कलाकार सरोज बज्राचार्य नेपाली कलाको क्षेत्रमा लामो समयदेखि कार्यरत छन् । मूलतः कला श्रृजना तथा लेखन कार्यमा समेत उत्तिकै सक्रिय रुपमा रहने यी कलाकार र भारतका हिमाञ्चलका कलाकार सन्नी साहिल भोपालले एकैसाथ एम्पिटिइङ्ग शिर्षक दिइ ग्यालरी एमक्युबमा १८ सेप्टेम्बर देखि ३० सेप्टेम्बर सम्म प्रदर्शनी गरिरहेका छन् ।
कलाकार सरोजको यस पटकको काममा भने उनको पूरानै शैलीका अन्तरिक्षमा यात्रा गर्ने यात्रीका अनुभव र भोगाइहरुलाई क्यानभासमा उतारेका छन् । कलाकार सरोजका लागि प्रत्येक मानिसहरु आफ्नो अन्तरमनको यात्रामा अगाडि बढि नै रहेका हुन्छन् र यहि कुरालाई देखाउन अन्तरिक्षमा यात्रा गर्ने एस्ट्रोनटहरुलाई बिम्बको रुपमा प्रयोग गर्दा आफ्ना अभिव्यक्तिहरु दिनको लागि सजिलो हुने गर्दछ । नेपाल जस्तो गरिब देशबाट एस्ट्रोनटहरु कम प्रायः नै अन्तरिक्षको यात्रा गर्ने मौका पाउँछन् । विकसित देशहरुबाट भने यस्ता धेरै यात्री हुन सक्छन्, त्यसैले पनि यो काल्पनिकताको बारेमा प्रश्न गर्दा सरोज बताउँछन्, ‘विश्वका अरु देशहरुले गरेको उपलब्धीहरु उनीहरुको देशको लागि मात्रै हुन्छ भन्ने छैन, यो त सबैले उत्सव मनाउनु पर्ने गर्वको कुरा हो । त्यसैले पनि अन्तरमनको यात्रालाई यसरी चित्रमा देखाउँदा म हलुका महसुस गर्दछु र मेरो काममा पनि यहि नै देखिन्छ ।’

उनको चित्रहरुमा पहिले पहिले देखिने एस्ट्रोनटहरु भन्दा फरकपन विस्तारै देखिन थालेको छ । केही एस्ट्रोनटहरु पानी वा हावामा तैरिइरहेका, कोही उल्टो झुण्डिइरहेका जस्ता देखिन्छन् त कोही पानीको सिमानामा रहिरहेका जस्ता देखिन्छन् । उनको हालको कामहरुमा पानीको सतहमा केही चित्र खस्दा पैदा हुने तरङ्गहरुलाई मज्जाले खेलाइएको छ । उनका अनुसार यी थोपाहरुले व्यक्त र अव्यक्त धरातललाई प्रतिनिधित्व गर्दछ ।

सरोजको कलाको अभिव्यक्तिहरु उनकै भाषामा भन्नु पर्दा यो जागृत अवस्था र मुर्छित अवस्थाको पुलको रुपमा देख्न सकिन्छ । मानिसहरु रिक्तता वा खालीपनलाई अब त्यहाँ केही पनि छैन वा केही नभएपछि मानिस खाली हुन्छ भन्ने अर्थमा बुझ्दछन् भने उनका लागि भने खालीपनबाट नै नयाँ श्रृजना आउँछ भन्ने कुरामा विश्वास राख्छन् । लामो समयसम्म घरमा नै काम गरी श्रृजना गरिएका उनका कामहरु दशैँ लक्षित गरी हाल प्रदर्शनीमा राखिएको कलाकार बताउँछन् ।

त्यसै गरी अर्का कलाकार सन्नी साहिल भोपाल भने विगत ८ वर्षदेखि नेपालमा नै आइ थाङ्का कला बनाउँदै आएका छन् । उनले आफ्नो पढाइ लद्दाखबाट सक्काएका थिए भने पढाइ पश्चात आफ्नै ठाउँ हिमाञ्चलमा रही थाङ्का कला बनाउन सिकेका थिए । यसपटकको प्रदर्शनीमा उनले ग्यालरी एम क्युबको भुइँ तलामा एक काठको दराज ल्याइ राखेका छन् जसमा उनले कोरोनाको समयमा मानिसहरुलाइ एक अर्काको साथ र सहयोगले मात्र जीवन पूर्ण हुन्छ भन्ने विषयमा तत्व शिर्षक दिइ बनाएका कला पस्केका छन् । यस दराजको बाहिरी भागमा पञ्चतत्वलाई इंगित गरिएको छ भने कमलको फूललाई आफ्नै विम्वको रुपमा प्रयोग गरेका छन् । उनका अनुसार पञ्चतत्वबाट निर्मित शरिर पञ्चतत्वको साथसाथै आफन्तहरुको साथ र सहयोगबाट मात्रै अगाडि बढ्ने गर्दछ ।

रिक्तता वा खाली गर्नु अन्त्य होइन भन्ने मान्ने यी कलाकार पनि जब मानिस खाली हुन्छ, तब मात्र नयाँ नयाँ किसिमका श्रृजनाहरु आउन सक्तछन् भन्ने कुरामा जोड दिन्छन् । उनले खालीपनलाई देखाउनको लागि डमरु, जापानिज ड्रमहरुलाइ आकर्षक शैलीमा देखाएका छन् । नयाँ नयाँ श्रृजनाहरु वा भनौँ आवाजहरु तब मात्रै सम्भव छ जब यहि ड्रमहरु जस्तै मानिसहरु पनि पूर्णतामा खाली हुन्छन्, तब मात्रै एक नयाँ श्रृष्टिको प्रादुर्भाव हुन्छ । कलाकार आफ्नो कामको विषय यसरी बताउँछन् । उनका लागि पनि कोरोनाको समय निकै कष्टकर थियो, कारण काम विशेषले उनी भारत गएका थिए तर कोरोनाको महामारीको कारण उनी आफ्नो कर्मथलो काठमाडौँ आउन सकेनन् । त्यसैले त्यहाँ बस्दाको समयमा बनाएका उनका चित्रहरु आँफैंमा विशेष देखिएका छन् ।

कलाकार सरोज बज्राचार्य तथा सन्नी साहिल भोपालका कामहरुमा देखिएको फरकपनलाई नियाल्दा सन् २०१९ मा गरिएको सामुहिक कला प्रदर्शनीमा राखिएका चित्रकलाहरुमा कलाकार सन्नीले थाङ्का कलालाई राखेका थिए भने यहाँसम्म आउँदा उनका कामहरुमा विस्तारै चित्रका वषयवस्तुहरुले अर्काे किसिमको लय समतेको देखिन्छ भने कलाकार सरोजको काममा भने त्यही यात्रा जुन उनले शुरु गरेका थिए, त्यसैको निरन्तरता देखिन्छ ।
कलाका पारखीहरु तथा कला संकलकहरुका लागि कला संकलन गर्ने यो एउटा अबसर पनि हुनसक्दछ । प्रर्दर्शनी ३० सेप्टेम्बरसम्म चल्नेछ र कलाका श्रष्टाहरु पनि त्यही ग्यालरीमा भइरहने भएकाले पनि तपाइहरु सबैलाई अन्तरक्रियाका लागि त्यहाँ जानको लागि निम्ता गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्