शहर समय र सम्बन्ध

सुनिल राज ढकाल
सुनिल राज ढकाल ६ आश्विन २०७९, बिहीबार २०:५२
4 Min Read
Aa

नेपाल आर्ट काउन्सिल बबरमहलमा कलाकारहरु रामचन्द्र महर्जन, सुर्य दुदराज र सुरक्षा वाग्लेको संयुक्त चित्रकला प्रदर्शनी भइरहेको छ । असोज १ बाट शुरु भएको यो प्रदर्शनी असोज ७ गतेसम्म चल्नेछ । तीन जना कलकारहरुले संयुक्त रुपमा प्रदर्शनी गरेको भएतापनि एउटै हलमा छुट्टाछुट्टै भागमा चित्रहरु प्रदर्शनीमा राखिएको कारण यस प्रदर्शनीको शिर्षकभने ‘३ सोलो प्रदर्शनी’ दिइएको छ । नेपाल ललिकला क्याम्पसमा अध्ययन गर्दाको सिलसिलामा यी तीन कलाकारको भेट भएको थियो । कलाकार रामचन्द्र महर्जन र सुरक्षा वाग्लेले ललितकलाबाट स्नातकोत्तर २०७४ मा सक्काउनु भएको थियो भने प्रदर्शनीमा सहभागी अर्का कलाकार सुर्य दुदराजले भने स्नातक सम्मको अध्ययन ललितकला क्याम्पसबाट नै गर्नु भएको थियो ।

तीन कलाकारहरुको कार्य शैली र उठान गरिएको विषय भिन्दाभिन्दै रहेको छ । कलाकार रामचन्द्र महर्जनले शहर शिर्षक दिइ शहरको विकास क्रमसँगै आधुनिकताको नाममा हामीले गुमाइरहेको सांस्कृतिक पक्षलाई क्यानभासमा उतारेका छन् । काठमाडौँमा जन्मेर हुर्केका कलाकार रामचन्द्रले किर्तिपुरमा बस्दै आउँदा त्यहाँ देखिएका परिवर्तनहरुलाई चित्रमा उतारेका छन् । शुरुवाती दिनहरुमा किर्तिपुर शहरमा जनसंख्या निकै कम थियो । मानिसहरु खेतीपातीमा नै निर्भर रहने गर्दथे । त्यहाँका फराकिलो फाँटहरु हाल विस्तारै कन्क्रिट भवनहहरुमा परिवर्तन भइसकेका छन् । त्यहाँबाट देखिने सुन्दरताहरुहलाई कृत्रिम कुरुपताले ढाकिसकेको अवस्थालाई चित्रित गर्दै प्रदर्शनीको शिर्षक नै शहर दिएको कलाकार बताउँछन् ।

सामान्यतयाः मानिसहरुको बसोबासका लागि घरहरु बनाउँदाको समयमा त्यस जमिनमा बास गर्ने नागहरु, जरायोहरु तथा अन्य जीवजन्तुहरु मासिइरहेको सन्दर्भमा ती लोपप्रायः भइसकेका जनावरहरुलाई अहिले बनिरहेको भवनहरुलाई त्यही जनावरको पृष्ठ भागमा राख्दै उनले चित्रहरु बनाएका छन् । यसरी अव्यवस्थित रुपमा जनसंख्या तथा घरहरु बढ्दै जाँदा सांस्कृतिक रुपमा मनाइने जात्रा पर्वहरुले पनि आफ्नो महत्व विस्तारै गुमाउँदै गएका छन् । मानिसहरुले जात्रामा देखाइने लाखे नाचलाई हाल कुनै रेष्टुरेन्टहरुम मनोरञ्जनका लागि नाचिरहेको देख्दा उनलाई चित्त बझ्दैन । तर विकासले ल्याएको यो नयाँ संस्कृतिलाई केही गर्न पनि नसकिने कलाकारको धारणा रहेको छ ।

उनका सबैजसो चित्रकलाहरु एक्रेलिक रंगको प्रयोग गरी बनाइएका छन् । रंगहरुको संयोजनलाई हेर्दा यसमा उनको लामो समयको साधनालाई देख्न सकिन्छ ।

त्यसैगरी अर्का कलाकार सूर्य दुदराजले भने समय शिर्षक दिइ कला सिर्जना गरेका छन् । पेन एण्ड इन्क, जलरंग तथा एक्रेलिकको प्रयोग गरि बनाइएको उनको चित्रहरुमा मूख्य भूमिकामा समयलाई देखाइएको छ । हरेक कुराहरु समयक्रमसँगै हुने भएकाले मानिसहरुको दैनिकी, बच्चाहरुले खेल्ने खेलहरु, कोरोना महामारी, ग्लोबल वार्मिङ्ग जस्ता कुराहरु समयको सब उपज भएको उनको धारणा रहेको छ । त्यसैले पनि उनको प्रत्येक चित्रहरुको पाश्र्व भागमा घडीलाई झुण्ड्याइएको छ । पहिलेको ढुङ्गेधाराहरुबाट पानी बग्ने गर्दथे भने समयक्रमसंगै हाल ढुङ्गेधाराहरु भएता पनि धेरै जसोबाट पानी नबग्ने देखिन्छ । समय सान्दर्भिक रुपमा बनाइएको उनका चित्रहरुमा रंगहरुको समायोजन तथा पेन एण्ड इन्कबाट बनाइएको कलामा दक्षता देखिन्छ ।

त्यसै गरी अर्की कलाकार सुरक्षा वाग्लेले सम्बन्ध शिर्षक दिइ बनाइएका कलाहरुमा सबै मानिसहरु एक अर्काको साहरा अनि अन्तर्सम्बन्धले नै अगाडि बढिरहेका हुन्छन् भन्ने विषयवस्तुलाई लिइ चित्रकला बनाएकी छन् । लहराहरुलाई कमजोर मानिसहरुसंग तुलना गर्दै प्रत्येक मानिसहरु सफलताको शिखर चुम्नको लागि कोही न कोही अरु मानिसहरुको साहारा लिने गरेको तथ्यलाई कलाको मार्फत देखाएकी छन् ।

उनको कलामा एक लहराले अर्को लहरालाई समातेर अगाडि बढीरहेको देखाइएको छ । स्टेफेन हकिङ्ग्स एक महान वैज्ञानिक थिए । तर उनको शरिरको मस्तिस्क बाहेक अरु अंगहरु चल्दैनथे । त्यसैले उनको चित्रको वरिपरि विभिन्न किसिमका लहराहरु जसले उनलाई सफलताको त्यो शिखरमा पुग्न मद्दत गरेको थियो, त्यसलाई उनले विम्बको रुपमा चित्रकलामा प्रर्दशनी गरेकी छन् । तनहुँमा जन्मेकी सुरक्षाले चित्रमा आफ्नो गाउँतिर देखिने मौलिक घरहरुलाई नाङ्ग्लोमा बनाएकी छन् । एक्रेलिक रंगको प्रयोगले बनाएको उनका चित्रहरु पनि आफैंमा राम्रा देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

Array