।

अर्का कलाकार मुकेश श्रेष्ठले भने ओखरकोट चौकेका अनुहार शीर्षक दिई त्यहाँका स्थानियहरुको मुहार चित्रको समुहलाई दुइवटा क्यानभासमा गाभेर प्रस्तुत गरेका छन् । उनका अनुसार यस्तो किसिमको चित्रकला तथा कलाकारहरुलाई प्रोत्साहन सात वटै प्रदेशमा हुन सके कलाको संस्कृतको विकासमा ठूलो टेवा पुग्नेछ जस्तो लाग्छ भन्ने भनाई रहेको थियो ।

फोटोग्राफर सुदर्शन कार्कीले भने त्यहाँको स्थानियवासी महिलाहरुको रहनसहनलाई झल्काउने तीन फोटो तथा ओखरकोटको जंगलमा लागेको डढेलोको परिदृश्यलाई समेत देखाउने गरी फोटो प्रदर्शनीमा राखेका छन् । उनका अनुसार विकासको नाममा डोजर चलाउँदा त्यहाँको वनस्पती मासिने तथा भूक्षयले गर्दा नेपालको विभिन्न भागमा विनाश भइरहेको सन्दर्भमा सन् १९६१ ताका अन्वेशक टोनी हेगनले लेखेको ‘नेपाल’ शीर्षकमा लेखिएको पुस्तकमा जस्तै बरु स्थानियको सहयोगमा बाटो खोल्दै लगे दिगो रुपमा विकास हुन सक्ने विचार समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array