नेपाली कला क्षेत्रमा करिब तीस वर्ष सँगै यात्रा गरेका कलाकार आशा डङ्गोल र एरिना ताम्राकार, जसले यो तीन दशक निरन्तर रुपमा नेपाल चित्रकला जगतलाई अगाडि बढाउन प्रयास गरिरहे । स्व. कलाकार प्रशान्त श्रेष्ठको अगुवामा स्थापना भएको काष्ठमण्डप ग्रुपसँगै आशा र एरिनाको कला यात्राले अझ बढोत्तरी पाउन थाल्यो । तीन दशकको यात्रामा रथका दुई पाङ्ग्रा भई निरन्तर काम गर्दै आए । एरिना महिलासँग केन्द्रितभएर चित्रहरु बनाउँछिन् भने आशा प्राकृतिसँग । उनिहरुका कामहरु नेपालमा मात्र सिमित छैनन् । विदेशका विभिन्न ठाउँमा रहेको ग्यालरी, संग्रहालय, व्यापारीक भवन लगायत व्यक्तिगत घरका भित्तामा समेत सजिइ सकेका छन् ।
माघ २० गतेदेखि ग्यालरी एमक्युवमा चलिरहेको समानान्तर यात्रा(प्यारालल जर्नी)नाम दिइएको चित्रकला प्रदर्शनी कलाकार आशा डंगोल र एरिना ताम्राकारको जीवनका यात्राहरुसँगै सिर्जित सिर्जनाहरुलाई शिलसिलाबद्ध रुपमा विगत देखि बर्तमानसम्म केलाउने एउटा मौकाको रुपमा लिन सकिन्छ ।

नेपाली चित्रकला जगतमा तेस्रो आँखा बनाउने चित्रकारको नामले परिचित एरिना ताम्राकारका चित्रकलाहरु महिला संवेदना र भावनाहरुसँग जोडिएका हुन्छन् । करिब तीस वर्षको चित्रकला यात्रामा सन् २०१२ देखि उनले बनाएको जुनसुकै चित्रहरुमा तेस्रो नेत्र पाउन सकिन्छ । उनलाई जहिले पनि एकै खालको चित्र बनाउने चित्रकारको ट्याग लगाउनेहरु नभएका होइनन् । तर उनी त्यस विषयमा भने स्पष्ट हुन चाहन्छिन् र भन्छिन्–‘मेरा चित्रहरुमा महिलाका कथा व्यथा र विभिन्न भावनाहरुलाई समेटिएको हुन्छ । ती दुःख, कष्ट, प्राप्ति लगायतका विषयमा तेश्रो नेत्र हुने हो भने महिलाहरु धेरै अगाडि बढ्न सक्छन्, चुनौतीको सामना गर्न कसैको साथ चाहिदैन । त्यसैले मेरा प्रत्येक चित्रहरु भावनात्मक रुपमा फरक छन् तर मैले प्रयोग गर्ने तेश्रो नेत्र सबैमा छ । त्यसलाई एउटै चित्र भन्न नमिल्ला ।’
आजभन्दा करिव १३ वर्ष अगाडि कलाकार डंङ्गोलले चितवन राष्ट्रिय निकुञ्जमा भित्र भएको एक कार्यशालामा भाग लिने मौका पाएका थिए । त्यतिबेला गैंडाको खागको तस्करी निकै बढेको थियो । त्यतिबेलाको कुराकानीहरुले पनि आशालाई प्रभावित पर्यो । यस धर्तीमा रहेका हरेक जीव तथा जीवात्माको बाँच्न पाउने अधिकार उत्तिनै रहन्छ जति मानवको छ भन्ने सोच उनमा आयो । त्यतिबेलाबाट आफुलाई मोडलको रुपमा क्यानभासमा प्रस्तुत गर्न थाले । उनले टाउको जनावरको राख्न थाले भने शरीर आफ्नो । प्रकृति र मानिस विचको सम्बन्ध देखाउने उनको प्रयास निरन्तर जारी छ ।

