‘न्युड आर्ट गर्न आउने अपरिचित व्यक्तिहरू ‘हिल’ भएर फर्कन्छन् ‘

सुनिल राज ढकाल
सुनिल राज ढकाल २ भाद्र २०७९, बिहीबार ०६:००
18 Min Read
Aa

कक्षा ४ मा पढ्दैगर्दा एकदिन उनको कक्षामा पढाइरहनुभएको गुरुले सबै विद्यार्थीहरूलाई चित्रकला बनाउन लगाउनुभयो । उनले एउटा हात्तीको चित्र बनाएका थिए । कक्षामा उनले बनाएको चित्रलाई गुरुले मन पराउनुभएको थियो । त्यो दिन गुरुले भन्नुभएको थियो– ‘तिमी त कलाकार बन्छौ ।’  शायद त्यो कुरा उनको दिमागमा बसिरहेको थियो । त्यही बिज अङ्कुरणपछिको एउटा फूल हो कलाकार कपिलमणि दीक्षित ।

सानो उमेरदेखि नै चित्रहरू कोर्न मन पराउने उनी साथीहरूसँग भने रमाइला कुराहरू गर्न मन पराउँथे । सिद्धार्थ वनस्थलीबाट एस.एल.सी पास गरेपछि उनी पिपुल्स क्याम्पसमा कमर्स पढ्न भर्ना भए । त्यो बेलाका उनका साथीहरू सबैलाई पढाइमा भन्दा रमाइलो गर्न र बाहिर चिया खाएर अरू क्याम्पसहरू घुम्न मन पर्दथ्यो । करिब दुई वर्षको समय उनले आफ्नो क्याम्पसमा भन्दा अरू क्याम्पसमा चिया पिएरै बिताए । यसरी समय बिताउनुको कारण शायद उनले खोजेको कुरा कमर्समा थिएन ।

कपिलमणि दीक्षितका न्युड चित्रकला

त्यसैले पनि कमर्सभन्दा कलाकारिताले उनलाई तानिरहेको थियो । पब्लिक युथ क्याम्पसमा करिब २ वर्षको समय बिताएपछि मात्रै उनले ललितकला क्याम्पसमा कला सम्बन्धी पढाइ हुन्छ भन्ने कुरा थाहा पाए । अध्ययनको क्रममा आई.एफ.ए. पढ्दा उनी कलाका विविध पक्षको विषयमा ज्ञान लिँदै थिए । जब उनले आइ.एफ.ए. को अध्ययन सके त्यसपछि कलाकै अध्ययनका लागि उनी अमेरिकाको विश्वविद्यालयतिर लागे ।

अमेरिकामा कला अध्ययन गर्ने क्रममा उनलाई त्यहाँ पढिरहेका वा भनौँ त्यहाँ बसिरहेका मानिसहरूका शरिरहरूको बनावट, एनाटोमीले तान्न थाल्यो । त्यहाँ अध्ययन गर्ने क्रममा उनले  करिब ३ वर्षको समय आफ्नो पढाइभन्दा विल्कुलै फरक विधामा बिताए जुन माटोका विभिन्न मूर्तिहरू बनाउने विषय थियो । माटोसँग खेल्दाको रमाइलोले उनलाई छुट्टै आनन्दको अनुभूति भएको कुरा कपिल सम्झिन्छन् । करिब तीन वर्ष त उनले अध्ययनमा तथा क्यानभासमा चित्रहरू कोर्नुभन्दा बढी समय माटोका मूर्तिहरू बनाउनमा खर्चे  ।

बिस्तारै दीक्षितले आफ्नो अध्ययनकै लागि कलेजले व्यवस्था गरिदिने मोडेलहरूको प्रयोग गरी न्युड आर्ट बनाउन थाले । ‘व्यावसायिक मोडलहरू करिब १० सेकेन्ड एउटा पोजमा बसेका हुन्थे, त्यसपछि भने उनीहरूको बान्की अर्काे ठाउँमा ढल्किन्थ्यो । त्यही शुरुको दस सेकेन्ड नै कलाकारको लागि महत्वपूर्ण हो,’ कपिल आफ्नो कामको बारेमा बताउँछन् । कतिपय व्यावसायिक मोडेलहरू भने ४५ मिनेटसम्म एउटै मुद्रामा बसिदिन सक्दथे । काममा दत्तचित्त भएर काम गरिरहँदा वरिपरि के भइरहेको छ भन्ने कुरा पनि उनलाई याद हुँदैन थियो । अहिले पनि त्यस्तै हुने उनी बताउँछन् ।

