नेपाली कला जगतमा धेरै कलाकारहरु साधनारत छन् । तिनै कलाकारहरु मध्येका तीन दशक देखि सक्रिय कलाकार हुन् विनोद प्रधान । हालसम्म ११ वटा एकल प्रदर्शनी गरिसकेका प्रधान यस पटक भने कोरोनाको समय देखि हालसम्म गरेका कामहरुलाई लिएर सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा कार्तिक १८ गतेदेखि मंसीर ९ गते (नोभेम्बर ४ देखि २५ तारिख) सम्म रहनेछ ।
अक्सर घुम्न मन पराउने प्रधान काष्ठमाण्डप कला समुहको एक सदस्य पनि हुन् । सन् १९९४ मा शुरु भएको उक्त समुहमा सुरुआती दिनहरुमा ९ सदस्य थिए । यो समुह स्व.कलाकार प्रशान्त श्रेष्ठको मार्गदिशामा लामो समय देखि यथावत रुपमा नै सक्रिय भइरहेको छ ।

शुरुआती दिनहरुमा हिमाल तथा मनमोहक दृश्य अवलोकन तथा ती दृश्यहरुलाई क्यानभासमा कैद गर्न यी समुहका सबै जसो कलाकारहरु विदाको समयमा भ्रमणमा गइ रहेका हुन्थे । त्यहाँ आफुले देखेका दृश्यहरुलाई उतार्दै एक अर्का सँग शीप साटासाट समेत हुने गरेको कलाकार बताउँछन् । त्यसरी एक अर्कासँग शीप साटासाट गर्ने क्रममा स्व. कलाकार प्रशान्त श्रेष्ठका गुरु भने अर्का अग्रज कलाकार किरण मानन्धर थिए । उनले आफ्नो काममा नयाँ नयाँ प्रयोगहरुलाई आफ्ना समुहका साथीहरुसँग समेत साट्ने गर्दथे । त्यसले पनि कलालाई नयाँ ढंगबाट प्रस्तुत गर्न समुहका सबै सदस्यहरुलाई उत्तिकै मद्दत गरेको समेत कलाकार महशुस गर्दछन् ।
समुहमा कलाको सृजना गर्ने क्रम देखि नै अग्रज कलाकारहरुले भन्दा भिन्न काम कसरी गर्न सकिएला भन्नेमा कलाकार विनोद सधैँ घोत्लीरहेका हुन्थे । त्यसैले आफुले सिकेका कुराहरुलाई अझ नयाँ नयाँ प्रयोग गर्न सधैँ रुचाइ राख्थे ।

सिद्धार्थ आर्ट ग्यालरीमा भने उनको यो पाँचौ एकल प्रदर्शनी हो । नेपालको दृश्यचित्र, शहरी दृश्यहरु तथा संस्कृतीहरुलाई जहिले पनि केन्द्रविन्दुमा राखि कलाकार विनोद चित्रहरु बनाउने गर्दछन् । क्यानभासमा एकचोटि रङ्ग लगाइसकेपछि त्यसलाई सुकाइ त्यसमा विभिन्न आकर्षक आकृतिहरुलाई सृजना गरी कला बनाउने उनको यो तरिका नेपालमा धेरै कम कलाकारहरुले अभ्यास गर्ने गर्दछन् ।
कलाकारले यस पटकको प्रदर्शनीमा भने पूराना हिन्दु र बौद्ध धर्मका कथाहरुलाई भन्दा पनि कोरोनाको समयमा नेपाललाई एक पवित्र भूमि वा तुषिताको रुपमा देखाउने रहर जाग्यो । नेपाल प्राकृतिक छटाहरुले ओतप्रोत भएको देश भएता पनि विश्वमा परिरहेको बदलिने मौसम तथा वन जङ्गल विनाशको असर नेपालमा समेत देखिन थालेको छ । आफुले बनाएका चित्रहरुलाई आफुले भ्रमणको क्रममा देखेको प्रकृतिसँगको सामिप्यता तथा ती ठाउँहरुले आप्mनो दिमागमा पारेका छापहरुलाई कल्पनाशिलतासँग जोड्दै यी चित्रहरु बनाएको कलाकार बताउँछन् । डाँडाको टुप्पोमा रहेको मन्दिरमा घामका प्रकाशहरु खेलिरहेको जस्तो भान पर्दछन्, उनी कतै कतै प्राकृतिक रुपमा उब्जेका तालहरु तथा खोलाहरुमा दिनको समयमा हुने रङ्गहरुको परिवर्तनहरुलाई देखाउन सक्षम भएका छन् । संस्कृती तथा प्रकृतीलाई नै मुख्य सृजनशिलता मान्ने कलाकार प्रधानको यस प्रदर्शनीमा त्यही विषयलाई नै मुख्य केन्द्र विन्दु बनाइएको छ ।

नेपाल विदेशीहरुको आँखाबाट हेर्दा यहाँका हिमनदी, पहाडको बनावट, ठाउँ ठाउँमा झरना तथा जंगली चित्र विचित्रका फुलहरु फुल्ने अनौठो अनि अनुपम देश हो । यसलाई एक पवित्र अनि आफुमा नै लुप्त भइरहेको देशको रुपमा चित्रण गर्दै गर्दाको समयमा कोरोना कहर पछिको समयमा धेरै विदेशी पर्यटकहरु भ्रमण गरिरहेको अवस्थाले समेत यसै कुरालाई पुष्टि गरिरहेको छ । मानिसहरुको कुनै पनि आवतजावत नभएको जस्तो देखिने यी प्राकृतिक ठाउँहरुले कलाकार विनोदको सौन्दर्यचेतलाई समेत प्रस्तुत गरिरहेका छन् ।
त्यसैगरी उनको एक चित्रमा भने नेपालको प्राचिनता झल्काउने एक शहरलाई बनाइएको छ जसमा एक ठूलो लाखेलाई कठपुतलीको रुपमा देखाएका छन् । मानिसहरु आधुनिकताको नाममा के आफ्ना अस्तित्व अनि पहिले देखि चल्दै आएका संस्कृतिहरुलाई डोरीले झुण्ड्याइएको कठपुतलीसंग तुलना त गर्दै छैनन्, कुराकानीको क्रममा कलाकार विनोद सोध्दछन् ।

प्राकृतिक सुन्दरता, रंगहरुको उचित सम्मिश्रण, सांस्कृतिक आयामहरुको उठान जस्ता अन्तर्निहित कुराहरुले गर्दा नै कलाकार विनोदको यस प्रदर्शनी उनले गर्दै आएका पूराना प्रदर्शनीमा राखिएका कामहरु भन्दा भिन्न देखिएका छन् ।
वन विनाशले गर्दा हरियो भएता पनि पानी मात्र देखिएता पनि विस्तारै त्यो हरित मात्र देखिएको छ । मन्दिर उज्यालो अनि चम्किलो देखिएता पनि रुख्खा सुख्खा डाँडोमा परिणत भइरहेको अवस्था छ । नेपालको स्वर्णयुगको विषयलाई समेत उनले एक चित्रमा विम्वहरुको प्रयोग गरि प्रस्तुत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्