वि.सं २०५८ सालमा चारकोलबाट बनाइएको चित्रकला प्रदर्शनी तथा २०६० सालमा कवि तथा साहित्यकारहरुको मुहारचित्रको प्रदर्शनी गरिसकेपछि कलाकार सुरेश द्यःला एकाएक हराए । पाश्र्वमा बसी करिव २ दशकका लागि आफुलाई मन पर्ने तथा इष्टदेव भगवान महादेवका चित्रहरु बनाउनमा समय खर्चिन थाले । कहिले काहिँ क्यानभासमा कुरा गर्दै त कहिले बनेका चित्रहरुसँग नै रमाउँदै बनाइएका यी चित्रहरु हाल नेपाल आर्ट काउन्सिल, बबरमहलमा प्रदर्शनीमा राखिएका छन् । उनका कलामा रङ्ग तथा आकृतीहरुको सम्मिश्रण अद्वितिय रहेका छन् भने क्यानभासमा रहेका चित्रहरुमा महादेवको आकृतीले दर्शकहरुको ध्यान आकृष्ट गर्न सक्ने क्षमता रहेको कलाकार सुरेश द्यःला बताउँछन् ।

त्यसो त कलाकार सुरेशले शैक्षिक हिसाबले पनि ललितकला क्याम्पसमा अध्ययन गरी बी.एफ.ए सम्मको अध्ययन गरेका छन् । नेपाल व्यवसायिक कलाकार संघद्वारा आयोजित उक्त प्रदर्शनी नेपाल आर्ट काउन्सिल बबरमहलमा भाद्र ७ देखि १७ गतेसम्म चल्नेछ । उनका केही चित्रहरुलाइ यस आलेखमा वर्णन गर्ने प्रयास गरिएको छ ।
हिमालय पर्वतको दरबारभित्र महादेव र पार्वतीको विवाहको दृश्यलाई उनले देखाएका छन् । विवाहको अवसरमा दरवार भित्र नै यज्ञ गर्नको निमित्त ज्वाला बलिरहेको समयमा उक्त ज्वालाले पुरै दरवारलाई नै अलौकिक रोशनी दिइरहेको देख्न सकिन्छ भने त्यहाँ आएका निम्तालुहरु महादेव जस्तो वैरागीले समेत विवाह गर्नुभएको सन्दर्भमा अचम्मित भइ हेरिरहेको जस्तो भान हुने गरी बनाइएको छ ।
त्यसैगरी उनको अर्काे चित्रमा भने महादेवको ताण्डव नृत्यको दृश्यलाई देखाइएको छ । महादेवको ताण्डव दुइ किसिमको हुने कलाकार बताउँछन्ः क्रोधमय तथा सुखमय । यो बनाइएको चित्रमा भने सुखमय ताण्डवको दृश्यलाई देखाइएको छ । सन् २००१ मा बनेको यस चित्रमा पोस्टर कलरको प्रयोग गरिएको छ भने यस चित्रमा नन्दीलाई साँढेको रुपमा नै प्रस्तुत गर्दै उनले ढोलक बजाइरहेको दृश्यलाई देखाएका छन् । नन्दीलाई अरु कुनै आकृतीमा नदेखाई किन साँढेकै रुपमा प्रस्तुत गर्नुभएको भन्ने प्रश्नमा कलाकार बताउँछन् कि यो कुरामा धेरै दिनको सोच विचार पश्चात् मात्रै साँढेको रुपमा प्रस्तुत गर्दै उनका अगाडिको दुइ खुट्टाले ढोलक बजाइरहेको देखाउँदा अझ राम्रो देखिने भएकाले यसरी प्रस्तुत गरेको कलाकार बताउँछन् ।