कपिलमणि दीक्षितका न्युड चित्रकला

अमेरिका बसाइको समय बिस्तारै बित्दै जाँदा क्याम्पसको पढाइका साथसाथै उनी मूर्तिहरूमा समेत काम गर्न थाले अनि काममा समेत नयाँ–नयाँ प्रयोग गर्दै गए । ती शुरुका दिनहरूमा उनलाई चित्रहरू हेर्दा आकर्षक देखिनुपर्छजस्तो लाग्दथ्यो । तर अहिले उनलाई त्यो कुरा धेरैभन्दा धेरै कामहरू गर्दै गइसकेपछि परिवर्तन हुँदै जाने रहेछ जस्तो लाग्दछ । कपिललाई हिजोआज भने मानिसहरूको मुखाकृितभन्दा उनीहरूको संवेदना तथा बस्ने मुद्राले कलामा फरक पार्दछ जस्तो लाग्दछ ।

एकदिन क्याम्पसको प्रोजेक्टमा उनले एउटा चित्र बनाएका थिए जुन चित्रमा एउटी पाको उमेरकी महिला र एउटी सानी बालिकालाई देखाइएको थियो । उक्त चित्र उनका एक प्राध्यापकलाई आफुलाई गिज्याउन बनाएको जस्तो लागेको थियो रे । ती चित्र हटाउन ती प्राध्यापकले कपिलसँग अनुरोध समेत गरेको कपिल सुनाउँछन् । तर कपिलको उद्देश्य ती प्राध्यापकलाई गिज्याउने थिएन । त्यो उनको बिल्कुलै कल्पनाको चित्र थियो । कपिलले उक्त चित्र राखिएको ठाउँबाट हटाउन मानेनन् । ती प्राध्यापकलाई प्रत्येक दिन क्यान्टिन जाँदा त्यही चित्र राखिएको बाटो भएर जानुपर्दथ्यो । उनी रोमाञ्चित हुँदै भन्छन्– ‘अन्तिममा त्यो चित्र उनै प्राध्यापकले किनेर आफ्नो घरमा सजाइन् ।’

कला बनाउनको निमित्त क्यानभास नै चाहिन्छ भन्ने लाग्दैन कपिललाई । त्यहीँ बस्दा समेत नयाँ–नयाँ तरिकाले प्रयोग गर्दै प्रयोगवादी चित्रहरू बनाउने कपिलले जब आफ्नो पढाइ पूरा गरे र नेपाल आउने समय भयो, उनलाई आफ्नो बनाएका ती सबै चित्रहरू नेपाल ल्याउन समस्या भयो ।

कपिलमणि दीक्षितका न्युड चित्रकला

अमेरिकाको टेक्ससमा रहेको इरभिङमा अवस्थित नर्थ लेक कलेज (North Lake college, Irving, Texas) मा रहँदा बस्दा उनी धेरै प्राध्यापकहरूसँग निकै नजिक थिए । हँसिलो स्वभाव अनि रमाइलो गरिराख्नुपर्ने आदतका कपिलमणिका कतिपय कामहरू उनका प्राध्यापकहरूले सङ्कलन गर्ने गर्दथे ।  उनले बि.एफ.ए.को अध्ययन पूरा गरिसकेका थिए । नेपाल फर्कने समय भइसकेको थियो । त्यहाँ बस्दा आफुले बनाएको माटोका मूर्तिहरू तथा चित्रकलाहरू नेपालमा ल्याउन सम्भव नै थिएन । ती चित्रहरू यत्तिकै छोड्न पनि उनलाई मन थिएन, किनकी आफू दत्तचित्त भई भिजेर बनाएका सिर्जनाहरू थिए ती । त्यसैले उनले सबै चित्रहरूलाई अक्सनमा राख्ने निधो गरे जसबाट एउटा पुरस्कारको स्थापना होस् । उनले आफ्ना प्राध्यापकहरूसँग आफ्नो विचारहरु राखे र ती चित्रहरू त्यही क्याम्पसमा नै राख्ने तथा त्यसको बिक्री बापत आएको रकमबाट कलामा उत्कृष्ट ठहरिने विद्यार्थीहरुलाई कपिल दीक्षित उत्कृष्टता पुरस्कार (Kapil Dixit Excellences award) प्रदान गरिदिन प्राध्यापकहरुसँग सल्लाह गरे । कपिल नेपाल फर्किएपछि कलेजले त्यसै गर्यो । उनी हाँस्दै भन्छन्– ‘मानिसहरूले संसार त्यागिसकेपछि आफ्नो नाममा पुरस्कार दिन्छन् । तर मैले भने जिउँदै रहँदा पुरस्कारको योजना शुरु गरेर आएको छु ।’

