कलाकार उजय बज्राचार्यको पौभा सम्बन्धि किताब सार्वजनिक

सुनिल राज ढकाल
सुनिल राज ढकाल ३० आश्विन २०७९, आईतवार २०:२३
5 Min Read
Aa

आश्विन २९ गते शनिवार अक्षेश्वर महाविहार प्राङ्गणमा नेपालका ख्यातीप्राप्त पौभा कलाकार मध्येका एक उजय बज्राचार्यद्वारा लिखित पौभाः व्हेर द डिभिनिटिज रिसाइड नामक पुस्तकको विमोचन भएको थियो । कलाकार उजय लामो समयदेखि पौभा बनाउनकै लागि समर्पित कलाकार हुन् भने उनले हालसम्म नेपालमा दुइवटा एकल प्रदर्शनी गरिसकेका छन् भने विदेशमा तीन दर्जन भन्दा बढी प्रदर्शनीहरुमा भाग लिइसकेका छन् । कार्यक्रमको शुरुआत भने कुमारी नाच तथा पानसमा बत्ती बालेर गरिएको थियो । ललितपुर महानगर पालिकाको उपमेयर मन्जली शाक्य बज्राचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपालका परम्परागत चित्रकलामा रुचि राख्ने कलाकार तथा सामान्य मानिसहरुको समेत विशेष उपस्थिति रहेको थियो । स्याक्रेड ग्यालरीले आयोजना गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य कलाकार उजय बज्राचार्यले नै गरेका थिए ।

कलकार उजयका अनुसार उनले करिब २५वर्ष अघि यसै महाविहारबाट उनले पौभाको औपचारिक शिक्षा ग्रहण गरेका थिए । त्यहाँ उनले पौभा चित्रकला बनाउने विधिका साथसाथै पौभामा अन्तर्निहित दर्शनका कुराहरु समेत सिकेका थिए । आफुले पढ्दाको समयमा सन्दर्भ ग्रन्थहरु कम भएका कारण जहिले पनि गाह्रो पर्ने गरेको थियो । त्यसैले पनि कुनै दिन पौभा सम्बन्धि किताब लेख्छु भन्ने अठोट उनमा रहने गरेको थियो । त्यसैले पनि उनले उक्त किताबलाई चार भागमा विभाजन गरेका छन् । पहिलो भागमा पौभाको उत्पत्ति कहाँबाट अनि कसरी भयो भन्ने विषयमा उठान गरेका छन् । नेवारी संस्कृतिमा हिन्दु धर्म तथा बौद्ध धर्म दुवैको समायोजन भई पौभा बनाउने चलनको विषयमा चर्चा गर्दै पौभा र थान्का विचको भिन्नताको समेत चर्चा गरेका छन् । त्यसै गरी समयक्रमसँगै पौभामा भईरहेको नयाँ नयाँ प्रयोगको समेत चर्चा उनले यस भागमा गरेका छन् ।

त्यसैगरी दोश्रो भागमा भने उनले यसै किताब लेख्नको लागि अध्ययन गर्ने शिलशिलामा विभिन्न पुस्तकहरुको अध्ययन गर्ने क्रममा पौभाको कलात्मक पक्षलाई मात्र लिने गरेको र सांस्कृतिक र दर्शनको पक्षलाई गौण रुपमा हेर्ने गरेको पाइएकोमा यसै पक्षलाई उनले उजागर गर्ने कोशिस गरेका छन् । कलाकार तथा लेखक उजय बज्राचार्यका अनुसार करिब ३०० वर्ष पहिलेसम्म पनि कलाकारहरु विभिन्न विधिविधानहरुको पालना गर्दै पौभा चित्रकलाहरु बनाउने गर्दथे । त्यस समयमा खान हुने कुराहरु मात्र खाई शुद्ध बनि पौभा बनाउने चलन थियो । आफ्नो धर्मगुरुबाट आफुले बनाउन चाहेको पौभाको विज मन्त्र लेखि शुद्ध अवस्थामा मात्र चित्र बनाउने गर्दथे । यसरी बनाइएको चित्र पूर्ण भइसकेपछि भने त्यसमा प्राण प्रतिष्ठा गर्नको निमित्तः पुनः गुरुहरुलाई बोलाई विधिवत पुजा गर्ने प्रचलन थियो । अनुभवका लागि यी कलाकारले समेत त्यसरी विधिविधानमा रही पौभा चित्रकला बनाउँदाको विभिन्न पक्षलाई उनले यस भागमा उजागर गरेका छन् ।

