मोफसलबाट काठमाडौँलाई नियाल्दा

सुनिल राज ढकाल
सुनिल राज ढकाल ५ आश्विन २०७९, बुधबार ०६:००
5 Min Read
Aa

काठमाडौँ राजधानी शहर हुँदा हुँदै पनि धेरैका लागि नयाँ नयाँ अवसर तथा श्रृजनाको प्रचुरताको शहर हो । यहाँ विभिन्न जिल्लाबाट मानिसहरु रोजगारी तथा पठनपाठनको लागि केन्द्रित हुने गरेका छन् । शहर बाहिरबाट हेर्दा एक स्वप्न शहर जस्तो लाग्दछ धेरैका लागि अनि पढाइ तथा अवसरका लागि पहिलो रोजाई यहि शहर हुँदै आएको छ । यहाँ आइसकेपछि यहाँको रहनसहन, कंक्रिट तथा कृत्रिम घरहरु अनि कृत्रिम रहनसहनलाई कलाकार कुन्ती श्री थापाले मूल विषयवस्तु बनाई क्यानभासमा उतारेकी छन् । वि.सं २०६३ सालमा पहिलो पटक उनी काठमाडौँ आएकी थिइन् । यहाँ उनको मामा गंगाधर शारु जो हाल नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा अरनिकोको भव्य शालिक बनाउँदैछन्, उनैले शुरुमा कुन्तीलाइ ललितकला क्याम्पसका बारेमा बताउँदै आइ.एफ.ए. मा भर्ना गर्नको लागि सहयोग गरिदिएका थिए । यी कलाहरु ठमेलमा अवस्थित दलाई ला आर्ट स्पेसमा ४ सेप्टेम्बर देखि ३० सेप्टेम्बर सम्मका लागि ’प्यारेलल एक्जिस्टेन्स‘ नाम दिई प्रदर्शनीमा राखिएको छ ।

सन् २०१६ मा ललितकलाबाट एम.एफ.ए. सक्काएकी कलाकार कुन्ती श्रीेले सन् २०१८ मा एक वर्षका लागि ललितकला क्याम्पसमा नै अध्यापन समेत गरेकि थिइन् । तर त्यही क्रममा आफुलाई मन लागेको जस्तो सिर्जना गर्नको लागि समय अनुकुल नभएकाले हाललाई भने पूर्ण रुपमा कला श्रृजनामा रमाइरहेकी छन् । विद्यालयमा पढाउँदै गर्दाको समयमा पनि उनलाई मुहार चित्र बनाइदिनको लागि कमिसनका कामहरु आइ नै रहेका हुन्थे । त्यहि समयमा नै उनलाई लाग्न थाल्यो कि अबको केहि समय आफ्नै काम अनि श्रृजनामा केन्द्रित भइ काम गर्नुपर्दछ र त्यहि निर्णयको उपजको रुपमा पहिलो प्रदर्शनी भएको कलाकार कुन्ती श्री बताउँछिन् ।

काठमाडौँको अनगिन्ति घरहरु बनिरहेको अवस्था छ । घरहरु जताततै बनेको र बाटामा तारहरु तथा गाइका वाच्छा, विजुलीको खम्बामा देखिएका तारहरुको अस्तव्यस्तता अनि त्यही दैनिकीमा आफ्नो जीन्दगी गुजारी रहेका मानिसहरुको कथालाई कलाकार कुन्तीश्रीले आफ्नो काममा देखाएकी छन् । रंगहरु निलो तथा खैरो रंगको प्रयोगले गर्दा शहरको कुरुपतालाई प्रतिविम्बित गरेको बताउने कलाकार आफ्नो काममा कम रंगहरुको प्रयोगको बारेमा बताउँदै यसो भन्दछिन्, ‘यहाँ उल्लासको वातावरण नै छैन । यी रंगहरुले मेरो भोगाइ तथा मैले देखेको काठमाडौँलाई देखाउन खोजेकी हुँ ।’

त्यसै गरी उनको अर्काे चित्रमा भने काठमाडौँ पुरै भरिइसकेकाले यहाँ रहने मानिसहरुले आफ्नो घरको कौशीमा तुलसी, धानका वाला तथा विभिन्न जातका विरुवाहरु उमार्ने चलन फस्टाउँदै गएकोमा मानिसहरु सुविधाका लागि ठूला ठूला घरहरु बनाइ रहँदा पनि पुनः हरियाली अनि आकर्षकताका लागि पुनः आफ्नै घरको कौशीमा समेत यसरी विरुवा रोपिरहेको परिप्रेक्ष्यलाई उनले क्यानभासमा उतारेकी छन् ।