नेपाल फर्किएपछि एकपटक सन् २०१८ तिर उनी करिव दुई महिनाको एक फेलोसिपमा भाग लिन अमेरिकाको भरमन्टमा रहेको ‘भरमन्ट स्टुडियो सेन्टर’ गएका थिए । ‘भरमन्ट क्यानडाको बोर्डर नजिकै भएकोले उक्त स्थानमा अंग्रेजी महिनाको मार्च र अप्रिल दुई महिना बाहिर हिउँ परिरहेको थियो । हिँडडुल गर्न र कतै निस्कन कठिन थियो । म भने दुई महिने आर्ट रेसिडेन्सिमा भित्र बसेर कलाको उत्सव मनाइरहेको थिएँ । समयले नेटो काटिसकेछ । म त्यसरी पनि बसेको थिएँ न्युड आर्ट बनाउँदै भन्ने कुरा बेलाबेलामा सम्झन्छु ।’ कलाकार कपिलमणि बताउँछन् ।

कपिलमणि दीक्षितका न्युड चित्रकला

‘त्यस कार्यशालाको लागि करिब पचासजना कलाकारहरू एकै थलोमा काम गर्न बसिरहेका थियौं । तर मेरो कामको शैली अरूको भन्दा फरक थियो । शायद नेपालमा कतिपय पत्रपत्रिकाले अश्लील तथा नग्नताको नाममा समाचार बनाउँछन् । तर ती शब्दले न्युडलाई प्रतिनिधित्व गर्दैनन् । टेबललाई नेपालीमा पनि टेबल नै भनेजस्तै न्युडलाई न्युड नै भन्नुपर्छ ।’ दीक्षित आफ्नो कामको बारेमा थप्छन् ।

शुरु शुरुमा कपिलमणिलाई लाग्ने गर्दथ्यो, कला पढ्ने भएपछि कला मात्र पढ्ने हो । तर, अमेरिकाकोे अवस्था फरक थियो । कलासँग जोडिएर आउने गणित, विज्ञान लगायतका विषय पनि अनिवार्य पढ्नुपर्ने थियो । त्यहाँ कलाका विद्यार्थी बनेर पढ्दै गर्दा उनले ‘न्युड’ आर्ट छनौट गरे । न्युड आर्ट नै रोज्नुको कारण के हो थियो होला भन्ने प्रश्नमा उनको जवाफ थियो– ‘पहिला पहिला म भगवान बनाउँथेँ, जसलाई मैले देखेको थिइनँ, भेटेको थिइनँ । तर जब मैले मान्छे बनाउन थालेँ, त्यससँगको सम्वाद र त्यस सम्वादले दिने आत्मानुभूतिले गर्दा मैले खोजेको पाटो भेट्टाएँ र न्युडमा लागेँ।’

