आधुनिक विज्ञानको विकासक्रमसँगै मानिसहरु आफ्नो दैनिकीलाई अझ चुस्त बनाउनको निमित्त विभिन्न उपकरणहरुको प्रयोग गरिरहेका हुन्छन् । सामान्यतयाः सहरी जीवनमा त सानो भन्दा सानो चिजको लागि पनि हाल मेशिनहरु आइसकेका छन् । त्यही रोबट जस्ता देखिने मेशिनहरुले कहिले मानिसहरुलाई खाना खुवाइदिने त कहिले विज्ञानको चरमतम उपलब्धिमा पुग्दै मानिसहरुको यौनान्दको लागि समेत प्रयोग हुन थालिसकेको छ । भविष्यमा कुनै दिन यस्तो पनि आउन सक्दैन भन्न सकिन्न जहाँ रोबट र मानिसको समागमबाट निस्केको आधा रोबटले यो संसारमा राज गर्न थालोस् । यस्तो किसिमको सोच कलाकार रोशन प्रधानलाई आइ नै रहेको हुन्छ । त्यसैले पनि उनका चित्रहरुमा रोबट र मानिसको विचको आलिङ्गनको क्षणलाई उनको चित्रमध्येको एकमा देख्न सकिन्छ ।

यसपटकको प्रदर्शनीमा भने कलाकार प्रधानले एक अर्काे चित्रमा रावणलाई बनाएका छन् । जसको ९ वटा टाउकोहरु विश्व विख्यात कलाकार, दार्शनिक, आविष्कारक, वैज्ञानिकको टाउको राखिएको छ भने विचको टाउकोमा भने अनुहार नबनाइ कमलको फूल बनाइएको छ । मानिसहरु प्रचुर क्षमताका साथ पैदा भएका हुन्छन् र समयक्रमसँगै आफुलाई आवश्यक परेको खण्डमा आफ्नो कुनै पनि रुपमा प्रकट हुन सक्तछन् भन्ने कुरा यो चित्रबाट देखाउन खोजेको कलाकार बताउँछन् । लगभग तीन दशकदेखि चित्रकलामा अविछिन्न रुपमा संलग्न हुँदै आएका प्रधानका चित्रहरुमा रङ्गहरुको संयोजन, तथा विचारप्रधान पक्ष नेपाली कलाका पारखीहरुका लागि एक पृथक खुराक हुनसक्छ ।
त्यसैगरी अर्का कलाकार प्रद्युम्न श्रेष्ठ नेपालको सांस्कृतिक सम्पदा, मन्दिर तथा देवी देवताहरुको कथाहरु सुन्दै हुर्केको बताउँछन् । ती मन्दिरहरुको बारेमा सानो बेलादेखि सुनेको कहानीहरुले उनको दिमागमा पारेको छापका कारण त्यस्ता मन्दिरहरुमा बारम्बार गइरहने र त्यहाँ देखिएको कलाहरुलाई आफुले कल्पना गरेको चिजहरुसँग गाभ्दै चित्रहरु बनाउन रुचाउँछन् । यसपटकको प्रदर्शनीमा भने उनले काठमाडौँ, भक्तपुर र पाटन दरबार स्क्वाएरका चित्रहरुमा आफुले कल्पना गरेको चिजहरुलाई समायोजन गर्दै आफ्नो कलालाई प्रस्तुत गरेका छन् ।

उनको चित्रहरु मध्येको एक चित्रमा भने काठमाडौँ दरबार स्क्वाएरलाई देखाएका छन् । जसमा कालभैरवको छेवैमा रहेको स्वेतभैरवको राता कपालहरु एक विशाल वृक्षको पातहरुमा परिणत भइरहेका छन् भने आकाशमा देखिने वादलमा एक विशालकाय छेपुः लाई राखिएको छ । सामान्यतयाः यस्तो किसिमको दृश्य एक कल्पनाशिल कलाकारले नै अनुभव गर्न सक्ने र रंगहरुको समायोजनले गर्दा पनि दर्शकलाई प्राचिनतम युगको त्यो समयको कल्पना गर्न सक्षम बनाउने देखिन्छ ।
अर्का कलाकार किशोर नकर्मीले भने सांस्कृतिक रुपमा नेपालको पहिचान झल्ल्काउने बुद्धका तथा स्तुपाका चित्रहरुलाई प्रदर्शनीमा राखेका छन् । सामान्यतयाः रंगहरुको संयोजनले गर्दा कुनै प्राचिन चित्रहरु हेरिरहेको जस्तो भान पर्ने उनका चित्रहरुमा परेवाहरु तथा कहिँ कतै पिपलका पातहरुलाई जीवन्त बनाइएको हुनाले पनि ती प्राचिनतामा पनि जीवन्तता छन् भन्ने उनको तर्क रहेको छ । बुद्ध दर्शनहरुले आफ्नो जीवनमा निकै नै प्रभाव परेको बताउने यी कलाकार आउने दिनमा विश्वका अझ धेरै मानिसहरुले बुद्धको महिमा बुझुन् र बुद्धको पथमा अगाडि लम्किउन् भन्ने कामना समेत गर्ने गर्दछन् ।

