विगत ५ वर्षदेखि इ–आर्ट्स नेपालले दशैँको पूर्वसन्ध्यामा बृहत कला प्रदर्शनी गर्दै आइरहेकोमा यो वर्ष पनि अशोज १० गते घटस्थापनाको दिनदेखि ५ दिनसम्म चल्ने कला प्रदर्शनी नेपाल आर्ट काउन्सिल, बबरमहलमा आयोजना भइरहेको छ । नेपाली कलाकारहरुको विगतमा गर्दै आएका कलाको विकास तथा अबको दिनमा कलाकारहरुले कस्तो किसिमको कलाहरु तर्फ अगाडि बढ्लान् भन्ने आंकलन गर्नको लागि समेत यस्ता किसिमका प्रदर्शनीहरुले मद्दत पुग्ने इ–आर्ट्स नेपालका सह–संस्थापक कलाकार आशा डंगोलले बताउनु भयो ।
करिब १३० भन्दा बढी कलाकारहरुको कलाहरुलाई एकै थलोमा पस्किएको यस प्रदर्शनीमा चित्रकलाका साथसाथै मूर्तिकला, इन्स्टलेसन, एचिङ्ग तथा पौभाहरुलाई पनि समावेश गरिएको छ । ‘नेपालीहरुको महान चाड दशैँको अवसरमा पहिले पहिले मानिसहरु लुगाफाटो, मरमसला तथा अन्य चिजहरु खरिद गर्दथे भने विस्तारै मानिसहरुमा सौन्दर्य चेतको विकास गर्दै सबैलाई चित्र तथा कलाकारहरुको मिहिनतलाई सम्मान गर्दै खरिद गर्दै घरघरमा सजाउनको लागि पनि यस प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्दछ,’ सहभागी कलाकार एरिना ताम्राकार यस प्रदर्शनीको बारेमा यसरी बताउनुहुन्छ ।
पूरानो पुस्ताको कलाकारहरु तथा नयाँ पुस्ताका कलाकारहरुको सिर्जनालाई एकै ठाउँमा देख्न पाउनु पनि यस प्रदर्शनीको एक मूख्य आकर्षण रहेको छ । प्रदर्शनीको शुरुआती दिनहरु देखि नै कुनै न कुनै अग्रज कलाकारहरुलाई सम्मान गर्दै आइरहेकोमा यस पटक भने कलाकार हरिप्रसाद शर्माका कामहरुलाई एक विशेष कक्ष बनाइ प्रदर्शनीमा राखिएको छ । मूलतः ऐतिहासिक दस्तावेजका रुपमा नेपालको प्राचिन इतिहासलाई हेर्नको निमित्त उहाँको कामले मद्दत गर्ने जानकारहरु बताउँछन् । उमेरले ८५ वर्षमा हिँडिरहँदा समेत यस देशका भावी पुस्ताका लागि ज्ञान मिलोस् भनि उत्तिकै रुपमा सक्रिय भइरहेका यी कलाकारबाट नव उदयमान कलाकारहरुले प्रेरणा लिइ अझ आफ्नो काममा निखारता ल्याउन् भन्ने समेत यस प्रदर्शनीको एक पाठको रुपमा लिन सकिन्छ ।
हिमालयन आर्ट फेस्टिभल वर्षै पिच्छे दशैँको नै पूर्वसन्ध्यामा आयोजना हुने र यस प्रदर्शनीमा आफ्नो कलाकृतिको विषयमा दर्शकहरुसँग अन्तक्र्रिया समेत गर्न मिल्ने भएकाले पनि यस प्रदर्शनीलाई धेरै जसो कलाका पारखीहरुले हेरिरहेको पाइन्छ ।
यस प्रदर्शनीको उद्घाटन नेपालको लागि अस्ट्रेलियाको राजदुत फेलिसिटि भोल्कले पानसमा बत्ती बालेर गर्नुभएको थियो । मन्तव्यको क्रममा नेपालका लागि अस्ट्रेलियाको राजदुत फेलिसिटि भोल्कले नेपाल तथा विश्वका सबै देशहरु प्राकृतिक विपत्तिबाट गुज्रिरहेको अवस्थामा गरिएको यस्तो प्रदर्शनीले कला जगतमा थप उर्जा प्रदान गर्ने तथा कलाको विकासको लागि नेपाली जनमानसहरु नै अगाडि आउनु पर्ने कुरा राख्नु भएको थियो ।
हिमालयन आर्ट फेस्टिभलमा प्रदर्शित कला र छेउमा नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटि भोल्क, कलाकार हरि प्रसाद शर्मा तथा इ–आर्टसकी सुसान श्रेष्ठ ।यस प्रदर्शनीमा राखिएका इन्स्टलेसनहरुमा कलाकार भूवन थापाको समयको छायाँ नामक इन्स्टलेसनलाइ राखिएको छ । मनभित्रको भावनाहरु सबै दृश्यको रुपमा नदेखिने र समयक्रमसँगै ती पुरा नभएका भावनाहरु छाँयाको रुपमा देखिने कुरालाई राख्दै कलाकार भुवन थापाले उक्त कलालाई बनाएका छन् । गोलो घेराभित्र मानिसहरुको मुटु कलेजो जस्तो अंगहरुलाई विम्बको रुपमा कालो रङ्ग लगाइ ढुङ्गाहरुलाई उनेर बनाइएको यो कला आँफैंमा नयाँ र नौलो प्रयोग लाग्न सक्तछ । त्यसैगरी अर्का कलाकार राजन काफ्लेले समसामयिक विषयलाई कटाक्ष गर्दै नेपालमा भएका राजनैतिक क्रान्तिहरुले एक नयाँ आयाम थपिएता पनि सामान्य जनमानसको जिवनमा कुनै परिवर्तन आएको छैन भन्ने विषयलाइ लिइ घोडाको लगाम प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रहरु लार्ई कालो, रोतो रंग दिइ शासन सत्तामा पुगेका मानिसहरु भने उस्तै रहेको कुरालाई इन्स्टलेसन मार्फत देखाएका छन् । अर्का कलाकार रविन्द्र श्रेष्ठले भने माटासँगको मनिसहरुको नाता पातलिँदै गएको र शहरवजारमा विस्तारै छापिएको ढुङ्गा तथा पिचहरुले गर्दा माटो देख्न दुर्लभ भएकाले नेपाल आर्ट काउन्सिलको भुइँ तलामा माटोको एउटा ढिस्का राखि इन्स्टलेसन आर्ट गरेका छन् ।