अमेरिका बसाइका दौरानमा कपिलले बनाएको न्युड आर्टहरू यहाँ बसेर कल्पना गरेभन्दा भिन्दै छन् । ठूला–ठूला क्यानभासलाई ठूलो हलमा फिँजाएर उनी कहिले हात त कहिले ब्रस रङहरूमा चोपल्दै क्यानभास रङ्गाउन थाल्दथे । उनका सिर्जनाहरूले मानिसहरूको मनभित्र रङको तरङ्ग पैदा गरिदिन्थ्यो । प्रायः आफ्नो कलेजमा आफ्ना शिक्षकहरूसँग वैचारिक बहस गरिरहने र काममा दत्तचित्त भएर लागिरहने भएकाले उनी शिक्षकहरूका पनि प्रिय थिए ।

कपिलमणि दीक्षितका न्युड चित्रकला

नेपाल फर्किएपछि उनका लागि ठूलो चुनौती भनेको आफ्नो काम परिवारसामु देखाउनु थियो । तर उनी आफ्नो कामप्रति स्पष्ट थिए । उनलाई लाग्दथ्यो कि ‘मेरो काम मैले अहिले देखाउन सकिनँ भने म सधैँ कुनामा बस्नुपर्छ ।’ त्यसैले उनले दशैंको केही समय अगाडि आफुले बनाएका न्युड चित्रहरू बैठक कोठाका भित्ताभरि सजाइदिए । उनी सम्झन्छन्– ‘गणेश भगवान बनाउने छोरोले अहिले आएर के बनाएको यो ? यस्तो चित्र पनि बैठकका भित्तामा राख्छन् ?’आमाले भन्नुभएको थियो । तर पहिलो दशैंँमा सबै मानिसहरू टीका थाप्न आए । कोही हाँसे, कसैले मुख खुम्च्याए, कसैले आँखा चिम्लिए । तर त्यसपछि उनका घरमा आउने पाहुनाहरूले उनलाई चिने, उनको कामलाई सम्मान गरे । त्यसपछि उनको काम गर्ने शैलीलाई लिएर कोही पनि हाँसेनन्, कसैले पनि नाक खुम्च्याएनन् ।

नेपालमा न्युड आर्टको बजार खासै छैन । मानिसहरू त्यस्ता कलालाई घरका भित्तामा राख्न रुचाउँदैनन् पनि । तर उनी भन्छन्– ‘हाम्रो अनुहार पनि न्युड हो, हात पनि न्युड हो । अब के यसलाई पनि छोप्नुपर्छ र ?’

कपिलमणि दीक्षितका न्युड चित्रकला

एक प्रसङ्गमा अमेरिकाको भरमन्टमा एक रेसिडेन्सीमा बसेका कपिलले आफ्नो अनुभव यसरी सुनाए– ‘बाहिर हिँउ परेको थियो, भित्र हामी थियौं । मेरो लागि ठूलो हल दिइएको थियो । मेरा लागि दिन बिराएर एक महिला र एक पुरुष मोडल आउँथे । उनीहरू न्युड बस्थे, म उनिहरूको स्केच बनाउँथे । पोस्चरहरू परिवर्तन भइरहन्थ्यो, मैले त्यसलाई स्केचबुकमा उतार्दथेँ । उनीहरू गइसकेपछि मेरा क्यानभासले मलाई बोलाउँथे, त्यसमा ब्रस दल्न लगाउँथे, विभिन्न रेखाहरू कोर्न लगाउँथे । म ती क्यानभासका उर्दीहरूलाई अक्षरसः पालना गर्दथेँ । कहिले ठूलो भ-याङ नै लगाएर भित्तामा क्यानभास टाँगेर काम गर्थें त कहिले भुइँमा फिँजाएर राखिएको क्यानभासमा ।’ त्यही अवधिमा उनले नेपालका पत्रपत्रिकामा आइरहने समाचारहरू पनि सुन्ने गर्दथे । उनलाई महिलाप्रति भइरहेका विभिन्न घटनाहरूले छोयो र त्यही विषयमा नयाँ काम गर्ने सोच बनाए । त्यसपछि आना समकक्षी महिला साथीहरूले लगाएका शिरदेखि पाउसम्मका सबै कपडाहरू मागे । उक्त कपडा माग्नुको उद्देश्य पनि बताए ।  कसैले, जुत्ता दिए, कसैले पाइन्ट त कसैले ब्रा । उनले ती सबैमा आना न्युड आर्ट बनाए र अन्तिम दिन इन्स्टलेसन गरे जसको सन्देश नेपाल तथा विदेशमा महिलाहरूलाई हेर्ने दृष्टिकोण र महिलालाई वस्तुको रूपमा प्रयोग गर्दा हुने समस्याहरूलाई देखाउनु थियो । ती महिलाहरू नाङ्गिदा उनीहरूको शरीर मात्र नाङ्गिने होइन, महिलाले पहिरेको वस्त्रमा उसको केही न केही सम्बन्ध पनि रहेको हुन्छ भन्ने कुरा देखाउनको लागि उक्त काम गरिएको कपिल बताउँछन् ।