त्यस्तै अर्की कलाकार माला श्रेष्ठ भने रंगहरुको आफ्नै पृथक संयोजनले गर्दा चित्रहरुमा अझ शसक्त रुपमा देखा परेकी छन् । पछिल्लो समयमा उनका कामहरुमा विषयवस्तुपरक बन्दै गइरहेको भान दर्शकहरुलाई हुन थालेको छ । उनले यस पटकको प्रदर्शनीमा भने एक भैरवको विशालकाय तस्वीर एक पर्खालबाट आइरहेको बनाएकी छन् जसको पाश्र्व भागमा भने एक रुखलाई राखिएको छ । रुखलाइ ज्ञानको खानीको रुपमा चित्रण गरिएको उनको चित्र हेर्दा आभास हुनुका साथै दर्शकहरुलाई निकै आकर्षक लाग्न सक्छ । उनको अर्काे चित्रमा भने नाग कन्याहरु पूराना हिटिहरुबाट निस्किएर जलक्रिडा गरिरहेको देख्न सकिन्छ । रंगहरुको संयोजनमा अझ परिस्कृतता देखिएकाले पनि आगामि दिनमा उनका चित्रहरु अझ लोकप्रिय बन्दै जाने देखिन्छ ।

अर्का कलाकार रुद्र बहादुर पुनले भने यस पटकको प्रदर्शनीमा मुस्ताङ्गमा अवस्थित बुद्ध गुम्बाका चित्रहरुलाई प्रदर्शनीमा राखेका छन् । उनका चित्रहरुमा रंगहरुको प्याचेजहरु निकै आकर्षक देखिएका छन् । आफुले भौतिक रुपमा मुस्ताङ्ग नटेकेको बताउने यी कलाकारले आफ्नो कल्पनाशक्ति तथा फोटोहरुबाट नै प्रभावित भइ चित्र सिर्जना गरेको बताउँछन् । यी कलाकारको सिर्जना हेर्दै गर्दा दर्शकहरुलाई शान्ति प्रदान गरेको पाउन सकिन्छ । यी कलाकारले मुस्ताङ्गको चित्रहरुको साथसाथै छोर्तेनहरुलाई पनि क्यानभासमा उतारेका छन् । बुद्धमार्गीहरुले प्रयोग गर्ने रङ्गीविरङ्गि झण्डाहरुलाई पनि उनले आफ्ना छोर्तेनहरुलाई अझ जीवन्त बनाउनको निमित्त ती क्यानभासहरुमा नै टाँसेर प्रयोग गरेका छन् । शैलीका हिसाबले उनका चित्रहरुमा पनि एक फरकपन र एक छुट्टै मिठास दर्शकहरुले पाउनेमा दुइमत छैन ।

प्यागोडा ग्रुप सन् २०१८ सालदेखि निरन्तर रुपमा कला क्षेत्रमा देखा परेको एक कलाकारहरुको समूह हो । यस ग्रुपमा समावेश भएका कलाकारहरुले समयक्रमसंगै नेपाली कला क्षेत्रलाई अझ नौलो आयाम थप्नको लागि निरन्तर योगदान पुराइरहेका छन् । यसपटक समुहको कला प्रदर्शनी सिद्धार्थ आट ग्यालरी, बबरमहलमा माघ ५ गतेदेखि फल्गुन ५ सम्मकालागि प्रदर्शित छ ।


प्रतिक्रिया दिनुहोस्