माटोको सम्झना

सुनिल राज ढकाल
सुनिल राज ढकाल २० मंसिर २०७९, मंगलवार ०६:००
8 Min Read
Aa

बढ्दो सहरीकरणले जग्गामा पारेका प्रभाव र त्यहाँ उब्जनीहुने अन्नको अभावले गर्दा मानिसहरुलाई त मर्का पर्ने नै भयो । तर त्यससँगै माटोमा रमाउने किराहरु लोप हुँदै गए । प्रकृतिको अनुपम उपहारका रुपमा हेरिने किरा फट्याङ्ग्राका पनि आ–आफ्नै कर्म हुन्छन् । जुन प्रकृतिबाट प्रायः लोप हुने अवस्थामा पुगिसकेका छन् भने कतिपय किरा फट्याङ्ग्राहरु त लोप नै भइसकेका छन् । त्यही सन्दर्भलाई लिएर माटो तथा किराहरुसँगको सम्बन्धलाई समसामयिक कला मार्फत दर्शक सामु ल्याउने कलाकार हुन् विद्यमान तामाङ । उनले कलाको एक माध्यम प्रिन्टमेकिङद्वारा सिर्जना गरेका कलाहरुलाई ‘माई मेमोरिज अफ द सोइल’ (मेरो माटोसँगको सम्झनाहरु) शीर्षकमा बबरमहल स्थित सिद्धार्थ आर्ट ग्यालरीमा कला प्रर्दशनी गरिरहेका छन् ।

रामेछापमा जन्मिएका तामाङ्ग विद्यालयमा पढ्दाका सम्झनाहरुलाई ताजा गर्दै भन्छन्–‘हामी पढ्ने विद्यालयमा कलालाई त्यति महत्व दिइँदैनथ्यो । कला भन्ने विषय पढाइमा कमजोर विद्यार्थीको लागि मात्र हो भन्ने सोच थियो । तर, आफुलाई भने कलामा रुचि थियो । तर कलाकार बन्छु , कला पढ्छु भन्न मन लाग्दैनथियो ।’

उनले विद्यालयको पढाइपछि व्यवस्थापन पढ्न थाले तर कलालाई भने निरन्तर रुपमा अगाडि बढाउँदै गए, आफ्नै हिसावले । आफुलाई रुचि भएको विषय उनले कहिल्यै छोडेनन् । उनको मिहिनेत र अथक लगनशीलताले गर्दा नै उनी अहिले काठमाडौंको बबरमहल नजिकै अवस्थित सिद्धार्थ आर्ट ग्यालरीमा आफ्नो कला प्रदर्शनी गर्न सफल भएका छन् ।

विद्यालयमा पढ्दादेखि नै उनलाई चित्रकला बनाउन मन लाग्दथ्यो र उनले निरन्तर आफ्ना कपीहरुमा चित्रहरु बनाइ नै रहन्थे । दश जोड दुईको शिक्षा पछिको समयमा उनले बनाएका चित्रहरु आफ्ना कोठाका भित्तामा सजाएर राखेका थिए । उनको उक्त चित्रहरु एक दाजुले देखेपछि ‘यस्तो राम्रो चित्रहरु बनाउने मान्छेले त कला सम्बन्धी पढाइ हुने ललितकला भन्ने क्याम्पसमा पढ्नुपर्छ । त्यहाँ गएर भर्ना गर्दा हुन्छ नि’ भनेपछि उनी काठमाडौंमा रहेको ललितकला क्याम्पसमा भर्ना भए र कलाको अध्ययनमा लागे । उनले आफ्नो कला अध्ययनको दौरानमा विभिन्न खाले चित्रहरु बनाउँथे । कहिले स्केच बुकमा त कहिले क्यानभासमा उनका कुचिहरु रङ्ग भर्दथे । त्यतिबेला उनलाई चित्रकलाको विधा ‘प्रिन्टमेकिङ’ ज्यादै झन्झटिलो लाग्ने भएकोले खासै चासो पनि दिँदैनथे । तर उनले गर्ने स्केच तथा चित्रहरुमा निखारता आउन थालेपछि विस्तारै उनी प्रिन्टमेकिङ्गमा चासो दिन थाले ।

