कपिलका न्यूड अभिव्यक्ति विन्डहर्समा

सुनिल राज ढकाल
सुनिल राज ढकाल ५ कार्तिक २०७९, शनिबार ०६:००
4 Min Read
Aa

विन्डहर्स ग्यालरीले हाल आफ्नो ठाउँ सारेको छ । नयाँ ठाउँमा सरिसकेपछि सबभन्दा पहिलो प्रदर्शनी कलाकार कपिल मणि दीक्षितले गर्ने सोच बनाएका थिए । त्यसो त प्रदर्शनीकै तयारीका लागि नै उनी विगत दुइवर्ष अघिदेखि लागि नै रहेका थिए । नेपालको पढाइ सक्काए पछि उनी अमेरिकामा कला विषयमा नै थप अध्ययनका लागि प्रस्थान गरेका थिए । अध्ययन पछि नेपालमा नै रहि उनले आफ्ना चित्रकलाहरुका निमित्त निरन्तर साधनारत छन् । कपिलको १८ औं एकल चित्रकला प्रदर्शनी कार्तिक ४ देखि २६ गतेसम्म (अक्टोबर २१ देखि नोभेम्बर १२) हुनेछ ।

मोक्ष बारको माथिल्लो तलामा भ-याङ्गबाट उक्लिए पछि लामो एक फ्ल्याटमा अवस्थित छ विन्डहर्स ग्यालरी । ग्यालरीको बाहिरपट्टि नै कलाकार कपिलले बनाएको एक रंगिन चित्र राखिएको छ । अनि भित्रपट्टि पनि भित्ताभरि नै उनै कलाकारले बनाएका चित्रहरुलाई झुण्ड्याइएको छ । कला जगतमा लामो समयदेखि समय खर्चिदै आएका अरु कलाकारहरुलाई पनि उत्तिकै स्थान दिनुपर्छ भन्ने मान्यता राख्ने कपिलले यसपटक भने आफ्नो कला क्युरेट गर्ने जिम्मेवारी अर्का कलाकारद्वय भरत राइ र पुजा दुवाललाई संयुक्त रुपमा दिएका छन् ।

नेपालमा हालसम्म पनि न्युड आर्टले त्यति ख्याती पाइसकेको छैन । निकै कम कलाकारहरु यस्ता छन् जसले फरक धारमा रहि आफ्ना कला प्रस्तुतिकरण गरिरहेका हुन्छन् । पहिलेको समयमा चित्रहरु बनाउँदा ढाँचा तथा बान्की सबैथोक मिल्नु पर्दछ भन्ने लाग्दथ्यो कलाकार कपिललाई । विस्तारै मानिसमा रहेको भावनामा मात्र सिमित हुने गरेका छन् उनी । उनका लागि प्रत्येक मानिसहरुको अनुहार मात्र यस्तो चिज होइन जहाँबाट भावना हेर्न सकियोस्, शरिरका प्रत्येक अंगहरुमा संवेदनाहरु लुक्ने गरेको अनुभव आफुसंग भएको कुरा बताउँछन् कपिल । उनलाई जहिले पनि मानिसको शरिरले आकर्षित गरिरहेको हुन्थ्यो अनि शरिरको बनावट कुनै ल्याण्डस्केप भन्दा कम राम्रो र आकर्षक हुँदैनन् भन्ने मान्यता उनको रहेको छ । सबै मानिसहरुको शरिर मानिसहरु जत्तिकै फरक हुन्छन् तर केही कुरामा भने उस्तै हुन्छन् । शायद यहि कुराले गर्दा उनलाई नयाँ नयाँ चित्रहरु बनाउने उत्प्रेरणा प्राप्त भइरहेका हुन्छन् । आफुले चित्र बनाइरहँदा बाहिरबाट नदेखिने मानिसहरुको संवेदना, उत्प्रेरणा,खुशी, क्रोध जस्ता चिजहरुलाई आफ्नो चित्रको माध्यमबाट अमिव्यक्ति गर्नु नै उनको चित्रकलाको मूख्य उद्देश्य रहने गरेको कलाकार बताउँछन् ।

यस प्रदर्शनीमा भने निकै छोटो समयमा मानिसहरुको भावावेगलाइ उतार्ने कोशिस गरेका तथा करिब १ देखि ५ मिनेटको छोटो समयमा छिटो छिटो मनोवेगलाई उतारेपछि मात्र उनले त्यसलाई क्यानभासमा प्रतिविम्बित गरेको कलाकार सुनाउँछन् । जति सकेको कम रंगहरुलाई उपयोग गर्ने क्रममा यस पटकको प्रदर्शनीमा भने महिलाहरुका न्यूड आकृतिहरुमा कम रङ्ग प्रयोग गरेको पाइन्छ । मूलतः कालो, सेतो र पहेँलो रंगलाई मात्र प्रयोग गरिएको यस प्रदर्शनी उनको पहिलेको प्रदर्शनी भन्दा पृथक यस मानेमा पनि छ कि उनले यसपटक आकृतीहरु तथा शरिरको बनावटलाई भन्दा उसले बोकेको संवेदनालाई अझ विशेष जोड दिएका छन् । उनका लागि पहेँलो रंगले खुशी र उत्साह जनाउने गरेको कुरा बताउँछन् । ‘मेरा अभिव्यक्तिहरु अब मिलेको अनि सुन्दर नै हुनु पर्दछ जस्तो मलाई लाग्दैन । शायद यो म मा आएको परिपक्वताले गर्दा हुनसक्छ कि यो प्रदर्शनी भइरहेको छ,’ कलाकार कपिल आफ्नो कामको विषयमा यसरी बताउँछन् । कुनै पनि कलाकारहरुलाई आफ्नो काम स्टुडियोमा नै बोलाएर धेरै दर्शकहरुलाई देखाउन नसकिने भएकाले पनि कलाकारहरुले समय समयमा आफ्ना कामहरुलाई बाहिर प्रदर्शनीमा राखिनु पर्दछ । जसले प्रदर्शनीको समयमा आउने दर्शकहरुको अभिव्यक्ति तथा सुझाव लिँदै अझ राम्रो काम गर्न प्रोत्साहन मिल्ने कुरामा कलाकार विश्वास राख्दछन् ।

प्रदर्शनी स्थलको बनावट पनि लामो खालको भएको कारणले गर्दा पनि मानिसहरुको भावना, शरिरको भावना आदिलाई छुट्टाछुट्टै स्थानमा राखिएकाले पनि दर्शकहरुलाई यो पृथक अनुभव हुन जानेछ ।

प्रतिक्रिया दिनुहोस्