सिद्धार्थमा आवाजहिनता….

सुनिल राज ढकाल
सुनिल राज ढकाल १२ भाद्र २०७९, आईतवार ०६:००
4 Min Read
Aa

नेपालमा हाल स्वदेशी तथा विदेशी कलाकारहरु उत्तिकै रुपमा सक्रिय भई चित्रकलाहरुको प्रदर्शनी गर्दै आइरहेका छन् । त्यस्तैमा हाल सिद्धार्थ आर्ट ग्यालरी, बबरमहल रिभिजिटेडमा भियतनामी कलाकार विन न्हीको एकल चित्रकला प्रदर्शनी भइ रहेको छ । यो प्रदर्शनी भाद्र १० गतेदेखि १२ गतेसम्म (अगस्ट २६ देखि अगस्ट २८) चल्ने छ ।

यी कलाकार विन न्हीले भिएतनाम फाइन आर्ट कलेजबाट एम.एफ.ए गरेकी हुन् भने कलाकार भियतनाममा रही त्यहाँको क्याम्पसमा विद्यार्थीहरुलाई पनि कलाको अध्यापन गराउँदै आफु पनि कला श्रृजनामा सक्रिय रहँदै आएको बताउँछिन् । ‘यो मेरो दोस्रो एकल चित्रकला प्रदर्शनी हो र बुद्धको भूमिमा यो प्रदर्शनीगर्न पाउँदा खुसी लागेको छ’– कलाकार बताउँछिन् ।  नेपालको भूभाग, यहाँको धार्मिक रङ्गहरु लगायतका विषयलाई आत्मसाथ गर्दै आफ्नो क्यानभासमा ती अनुभूतिहरुलाई व्यक्त गरेको विन बताउँछिन् । नेपालको भू–बनावट स्वदेशमा रहने नेपालीहरुका लागि त आकर्षक छँदै छ, तर विदेशबाट आउनेहरुका लागि पनि त्यत्तिकै रुचिकर र चाखलाग्दो रहँदै आएको उनी बताउँछिन् । नेपाल बसाइको लामो समय उनले राइस पेपरमा आफ्नो चित्रहरु बनाउँदै गइन् र कालान्तरमा त्यतिले मात्र आफ्नो श्रृजनात्मक अभिव्यक्तिलाई समेट्न नसकेकोले क्यानभासमा एक्रेलिक रंगहरुले खेल्न शुरु गरेको बताउँछिन् । उनले नेपालको मुस्ताङ तथा विभिन्न पर्यटकिय गन्तव्यहरुको समेत भ्रमण गरी सकेकी छन् । यही भ्रमणको क्रममा देखिएका दृश्यहरुलाई अर्धमूर्त तथा अमूर्त शैलीमा क्यानभासमा उतारेकी छन् उनले यस प्रदर्शनीका लागि ।

सामान्यतयाः विहानको समयमा ध्यानको गहिराइमा डुबेर कला बनाउन रुचाउने कलाकार विन न्हीका चित्रहरु नेपाली कलाकारहरुको क्यानभासमा देखिने अभिव्यक्तिहरु भन्दा पृथक देखिन्छन् ।

करिव ३५ चित्रकलाहरुलाई समेटिएर गरिएको यस प्रदर्शनीको तल्लो तलामा १० वटा चित्रहरु झुण्ड्याइएको छ जसमा हिमाल, कमलका पूmलहरुलाई चित्रण गरिएको र त्यस भित्र अझै गहनतम दृष्टि लगाउने हो भने उनले प्रकृतिमा पाइने विभिन्न विषयहरुलाई विम्वको रुपमा प्रयोग गरेकी छिन् । माथिल्लो तलामा भने उनले नेपाल भ्रमणको क्रममा देखेको मानिसहरु, दृश्य तथा ठाउँहरुलाई दर्शाइएको छ । उनका चित्रहरुमा ध्यानमुद्रामा बसिरहेको बुद्धका आकृतिहरु तथा अँध्यारोबाट उज्यालोबाट तर्फ उन्मुख विषयहरुलाई क्यानभासमा विम्वित गरिएको छ । नेपाल आउनुको कारणबारे चर्चा गर्दै कलाकार बताउँछिन् कि बुद्ध धर्मको विषयमा अझ गहन अध्ययन गर्नका लागि उनी यहाँ आएकी थिइन् । उनी यहाँ आइ सेचेन गुम्बामा रहेको छिरिङ आर्ट विद्यालयमा रही बुद्ध धर्म तथा कलाको विषयमा अझ गहन अध्ययन गर्न चाहन्थिन् । तर तीन महिना लामो बसाइको क्रममा यहाँका मानिसहरु, रंगहरु तथा प्राकृतिक छटाहरुको मनमोहकताले तान्दा उनलाई अझ थप काम गर्ने हौसला मिलेको र यहि कामका अभिव्यक्तिहरुलाई प्रदर्शनीमा राखेको बताउँछिन् ।

उनले प्रदर्शनीमा झुण्ड्याएका चित्रहरु कुनै अमूर्त छन् त कुनैमा भने कमलका फूलहरुमा विभिन्न किसिमका किरा फट्याङ्राहरुलाई समेत देखाएकी छन् । भियतनामको राष्ट्रिय फूल कमल रहेको र उनलाई पनि यी फूलहरु प्रिय भएकाले र यसमा साना साना जीवहरुको जीवनचक्रलाई देखाउन पनि सहज हुने भएकाले पनि आआफ्ना कलात्मक अभिव्यक्तिहरु दिनको लागि यो फूल उपयुक्त भएको बताउँछिन् कलाकार ।

त्यसै गरी उनको अर्काे चित्रको शीर्षक उनले चट्याङ यानी कि थन्डरस्ट्रम दिएकी छन् । उनी थप्छिन् – ‘नेपाल बसाइको क्रममा पानी पर्नु अघि रातको समयमा चम्किने विजुली तथा चट्याङलाई शीर्षक बनाई अमूर्त चित्रकला बनाउँदा अनौठो अनुभूति भएको थियो ।’ त्यसै गरी उनको अर्काे चित्र भने उनले भ्रमणको क्रममा नेपालमा देखेको हिउँले भरिएको हिमालहरुलाई अमूर्त ढंगबाट क्यानभासमा उतारेकी छन् ।

नेपालमा रहने कलाकारहरुले गरी रहने कामहरुभन्दा रंगको समायोजन तथा अभिव्यक्तिको हिसाबले पनि नौलो भएकाले नेपाली कलाकारहरुका लागि यो प्रदर्शनी एक फरक स्वाद तथा प्रेरणाको श्रोत हुने कलाकार जुपिटर प्रधान बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

Array