उनको अर्काे चित्रमा भने महादेव, गणेश, कुमार तथा पार्वतीलाई देखाइएको छ । चित्रमा वा टेलिभिजनमा सधैँ देखिरहेको पारिवारिक कल्पना भन्दा फरक देखिने यस चित्रमा सबैको वहानलाई पनि सँगै देखाइएको छ । जसमा नन्दी देवीको वाहान सिंहको आहारा रहेको, गणेशको वाहान मुसक कुमार कार्तिकेयको वाहान मयुरको आहारा तथा महादेवले धारण गर्ने सर्प पनि मयुरको आहारा हुँदा हुँदै पनि एक अर्का विच मिलेर बसेको तथा यसले नै जीवन चक्र पनि यसरी नै चल्ने कलाकार सुरेश बताउँछन् ।
त्यसैगरी उनको अर्काे चित्रमा भने महिशासुरले सम्पूर्ण देवताहरुलाई दुःख दिएपछि महिशासुरको वध गर्नको निमित्त देवी दुर्गा उत्पन्न भइसकेपछि सम्पूर्ण देवताहरुले आफ्ना शक्तिहरु उनलाई प्रदान गरेको दृश्यलाई क्यानभासमा उतारेका छन् । सामान्यतयाः वरदान पाउने व्यक्तिलाई तल तथा वरदान दिने माथि देखिने भएतापनि यो चित्रमा भने देवीलाई मूख्य पात्रको रुपमा ठूलो बनाइएको छ भने अरु देवताहरुलाई सानो रुपमा देखाइएको छ ।

उनको अर्काे चित्रमा भने महादेवले कालकुट विष पिइसकेपछि अचेत भएको अवस्थामा चन्द्रमाले आफ्नो निलो आभामण्डल फैलाउँदै शितलता प्रदान गरेको अवस्थालाई देखाइएको छ । चन्द्रमा चन्चल हुने गरेको र सामान्यतयाः बच्चाहरु चन्चल हुने भएकाले पनि चन्द्रमालाई बच्चाको रुपमा चित्रण गरेको कलाकार बताउँछन् ।
सन् २०१९ मा बनेको कलाकारको अर्को चित्रमा महादेवको तेश्रो नेत्रबाट निस्केको अग्निले कामदेवलाई भष्म गराएको र छेउमा रतिले विलाप गरेको तथा महादेवको अर्को छेउमा पार्वती बसेको देखाइएको छ । चित्रमा देखाइएको दृष्य शिव पुराण अनुसार महादेव सतीदेवीसँगको वियोगपछि हिमालय पर्वतमा गई तपस्या गर्दा हिमालय पर्वतले आफ्नी छोरी पार्वतीलाई महादेवको सेवाको लागि पठाएको, तर त्यति नै बेला तारकाशुर दैत्यले ब्रह्माबाट प्राप्त बरदान अनुसार शिवको पुत्रबाट मात्र मृत्यु होस् भनेको तथ्यलाई चरितार्थ गर्न महादेवलाई बैराग्य तथा ध्यानबाट ब्युझाउँन इन्द्रको आदेशमा कामदेव र रति शिवको सम्मुख गएर कामबाण प्रहार गरी काम, क्रोध, लोभ, मोह जगाउन खोज्दा शिवको क्रोधले कामदेव भष्म भएको कलाकार सुरेशको कथन रहेको छ ।

शिव महापुराणमा रहेको अर्काे एक कथा जसमा महादेव तथा पार्वती एकान्तवासमा कुमार कार्तिकेयको प्राप्तीको लागि शक्तिवनमा बसेको दश्यलाई देखाइएको छ । यो वनको विशेषता महादेव बाहेक अरु जोसुकै पुरुष यस वनमा प्रवेश गरे पनि नारीमा परिवर्तन हुने कथा रहेको छ । त्यहि जंगलको एकान्तवास तथा प्रेमालापको क्षणलाई उनले यस चित्रमा देखाएका छन् ।

त्यसैगरी उनको अर्काे चित्रमा भने महादेव र जालन्धरको युद्धलाई देखाइएको छ । उक्त चित्रमा जालन्धरले पहिरिएको लुगा कुनै ग्रीक योद्धाले लगाएको जस्तो देखिन्छ नि भनि सोद्धा कलाकार बताउँछन् कि अहिले प्रविधिले गर्दा मानिसहरु यो पूर्वीय तथा यो पाश्चत्य भनी पहिल्याउँछन् तर वास्तवमा त्यस बेलाको समयका मानिसहरुले त्यस्तो वस्त्र लगाएको पनि हुन सक्ने तर्क दिन्छन् ।

