कला जगत फराकिलो छ । सामान्य मानिसका आँखाले नदेखिने वस्तु तथा आकृतीहरू एक कलाकारका आँखाले देखि नै रहेको हुन्छ अनि देखिएका आकृतीहरूलाई रङ्ग तथा क्यानभासको माध्यमले कलाकारहरूले प्रस्तुत गरी नै रहेका हुन्छन् । यस्तै कलाकार मध्येका एक पि.सिंहले यस पटक बौद्ध टुसालमा रहेको तारागाउँ संग्रहालयमा प्रदर्शनी गरेका छन् । यस प्रदर्शनी नेपाल सेन्टर इन्टरनेशनलले आयोजना गरेको हो भने यो प्रदर्शनी यही श्रावण २९ देखि श्रावण ३१ गते (तद्नुसार १४ अगस्ट देखि १६ अगस्ट) सम्म प्रदर्शनीमा रहने छ ।
बेलायतमा रहँदै आएका कलाकार पि.सिंह पेशाले सफ्टवेयर निर्माता पनि हुन् । उनले बनाएका नेपाली भाषामा टाइप गर्ने टाइपशाला, नेपाली युनिकोड, ठमेल डट कम तथा बाटो इन्जिनियरिङ्ग सफ्टवेयर राजमार्ग नेपालमा तथा विदेशमा रहने नेपालीहरूमाझ निकै लोकप्रिय रहेका छन् ।

समयको व्यस्तताको बावजुद केही समय फुर्सत निकाली चित्रकला बनाउन रुचाउने कलाकार पि.सिंहका चित्रहरू वेलायतका विभिन्न ठाउँहरूमा प्रदर्शित हुँदै आएका छन् ।
वेलायतको हाउस अफ पार्लियामेन्ट, वेलायतका लागि नेपाली राजदुतावासमा नेपाली कला, संस्कृतीको जगेर्ना गर्ने हिसाबले कलाकार पी.सिंहका चित्रकलाहरु प्रदर्शनी भइसकेको कलाकार बताउँछन् भने हाथ थिएटर(लण्डन) तथा लण्डन म्युजिकल्समा पि.सिंह र रोसलिनको संयुक्त प्रदर्शनी भएको थियो ।

एक प्रसङ्गमा पि.सिंह बताउँछन्–‘बेलायतको हाउस अफ पार्लियामेन्टमा तपाइहरूले प्रदर्शनी गर्नुभयो तर हाम्रो देशको कला संस्कृति हामीले पनि दूतावासमा पर्दशन गर्नुपर्यो भनेर बेलायतका लागि नेपाली राजदूतले भन्नुभएपछि त्यहाँ पनि पदर्शन गरिएको हो ।’
यस प्रदर्शनीमा आफ्नी छोरी रोजलिन सिंहले बनाएको चित्रकला समेत समावेश गरेका छन् । सानो बेला देखि नै चित्रकलामा रुचि भएको बताउने रोजलिनको समेत चित्रकलाहरू वेलायतका विभिन्न स्थानहरूमा प्रदर्शनी भइसकेको कलाकार पि.सिंह बताउँछन् । रोजलिनले व्हेलफेस्ट आर्ट प्रतियोगितामा समेत पुरस्कार पाइसकेकी छन् ।

कलाकार पि.सिंहका अनुसार यस पटक नेपाल आउँदा भने उनले आफुले बनाएका चित्रकलाहरूलाई पनि साथमा नै लिएर आएको र यहाँ रहँदा नेपाली कलाकारहरूसँग अनुभव साटासाट गर्न पाउने मौका मिल्ने तथा आफुले गरेको कलाहरूलाई पनि सबै सामु देखाउने उद्देश्यका साथ यो प्रदर्शनी गरेको बताउँछन् । भ्रमण शीर्षक दिइएको यस प्रदर्शनीको बारेमा कलाकार पि.सिंह बताउँछन्, ‘यो पटक हामी नेपाल भ्रमणमा नै आएका छौँ, त्यसैले पनि यो प्रदर्शनीको शीर्षक भ्रमण राखिएको हो ।’

उनका चित्रकलाहरू मध्येको एउटामा एक सानो चरा खिया लागेको र पुरानो जस्तो देखिने धाराको टुटीमा बसिरहेको चित्र रहेको छ । थस्र्ट अथात् तिर्खा शीर्षक दिइएको उनको यस कला काठमाडौँमा पानीको हाहाकार भइरहेको समय वा साधारणतयाः सुख्खा मौसममा मानिसहरू तथा चराहरूलाई समेत सुख्खा मौसममा हुने दुःखलाई चित्रमा देखाइएको बताउँछन् ।
त्यसैगरी डोको शीर्षक दिइएको उनको अर्काे चित्रमा भने नेपाली महिलाले डोकोभरि घाँस दाउरा गर्दाको समयमा उनको मुखाकृतिको हाउभाउलाइ समेत झल्कने गरी उनले चित्र प्रस्तुत गरेका छन् ।
त्यसैगरी उनको अर्काे चित्रमा भने पानी परिसकेपछि सन्ध्याको समयमा भर्खरै बत्ती बलेपछि देखिने बेलायतको एक परिदृश्यलाई झल्काएका छन् । बत्तीको मधुर उज्याल्यो टल्किरहेका बाटाका परिदृष्यहरू हेर्दा आकर्षक देखिएका छन् ।
त्यस्तै उनका केही चित्रहरू खानेकुराहरू जस्तै प्याज, गोलभेडा, पाउरोटी जस्ता चिजहरूलाई हबुहु साँच्चैको जस्तो देखिने (रियास्टिक) चित्रहरु प्रस्तुत गर्न सफल भएका छन् ।
उनकी छोरी तथा कलाकार रोजलिनले भने वाटरकलर तथा पेन्सिलले बनाएका चित्रहरूलाई प्रदर्शनीमा राखेकी छन् । उनले बनाएका मुहारचित्रहरूमा पनि हेर्न लायक छन् ।

उनले बनाएका ग्रामिण परिवेशका चित्रहरु तथा जंगलको छेउमा रहेको घर विशेष आकर्षक छन् । त्यस्तै एउटा महिलाले गिलाँसमा तातो चिया हाल्दै गर्दाको अर्को चित्रमा ताप्केबाट चिया खन्याउँदा देखिएका बाफहरु र भुइँमा राखिएका चिया गिलास भरिएको चित्रमा उनको मिहिनेत देखिन्छ । अफ्रिकन हात्ति, घण्टी, ढुङ्गे धारा, भक्तपुरका घरहरु लगायतका चित्रहरु समेत प्रदर्शनीमा राखिएका छन् । यस प्रदर्शनीमा कलाकार द्वयका २७ वटा चित्रकलाहरु प्रदर्शनीमा राखिएका छन् ।
कलाकार तथा सफ्टवेयर डेभलपर पि.सिंह भारतिय मूलका हुन् । तर उनले आफनो विद्यालयको शिक्षा भने नेपालमा नै रहेको ए.भि.एम.बाट हासिल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्