डोल्पादेखि अमेरिकासम्म

सुनिल राज ढकाल
सुनिल राज ढकाल १ मंसिर २०७९, बिहीबार ०६:००
13 Min Read
Aa

डोल्पाको हिमाली गाउँमा ६ महिना हिउँ पर्ने र बाँकी ६ महिना सुख्खा हुने गर्दछ । दुनै बजार सदरमुकाम भएकोले सरकारी कार्यालयहरू तथा स्थानीय व्यापरिक केन्द्र हो । जुफालमा एयर्टपोर्ट भएकोले केही चहलपहल हुने भए तापनि डोल्पा जिल्लाका अधिकांश गाउँहरू दुर्गममा छन् । दुनै बजार र जुफाललाई पनि सेवा, सुविधा र विकासका दृष्टिले दुर्गम नै मान्नु पर्दछ । यातायातको सुविधा नभएको डोल्पाका अन्य धेरै गाउँहरूमा जस्तै तिन्जे गाउँमा पनि अन्नको समेत अभाव हुने गर्दछ । त्यस दुर्गम गाउँमा उत्पादन हुने भनेकोे चिज, उवा र आलु मात्र हो । मानिसहरू त्यही खाएर हुर्कने गर्दछन् । आजभन्दा केही वर्ष अघिसम्म त डोल्पाका विभिन्न गाउँहरूमा नुनको समेत दुःख हुने गर्दथ्यो । तिब्बती सिमाना नजिकै पर्ने हुनाले चौँरीको क्याराभान लिई मानिसहरू नुन बोक्नको लागि कयौँ दिन हिँडेर जाने गर्दथे । उनीहरू फर्केर आउँदा जहिले पनि उत्सव हुने गर्दथ्यो ।

यस्तो दुर्गम र बाँकी विश्वले नामै नसुनेको तिन्जे गाउँमा सन् १९७० को दसकमा तेन्जी नोर्बु जन्मिएका थिए । त्यसबेला त्यस क्षेत्रमा शिक्षाको लागि विद्यालयहरू खुलेका थिएनन् । तिन्जे गाउँमा र त्यस क्षेत्रमा नै वर्षमा एक पटक उवा काटिसकेपछिको समयमा गाउँमा फिरन्ते लामाहरू आउने गर्दथे । लामा गाउँमा आएपछि गाउँलेहरू लामाहरूका कुरा सुन्न एक गाउँमा जम्मा हुन्थे । ती फिरन्ते लामाहरूले उनीहरूले जानेका कथा अनि ज्ञानज्ञुनका कुरा गाउँहरूलाई सुनाउँथे । गाउँलेहरू त्यस्ता ज्ञानका कुराहरू सुन्दा निकै भाव विह्वल हुँदै आँसु खसाल्ने गर्दथे । लामाहरूले सुनाउने गरेका देशविदेशका विभिन्न घटनाहरू सुनेर गाउँलेहरू अचम्भित पनि हुने गर्दथे ।

डोल्पा जिल्लाको सदरमुकाम दुनै बजारबाट तिन्जे गाउँ कस्सिएर हिँड्दा ७ दिनमा पुगिन्छ । त्यहाँका मानिसको लागि काठमाडौँ धेरै टाढाको कुरा हो, धूमिल सपनाजस्तो । तेन्जिङलाई उनी सानो हुँदा उनका बुबाले महिनौँ लगाएर एकचोटि काठमाडौँ पुगेको कुरा सुनाउनुहुन्थ्यो । काठमाडौँ जान चाहिने खर्च अनि खानेकुरा बाटोमा नै सकिएपछि उनका बुबा अरू साथीहरूँंगै कुनै गाउँमा काम गरी पैसा जम्मा गरी अगाडि बाटो तय गर्दै काठमाडौँ पुग्नुभएको थियो रे । बुबाले काठमाडौँ यात्रा र काठमाडौँको बारेमा सुनाउँदा तेन्जिङ पनि कुनै दिन काठमाडौँ जाने कल्पना गर्दथे ।