त्यसै गरी यस प्रदर्शनीमा राखिएका मूर्तिहरुमा समेत विविधता देख्न सकिन्छ । कलाकार जुपिटर प्रधानले यस पटकको प्रदर्शनीमा दुइवटा रकु गरिएका कलाकृतिलाई समावेश गरेका छन् । वाल्यकालको सम्झना गराउने निर्मलतामा बच्चाहरुले खेलिरहेको कुरालाई तथा अर्काे मूर्तिमा भने मानिहरुको जीवनयापनको प्रतिस्पर्धामा दौडिने क्रममा एक अर्कालाई उछिन्दै अगाडि बढीरहेको र अन्त्यमा दुवै दौडने आफु नै भएको कुराको तत्ववोध जनाउनको लागि दुइवटा सिंग भएको व्यक्तिहरुलाई एकापसमा फर्काएर राखेका छन् । त्यसै गरी अर्का कलाकार विजय महर्जनले भुइँचालोको समयमा जोर्णाेद्धारलाई पर्खिरहेको जस्तो देखिने बुद्धको मूर्तिलाई ठाउँठाउँबाट अड्याएर प्रदर्शनीमा राखेका छन् । यो मूर्ति झट्ट हेर्दा ढल्किएको जस्तो देखिन्छ र मूर्तिलाई ढल्काएर बनाइएको, नेपालमा जिर्णोद्धार गर्दाको समयमा मूर्तिहरुलाई गरिएको वेवास्तालाई जनाउन खोजिएको देखाइएता पनि कलाकारका अनुसार अहिलेको विश्वमा बुद्ध धर्मलाई मानिसहरुले बुभ्mन नसकेको र ज्ञानका असिमित भण्डार हुँदा हुँदै पनि सच्चा रुपमा अभ्यास नभएकोले मूर्तिलाइ यसरी ढल्काएर राखेको बताउँछन् ।


त्यसैगरी इचिङ्ग र प्रिन्ट मेकिङ्ग तर्फ करिब १३ कलाकारहरुको सहभागिता देख्न सकिन्छ । यी कलाकृतिहरुलाई संयोजन गर्नका लागि कलाकार पृथ्वी श्रेष्ठले भूमिका खेलेका थिए । उनका अनुसार यसरी बनाइएका इचिङ्गको कलाहरुमा कलाकारहरुले गरेको मिहिनतलाई राम्रोसँग हेर्न सकिन्छ । कला प्रदर्शनीमा सुदर्शन राणाका मूर्तिहरु विशेष देखिन्छन् भने अर्का कलाकार हरिओमका चित्रमा आफ्नै परिवेशमा मनाइने विशेष अवसरको विषयलाई चित्र मार्फत प्रस्तुत गरिएको छ ।

समसामयिक कलाकारहरुको पनि बाक्लो उपस्थिति रहेको यस प्रदर्शनीमा रागिनि उपाध्यायले कोरोनाको समयमा मानिसहरु घरबाट बाहिर ननिस्किदाँ वातावरण स्वच्छ भएको कुरालाई दर्शाउँदै एक पखेँटा भएको जीवको प्वाँखमा पलाइरहेको पालुवालाई देखाउनु भएको छ । त्यसै गरी अर्का कलाकार एस.सी सुमनले आफुले गरिरहने मिथिला कलाको कामलाई पृथक तरिकाले प्रस्तुत गर्नुभएको छ । उनको कलामा मथुराबाट बासुदेवले कृष्णलाई बोकेर वृन्दाबन लैजाँदै गरेको विषयलाई चित्रमा देखाइएकोछ । राम्रो काम गर्दा पानीले पनि सहयोग गर्छ भन्ने भावमा रहेर उनको चित्र बनेको कलाकार बताउँछन् । जमुना नदीले कृष्णको खुट्टा छुन लागेको तर बासुदेवले कृष्णलाई अझ माथि माथि लगेको विषयलाइ जीवन्त प्रस्तुत गर्न सफल भएको कलाकार एस.सी. सुमन बताउनुहुन्छ । कलाकार सागर मानन्धरले आफ्नो अमूर्त चित्रकलामा रंगहरुको बेजोड सम्मिश्रणलाई झल्काएका छन् । कलाकार कपिलमणि दिक्षितले भने आफुले गर्दै आइरहेका न्युड आर्टका साना साना चित्रहरुलाई प्रदर्शनीमा राखेका छन् ।