उनको अर्काे चित्रमा भने त्रिपुरदहनको दृश्यलाई उतारिएको छ । जसमा महादेव विष्णु रुपि वाण धनुमा राखी ब्रह्मालाई सारथी बनाई सप्त ऋषिहरु घोडाको रुपमा रहेको दृश्यलाई देखाइएको छ । ठ्याक्कै तीनवटा पुरलाई पनि चित्रमा देखाइएमा एक सामान्य चित्र जस्तो लाग्ने भएकाले महादेवलाई नै मूख्य पात्रको रुपमा राखि यो चित्र बनाइएको कलाकार सुरेश बताउँछन् ।
त्यसै गरी उनको अर्काे चित्रमा भने दक्षको यज्ञ विनाश गर्नको लागि विरभद्र तथा महाकालीको उत्पत्तीको दृश्यलाई देखाइएको छ । झट्ट हेर्दा अरबी लोककथा अल्लादिनको जीन जस्तो प्रतित हुने विरभद्रलाइ ठूलो भुँडि तथा लामो टुप्पीको साथ प्रस्तुत गरिएको छ ।

हुन त यस प्रदर्शनीमा राखिएका प्रत्येक चित्रले पुराणका कुनै न कुनै कथाहरुलाई समेटेको छ र आफैंमा विशेष छन् । त्यसो हुँदा हुँदै पनि दश शीर भएको रावणले कैलाश पर्वतलाई उचाल्न लाग्दा महादेवले आफ्नो गोडाको बूढी औंला जमिनमा राख्दा रावणको हात चेपिएको र रावणले शिव ताण्डव स्तोत्र बनाई पाठ गर्दा महादेव प्रशन्न भई हात निकाल्न दिएको प्रसङ्गलाई अर्काे क्यानभासमा उतारेका छन् कलाकारले । रावणको दश शिरले बल र बुद्धिलाई इंगित गर्दछ भने प्रत्येक शिरलाई फरक फरक बनाइएका छन् ता कि यी छुट्टछुट्टै दश बुद्धिमान मानिस हुन् भन्ने कुरा दर्शकलाई बुझ्न मदत मिलोस् भन्ने उदेश्य रहेको कलाकार बताउँछन् ।

यस प्रदर्शनीमा बनाइएको प्रत्येक चित्रहरुमा महादेवको रुप भने फरक फरक देखाइएकोमा कलाकार सुरेश बताउँछन् कि मानिसको रुप सधैँ एकैनाश हुँदैन र पल पलमा परिवर्तन भइरहने भएकाले नै परिवर्तित रुप देखाइएको बताउँछन् । त्यसै गरी सम्यक अनि ज्ञानी इश्वरको रौद्र रुप धारण तथा सौम्य रुप धारणमा द्रष्टा भाव रहने गर्दछ । कलाकार सुरेशका अनुसार सम्पूर्ण शिव अनुयायी जसले पुराणको अध्ययन गरेका छैनन् उनीहरुलाई पनि यहाँ प्रदर्शित चित्रहरुले केही न केही ज्ञान दिने कुरामा विश्वस्त छन् भने कलालाई क्रमबद्ध रुपमा राख्दा यो पछि यो आउँछ भनी मानिसहरुले कथामा मात्रै ध्यान केन्द्रित होला कि भनी शिलशिलाबद्ध रुपमा कलालाई नराखिएको पनि बताउँदछन् । त्यसैगरी उनले यस प्रदर्शनीमा राखिएका कुनै पनि कलाहरु विक्रिमा नराख्ने पनि बताउँदै आएका छन् । श्रृजनालाई बेच्नु भन्दा ती श्रृजनाहरु कलाकारसँग नै सुरक्षित राख्दै त्यसको प्रतिलिपिको छायाँप्रति मात्र विक्रि गर्ने योजना रहेको कलाकार बताउँदछन् ।
प्रतिक्रिया दिनुहोस्