बङ्गलादेश र नेपालको कलालाई जोड्दै बङ्गलादेशी कलाकरहरु

सुनिल राज ढकाल
सुनिल राज ढकाल २३ भाद्र २०७९, बिहीबार ०६:००
6 Min Read
Aa

‘स्पिरिट अफ फ्रेन्डसिप’ शिर्षकका साथ बङ्गलादेशका १० कलाकारहरुको कला प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा प्रदर्शनी भइरहेको छ । हरेक देशको कलाले त्यस देशको भू–बनावट, रहनसहन तथा मानिसहरुको संस्कृतिलाई झल्काउने गर्दछ भने, यस पटक बङ्गलादेशको पनि दुर्गम भू–भागमा रहने मानिसहरुको जीवन शैलीलाई कला मार्फत प्रस्तुत गरेको यस प्रदर्शनीको क्युरेटर कनक चन्पा चक्मा बताउनुहुन्छ ।

नेपाल र बङ्गलादेश बिच कुटनैतिक सम्बन्ध कायम भएको ५०औँ वर्षमा प्रवेश गरेकाले पनि यस उत्सवलाई मनाउनको निमित्त प्रदर्शनीले उल्लेख्य भूमिका खेल्ने नेपालका लागि बङ्गलादेशका राजदु सलाहुदिन नोमन चौधरी बताउनुहुन्छ । यसै प्रदर्शनीको उद्घाटन सत्रमा बोल्दै उहाँले भौगोलिक अवस्थितिथि तथा रहनसहनका आधारमा नेपालका दुर्गम भूभागको रहनसहन तथा बङ्गलादेशको रहनसहनमा केही समानता रहेको बताउनुभएको थियो भने यस्तो किसिमको कला प्रदर्शनीहरुले कलाकारहरु बिचको सिर्जनात्मकतालाई पनि तिखार्न मद्दत मिल्ने कुरामा उहाँले जोड दिनुभयो ।

नेपाल जस्तै बङ्गलादेश पनि विविध कला संस्कृतीले भरिपूर्ण देश हो जहाँको आदिवासी जनजातीहरुले त्यहाँको संस्कृतीलाई अझ निखारता प्रदान गरेको छ । त्यहाँको पहाडी समुदायको रहनसहन तथा संस्कृतीले त्यस देशलाई अझ राम्रो अनि सुन्दर बनाउन मद्दत गरेको छ । नेपाल र बङ्गलादेशले वर्षौंदेखिको मित्रता कायम नै छ । नेपाल र बङ्गलादेश दुवै देशका रहनसहन र प्रयोग हुने रङ्गहरुमा केही तादात्म्यता छ भने केही भिन्नता । बङ्गलादेशका कलाकारहरुका लागि नेपालको रहनसहन तथा वासिन्दाहरु शान्ती तथा संयमको पाठ सिकाउने बङ्गलादेशी कलाकार तथा यस प्रदर्शनीकी क्युरेटर कनक चान्पा चाक्मा बताउनुहुन्छ । प्रदर्शनी यहि सेप्टेम्बर २ देखि १२ सम्म चल्नेछ र यस प्रदर्शनीमा १२ बङ्गलादेशका कलाकारहरुको कला प्रदर्शनीलाई समावेश गरिएको छ ।

खोजपत्रसँगको कुराकानीका क्रममा बताए अनुसार कलाकार तथा क्युरेटर कनक चन्पा चक्माले बङ्गलादेशको ग्रामिण भूभागमा पानीको दुःखलाई देखाउनको निमित्त एक महिलाले डोकोमा पानीको सानासाना भाँडा बोकेको चित्र बनाएकी छन् । ‘वाटर फ्रम द मून’ शिर्षक दिइएको उनको कलामा बङ्गलादेशको दुर्गम भूभागमा पानीको अभाव हुँदा मानिसहरुले रात्रीको समयमा वोतलहरु बाहिर राखि रातीमा जम्मा भएको शितलाई नै पानीको रुपमा प्रयोग गर्ने चलन रहेको कुरालाई देखाउन खोजेकी हुन् । त्यसै गरी अर्का कलाकार सौरभ चौधरीले भने एचिङ्ग प्रस्तुत गरेका छन् । पहिलेका राजा महाराजाहरु तथा मयुरमा सवार प्राचिनता झल्कने शैलीका उनका एचिङ्गहरु नेपाली कलाकारहरुले बनाउने एचिङ्ग भन्दा फरक स्वादका छन् । प्राचिन समयको संस्कृतिहरुले आफुलाई सधैँ छोइरहने र त्यही कुराहरुलाई कला मार्फत देखाउँदा बेग्लै मजा आउने कलाकार कुराकानीको क्रममा बताउँछन् ।