काम गर्नका लागि क्यानभास र रङको जरुरत नै छैन भन्न रुचाउने कपिलले अमेरिका बस्दा त्यहाँका भित्ताहरूमा चारकोलले न्युड आर्ट बनाउँथे । भेटिएको सिल्कका साना–साना कपडा समेत उनी छोड्दैनथे । त्यतिबेला करिब ५०० भन्दा बढी न्युड आर्ट बनाएका उनले अन्तिम दिन चित्रकला हेर्न आउने आगन्तुकहरूलाई मन लागेको चित्र लिएर जान सक्छौ भनेर सबै चित्रहरू आगन्तुकका छनौट अनुसार झिकेर लैजान सक्ने अवसर प्रदान गरे । त्यसो किन गर्नुभएको भन्ने प्रश्नमा कपिल भन्छन्– ‘ती मानिसहरूले मैले बनाएका चित्रहरू हेर्दै आपूmलाई मन परेको चित्र छान्दै झिकेर लगेको हेर्दा बढो आनन्द लाग्यो । उनीहरूले ती चित्रहरू पक्कै पनि आफ्नो घरका भित्तामा सजाउनेछन् ।’

कपिलमणि दीक्षितका न्युड चित्रकला

उनका न्युड आर्टहरूमा प्रायः उनी क्यानभाससँग सम्वाद गर्दै न्युड कोर्छन् । त्यस न्युडमा भावनाहरू भर्छन्, मानिसका अप्ठ्याराहरू, आँखाले झल्काउने भावहरू, शरीरका मांसपेशीले जनाउने प्रतिक्रियाहरूलाई बढो संवेदनशील भएर एउटा मूर्तिकारले पुजा गर्न बनाएको मूर्ति जसरी उनी आफ्नो क्यानभास सजाउँछन् ।

कपिलका लागि जाति, धर्म, सम्प्रदाय, लिङ्गभन्दा माथि मानव रहन्छ जसले संवाद गर्दछ । आफुमा भएको आवेग, संवेग, पिर, चिन्ता, दुःख, सुख, असहजता, सहजता लगायतका विषय क्यानभासमा पोखिएर ऊ स्वच्छन्द भएर बाहिर निस्कन्छ र लाग्छ कुनै गन्तव्यमा । उनको स्टुडियोमा न्युड आर्ट गरिदिन अनुरोध गर्दै विभिन्न समस्या तथा अप्ठ्याराको जञ्जिरमा जकडिएकाहरू आउँछन् । उनीहरू फोनमा जस्तो कुरा भए पनि, कपिलको स्टुडियोको भ-याङ चढ्दा देखिएको अप्ठ्यारो, कोठाभित्र पसेर गफ गर्दाको असहजता, उनीहरूको आँखाले देखाएको कौतुहलता, द्विविधा धेरै विषयहरूमा कपिल गफिन्छन् । संवादले सहजता र सरलताको बाटो पहिल्याउँछ । सारा विश्व हेरिसकेका मानिसहरू आफ्नो शरीर हेर्न हिच्किचाउँछन् । तर उनको स्टुडियोमा भएको ठूलो ऐनामा आफूलाई आरामले हेर्न कपिल सुझाउँछन् । लामो समय गफिन्छन् । गफकै दौरानमा चित्र कोर्छन् । जब मानिस अपरिचितको अगाडि न्युड भएर बस्छ तब उसले जस्तोसुकै परिस्थितिमा पनि आफूलाई बाहिर निकाल्न सक्छ भन्ने मान्यता कपिलले बोकेका छन् ।

