नेपाल आर्ट काउन्सिलमा शिल्पाञ्जली

सुनिल राज ढकाल
सुनिल राज ढकाल १४ माघ २०७९, शनिबार ०६:००
7 Min Read
Aa
सपना खरेल, शिल्पाञ्जली, नेपाल आर्ट काउन्सिल

नेपालीहरुको कला सिर्जनाका बारेमा धेरै कलापारखी तथा कलाकारहरु जानकार छन् तर जापानी कलाकारहरु कला कसरी बनाउँछन् होला ? भन्ने विषयमा शायद धेरै जसो नेपाली कलाकारहरुलाई विरलै थाहा होला । प्राय चित्रकला प्रदर्शनीमा देखिने कलाहरु कि त क्यानभासमा रङ्गहरुले सजिएको हुन्छन्, कि त ढुङ्गामा कुँदिएका मूर्तिहरुले । तर फूलहरुको पत्तालाई कागजमा टाँसेर होस् वा कुनै पनि कागजलाई फूलकै आकार प्रकारको रङ्ग भरेर साना साना कागजका टुक्राहरुलाई जोडेर बनाइएको कला भने पक्कै पनि नौलो हुनसक्छ कला पारखीहरुका लागि ।

त्यस्तै यस पटक भने विलकुल पृथक किसिमको कला प्रदर्शनी नेपाल आर्ट काउन्सिल बबरमहलमा भइरहेको छ । जहाँ ती बनाइएका चित्रहरुलाई नियाल्ने हो भने साँच्चैको फूलको आभास पाइन्छ । जसमा जापानमा फुल्ने विभिन्न थरीका फूलहरुको पत्ता तथा त्यसको हाँगाहरुलाई संयोजन गरी क्यानभासमा टाँसेर जीवन्त तरिकाले सजाइएको छ । त्यस्तै अर्को खालको कला झ्वाट्ट हेर्दा साँच्चैको फूल हुन् कि भन्ने आभास पाइन्छ तर त्यसमा जापानीज कागजलाई टुक्रा पारेर रङ्गहरु भर्दै गमको सहायताले गाँस्दै जापानीज कागजमा नै बढो कलात्भक ढङ्गबाट बनाइएको छ ।

सपना खरेल, शिल्पाञ्जली, नेपाल आर्ट काउन्सिल
शिल्पाञ्जली, नेपाल आर्ट काउन्सिल

कलाकार सपना खरेलले जापानमा फुल्ने फूलहरुलाई टिपेर त्यसलाई सुकाएर क्यानभासमा कलात्मक तरिकाले टाँसेर बनाउनु भएको कला र जापानीज कागजका टुक्राहरुमा रङ्ग भरेर बनाउनुभएको चित्रकला हेर्दा उस्तै लागे पनि यी दुई किसिमका कलाहरु फरक तरिकाले बनेको कलाकार बताउनुहुन्छ ।

सन् २०१० तिर पहिलो पटक जापान जानुभएको उहाँ जापानमा रहने क्रममा त्यहाँको कला गतिविधिसँग विस्तारै संलग्न हुन थाल्नु भयो र त्यहाँ प्रयोग भइरहेको यिनै दुइवटा विधिहरुलाइ कहिले कक्षामा त कहिले किताबका सहायताले अध्ययन गर्न थाल्नु भयो । समय क्रमसंगै १३ वर्षको जापान आउने जाने क्रममा बनाइएका यी चित्रहरुलाई फ्रेम गरी प्रदर्शनीमा राख्नु भएको छ ।

पहिले देखि नै फूलको सौखिन बताउने कलाकार खरेल जापानमा रहँदा आफ्नै गमलामा पनि फूलहरु उमार्ने तथा बाटोमा कतै हिँड्दा समेत पातहरु संकलन गर्न मन पराउनु हुन्थ्यो । ती पातहरु तथा फूलहरुलाई घरमा ल्याइ सुकाएर वा किताबको पत्रमा केही दिनको लागि छोडि त्यसलाई विभिन्न आकृतीका फूलदानी तथा आकर्षक सजावटका सामाग्रीहरु बनाउनको लागि प्रयोग गर्न थाल्नु भयो ।

“नेपालमा मैले गरेको जस्तो तरिकाबाट कुनै पनि नेपालीले प्रदर्शनी गरेको छैन र यो विधि नेपालीहरुको लागि नौलो लाग्न सक्तछ । अझ धेरै कलाकारहरुले यो विधि सिकुन् भन्ने पनि चाहना छ,” एक प्रसङ्गमा कलाकार खरेल आफ्नो कामको बारेमा यसरी बताउनुहुन्छ । जापानमा नै पाइने कागजहरु तथा फूलहरुलाई प्रयोग गरिएकोले पनि सामान्यतया नेपालमा देखिने फूलका चित्रहरु भन्दा पृथक देखिएका छन् उहाँका फ्रेम गरिएका कामहरु ।

सपना खरेल, शिल्पाञ्जली, नेपाल आर्ट काउन्सिल
सपना खरेल, शिल्पाञ्जली, नेपाल आर्ट काउन्सिल

के हुन् त ती दुइ विधिहरु ?

