जापानिज कलाकारहरुको ग्यालरी एम.क्युबमा प्रदर्शनी

सुनिल राज ढकाल
सुनिल राज ढकाल २० कार्तिक २०७९, आईतवार ०६:००
6 Min Read
Aa

ग्यालरी एम.क्युब, चाकुपाटमा यसपटक भने पृृथक कलाकारहरुको जमघट देख्न सकिन्छ । प्रायः जसो मानिसहरु ग्यालरी एम.क्युबलाई समसामयिक कला प्रदर्शनीको थलोको रुपमा चिन्ने गर्दछन्, कारणः ग्यालरीका संचालक मनिष लाल श्रेष्ठले भारतबाट कलाको अध्ययन गरी फर्केका थिए अनि आफ्नो ग्यालरीलाई समसामयिक कलाहरु प्रदर्शनी गर्ने थलोको रुपमा विकसित गर्दै आएका छन् ।

यस पटक भने ग्यालरी एम.क्युबमा दुइ जापानिज साथीहरु जसले आफ्नो कलाको अध्ययन जापानमा नै सन् १९७७, मा सक्काएका थिए, आफ्ना भावनाहरुलाई क्यानभासमा उतारी एक पृथक कलाको प्रदर्शनी गरिरहेका छन् । यी दुवै कलाकारहरुको आफुलाई आधुनिक कलाकार भन्न रुचाउँदछन् । तानाबे इजुमिको कामहरुलाई ग्यालरी एम.क्युबको माथिल्लो तलामा राखिएको छ भने अर्का कलाकार हिडेओ इडाको कामहरुलाई तल्लो तलामा राखिएको छ । कल्पनाशिलतामा आधारित यी दुवै कलाकारहरुको कामहरु झट्ट हेर्दा नेपाली कलाकारहरुले बनाइरहेका चित्रहरु भन्दा निकै भन्न देख्न सकिन्छ । यो प्रदर्शनी कार्तिक १८ गतेदेखि कार्तिक २७ गते (नोभेम्बर ४ देखि १३ नोभेम्बर) सम्म रहनेछ ।

हिडेओ इडाको कामहरु, ग्यालरी एम.क्युबमा

कलाकार हिडेओ इडाका कामहरुमा शहरी जनजीवन तथा ९०० वर्ष पूरानो जापानिज जस्ता देखिने अक्षरहरु तर ती अक्षरहरुले कुनै अर्थ दिँदैनन् । ती मात्र एउटा लाइनको आकृतिजस्ता देखिन्छन् । झ्वाट्टट हेर्दा जापानीज अक्षर जस्तो लागे पनि त्यसले कुनै शब्द बोक्दैन । जुन नेपालमा पाइने लोक्ता जस्तै कागजमा कोरिएका थिए । त्यही कागजमा लेखिएका आकृतीहरुलाई प्रेरणाको श्रोत मान्दै आफ्ना भावनाहरु पोख्ने गरेका छन् । उनले धेरै पहिले नेपाल आउँदाको समयमा पोखराको फेवाताल तथा माछापुच्छ्रेमा घामको किरण पर्दाको समयमा देखिने दृश्यलाई चित्रकलामा उतारेका छन् भने उनका अरु कामहरु अमूर्त चित्रकला तर्फ ढल्किरहेको पाउन सकिन्छ । रंगहरुको सम्मिश्रण जसरी क्यानभासमा गरिएको छ, त्यो देख्दा भने कलाकारले निकै लामो समय मेहेनत गरिसकेको आभाष दर्शक दिर्घालाई लाग्न सक्दछ ।

हिडेओ इडाको कामहरु, ग्यालरी एम.क्युबमा

त्यसैगरी अर्की कलाकार इजुमी तानाबेले भने आफ्नो कलाको श्रोतको रुपमा प्रकृतीलाई मान्ने गर्दछिन् । उनका अनुसार जापानमा उनको घरको नजिकै रुखहरु भएको स्थान छ । त्यहाँको दृश्यावरलोकन गर्दै उनी कहिलेकाहिँ घण्टौँसम्म टोलिइरहन्छिन् । घामको किरणले ती रुखहरुलाई छुँदा त्यहाँ विभिन्न समयमा फरक फरक रंगहरु देखिने गर्दछ । त्यही देखिएका रंगहरुलाई नै क्यानभासमा उतार्न पाउँदा उनी निकै खुशी हुने गर्दछिन् ।  दोश्रो विश्वयुद्ध पछि जब जापानमा बम खसेको थियो, तब सबैभन्दा बढी पिडा महिलाहरुमा परेको उनको अनुभव छ । क्यानभासमा उतारिने आफ्ना कामहरुको बारेमा कुरा गर्दा उनी ती रुखहरुमा देखिने दृश्यहरुलाई नारीहरुले दिनानुदिन अनुभूति गरेका खुशीसँग तुलना गर्दछिन् । पहिले पहिले उनी चित्रहरु बनाउँदा नारीहरुलाई पनि क्यानभासमा देखाउँथिन् भने हाल आएर यसरी नारीहरुलाई चित्रमा देखाउन आवश्यक ठान्दिनन् । त्यस ताकाको समयमा महिलाहरु जति नै पिडा अनि गरिवीमा भए ता पनि मुस्कुराइरहेका हुन्थे जुन अचेलको नयाँ पिढिँले अनुभव गर्न पाएका छैनन् । त्यसैले पनि उनी आफ्नो कलालाई नारीहरुको त्यही मुस्कुराहटसँग तुलना गरि नै रहेकी हुन्छिन् । आफ्नो काम गर्ने प्रकृयाको बारेमा कुरा गर्दै इजुमी अझ थप्छिन् कि उनी घाम लागेको, पानी परेको समय, हुरी चलेको अनि हिउँ परेको समयहरुलाई आफ्नो मनोभावसँग तुलना गर्ने गर्दछिन् र त्यही दृश्यहरुलाई नै प्रेरणाको श्रोत मान्दै क्यानभास सजाउँछिन् ।