‘न्युड आर्टका लागि कलेजले व्यवस्था गरिदिएको मोडलहरूसँग आँखा जुधाउन, छुन पाइँदैनथ्यो । उनीहरूसँग आफूले केही दूरी बनाएर काम गर्नुपर्दथ्यो । त्यसो त नेपालमा पनि दूरी कायमै राख्छु र चित्र बनाउँदा कुनै पनि व्यक्तिलाई छुँदिनँ ।’ कपिल बताउँछन् ।

कपिलमणि दीक्षितका न्युड चित्रकला

कपिललाई कहिलेकाहीँ अन्जान व्यक्तिहरूले फोन गर्दछन् । भेट्न अनुरोध गर्दछन् । तर अन्जानहरूलाई उनले आफ्नो स्टुडियो बाहेक बाहिर विरलै भेट्छन् । नेपाली समाजमा महिलाहरूले व्यक्तिगत रूपमा भोगेका भोगाइहरूलाई भुल्न नसक्दा, उनीहरूलाई त्यस भोगाइले कोसिरहँदा त्यस जञ्जिरबाट मुक्त हुन मानिसहरू स्टुडियोमा आउँछन् । कलाकारसँग भलाकुसारी गर्छन् र एक अपरिचित व्यक्तिको अगाडि न्युड हुन्छन् । तब कपिल उनीहरूसँग गफ गर्दै आफ्नो स्केच बुकहरूमा धर्सा तान्न थाल्छन् । उनका धर्साहरूले कहिले पीडा बिम्बित गर्दछन्, कहिले सकस त कहिले सुख । जब अपरिचितहरू आएर स्टुडियोबाट बाहिर निस्कन्छन्, उनीहरू स्वतन्त्र, खुसी, अनि आफूमा वर्षौदेखि रहेको पीडा आज खन्याउन पाएँ भन्ने भाव उनीहरूको आँखामा नियाल्दछन् कपिल । आफ्नो स्टुडियोमा आएर न्युड आर्ट बनाउन लगाउनेहरूको नाम बताउँदैनन् । यसरी ठूलो क्यानभासमा न्युड आर्ट तयार भएपछि ठूलो क्यानभासमा कुनै ग्यालरीमा प्रदर्शनीमा राख्दा समेत जसको आर्ट बनाएको हो, उसैले चिन्न सक्दैन । कारण, कपिलका चित्रहरूमा अनुहारले माने राख्दैनन् । अनुहार बनाएका चित्रहरूमा पनि ती अनुहार अनौठा छन् । आँखाको भाव, मुखको अवस्थालाई उनले अलग्गै ढङ्गबाट प्रस्तुत गर्ने गर्दछन् । न्युड आर्ट गर्न आउने अपरिचित व्यक्तिहरू ‘हिल’ भएर फर्कन्छन् । उनीहरूको समस्या समाधान भएर खुसी साथ निस्कन्छन् उनको स्टुडियोबाट ।

कपिल जब ठूलो क्यानभास लिएर स्टुडियोमा काम गरिरहेका हुन्छन्, उनको नजिकै एफ.एम. रेडियो बजिरहेको हुन्छ । धेरैभन्दा धेरै गजल सुन्न रुचाउने कपिल गीत, सङ्गीत, गजल नसुनी क्यानभासमा ब्रस चलाउनै कठिन हुने बताउँछन् । उनले कोराना महामारीको समयमा प्रत्येक दिन एउटा न्युड आर्ट तयार पार्दथे । घरबाट बिहान १० बजे निस्किने गर्दछन् । आफ्नो बसाइ र स्टुडियो नजिकै भएको कारण उनलाई केही सहजता पनि छ । उनका मानसपटलमा आउने भावहरू, देशमा देखिएका, सुनिएका समाचारहरू लगायतका विषयले उनलाई घचघच्याइरहन्छ । उनी समसामयिक विषयमा चित्र बनाउँछन् तर उनी कतिपय अवस्थामा न्युडलाई विम्वको रूपमा प्रस्तुत गर्दछन् ।