चिगिरि–ए

जापानको हेयान कालमा प्रयोग हुने चिगिरि–ए ११ औं शताब्दी पछि विस्तारै प्रख्यात हुँदै आयो । धेरै हल्का किसिमका हातले बनाइएको नेपाली कागजहरु जस्तै कागजमा विभिन्न प्राकृतिक पत्ताहरु चाहे, तरकारीका हुन् वा फूलहरुका तिनीहरुलाई प्रयोग गरेर कागजको रङ्ग नै फरक पारिने गरिन्थ्यो । विभिन्न सजावटका सामग्रीहरु तयार गर्न यो विधि प्रयोग हुन्थ्यो भने ‘वासी’ नामक जापानीज कागजमा रङ्गहरु भरिन्थ्यो तर अहिले पनि केही मानिसहरुले पत्र–पत्रिकाको कागजलाई समेत प्रयोग गर्न थालेको पाइन्छ । चिरिगि–ए एउटा परम्परागत जापानी कला हो ।

कलाकार खरेलका अनुसार ‘ए’ ले कलालाइ बुझाउँछ भने ‘चिगिरि’ले भने रङ्गिचङ्गि कागजहरुलाई काटेर आफुलाई चाहिएको जस्तो आकार निकाली त्यसलाई जापानी शैलीमा जापानी कागजमा नै टाँसेर कला बनाइन्छ । सामान्यतया गम या माडको सहायताबाट ती कागजहरुलाई टाँसेर विभिन्न आकारका चित्रहरु बनाइने गरिन्छ । नेपाल आर्ट काउन्सिलको भुइँ तलाको देब्रे पट्टिको एक भित्तामा उहाँले बनाउनुभएको यो विधिको कामलाई नियाल्न सकिन्छ ।

सपना खरेल, शिल्पाञ्जली, नेपाल आर्ट काउन्सिल
सपना खरेल, शिल्पाञ्जली, नेपाल आर्ट काउन्सिल

ओशिबाना

जापानी कलाकारहरुले १६ औं शताब्दीमा सुरु गरेको ओशिबाना कलाको एक माध्यम हो । जसमा फूलहरुलाई थिचेर चित्रहरु बनाइन्छ । त्यतिबेला फूलहरुलाई थिचेर ठूला–ठूला चित्रहरु सिर्जना गरिन्छ । यसको इतिहास खोतल्ने हो भने करिव १५ औं शताब्दीमा पुरानो इजिप्ट सभ्यतामा यसको सुरुवात भइसकेको थियो । तर जब जापानी कलाकारहरुले यसको प्रयोग गर्न थाले यसको ख्याति बढ्दै गयो र १८ औं शताब्दीको वीचतिरमा यो कलाले यूरोपमा आधिपत्य जमाउन थाल्यो तब यसको बजार फैलिँदै गयो ।

ओशिबाना विधिमा भने फूलहरु तथा वनस्पतीलाई रंग उँड्न नदिने हिसाबले सुख्खा बनाएर त्यसलाई विभिन्न आकृतीका कागजहरुमा टाँसि कला सिर्जना गरिन्छ । सामान्यतयाः सिधै घाममा सुकाउँदा त्यस्ता जैविक फूल तथा वनस्पतीको रङ्ग उड्न सक्ने भएकोले पनि त्यसलाई सुकाउँदा सावधानी अपनाउनु पर्ने कलाकार खरेल बताउनुहुन्छ । जब ती आकृतीहरुलाई चित्रपटमा राखिसकिन्छ, त्यसको रङ्ग नउडोस् भन्नका लागि पनि सावधानीपूर्वक फ्रेमहरु तत्कालै लगाउनु पर्ने र फ्रेम भित्रको हावालाई पनि निकाल्नु पर्ने कलाकार बताउनु हुन्छ । नेपाल आर्ट काउन्सिलको अर्काे कक्षमा भने यो विधिबाट तयार पारिएको कामहरुलाई राखिएका छन् । यस कला प्रदर्शनीमा कलाकारले जापानमा पनि दुर्लभ रुपमा करिब एक हप्ताका लागि मात्रै फुल्ने साकुरा फूललाई पनि संकलन गरि कलात्मक हिसावले सजाउनु भएको छ । पातहरुलाई कहिले उल्टो त कहिले सुल्टो बनाउँदै बनाइने यी चित्रहरु पनि नेपाली कला जगतका लागि एक नौलो आयाम हुन सक्ने कुरामा दुइमत छैन ।

सपना खरेल, शिल्पाञ्जली, नेपाल आर्ट काउन्सिल
                                                                               सपना खरेल, शिल्पाञ्जली, नेपाल आर्ट काउन्सिल

कलाकार खरेल लामो समय देखि विभिन्न शैक्षिक संस्थामा समेत संलग्न हुनुहुन्थ्यो । हाल काठमाडौंको मध्यबानेश्वर, संगम टोलमा अवस्थित काठमाडौँ प्रज्ञा कुञ्ज विद्यालयको निर्देशकको रुपमा समेत काम गरिरहनु भएको छ भने फूलहरुको सौखिन भएकै कारणले पनि नेपालमा पहिलो फूलहरुको पसल समेत खोल्नुभएको बताउनु हुन्छ । जापान आउने जाने क्रममा त्यहाँको कलालाई नेपालमा समेत देखाउने उद्देश्यले गरिएको यो प्रदर्शनी उहाँका बुवा स्व. दयाराम खरेलमा समर्पित गरिएको र विक्रिबाट उठेको रकम भने नेपालमै कुनै सामाजिक कार्यमा लगाउने योजना रहेको समेत कलाकार खरेल बताउनु हुन्छ । यो प्रदर्शनी माघ १३ देखि १७ गते सम्म रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array