विद्यमान ललितकलाका विद्यार्थी थिए । उनलाई प्रिन्टमेकिङ्ग पढाउने गुरुआमा सौरगंगा दर्शनधारीले सिर्जना कलेज अफ फाइनआर्टमा अध्ययन गरिरहेका अर्का विद्यार्थी अमन महर्जनसँग जोडिमा काम गर्न प्रोत्साहित गरिन् । दुवैले मिलेर काम पनि गरे । नयाँ नयाँ प्रयोगहरु पनि गर्न थाले । स्नातकको पढाइ सकिएपछि विद्यमान केही समय गाउँमा गइ बसे । त्यही समयमा ‘विन्दु’ नामक संस्थाले रेसिडेन्सि कल गर्यो र त्यहाँ प्रिन्टमेकिङ्गको सायद ३ महिने कार्यशालाको आयोजना भयो। त्यसमा विद्यमान भाग लिन रामेछापबाट काठमाडौं आए । त्यसपछि बल्ल उनलाई प्रिन्टमेकिङमा झन् चाख बढ्न थाल्यो र कलाको माध्यमबाट केही गर्नुपर्दछ भन्ने सोचेर प्रिन्टमेकिङ विधामा नै नयाँ नयाँ प्रयोग गर्दै अगाडि बढे । उनले उक्त कार्यशालामा ज्ञान तथा शीपलाई तिखार्न भरपुर मौका पाए । त्यसैको फल स्वरुप आजको दिनमा भइरहेको प्रदर्शनीमा निखारता ल्याउन सफल भएको कलाकार बताउँछन् ।

त्यसपछि पनि उनले विभिन्न कार्यशालामा कहिले भोलुन्टियर भएर त कहिले सहभागी कलाकारको रुपमा काम गरि नै रहे । निरन्तरता अनि गहन अध्ययनले गर्दा नै उनको प्रिन्टमेकिङ्गका कामहरु विकसित हुँदै आए । तर उनलाई यहि विधामा रही धेरै भन्दा धेरै प्रयोगहरु गर्नु थियो । नयाँ नयाँ प्रयोग, त्यो पनि प्रिन्टमेकिङ्ग विधामा गर्न उनलाई खुब मन लाग्थ्यो । गाउँमा बस्दा उनले हजुरआमासँग गरेका सम्बादहरु सम्झन थाले । हजुरआमाले आफ्नो उमेरमा देखेका किरा–फट्याङ्ग्राहरु विस्तारै लोप हुँदै गएको र यस्तो हुनुको पछाडि हरिया अनि खेतीयोग्य जमिन कंक्रिटको थुप्रोमा परिणत हुनु एक कारण भएको हुन सक्ने कारण समेत बताउनुहुन्थ्यो । कृषि योग्य जमिनमा खेतीगर्दा देखापर्ने प्रकृतिका उपहार किरा–फट्याङ्ग्राहको पनि आफ्नै महत्व हुने र ती किराहरुले गर्दा नै बालीनालीमा रोगहरु लाग्न नदिने जैविक चक्रका विषय हजुरआमाले विद्यमानलाई बताउनुहुन्थ्यो । त्यही विषयहरुलाई उनले पुनरावलोकन गर्दै ती सम्झनाहरुलाई ताजा गर्नको लागि अहिलेको कामहरु ल्याएका हुन् । स्नातकोत्तरको दौरानमा उनले आफ्ना गुरु सीमा शाहसँग पनि नयाँ नयाँ तरिकाहरु सिक्ने अवसर पाएको बताउँछन् । स्नातकोत्तरको दौरानमा गुरुहरुको घरमा गएर काम सिक्ने वा विभिन्न कलाकारहरुको विभिन्न तरिकाहरु सिक्दै यहाँ सम्म आइपुगेका हुन् ।