कपिलमणि दीक्षितका न्युड चित्रकला

कपिलले कोरोनाको महामारी पछाडि र ‘मी टु’ शुरु भएपछि आफ्नो स्टुडियोमा महिलाहरूलाई मोडलको रूपमा राखेर चित्र बनाउन छोडेका छन् । त्यसो गर्नुको कारण के होला भन्ने जिज्ञासामा उनी भन्दछन्– ‘यहाँ विदेशमा जस्तो कन्ट्रयाक्ट गरेर न्युड आर्टको मोडल बस्ने चलन छैन, हाम्रो समाजमा महिलाले पुरुषलाई बदनाम गर्न धेरै समय लाग्दैन । आजकल त, घटना प्रमाणित हो कि होइन, आरोप मात्र लागेको अवस्थामा पनि सामाजिक सञ्जालले मानिसहरूलाई दोषी बनाइदिइसकेको हुन्छ । यत्रो लामो तपस्या र साधनाबाट यहाँसम्म आइपुगें । त्यसैले आजकल मानिसहरूलाई विश्वास गर्ने कुरामा विश्वस्त छैन।’

विश्व बजारमा महिलालाई मात्र सबैले मन पराउने भएर होला प्राय न्युडहरू पनि महिलाको नै बन्छन्, विज्ञापनहरूमा हेर्ने हो भने पनि महिला नै हुन्छन् । प्रायःजसो महिलाहरूको बाहुल्यता छ । तर कपिल भने पुरुष पनि सुन्दर हुन्छन्, पुरुषका पनि भावनाहरू हुन्छन् । ऊ पनि न्युड हुन सक्छ भन्ने कुरा सोच्दै पुरुषहरूको चित्रहरू समेत बनाउने गरेको बताउँछन् ।

उनका अनुसार महिलाहरूलाई सहयोग गर्ने सरकारी तथा गैरसरकारी संस्था धेरै छन् । तर पुरुषहरूको लागि छैनन् । पुरुषको गल्ती होस् वा नहोस्, उसलाई बाटोमा महिलाले पिटिन्, घरमा महिलाबाट कुनै समस्या भयो भने त्यस पुरुष रुनै नपाउने ? उसले आफ्नो भावना पोख्नै नपाउने ? भन्ने समाज अहिले पनि छ । त्यसैले पुरुषभित्र निस्कने भावहरूलाई समेत जनमानसमा पु-याउनु पर्दछ भन्ने उद्देश्यका साथ सन् २०१८ मा एमक्युब ग्यालरीमा कलाकार रोशन मिश्र र कपिलले एउटा पर्दशनी गरे ।

कपिलमणि दीक्षितका न्युड चित्रकला

कलाकार रोशन मिश्रले उक्त प्रदर्शनीमा आफू न्युड भई प्लास्टिकमा बेरिई आफूभित्रका गुम्स्याहटहरूलाई देखाउन फोटो खिच्न लगाए । ती फोटोका नेगेटिभहरूलाई धुलाई कलात्मक हिसाबले पुरुषहरूका भावनालाई प्रतिबिम्बित गर्ने गरी प्रदर्शनी गरे ।

आजकल कपिल आफ्ना चित्रका पात्रहरू खोज्न र मानिसको आँखामा खुसी खोज्न बसमा चढेर चक्रपथ परिक्रमा गर्दछन् । बसको झ्यालमा बसेर पूरा चक्रपथको फन्को लगाउँछन् । झ्यालबाट देखिने दृश्यहरूलाई उनी आफ्नो आँखामा समेट्छन् । बाहिर देखिने मानिसहरूको आँखामा उनी खुसी भेट्दैनन् । बसमा गफिइरहेका मानिसहरूको गफ सुन्न उनलाई आनन्द लाग्दछ । उनी त्यही कल्पना र भावना जागृत हुने गरी आफ्नो क्यानभासमा न्युड चित्रहरू बनाउँछन् जसमा ती मानिसहरूका भावना र संवेदनाका भावहरू कहिले हात रङ्गमा डुबाएर त कहिले ब्रस डुबाएर क्यानभासमा पोख्दछन् ।

कपिलमणि दीक्षितका न्युड चित्रकला

प्रतिक्रिया दिनुहोस्

Array