नेपाली कला जगतमा नयाँ नयाँ प्रयोगहरू हुँदै गइरहेको लामो समय भइसकेको छ । नेपाली चित्रकला जगतमा कलाकारहरूले विभिन्न समयमा विभिन्न किसिमका कामहरू बनाई प्रदर्शनीमा राख्ने गरेका हुन्छन् । जसमा कोही कलाकार मूर्त चित्रकलामा अग्रसर छन् त कोही कलाकार अमूर्त चित्रकलातर्फ । यस्तै एक मूर्त चित्रकला प्रदर्शनी ठमेलमा अवस्थित दलाइ ला आर्ट स्पेसमा भइरहेको छ जसमा कलाकार मुना भडेलका एकल चित्रकलाहरू प्रदर्शनीमा राखिएका छन् । यो प्रदर्शनी श्रावण २५ देखि भाद्र १५ (अगस्ट १० देखि ३१ अगस्ट) सम्म रहनेछ ।
कलाकार मुना भडेलले महिलाहरूले लगाउने कपडासँग हुने गरेको भावनात्मक, मनोवैज्ञानिक तथा सामाजिक अन्तरसम्बन्धहरूलाई क्यानभासमा उतारेकी छन् । मुनाका अनुसार ‘हाम्रो नाङ्गो शरिरले मानिस वा हाम्रो अस्तित्वलाई दर्शाउँछ तर मानिसको व्यक्तित्व, भावना, समवेदना उक्त मानिसले लगाउने पहिरनमा झल्किन्छ । मानिसहरूले छानेको पहिरन, कपडाको बनावट तथा गहनाहरूले समेत मानिसको व्यक्तित्व तथा अवस्था इंगित गर्दछ ।’

महिलाहरू विशेषतः आफुले लगाउने पहिरनमा ज्यादै सचेत रहने गर्दछन् । वस्त्रहरू लाज ढाक्नको लागि मात्रै नभएर आकर्षक व्यक्तित्व झल्काउनको लागि समेत प्रयोग हुने गर्दछ भन्छिन् प्रर्दशनीका लागि चित्रहरू बनाउने कलाकार मुना भडेल । उनका चित्रहरूका लागि उनले मोडेल समेत प्रयोग गर्ने गरेकी छन् । मोडेल भने उनकी बहिनी बस्ने गरेकी छिन् । बहिनीलाई अनेक किसिमका पोजहरूमा विभिन्न पहिरनमा सजाउने गर्दछिन् । उनले बनाउने चित्रहरूमा मोडेल किन राख्नुभएको भन्ने प्रश्नमा उनि भन्छिन्, ‘मोडेलहरू नराखिकन चित्रकलाहरू बनाउँदा चित्रहरू कता कता बहकिएको जस्तो लाग्दछ, त्यसैले पनि मैले मेरा चित्रहरूमा मोडेल नै प्रयोग गरेकी हुँ । मेरी बहिनी मेरो लागि मोडेल जसरी बसिदिने गर्दछिन् ।’ महिलाहरूको मनोदशा र भावनालाई देखाउन श्रृङ्गार एकदमै प्रिय वस्तु हो कलाकार मुनाको लागि । क्यानभासमा भावभङ्गिमा जस्ताको तस्तै बनाई राम्रो पहिरनमा सजिएका आकृतीहरूलाई अगाडि राखि पृष्ठभूमिमा भने राजस्थानी शैलीका मूरलहरू जस्ता देखिने आकृतीहरूलाई बनाएकी छन् । सौन्दर्य तथा सोचमा मग्न भएका यी चित्रहरू झट्ट हेर्दा बोल्लान् कि जस्तै नै लाग्दछन् ।