तानाबे इजुमिको कामहरु, ग्यालरी एम.क्युबमा

कलाकार हिडेओ इडाले भने करिब तीन वर्ष अगाडि समेत नेपालमा कला प्रदर्शनी गरेका थिए । उनलाई कला बनाउनको लागि विभिन्न माध्यमहरुको प्रयोग गरिरहन मन पर्दछ । एक्रेलिकको अलावा चारकोलले चित्रहरु कोर्न पनि उनलाई असाध्यै रमाइलो लाग्दछ तथा उनलाई क्यानभासमा एक लेअर माथि अर्काे लेअर थप्दै कामहरु गर्न निकै मजा लाग्ने गरेको कुरा पनि बताउँछन् । उनलाई आफुले बनाइरहेको चित्रकलाहरु कति काम गरिसकेपछि पूर्ण हुन्छन् भनी सोधिएका प्रश्नमा भने कलाकारको दिमागमा भएको दृश्य जब क्यानभासमा आएको आभास पाउँछन्, त्यही बेलामा नै ठ्याक्कै रोक्नु पर्दछ जस्तो लाग्छ । अनि कला आफुमा अन्तर्निहित भावनाहरुलाई व्यक्त गर्ने माध्यम जस्तो लाग्दछ । रंगहरु ती भावनाहरुलाई व्यक्त गर्दाको समयमा मद्दत गर्ने चिज हो भन्दछन् उनि । पहिले पहिले जापान र चिनिँया भाषामा लेखिएका कुराहरुलाई नै त्यसको बनावटलाई कलाको रुपमा हेरिन्थ्यो त्यसैले पनि उनको यस पटकको काममा उनले त्यही कुरालाई आफ्नो मूल विषयको रुपमा लिएको बताउँछन् ।

हिडेओ इडाको कामहरु, ग्यालरी एम.क्युबमा

कलाकार इजुमी भने कलालाई जीवन बाँच्नु नै कला जस्तो लाग्दछ । यो उनको लागि दोश्रो विश्वयुद्धको पिडा भुल्ने माध्यम जस्तो पनि लाग्दछ । अनि रंगहरुलाई स्वर्गिय आनन्दसँग तुलना गर्दछिन् । जापानी मानिसहरु दिनभरीको थकानलाई मेटाउनको लागि रात्रिकालिन समयमा वाथटबमा तातो पानि राखि त्यसमा केही समय आराम गर्न रुचाउँछन् र त्यसरी पानीमा बस्दा जुन आनन्द प्राप्त हुन्छ ठिक त्यस्तै आनन्द चाहिँ उनलाई रङ्गहरु लाग्दछन् । उनका केही कामहरुमा भने स्त्री नगरिएका कपडाहरुमा देखिने खुम्च्याहटहरुलाई आकर्षक ढंगबाट देखाएकी छन् । कपडा धोएपछि सुकाउनको लागि बाहिर ल्याइ तन्काउनु भन्दा अगाडिको समयमा देखिने आकृतीहरु उनलाई रोचक लाग्ने गर्दछन् र त्यही आकृतीहरुलाई पनि उनले आफ्नो कलामा देखाएकी छन् ।

तानाबे इजुमिको कामहरु, ग्यालरी एम.क्युबमा

यी कलाकारहरुलाई नेपालमा नै आफ्नो कलाको प्रदर्शनी किन गर्नु भयो भन्ने प्रश्नमा भने एकै स्वरमा बताउँछन् कि जापान विकास अनि आधुनिकताको नाममा यति विकसित भइसकेको छ कि त्यहाँ मानिसहरुलाई एक अर्कासँग बोल्ने फुर्सत समेत नहुने अवस्था आइसकेको छ । तर नेपालमा भने सधैँ सौहार्दतापूर्ण वातावरण भएको, यहाँको भौगोलिक बनावट तथा मानिसहरुसँगको कुराकानीहरु सधैँ अमूल्य लाग्ने गरेकोले नै नेपाल उनीहरुको चित्रकला प्रदर्शनीको पहिलो रोजाइ रहने गरेको बताए ।

तानाबे इजुमिको कामहरु, ग्यालरी एम.क्युबमा

प्रतिक्रिया दिनुहोस्

Array