उनले बनाएका चित्रहरु झट्ट हेर्दा कुनै कौशी वा माथि कुनै स्थानबाट कुनै वस्तुबाट हेरेर बनाइएको देखिन्छ । चित्रकला बनाउनको लागि सन्दर्भ सामाग्रीरुको खोजीका लागि उनी विभिन्न घरहरुका छतहरु तथा जमिनबाट फोटोहरु खिच्ने गर्दथिन् भने धेरै जसो कुराहरु भने उनका आँखाले देखेको सम्झनामा आधारित छन् ।

सामान्यतयाः विभिन्न माध्यमहरुलाई चित्रकलामा एकै ठाउँमा प्रयोग गरि बनाउने तरिकालाई कोलाज भनिन्छ तर उनको चित्रहरुमा भने धेरै चिजहरुलाई चित्रकै माध्यमले देखाइएको यसलाई पनि कोलाज भन्न सकिने कलाकार बताउँछिन् । ‘चित्रमा धेरै थोक राख्नु अहिलेको वास्तविकतासंग नजिक रहेको छ । एक ठाउँबाट अर्को ठाउँसम्म पुग्दासम्म बाटोमा देखिने दृष्यहरु दिमागमा खेलिरहेका हुन्छन्, त्यही मनमा बसिरहेका चित्रहरुलाई चित्रमा किन नउतार्ने भनी मैले यस्तो चित्रहरुको प्रदर्शनी गरेकी हुँ । तारका गुजुल्टो, पोलहरुको अस्तव्यस्तताले सबै तिर ढोकेको छ अनि यहि कुराहरु नै अहिले काठमाडौँको परिचय बनाइरहेको छ । ऐतिहासिक भवनहरु, मन्दिरहरु परबाट नदेखिने भइसकेको छ जुन म पहिलो पटक काठमाडौँ आउँदाको समयमा भन्दा अझ प्रगाढ रुपमा बढ्दै गइरहेको छ ।’

क्यानभास गोलो रेक्ट्याङ्ग्गुलर बनाउनुको कारण कामले नै मागेको हुनाले यसरी बनाएको बताउँछिन् कलाकार । यसरी गोलो वा चारपाटे क्यानभासमाहरुमा चित्र बनाउने शैली हाल विश्वभरि नै चलिरहेको छ । त्यसै गरी यसरी शहरका चित्रहरुलाई रेक्ट्यागुलर बनाउँदा यसले झन् धेरै प्रभाव पार्ने कलाकार बताउँछिन्  ।

सामान्यतयाः निलो र खरानी रंगहरुको प्रयोग गरि बनाइएका यी चित्रहरु एउटा कुनै रंग नदेख्ने मानिसले कसरी हेर्न सक्ला भन्ने जिज्ञासामा कलाकार बताउँछिन्, ‘शायद कलर ब्लाइन्ड भएको मानिसहरुले लाइन मुभमेन्टहरुले बनाएको रिदम, आकृतीहरुले अझ बढी प्रभाव पार्छ होला । मैले बनाइरहेको कुरा उहाँहरुले पनि बुझ्नु हुन्छ जस्तो लाग्छ । मेरा चित्रहरुमा हेर्नु पर्ने त अझ लाइनहरु नै हो र यसको माधुर्यता उहाँहरुले अझ बढी बुझ्नु हुन्छ कि जस्तो लाग्छ ।’

अहिलेको बनाइएको धरहरा कुनै एक आधुनिक टावर जस्तो लाग्छ यी कलाकारलाई ।  इतिहाससँग कुनै पनि सम्बन्ध नभएको यस टावरमा परम्परागत शैली र प्रयोग हुने सामाग्री पनि फरक भइसकेको बताउँछिन् । यहि धरहरालाई प्राकृतिक रुपमा बनाइएको भए यसले मानिसहरुमा अझ बढी उत्साह थप्ने थियो जस्तो लाग्दछ उनलाई । त्यसैले पनि आधुनिक धरहरालाई व्यङ्ग्यको रुपमा अस्तव्यस्ततामा देखाइएको कलाकार बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्