नेपाली कलाकारहरु विभिन्न समयमा विभिन्न स्थानहरुमा आफ्ना सामुहिक कला प्रदर्शनी पनि गर्दै आइरहेका हुन्छन् । त्यसै क्रममा सामुहिक कला प्रदर्शनी गर्नका लागि एक उपयुक्त स्थानको रुपमा ठमेलमा रहेको ‘दलाइ–ला’ पनि कलाकारहरुको रोजाइमा पर्दै आइरहेको छ । कलाकार विधाता के.सी. द्वारा कला क्युरेसन गरिएको यस कला प्रदर्शनी १६ जनवरी देखि १० फेब्रुअरी सम्म चल्नेछ । दस कलाकारहरुको सामुहिक कला प्रदर्शनीमा सबै कलाकारहरुले छुट्टाछुट्टै किसिमका कामहरुलाई प्रदर्शनीमा राखेका छन् ।
कलाकार अमन श्रेष्ठको प्रिन्टमेकिङ्गको कामहरु युवा पुस्ताका कलाकारहरुले निकै रुचाइएका कामहरु हुन् । पढाइ पछि केही समयका लागि बाहिर प्रदर्शनीमा नआइरहेको सन्दर्भमा उनले यस पटक यो प्रदर्शनीमा भने आफ्नो चित्रकलालाई समावेश गरेका छन् । हिरण्यकशिपुलाई नरसिंहले वध गरेको जस्तो देखिने उनको चित्रमा पेट चिरिएको अवस्थामा रहेको दानवको पेटबाट पैसा झरिरहेको देख्न सकिन्छ । उनका अनुसार नेपालमा जति पनि भ्रष्टाचार गर्नेहरु छन्, तिनिहरुलाई व्यंग्यको रुपमा यो चित्र एचिङ्गको माध्यमबाट बनाएको बताउँछन् ।

त्यस्तै अर्का कलाकार विजय महर्जन मूर्तिका कामहरुका लागि प्रख्यात छन् । उनले यस पटक आफ्नो मूर्तिहरुमा कम्पोजिसन शिर्षक दिइ दुइ महिलाहरुको मूर्तिलाई प्रदर्शनीमा राखेका छन् । हेर्दा आकर्षक देखिने यी मूर्तिहरु पित्तलबाट बनाइएका हुन् ।

अर्का कलाकार नविन नाल्बो नेपाली कला जगतको क्यारिकेचर विधामा एक विशेष नाम बनाउने प्रयासमा प्रयासरत छन् । उनले यसपटकको प्रदर्शनीमा भने क्यारिकेचरहरुलाई नै समोश गरेका छन् । कलाकारहरुको सिर्जनालाई पाश्र्व भागमा राख्दै तिनै कालकारहरुको चित्र बनाउनमा माहिर उनी यस पटक भने कलाकार गोपाल कलाप्रेमी, प्रमिला बज्राचार्य, सङ्गिता थापा तथा शशिकला तिवारी, के.के कर्माचार्य तथा किरण मानन्धर, अस्मिना रञ्जित, सौरगंगा दर्शनधारी तथा विधाता के.सीको क्यारीकेचरलाई प्रदर्शनीमा राखेका छन् । सामान्यतयाः कलाकारहरुको हाउभाउ तथा क्यारिकेचर दुरुस्तै निकाल्न सक्ने खुबी भएका यी कलाकार भने हाल जनकपुरमा रहि अध्यापनमा व्यस्त छन् ।

त्यस्तै अर्का कलाकार सन्जीप महर्जनले भने यस पटकको प्रदर्शनीमा तीनवटा कामहरुलाई राखेका छन् । किन्नर, कुण्ड, वादल जस्ता शिर्षक दिइ बनाइएका उनका कामहरुलाई कविता मार्फत अझ प्रस्ट्याउन खोजेका छन् ।