गाउँमै लामाको रूपमा काम गर्ने तेन्जिङका बुबाले समय–समयमा थाङ्का बनाउने गर्दथे । बुबाले थाङ्का बनाउँदा तेन्जिङ छेउमा बसेर बुबाले पेन्टिङ गरिरहेको हेर्दथे । यसरी हेर्दाहेर्दै र बुबालाई अलिअलि सघाउँदासघाउँदै उनको पनि चित्रकारितामा रुचि बढ्यो । उनले सिक्न थाले । बुबाले बनाएकोजस्तै चित्र उनले बाल्यकालमा माटोमा हातका औँलाले कोरेर बनाउने गर्दथे । उनका पिताले नै गाउँमा छोरालाई शिक्षा दिने गर्दथे ।

एकसाल गाउँ आएका लामाहरूले गाउँलेहरूलाई ज्ञानका कुरा बताउँदै जाँदा विज्ञानको केही विषयमा गाउँलेलाई बुझाउन भने गाह्रो भयो । यसपछि त्यहीँ छेउमा बसेर सुनिरहेका साना तेन्जिङ्ग नोर्बु गुरुङ्गलाई गाउँलेहरूलाई बुझाउन लामाहरूले अह्राए । उमेर सानै भए पनि राम्रो चित्र बनाउन थालिसकेका तेन्जिङ्गको कलालाई गाउँका मानिसहरूले निकै मन पराएका थिए । उनले बनाउने थान्का पनि त्यहीँ पाइने उवा वा अन्य कुनै अन्नसँग त्यसै बेलादेखि नै साँटिने गर्दथ्यो । कुनै चित्र निकै राम्रो भएको खण्डमा भने सक्ने मानिसले याकसँंग समेत साँटेर लैजान्थे । तेन्जिङ लामाहरूको आदेश पाएपछि आपूmले बुझेका विज्ञानका कुरा जानेसम्म सरल भाषामा गाउँलेलाई सुनाउँथे ।

गाउँमा एक पटक गाउँलेहरूलाई नैतिक शिक्षा सम्बन्धी कुरा सिकाउँदै गर्दा लामाहरूले तेन्जिङलाई चित्र कोर्न लगाएका थिए । तेन्जिङले बनाएका त्यहाँका मानिसहरूको रहनसहन सुहाउँदा चित्रहरू ती लामाहरूले असाध्यै मन पराएका थिए । यसरी वर्षेनी उनले नै चित्र बनाउने गर्दथे । उनी त्यहाँ आउने लामाहरूका चित्र पनि बनाउँथे । उमेरले २० वर्ष पुगिसकेका लामो कपाल अनि अग्लो कदका तेन्जिङ यसरी नै चित्र बनाउँदै गर्दा गाउँमा केही नौला मानिसहरू आएका थिए । उनीहरूले उनको चित्र हेर्दै फोटो खिच्ने अनुमति मागे । तेन्जिङले उनीहरूले बोलेका केही कुरा पनि बुझेनन् । तर ती नौला मानिसहरूसँग आएका एकजना शेर्पा पनि आएका थिए । शेर्पासँगै आएका ती व्यक्तिले तेन्जिङले बनाएका चित्रहरूको थुप्रै फोटो खिचे । ती शेर्पाले भने उनीहरूले भनेका कुरालाई अनुवाद गरेर तेन्जिङलाई बताउँदै गए । ती शेर्पाले ती विदेशीको नाम एरिक हो भनेर मलाई चिनाए । शेर्पाले भने, ‘तिमी मसँग काठमाडौँ जाने हो ?’

तेन्जिङ्गलाई काठमाडौँ त जानु थियो तर बुबाले सानोमा भने जसरी घुम्दैघुम्दै । त्यसैले उनले केही पनि भनेनन् त्यतिबेला । फेरि ती शेर्पाले एरिकको भनाइलाई अनुवाद गरेर भने, ‘अबको ठीक एक महिनापछि हामी फेरि यसै गाउँमा आउनेछौँ अनि त्यतिबेला हामी तिमीलाई काठमाडौँ लैजानेछौँ ।’

