सिद्धार्थमा आकृत 

सुनिल राज ढकाल
सुनिल राज ढकाल १ कार्तिक २०७९, मंगलवार ०६:००
4 Min Read
Aa

सिद्धार्थ आर्ट ग्यालरीमा आकृत समुहको कला प्रदर्शनी भइरहेको छ । यो कला प्रदर्शनीमा नेपालका ५ कलाकारहरुको कामलाइ एकैसाथ नियाल्न सकिन्छ । सहभागी कलाकारहरुका अनुसार यस प्रदर्शनीको मूख्य उद्देश्य आफुले बच्चाबेलादेखि देखेको अनि भोगेको समाज अनि त्यहाँका चित्रहरुलाइ जनमानसमा पुर्याउनु नै रहेको छ । भोगाइहरुका आधारमा सहभागी कलाकारहरु विभिन्न वातावरण तथा परिवेशमा हुर्किएका हुनाले पनि उनीहरुको काममा पृथकता देख्न सकिन्छ । कोही कलाकारहरुले आफुले सानोमा देखेका फोटोहरुलाई चित्रमा उतारेका छन् त कसैले एचिङ्गको मार्फत आफुले बाल्यकालमा भोगेको परिवेशलाई उतारेका छन् । अर्का कलाकारले भने आफ्नो पारिवारिक काम कार्पेट बुन्ने कामलाई नै त्यो बनाउँदाको समयमा गरिने पूर्वतयारीहरु तथा एक बुन्दै गरेको तानलाई नै प्रदर्शनीमा राखेका छन् ।

काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत समयमा हितेश वैद्य, जगदिश मोक्तान, पुजा दुवाल, टासी लामाको भेट भएको थियो भने अर्की कलाकार नविना सुनवार भने त्रिभुवन विश्वविद्यालयमा पढेकी थिइन् । यी ५ कलाकारहरुले भक्तपुरमा नै एक सामुहिक कला बनाउने स्टुडियो समेत बनाइ कलाको साधना गरिरहेका छन् । समयसमयमा एक अर्कासित कुरा गर्दै आफ्नो कामलाई अझ परिष्कृत पार्न यसरी समूहमा काम गर्दा मद्दत पुग्ने कुरा कलाकार पुजा दुवाल बताउँछिन् ।

प्रदर्शनीमा राखिएका कला मध्ये हितेश वैद्यले मोटो अग्राखको काठ जुन उनको भक्तपुरमा रहेको घरतिर पाइन्छन्, त्यसैलाई कला अभिव्यक्तिको माध्यम बनाएका छन् । परम्परागत चित्रकला बनाउँदै गरेका हितेशका कामहरु हाल यस प्रदर्शनीमा भने पृथक रुपमा आएका छन् । उनका अहिलेको काममा भने भक्तपुरकै अग्रज कलाकार सूर्य बहादुर चित्रकारको प्रेरणा पाउन सकिने कुरा कलाकार बताउँछन् । हाल बढ्दै गइरहेको शहरीकरणले गर्दा पूराना ती दृश्यहरु लोपप्रायः भइरहेको कुरामा कलाकारको चासो देखिन्छ । प्रदर्शनीमा राखिएका उनका ६ वटा चित्रकलाहरुमा बढ्दै गएको शहरिकरणबाट विस्तारै हराउँदै गएको त्यो बेलाका दृश्यहरुलाई देख्न सकिन्छ ।

त्यसै गरी अर्का रामेछापका कलाकार जगदिश मोक्तानले भने आफ्नै परिवारिक सदस्यहरुको पूरानो फोटोहरुलाई नै मुहारचित्रको रुपमा क्यानभासमा उतारेका छन् । समयसँगसँगै उनको आमा तथा काकीको फोटोहरु आर्द्रता र चिसोपनले विग्रदै गएका थिए । ठाउँठाउँमा चिरा परेका उक्त फोटोहरुलाई पुनः क्यानभासमा यसरी जीवन्त बनाएको कलाकार बताउँछन् । उनले बनाएका यी चित्रहरुले उनको कार्यकौशलताको फराकिलोपनालाई प्रतिनिधित्व गर्दछ ।

प्रदर्शनीमा सहभागी अर्की कलाकार नविना सुनुवार भने ओखलढुङ्गाकी कलाकार हुन् । उनको विशेष रुचि भने प्रिन्टमेकिङ्ग रहेको छ । उनको परिवार ओखलढुङ्गाबाट रामेछाप हुँदै काठमाडौँ बसाइ सरेका थिए । तर उनको सम्झनामा उनको परिवार, त्यहाँको दृश्य, आवजहरु उनको मस्तिस्कमा गुन्जिरहन्थे । पछि कुनै समयमा आफ्नो गाउँमा जाँदा त्यहाँ अस्तव्यस्त अवस्थामा रहेको उनको घर तथा त्यहाँको वातावरणलार्ई उनले विलाउँदै गएको सम्झनाको रुपमा प्रस्तुत गरेकी छन् । गाउँले परिवेश, घरहरु तथा खेतमा झुलिरहेको अन्नका बालाहरुलाई उनको चित्रमा देख्न सकिन्छ । नविनाले काम गर्दा पहिले आफुले खिचेर ल्याएका फोटोहरुलाइ चलाउँदै अप्टिकल इल्युजन पैदा गर्छिन्  । त्यसपछि ती चित्रहरुलाई काठका ब्लकहरुमा राखि त्यहाँबाट आफ्नो चित्र सिर्जना गर्दछिन् ।

त्यसै गरी अर्की कलाकार पुजा दुवाल भने भक्तपुरकी कलाकार हुन् । ‘भक्तजनहरुको शहर’ को रुपमा प्रचलित भक्तपुरमा त्यहाँको परम्परागत कला तथा संस्कृतीहरु प्रचुर रुपमा पाइन्छन् । आफु हुर्केको रहनसहन र वातवरण विस्तारै शहरीकरणबाट परिवर्तन हुँदै गएको सन्दर्भमा आफ्नो मानसपटलमा रहेको करिब ३१ चित्रहरुलाई उनले प्रस्तुत गरेकी छन् ।

प्रदर्शनीमा सहभागी अर्का कलाकार टाशी लामाले भने आफ्नो आमाको कारपेट बुन्ने पेशालाई नै केन्द्रविन्दु बनाइ कार्पेट बनाउँदाको समयमा आवश्यक पूर्वतयारी जस्तै डिजाइन तथा स्केचहरुलाई नै प्रदर्शनीमा राखेका छन् । आफु हुर्कदै गर्दा सानोमा आमाले गरिरहेको कामहरुलाई देख्दा मनमा आउने मनोभावनाहरुलाई यसरी प्रस्तुत गर्न पाएकोमा कलाकार टाशी लामा खुशी छन् । त्यसै गरी उनले घरबुना कार्पेट बनाइराख्दाको क्षणलाई समेत प्रतिविम्बित गर्नको निमित्त एक अर्ध निर्मित कार्पेट र तानलाई समेत प्रदर्शनीमा राखेका छ्न् ।

प्रदर्शनी ३० अक्टोबर सम्म रहनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्