दलाई ला आर्ट स्पेस कलाकारहरूका प्रदर्शनी गर्ने थलोको रुपमा विकसित हुँदै गइरहेको लामो समय भने भइसकेको छैन । यस प्रदर्शनीमा कला क्युरेट भने कलाकार विधाता के.सी.ले गरेकी हुन् । उनी भन्छिन्– ‘महिला भएर महिलाको बारेमा चित्रकलाहरु बनाउने मुनाको काम मलाई पहिलेदेखि नै मनपर्ने गरेका छन् । त्यसैले पनि उनका कामहरुले अझै आकर्षक तरिकाले प्रस्तुतीकरण गर्ने मौका पाएकोमा आफुलाई खुसी लागेको छ ।’
कलाकार मुनाले बनाएको चित्रहरू मध्ये एउटा चित्रमा प्राचिन समयको राजस्थानमा देखिने जस्तो एक दृश्यलाई देखाइएको छ जहाँ एक महिला राम्रो वस्त्र पहिरिई ऐनामा आफैंलाई हेर्दै मग्न भइरहेको जस्तो देखिन्छ भने त्यसको मुनि अर्की एक महिला आफुले लगाएको लुगाले चराहरूलाई धपाउँदै खेलिरहेको देखिन्छ भने एक हालसालैको नवयुवती भने नयाँ तथा आकर्षक वस्त्र पहिरिई कुनै सोचमा मग्न भएको देख्न सकिन्छ ।
चित्रकला बनाउने क्रममा क्यानभासमा रङ्ग लगाइसकेपछि त्यसलाई कोट्याएर त्यसको माथि अर्काे तहको रङ्ग लगाउन पनि विशेष रमाइलो लाग्ने गरेको कलाकार बताउँछिन् । यस्तो तरिकालाई स्क्र्याच मेथड भनिन्छ र यसरी काम गर्दा क्यानभासलाई पूरानो जस्तो देखाउन सकिने र मिहिनत देखिने पनि अनुभव छ उनको ।

कलाको विविध विषयमा गफिने क्रममा कलाकार मुना बताउँछिन् कि कलाकारहरू एउटै विधामा मात्र सिमित भएर रहनु भन्दा विभिन्न किसिमका प्रयोगहरू गरी नै रहनु पर्दछ । यहि प्रयोगहरू गर्ने क्रममा महिला सोच तथा महिलाहरूको विषयमा काम गर्न रुचाउने मुनाका दलाई ला को स्पेसमा भने आफ्नो हजुरआमाको मायालु स्पर्सहरूलाई सम्झिएर बनाइएका चित्रहरू राखिएका छन् । झट्ट हेर्दा प्रिन्ट जस्ता लाग्ने उनका ती चित्रहरूमा हजुरआमाले घरमा रहँदा मायालु स्पर्षका साथ मुसार्नु हुन्थ्यो । हजुरआमा वितेर गइसक्नु भएको २ वर्ष भयो तर उहाँँको याद भने उनमा ताजा नै छ । यिनै यादहरू र मायालु स्पर्सहरूलाई उनले पेन्सिलको स्केच गरी झुण्ड्याएकी छन् ।
उनलाई मन पर्ने अनि प्रेरणा दिने कुनै नेपाली वा विदेशी कलाकार छन् कि भन्ने प्रश्नमा भने मन पर्ने मध्येको एक अष्ट्रियन कलाकार गुस्ताभ क्लिम्ट (सन् १८६२–१९१८) लाई बताउँछिन् । कलाकार क्लिम्टले पनि व्यक्तिको चित्रलाई अगाडि देखाइ पाश्र्वमा प्राचिन शैलीको जस्तै देखिने गरी बनाउने गर्दछन् । सामान्यताः अभिव्यक्तिहरू चित्रकलामा महत्वपूर्ण हुन्छन् र मुनाका चित्रकलाको अभिव्यक्तिहरूलाई नियाल्न कलाप्रेमी सबैलाई निम्तो समेत दिन्छिन् कलाकार भडेल ।

प्रतिक्रिया दिनुहोस्