पुस्तकको तेश्रो भागमा भने प्राचिनकालका करिब ७ कलाहरुलाई प्रस्तुत गरेका छन् । धेरै मानिसहरुले नदेखेको हुनसक्ने र ती कलाहरुमा प्रयोग गरिएको रंगहरु तथा आकृतिहरुले धेरैलाई मन्त्रमुग्ध बनाउने कुरामा दुइमत छैन ।

त्यसैगरी चौथो भागमा भने कलाकार तथा लेखक स्वयंले नै बनाएका करिब ८१ पौभा चित्रहरुलाई प्रतिमालक्षणका साथ प्रस्तुत गरिएको छ ।

कलाकार तथा लेखक उजय आफ्नो पुस्तकको विषयमा बताउँदै पौभा सम्बन्धि धेरै पुस्तकहरु बजारमा आइसकेका भएतापनि एक कलाकारले नै लेखेको हुनाले आउँदा दिनहरुमा यो पुस्तकले कुनै अनुसन्धानकर्ताहरुलाई सन्दर्भ सामाग्रीको रुपमा प्रयोग गर्न सकिने कुराको समेत जानकारी दिए । करिब एक दशकको निरन्तर खोज र अनुसन्धानबाट यो किताब निस्केको कुराको समेत जानकारी उनले मन्तव्यको क्रममा दिएका थिए ।

मन्तव्यकै क्रममा यस पुस्तकको सम्पादक उर्शुला मानन्धरले भने लामो समयको लगनशिलता, प्रतिबद्धता तथा बुद्धिबाटमात्र यो पुस्तकले आकार लिएको कुराको जानकारी दिइन् । प्राचिन कालमा पौभा चित्रकला धार्मिक हिसाबले हुँदै आएकोमा हालसम्म आउँदा विस्तारै सजावटको सामाग्रीको रुपमा प्रयोग हुन थालिसकेको अवस्था छ । पौभा चित्रकलाका साथसाथै यसमा अन्तर्निहित दर्शनलाई कम महत्व दिन थालिसकिएको छ अनि प्राचिन कालमा प्रचलित गुरु शिष्य परम्परा हालसम्म आइपुग्दा किताबी ज्ञानमा सिमित भएको अवस्थामा यो पुस्तकले पौभामा रुचि भएकाहरुलाई एक अध्ययन सामाग्री हुने कुरा बताइन् ।

त्यसै गरी मन्तव्यको क्रममा अक्षेश्वर महाविहारका प्रधानाध्यापक डा.नरेश शाक्यका अनुसार उनको पौभा चित्रकलाको गुरु उजय नै थिए भने कलाको विभिन्न सैद्धान्तिक पक्षका गुरु भने उहाँ आफैं हुनुहुन्थ्यो । लामो समयसम्म अन्तक्र्रिया, छलफल तथा कलाकार उजयले किताब लेखन तथा चित्र बनाउने बेलामा गरेको साधनालाई पनि सम्झदै यो पुस्तक पौभाका बारेमा अध्ययन गर्न चाहनेहरुका लागि एक कोशेढुङ्गा हुने कुराको समेत जानकारी दिनुभएको थियो ।

अरु वक्ताहरुमा ललितपुर नगरपालिकाको मेयर मन्जली शाक्य बज्राचार्य, नाफाका कुलपति के.के. कर्माचार्य तथा स्याक्रेड ग्यालरीकी चेयरपर्सन सुजाता शाक्यले समेत पुस्तकको महत्व तथा यसको सार्थकताको विषयमा धारणा राख्नु भएको थियो ।

यो पुस्तकको मूल्य ४००० राखिएको छ भने विमोचनको दिनमा भने पचास प्रतिशत सहुलियतमा दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array