अर्की कलाकार सोफिया महर्जन आफ्नो कामहरु निटिङ्गको माध्यमबाट गर्न रुचाउँछिन् । उनको कामहरुमा लगनखेल बजारको चहलपहल अनि त्यहाँको अस्तव्यस्त माहोललाई देख्न सकिन्छ । कपडामा सियो र धागोको माध्यमबाट काम गर्न रुचाउने यी कलाकार आगामि दिनमा अझ उत्कृष्ट सिर्जनाहरु दिनसक्ने कुरा दुइमत नरहेको कुरा यसै प्रदर्शनी अवलोकन गर्न आएका एक आगन्तुक श्याम प्रसाद श्रेष्ठले बताउनु भएको थियो ।

अर्का कलाकार कोशल हमाल यस पटक भने छुट्टै किसिमको मिनिएचर कामका साथ प्रस्तुत भएका छन् । ठूलो क्यानभासको ठीक विचको भागमा मात्र सानो चित्रहरु राखि बाँकी क्यानभासलाई खाली राखिएको उनको काममा फोकस भने त्यही सानो चित्र भएको भागमा मात्र पर्न जान्छ जहाँ उनले स्ट्याचु अफ लिबर्टी, महात्मा गान्धी जस्ता व्यक्तिहरु चित्रण गरेका छन् ।

अर्का कलाकार मुकेश श्रेष्ठले भने पहेंलो पाश्र्वभागमा राधाकृष्ण तथा उमामहेश्वरलाई चित्रण गरेका छन् । क्यानभासमा पहेंलो रङ्ग पोती त्यसको अगाडि सेतो तथा कालो रंग खेल्दै बनाइएको उक्त चित्रहरु झट्ट हेर्दा निकै आकर्षक देखिन्छन् । त्यसो त यी कलाकार आधुनिक चित्रहरुका साथसाथै परम्परागत शैलीका चित्रकलाहरु बनाउनमा पनि उत्तिकै निपुर्ण छन् ।

कलाकार गोपाल कलाप्रेमी श्रेष्ठले यस पटकको प्रदर्शनीमा भने साँचो भित्रको कथा नामक दुइ सेरामिक्सबाट बनेको मूर्तिहरुलाई प्रदर्शनीमा राखेका छन् । तीन दशक भन्दा लामो समयसम्म माटोको सेरामिक्सरुमा काम गरिसकेका यी कलाकारको मूर्तिहरु प्रदर्शनीको एक आकर्षणको रुपमा देख्न सकिन्छ ।

अर्का कलाकार अम्सद सुनुवारले भने लोप प्रायः भइसकेको आँखिझ्याल तथा ठेकीलाई क्यानभासमा एक्रेलिकको माध्यमबाट बनाइ प्रदर्शनीमा राखेका छन् । राणाकालिन समयमा छोरीचेलीहरुलाई बाहिरका मानिसहरुले देख्न नपाउन् भनी आँखिझ्यालहरु बनाउने चलन रहेको जानकारहरु बताउँछन् । तर हालको समयमा काठ उपलब्ध हुन नसक्ने तथा महंगो हुने भएकाले पनि मानिसहरुले यस्तो बुट्टादार आँखिझ्यालहरु बनाउन नै छोडिसकेको अवस्था छ ।

कलाकार सुनिल रञ्जितले भने यस पटकको प्रदर्शनीमा दुइवटा चित्रकलाहरुलाई प्रदर्शनीमा राखेका छन् । टाढाबाट हेर्दा अमूर्त चित्रकला जस्तो देखिने उनको कलालाई अलि नजिकबाट नियाल्दा भने त्यसमा मानिसहरुले धिमे बाजा बजाइरहेको जस्तो देखिन्छ । रंगहरुको समायोजन अनि लामो समयसम्म अध्यापन पेशामा संलग्न यी कलाकारको चित्र पनि यस प्रदर्शनीको विशेष आकर्षणको रुपमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्