त्यसैगरी अर्का कलाकार अजमिर होस्सैनले भने मनसुन शिर्षकमा जलरङ्ग बनाएका छन् । वर्षात्को समयमा एक भैँसी नदी किनारामा चरिरहेको छ भने एउटा बकुल्ला त्यतैबाट उँडिरहेको यस चित्र झट्ट हेर्दा कुनै फोटो पो हो कि भन्ने भान पार्न सफल भएको छ । त्यसै गरी अर्का कलाकार विश्वजित गोश्वामीले भने क्वेस्ट फर सोल शिर्षकमा सेतो ग्राफ जस्तो पृष्ठभूमिमा दुइ मानिस योगासनमा रहेको जस्तो चित्र प्रदर्शनीमा राखेका छन् । उनका दुइ चित्रहरु नै आकर्षक देखिएका छन् ।

त्यसै गरी अर्का कलाकार मोङ्ग मोङ्ग शोले भने समुद्रमा माछा मार्नेहरुको कहानीलाई कला मार्फत प्रस्तुत गरेका छन् । ‘सङ्गस अफ फिसरम्यान’ शिर्षक दिइएको उनको कलामा समुद्रका टाढा टाढासम्म माछा मार्न जाने मछुवाराहरुको दैनिकिलाई उतार्न सफल भएका छन् । त्यसै गरी अर्का कलाकार जयतु चक्माले भने बङ्गलादेशको पहाडी बस्तीमा बस्ने मानिसहरुको दुःख कष्ट तथा रहनसहनलाई देखाएको छन् । ‘विभिङ्ग या तानबुना’ शिर्षक दिइएको उनको कलामा एक महिला तान बुनिरहेकी छन् भने उनको छेउमा उनको बच्चा आमासँगै उभिइरहेको गाउँले परिवेशलाई उनले आफ्नो कलामा देखाएका छन् ।

त्यसैगरी अर्की कलाकार लुम्बिनी देवानले भने ब्लसम शिर्षक दिई फुल फुलिरहेको परिदृश्यलाई क्यानभासमा उतारेकी छन् । अर्का कलाकार आङ्गथोवाई मर्माले भने ‘विभिङ्ग लुम’ शिर्षक दिई क्यानभासमा ठाउँ ठाउँमा एक्रेलिकको प्रयोग त कतै चित्रहरुको प्रयोग त कतै तानबुनालाई राखि प्रयोगात्मक काम गरेका छन् । यस्तो किसिमको काम नेपालमा कमै हुने भएकाले पनि नेपाली कलाकारहरुका लागि नयाँ प्रयोग हुन सक्ने प्रदर्शनीमा अवलोकन गर्न आएका नेपाली कलाकार मुकेश श्रेष्ठ बताउँछन् ।

अर्का कलाकार सुधिप चक्माले भने ‘अननेचुरल डेथ अफ ड्रिम’ शिर्षकमा कोरोना महामारीले गर्दा मानिसहरु कसरी सकिइरहेका छन् र उनीहरुका सपनाहरु पनि शरिरसँगै कसरी मरेर गइरहेका छन् भन्ने कुरालाई कला मार्फत प्रस्तुत गरेका छन् । अर्की कलाकार नोमोस्ता रेमाले भने बङ्गलादेशमा प्रयोग हुने साङ्गितिक बाजा गारोलाई जलरङ्ग मार्फत देखाएकी छन् । बङ्गलादेशमा निकै प्रचलित यस बाजा झट्ट हेर्दा मादल जस्तै देखिन्छ भने पहेँलो पृष्ठभूमिमा बनाइएको यस बाजा निकै आकर्षक देखिएको छ ।

अर्का कलाकार मुन्ना बाउमले भने प्राकृतिक स्वरुपमा रहेको झरना एकातिर बगिरहेको र अर्काे पट्टिबाट पानी बगेसरी तानबाट बुनिएको कपडा आइरहेको परिदृश्यलाई काल्पनिक हिसावले बनाएका छन् । नेपालका लागि बङ्गलादेशका राजदुत सलाहुदिन नोमन चौधरीले प्रदर्शनी अवलोकन गर्ने क्रममा यो काम निकै सिर्जनात्मक तथा आकर्षक लागेको कुरा बताउनुभएको थियो ।

त्यसै गरी अर्का कलाकार पिङ्गकु त्रिपुराले भने ‘मोमेन्ट अफ स्याटिसफ्याक्सन’ शिर्षकमा एक वृद्ध महिला आफ्नो पूरानो छाप्रोबाट बाहिरको दृश्य नियालीरहेको चित्रलाई क्यानभासमा उतारेका छन् । मूलतः आफ्नो काममा ग्रामिण परिवेश र त्यहाँको रहनसहनलाई देखाउन रुचाउने यी कलाकारको काम पनि आफैंमा वेजोड देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array