नभन्दै एक महिनापछि नभए पनि ठीक तीन महिना पछि एरिक उनै शेर्पासँग तेन्जिङको उनको गाउँमा आए । तेन्जिङ तिनै व्यक्तिहरूसँग पहिलो पटक गाउँ छोडेर निस्किए । पहिलो पटक उनी जुम्लासम्म हिँड्दै पुगे । आफ्नो गाउँमा बुट्यान र ससाना झाडीहरू मात्र देखेका उनलाई पहिलो पटक रुखहरू देख्दा अचम्म लाग्यो । उनले निकैबेर नियालेर रुखहरूलाई हेरे । आकाशमा हवाइजहाज त देखेका थिए तर जुम्लाको सिञ्जा एयरपोर्टमा नै हो उने पहिलो पटक हवाइजहाज देखेको । उनलाई हवाइजहाज देख्दा सानोमा लामाहरूले बताउने गरेको ड्रर्यागनको कथाको ड्रर्यागनजस्तो लागेको थियो । ठूलो आवाज निकाल्ने, जमिनमा गुड्ने र आकाशमा उड्नसक्ने कस्तो अचम्मको जीव ! यसले खान्छ चाहिँ के होला भन्ने लागेको थियो उनलाई ।

जुम्लाबाट हवाइजहाज तेन्जिङ नेपालगञ्ज पुगे । त्यहाँ ओर्लिएपछि उनले पहिलो पटक धेरै फूलहरू फुलिरहेको देखे । चित्रमा मात्र फूलहरू देखेका उनलाई पहिलो पटक यति धेरै अनि राम्राराम्रा फूलहरू फुलिरहेको देख्दा स्वर्ग यही नै हो कि जस्तो लाग्यो । उनी फूलको सौन्दर्यले मन्त्रमुग्ध र भावविभोर भए । त्यहाँ झरिसकेपछि अटो चालकहरूले हाँसिहाँसी मानिसहरूलाई बोलाइरहेका थिए । त्यो दृश्य देखेर कलाकार तेन्जिङलाई लागेको थियो, ‘यी स्वर्गजस्तो ठाउँमा बस्ने मानिसहरु कति दयालु हुँदा रहेछन् । यसरी मुस्कुराउँदै यता आउनुस् यता आउनुस् भनी बोलाइरहेका छन् ।’ धेरै पछि होटलमा पुगेपछि मात्र उनले थाहा पाए कि ती मानिसहरू त पैसाको लागि यसरी मानिसहरूलाई बोलाइरहेका रहेछन् ।

तेन्जिङको लागि हरेक दृश्य, हरेक घटना नयाँ भइरहेका थिए । नेपालगञ्जबाट एरिकको टोलीका केही व्यक्ति काठमाडौँका लागि हवाइजहाजमा गए भने तेन्जिङ र एरिकका अरू साथीहरु बसमा पहिलो पटक काठमाडौँ आइपुगे । काठमाडौँमा एरिकको कोठा विशालनगरमा थियो । सबैजना त्यहीँ बसे । भोलिपल्ट एकजना गाइडको साथमा तेन्जिङ र उनका केही साथीहरू दरबारमार्गमा घुम्न गएका थिए । मानिसहरू सर्ट, पाइन्ट लगाएर हिँडिरहेका थिए भने डोल्पाबाट आएका तेन्जिङ र उनका साथीहरू भने गाउँले पहिरनमा थिए । ती गाइडले तेन्जिङहरूको लागि टिसर्ट र जिन्स पाइन्ट किनिदिए । पहिलो पटक त्यस्तो कपडा लगाउँदा उनलाई निकै रमाइलो लागेको थियो । त्यो कपडा लगाएर उनीहरू धेरै पटक दरबारमार्ग वरिपरि घुमे । एरिक भने फ्रान्स गएका थिए ।

क्याराभान नामक डकुमेन्ट्री बनाउन पैसा जुटाउन फ्रान्स गएका एरिकले एकदिन खुशी हुँदै फोन गरी अब क्याराभान डकुमेन्ट्री होइन चलचित्र बन्ने भो भनी सुनाए । त्यसपछिको केही समय तेन्जिङ आफ्नै गाउँ डोल्पामा गई चलचित्र बनाउनको लागि चाँजोपाँजो मिलाउने काममा लागे । हिँउ पर्दाको दृश्य खिच्न उनीहरू कयौँ समय कुरेर बस्नुपरेको मीठो अनुभव छ उनीसँग ।

