कलाका विविध विधा कला परिषदमा

सुनिल राज ढकाल
सुनिल राज ढकाल २६ भाद्र २०७९, आईतवार ०६:००
4 Min Read
Aa

नेपाल आर्ट काउन्सिल बबरमहलमा अलपे्रmस्को मिडिया तथा इभेन्ट म्यानेजमेन्ट प्रा.लीले नेपालकै सम्भवतः निजि संस्थाबाट गरिएको ठूलो राष्ट्रिय कला प्रदर्शनी तथा प्रतियोगिता आयोजना गरेको छ योसँगै हालसम्म यो मिडियाले ११ वटा यस्तै प्रदर्शनीहरु सफलतापूर्वक गरिसकेको छ । नेपाली युवा कलाकारहरुलाई नेपालका अग्रज कलाकारहरुसँग हातेमालो गराउने तथा ज्ञान तथा शिप आदान प्रदान गर्ने पनि यस प्रदर्शनीको मूख्य उद्देश्य रहेकोे कुरा अल्फ्रेस्को मिडियाका संस्थापक श्याम कृष्ण श्रेष्ठले जानकारी दिनुभएको थियो । यो प्रदर्शनी भाद्र २२ देखि ३० (८ सेप्टेम्बर देखि १५ सेप्टेम्बर) सम्म एक साताको लागि चल्नेछ ।

‘सन् २००६ मा अल्फ्रेस्को मिडिया स्थापनामा आएदेखि नै हामीले नेपाली कलालाई कसरी अझ धेरै जनमानसमा पुर्याउने भनी सोच्न थालिसकेका थियौँ र सन् २००८ बाट प्रत्येक वर्ष हामीले नयाँ तथा पूराना कलाकारहरुलाई प्रदर्शनीमा सहभागी हुनका लागि सम्पर्क गर्नुहोस् भनी भनेका हुन्छौँ, सोही अनुरुप कलाकारहरु तथा विद्यार्थीहरुले आफ्नाे काम हामीलाई पठाउने गर्दछन् । सबैको काम हेरिसकेपछि निर्णायक समितिले कामको आधारमा उत्कृष्ट विद्यार्थीहरुको नाम छनौट गर्ने तथा प्रदर्शनीकै समयमा पुरस्कृत समेत गर्ने गरेका छौँ,’ संस्थापक श्याम कृष्ण श्रेष्ठ अल्फ्रेस्को कला प्रदर्शनीको बारेमा यसरी बताउनुहुन्छ ।

उद्घाटन समारोहको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठले गर्र्दै मन्तव्यको क्रममा नेपाली कलालाई तथा संस्कृतीलाई अझै जनमानसमा पुर्याउनु पर्ने दायित्व सबैको रहेको कुरामा जोड दिनुभएको थियो । उद्घाटन समारोहमा उल्लेख्य मात्रामा विद्यार्थीहरुको उपस्थिति थियो भने वरिष्ठ कलाकार मदन चित्रकार, गेहेन्द्रमान अमात्य, प्राज्ञ रमेश खनाल आदि कलाकारहरुको समेत उपस्थिति थियो ।

करिव ४०० कलाकारहरुको कलाकृतिलाई समावेश गरि राखिएको यस प्रदर्शनीमा समसामयिक, पौभा, आधुनिक कला, मिथिला, अमूर्त चित्रकला आदि सबै विधालाई सकेसम्म समेट्न खोजिएको छ । ‘आवेदन त अझ धेरै परेको थियो तर पनि मूर्तिकलाको विधालाई अझ राम्रोसंग यो पटक समेट्न सकिएन, आउँदा दिनमा मूर्तिकलालाई पनि समेटिने छ,’ संस्थापक श्रेष्ठ बताउनु हुन्छ ।

नव उदित कलाकार रुद्र प्रताप अधिकारी आफ्ना कामहरुमा विभिन्न किसिमका प्रयोगहरु गरि नै रहेका हुन्छन् । उनले प्रदर्शनीका लागि एक त्रिकोणमा पञ्चतत्वलाई देखाएका छन् । मानिसहरु पञ्चतत्वबाट नै बन्ने र यसमा नै विलिन हुने भएकाले यसलाई चित्रको माध्यमबाट देखाउनको लागि यो चित्र बनाएको बताउँछन् ।

त्यसै गरि अर्का कलाकार निरुपम जैसुवाल कोरोनाको लकडाउनको समयलाई सदुपयोग गर्दै मिथिला चित्रकला आफैं घरमा सिक्न थाले । एनसिसिएस स्कुलमा कक्षा १० मा अध्ययन गर्ने यी साना कलाकारको काममा भने विविधता देखिन सकिन्छ । मैथिलि संस्कृतिमा राम सिताको विवाह, महिलाहरुको दैनिकि जस्ता कुराहरुलाई नेपाली कागजमा आकर्षक ढंगबाट तयार पारी प्रदर्शनीमा राखिएको छ ।

प्राज्ञ रमेश खनालले पनि यस प्रदर्शनीका लागि आफ्ना अमूर्त चित्रकलाहरु समावेश गराउनु भएको छ । अर्का कलाकार लक्ष्मी भक्त भासिमा भक्तपुरको विस्केट जात्रा हुने ठाउँको संस्कृती झल्काउने गणेशको चित्रलाई क्यानभासमा उतारेका छन् । अर्का कलाकार विक्रम प्रजापतिले भने स्वयम्भुको मिनियचर जलरंगलाई यस प्रदर्शनीमा समेटेका छन् भने कलाकार लक्ष्मण श्रेष्ठले आफ्ना दुइ अमूर्त चित्रहरुलाई यस प्रदर्शनीमा राखेका छन् ।

अर्का कलाकार सुमन अर्याल लामो समयदेखि मुहार चित्र बनाउँदै आएका कलाकार हुन् । यस पटक भने उनले यस प्रदर्शनीका लागि नागहरुमाथि नृत्य गरिरहेको महादेवको चित्र कोरेका छन् । त्यसै गरी अर्की कलाकार मिना श्रेष्ठले कालो हाकु पटासी लगाएका नेवारी युवतीहरुलाई क्यानभासमा उतारेकी छन् ।

अग्रज कलाकारहरु गेहेन्द्रमान अमात्य, रमेश खनाल, गजेन्द्रमान श्रेष्ठ तथा राधेश्याम मुल्मीका कामहरुलाई पनि प्रदर्शनीमा नियाल्न सकिन्छ ।नेपाल आर्ट काउन्सिलको माथिल्लो तलामा भने विद्यार्थीहरुको चित्रकलाहरुलाई अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array