अर्की कलाकार सन्ध्या सिलवालले पेपरकटको माध्यमबाट एक आकर्षक चित्र बनाएकी छन् । मूलतः यस प्रदर्शनीमा राखिएका अरु चित्रहरु भन्दा उनले बनाएको चित्र पृथक देखिन्छ । त्यसैगरी अर्काे प्रयोगमूलक काम भने कलाकार सोफिया महर्जनको देख्न सकिन्छ । धानको बालाहरुलाई भुइँमा सुकाउँदा खुट्टाले चलाउने गरेको सम्झनालाई धागोको प्रयोग गरी धानको बालाहरु बनाउँदै एक छुट्टै प्रयोग गरिएको यस कला प्रदर्शनीमा बेजोड कलाको रुपमा देख्न सकिन्छ ।

नव उदित तथा स्थापित केही कलाकारहरुका कामहरुलाई हेर्दा भने नयाँपनको आभाष पाउन मुस्किल परेको प्रदर्शनी अवलोकन गर्न आएका ललितकला तथा काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुले बताए । उनिहरुका अनुसार समयक्रमसँगै आफ्नो काममा देखिनु पर्ने फरकपनको अभाव रहेको केही चित्रकलामा रहेको बताउँदै– ‘हामीहरु जहिले पनि प्रेरणाका लागि उहाँहरुको कामहरु देख्ने गर्दछौँ तर पूरानै किसिमका कामहरुलाई प्रदर्शनीमा राख्दा नमिठो अनुभव हुने गर्दछ, हामीलाई हौसला प्रदान गर्न झन् नयाँ नयाँ किसिमका प्रयोग र श्रृजनाहरु हुनु आवश्यक हो तर उहाँहरुबाट नयाँ किसिमका कामहरु नआउँदा यस्तो लागेको हो ।’
त्यसैगरी परम्परागत पौभा चित्रहरुलाई पनि यस प्रदर्शनीमा सम्मिलित गरिएको छ । परम्परागत चित्रकलामा सिद्धहस्त नयाँ तथा पूराना पुस्ताको कालकारहरुको कामलाई यस प्रर्दशनीमा हेर्न सकिन्छ । प्रदर्शनीमा विभिन्न पेशाका विभिन्न मानिसहरुको उपस्थिति समेत बाक्लो रुपमा देख्न सकिन्छ ।

नेपाली कला जगत्का विषयमा छलफल चलाउने, कलाकारहरुसँग सम्वाद गर्ने, सांगीतिककार्यक्रम गर्ने जसले विभिन्न कलाकारहरुलाई एकै थलोमा कलाको भलाकुसारी गर्ने अवसर मिलोस् भन्ने उदेश्य यस प्रदर्शनीको इ—आर्ट्स नेपालकी संस्थापक सुसान श्रेष्ठले बताउनुभयो । यस प्रदर्शनीले वरिष्ठ कलाकार हरि प्रसाद शर्माको चित्रकला अक्सनमा समेत राखिएको छ । उहाँले अगाडि थप्नुभयो– ‘कलाको विविध पाटा तथा यसको महत्वलाई विभिन्न क्षेत्रका मानिसहरुलाई अवगत गराउन प्रदर्शनीले सकोस् र नेपालको व्यापारिक कम्पनीहरु तथा लगानीकर्ताहरुले कलामा समेत लगानी गर्नका लागि यस प्रदर्शनीबाट प्रोत्साहन मिलोस् ।’

कलाकार एरिना ताम्राकारले यस पटक प्रस्तुत गर्नुभएको सिर्जना कला पारखीहरुको लागि हेर्न लायकको देखिन्छ । पाँचवटा साना कलाहरुलाई उहाँले प्रस्तुत गर्नुभएको छ । त्यस्तै कलाकार संगी श्रेष्ठको काम हेर्दा उस्तै खालको लागेतापनि उनको काममा नयाँ पन पाएको कला हेर्न आउनेहरुले बताएका छन् । अर्का कलाकार इशान परियारको काममा बसन्तपुरको कालभैरव वरिपरिको परिदृष्यलाई आफ्नो क्यानभासमा उतारेका छन् । त्यस्तै अर्का कलाकार आशा डंगोलको कला भने यस पटक फरक ढङ्गको रहेको छ । उनको हिमाल सिरिजका काममा पनि यस पटकको काम हेर्न लायकको रहेको र रङ्गहरुको समिश्रण बेजोड रहेको कला पारखीको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्