काठमाडौँ आइसकेपछि उनलाई आफ्नो गाउँले जीवन र अशिक्षाले सताउन थाल्यो । एक त चालचलन नयाँ, जहाँ पनि सिक्नुपर्ने, त्यसमाथि जता जाँदा पनि साइनबोर्डहरू हेर्दा कि त नेपाली वा अंग्रेजी भाषामा लेखिएका थिए । एकपटक उनको साथी बिरामी भई अस्पतालमा भर्ना गर्नुपरेको थियो । डक्टर नर्सहरूले यति नम्बरको कोठामा जानु भनेपछि एक त राम्ररी नेपाली बोल्न नआउने र अर्काे पढ्न पनि नआउँदा तेन्जिङ अलमल्ल त परे नै, उनलाई साहै्र नरमाइलो अनुभव समेत भयो । उनलाई त्यस बेला लागेको थियो कि गाउँमा विद्यालय खोलेर गाउँका धेरै मानिसहरूलाई शिक्षाको उज्यालो दिन पाए त्यहाँका पिछडिएका मानिसहरूलाई पनि ठूलो उद्धार गर्न सकिन्थ्यो ।

यसरी निकै लामो समय खर्चेर एरिकले क्याराभान चलचित्र बनाए । क्याराभान चलचित्र निकै सफल भयो । त्यसमा तेन्जिङले बनाएका चित्रहरूलाई पनि समावेश गरिएका छन् । यस चलचित्रले तेन्जिङको नाम र सिप देशविदेशसम्म पु-याउन सहयोग ग-यो । उनको नाम विस्तारै स्वदेश तथा विदेशमा चल्दै गइरहेको थियो ।

एकदिन त्यसै चलचित्रका निर्देशकमध्येका एक उनलाई खोज्दै तेन्जिङको डेरामा आइपुगेका थिए । उनले तेन्जिङलाई आफ्नो देशको घरमा चित्रहरू बनाउनका लागि अनुरोध गरे । यसरी तेन्जिङले पनि ती निर्देशकसँग पहिलो पटक अन्तर्राष्ट्रिय उडान गरी विदेश यात्रा गरे । त्यति बेला उनी फ्रान्स गएका थिए । हवाइजहाज आकाश मार्गमा उडिरहँदा तेन्जिङले झ्यालबाहिर हेरे । उनले अर्काे हवाईजहाज पनि आकाशमा उँडिरहेको देखे । त्यो हवाइजहाज कत्रो होला हइ, भनेर गफिइरहँदा त्यो हवाईजहाजमा करिब ३०० मान्छे अट्ने कुरा थाहा पाए । उनी बसेको जहाजमा भने २०० जना अटाउने रहेछन् । डोल्पाको उनको सिङ्गो गाउँ नै त्यस हवाईजहाजभित्र अटाउने कुराले उनलाई चकित पा-यो । उनलाई त्यसपछि मानिसहरू माथि उड्दा यति सानो देखिने भएकाले घमण्ड के कुरामा गर्नेजस्तो लाग्न थाल्यो । विदेशको बसाइको क्रममा नै उनका तिनै साथीले आफ्नो डोल्पा भोगाइको क्रममा अनुभूति गरेका कुराहरूलाई किताबको रूपमा प्रकाशन गर्ने विचार गरेका थिए । त्यसैका लागि तेन्जिङले चित्रहरू कोर्न थाले । त्यो किताब पनि विदेशमा धेरै रुचाइयो र धेरै भाषामा अनुवाद समेत भयो । यसरी त्यस किताबले उनको नामलाई चिनाउनुका साथै उनको साथसाथै आम्दानीको स्रोत पनि बनाइदिएको थियो ।