सन् २०२२ ताका भएको काठमाडौँ ट्रिएनालेमा उनले ती किराहरुका चित्रहरुलाई बाक्साभित्र राखी सिसा बाहिरबाट हेर्न मिल्ने किसिमले देखाएका थिए । त्यही कामलाई धेरै मानिसहरुले त्यो बेलामा निकै मन पराएका थिए । सिद्धार्थ आर्ट ग्यालरीकी संचालिका संगीता थापालाई पनि उनको काम निकै राम्रो लागेको थियो । त्यसैले पनि उनले अस्ट्रेलियन हिमालय अवार्डको लागि उनको नाम मनोनित गरी पठाएकी थिइन् र सौभाग्यवश उनले अवार्ड पाए । आफ्नो बाल्यावस्थाको अवस्थाको सम्झना, हजुरआमाका कुराकानीहरु र कृषिसँग किराहरुको सम्बन्धलाई जोडेर उनले पाएको अवार्डको सदुपयोग गरे । तर जब उनले अवार्ड पाए तव नेपालमा कोरोना महामारीले गर्दा लकडाउनको सरगर्मी चलिरहेको थियो । प्रिन्टमेकिङ्गका लागि आवश्यक सामाग्रीहरु किन्न निकै कठिन भएता पनि विद्यमानले आफ्ना कामहरु गर्दै गए । उनले गरेका नयाँ नयाँ प्रयोगहरुको समिश्रणले एउटा मूर्त रुप लियो, एउटा ठूलो कलेक्सन बन्यो । त्यही प्रयोग तथा सिर्जनाहरुबाट जन्मिएका समसामयिक कलाहरुलाई उनले पहिलो पटक एकल कला प्रदर्शनी मार्फत सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनीगर्ने मौका पाए । जुन कला प्रेमिहरुकालागि नयाँ प्रयोगलाई नजिकबाट नियाल्ने अवसर हुनसक्छ ।

आफुले गर्दै आएको प्रिन्टमेकिङ्गलाई अझ खार्नको लागि नयाँ नयाँ प्रयोगहरु गर्दै आएका विद्यामान आफ्नो प्रिन्टमेकिङ्गको पाश्र्व भागमा भने नक्साहरु राख्ने गर्दछन् । यो राख्नुको कारणको विषयमा कुराकानी गर्दा उनी बताउँछन्, ‘हाल मानिसहरुको माटोसँगको सम्बन्ध विस्तारै हराउँदै गएको छ ।  खेती गर्ने जग्गाहरु विस्तारै घरहरुले ओगट्न थालिसकेको छ । यहि विचमा हाम्रो माटोसँगको सम्बन्धलाई देखाउनको निमित्त लालपुर्जा वा नक्साहरु नै उत्कृष्ट माध्यम हुन्छ जस्तो लाग्छ मलाई,’ उनी बताउँछन् ।

उनले बनाएका प्रिन्टमेकिङ्गका कामहरु उनी भन्दा अघिल्लो पुस्ताले बनाउने गरेको कामहरु भन्दा निकै फरक र आकर्षक देखिन्छन् । यसको विषयमा कुराकानी गर्दा विद्यामान बताउँछन् कि उनी प्रिन्टमेकिङ्ग भन्दा पहिले चित्रहरुमा नै निकै बेर घोत्लिरहेका हुन्छन् । चित्रहरु राम्रो भइसकेपछि पनि त्यसलाई अझ अरु प्रयोगहरु गर्दै अझ उत्कृष्ट तरिकाले कसरी प्रदर्शित गर्न सकिन्छ भन्ने विषयमा घोत्लिएकोले पनि उनका कामहरुमा यस्तो फरकपन आएको बताउँछन् । आफुलाई प्रिन्टमेकिङ्गमा चाहिने सामाग्रीको रुपमा भने उनी सियोलाई लिन्छन् र उनको पर्समा अनि झोलामा एक एक सेट सियो सधैँ रहने गरेको कुरा बताउँछन् । कलाकार भइसकेपछि मानिसहरुले देखिरहेका कुराहरुलाई नै फरक ढंगबाट प्रस्तुत गर्नुपर्दछ भन्ने मान्यता राख्ने उनी आफ्ना चित्रहरुमा कहिले तिर्खाएको शहरको कथाहरु बुन्छन् त कहिले हजुरआमाले कृषि गर्दा प्रयोग गर्ने मकैको झुत्ताको विचमा लसुन राखि प्राकृतिक पेस्टिसाइड बनाउने गरेको चलन त कहिले गाउँले परिवेशमा मानिसहरु गोठालो जाँदा वा बसिवियाँलो गर्नको लागि खेलिने बाघचाल अनि त्यसका गोटिजस्ता मानिसहरु सत्ताबाट कसरी परिचालित हुने गर्दछन् भन्ने विषयमा चित्रहरु कोर्ने गर्दछन् ।

आउँदा दिनमा भने विदेशमा प्रिन्टमेकिङ्गमा समुह समुह मिलेर काम गर्ने गरेको जस्तै आप्mनै एक स्टुडियो बनाइ अझ धेरै प्रिन्टमेकिङ्गमा रुचि भएका कलाकारहरुलाई एकै थलोमा ल्याइ अझ परिस्कृत कामहरु गर्ने उनको योजना रहेको छ । कला प्रदर्शनी मंसीर ११ गते २९ गते सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्