विभिन्न देशहरू घुम्ने क्रममा त्यहाँको रहनसहनका साथसाथै त्यहाँको तुलना आफ्नै गाउँसँग गर्दै चित्र कोर्न उनलाई तेन्जिङ रमाइलो लाग्थ्यो । अमेरिकामा छँदा स्ट्याचु अफ लिबर्टी देखिसकेपछि उनलाई आफ्नो धर्मका गुरु गौतम बुद्धलाई त्यहाँ टर्च बोकेर हिँडिरहेको देखाउन सकेमा कति रमाइलो हुन्थ्यो होला भन्ने लाग्यो । त्यसैले उनले एक चित्रमा बुद्धको उभिएको प्रतिमा बनाई एक डोल्पाली घरलाई समेत त्यहाँका गगनचुम्बी भवनसँगै राखेर चित्र बनाएका छन् । त्यसैगरी, उनले अर्काे एक चित्रमा भने आइसक्रिमलाई उनको गाउँमा मण्डला घुमाएको जसरी घुमाउँदै त्यसबाट आइसक्रिम निकाल्दै खाँदै गरेको दृश्य देखेकोले आइसक्रिम मण्डला शीर्षकमा चित्र बनाएका छन् । गाउँले परिवेश तथा शहरी परिवेशलाई एक कलाकारका् आँखाबाट हेर्नसक्ने तेन्जिङलाई विदेशमा जता बस्दा पनि आफ्नै गाउँको सम्झना सधैँ आइ नै रहन्थ्यो । त्यसैले गर्दा पनि उनलाई कहिल्यै विदेशमा बसौँ जस्तो लागेन ।

सन् २००८ ताका उनको एउटा सिर्जना रुविन म्यूजियमको हिमालयन आर्टमा छनौट भएको थियो । उनको कामको साथसाथै अर्का एक नेपाली आङछिरिङ शेर्पाको काम पनि छनौटमा परेको थियो । अमेरिका बसाइको क्रममा यी दुवै कलाकारको राम्रो मित्रता रहेको कुरा पनि कलाकार तेन्जिङ बताउँछन् । त्यस प्रदर्शनीमा भाग लिइसकेपछि तेन्जिङ पुनः नेपालमा फर्के ।

नेपाल आइसकेपछि एकजना स्वीस महिला स्वीट्जरल्याण्डबाट उनको सम्पर्क आएकी थिइन् । उनको इच्छा दीनदुःखीहरूलाई सेवा गर्ने थियो । तेन्जिङले डोल्पाको आफ्नो विकट गाउँमा सहयोग गर्दा त्यहाँका बालबालिकाको भविष्य उज्ज्वल हुने कुरा बताएपछि ती महिलाले एक पटक डोल्पा घुम्न जाने निधो गरी नेपाल आइन् । डोल्पामा घुम्न जाँदा त्यहाँको दुःख देखेर त्यहाँ जसरी पनि एक विद्यालय बनाई गाउँलेहरूलाई सहयोग गर्ने अठोट गरिन् । त्यसरी ८ जना विद्यार्थीरूबाट शुरु गरेको विद्यालयमा हाल ३०० भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । त्यहाँ हिँउँ पर्ने समयमा मानिसहरूलाई बाहिर निस्कने अनि घर आउने गर्न पनि निकै कठिनाइ हुने गर्दथ्यो । त्यसैले हिउँ पर्ने समयमा ती विद्यार्थीहरूलाई काठमाडौँमा ल्याई पढाउने गरिन्थ्यो । तेन्जिङलाई यो कुरामा गर्व लाग्छ कि त्यसै विद्यालयबाट पढेका विद्यार्थीमध्येको एक हाल वडा अध्यक्ष बनेका छन् भने कयौँले राम्रो शिक्षा पाएका छन् ।

यस पटकको काठमाडौँ आगमनको समयमा भने उनले विन्डहर्स ग्यालरी, पुलचोकमा आफ्नो कामलाई प्रदर्शनीमा राखेका थिए अनि जाडो याममा भने आफ्नै गाउँमा गई अझ राम्राराम्रा सिर्जनाहरू बनाउँदै आफ्नो चित्रकला–कर्मलार्ई निरन्तरता दिने विचारमा छन् ।

प्रतिक्रिया दिनुहोस्

Array