आशाले कहिले प्रदूषणलाई मुख्य एजेण्डा बनाउँछन्, कहिले हिमाललाई त कहिले जनावरहरु । उनका सिर्जनाहरु धेरै जसो निला पृष्ठभूमिमा बन्छन् । उनको एक चित्रमा एउटा हवाइजहाजलाई आफ्नो हातमा लिएर बहुतै उदास मुद्रामा आफुलाई प्रस्तुत गरेका छन् भने शीर्षभागमा पहेंलो सूर्यलाई देखाएका छन् । हजावजहाजको बाहिरपट्टि मास्कको विम्व प्रयोग गरी दुःखी मानिसहरुलाई देखाउने प्रयास गरेका छन् । कलाकारका अनुसार–‘नेपालीहरु आफ्नो माृतभूमि छोडि विदेशी भूमिमा बाध्यता र विबशताका कारण श्रम बेच्न गइरहेको विषयले मनमा छोएर त्यसलाई चित्रमा उतार्ने प्रयास गरेको हो । जहाँ सूर्यलाई आशाको प्रतिक वा सुनौलो घामको प्रतिकका रुपमा प्रयोग गरेको हुँ भने अर्को हवाइजहाजको चित्रलाई एउटा भैंसीको टाउको भएको मानव शरीररुपीले बोकेको छ । जुन कोरोनाको बेलामा मानिसहरुको भविष्य अन्यौल भइरहेको थियो मातृभूमीमा फर्कनेहरुको लर्को थियो । मानिस जति नै टाढा भए पनि, बाध्यता– विवषताले श्रम बेच्न गए पनि आपतकालिन अवस्थामा उसको माृतभूमि प्रतिको प्रेमले आफ्नै भूमिमा र्फकन बाध्य हुने रहेछ भन्ने सोचले त्यो चित्र बनेको हो । ’
मानिसले प्रकृतिलाई दोहन गरिरहेका छन् । नयाँ नयाँ आविष्कारले प्रकृति ध्वस्त पार्दै छ । यहाँको वातावरण प्रदूषित हुँदैछ । त्यस विषयलाई कलाकारको आँखाबाट नियाँलेर उनका चित्रहरु बनेका छन् । हरियाली प्रचुर मात्रामा हुने हो भने यहाँको वातावरण पक्कै राम्रो हुन्छ भन्ने सन्देश दिने खालका चित्रहरु यस प्रदर्शनीमा समेटिएका छन् । त्यस्तै डंगोलको अर्को एक चित्रले मानिसहरुलाई तान्न सक्दछ । जसमा तीनवटा टाउको भएको बराह, शरीर मानवको, त्यसमा छाती र पेटको भाग सुनजस्तै सुनौलो रङ्गमा सगरमाथा देखाइएको छ । सगरमाथालाई पनि मानिसले नै दोहन गरेका छन् । त्यहाँको प्रदूषणको लेखाजोखा नै छैन । पर्यावरणको दृष्टिकोणबाट हिमालमा हिउँनै पर्दैनन् । त्यस्ता विषयलाई उजागर गर्ने प्रयास आशाका चित्रहरुमा गरिएको छ ।

लामो समयसम्म प्रकृति अनि जनावरहरुको बारेमा सोच्ने अनि चित्रहरु कोर्ने कलाकार आशा डङ्गोल जनावरहरु प्रतिको छुट्टै भावनाका कारण भनौं या प्रेमका कारण उनी साकाहारी भएको एक प्रसङ्गमा बताए ।
एरिना तम्राकारको तीन दशक लामो चित्रकलाको इतिहासलाई नियाल्न यस प्रदर्शनीले मदत गर्दछ । उनका चित्रहरुमा आएका परिवर्तनहरुलाई मानिसहरुले बुझ्न सक्छन् । महिलाका भावना र संवेदनालाई समेटेर सिर्जित भएका चित्रहरु प्रदर्शनीमा राखिएका छन् ।
आधुनिक युगमा महिलाहरुको सुरक्षा चासो विश्वभर बढ्दै गइरहेको छ । हाम्रो जस्तो पुरुष प्रधान समाजमा त महिलालाई हेर्ने दृष्टिकोण र उनिहरुले भोग्नुपर्ने समस्या धेरै छन् । तर, महिलाहरुसँग तेस्रो आँखा हुने हो भने घटित हुने घटनको पूर्वाभाष हुनेथियो । महिलाहरु जोगिने थिए । नयाँ नयाँ किर्तिमानी काम गर्न सफल हुनेथिए भन्ने मान्यता एरिनाको रहेको छ । ‘तेस्रो नेत्रमा अझै धेरै क्रिएटिभ र ठूला क्यानभासमा काम गर्ने इच्छा छ ।’– एरिना थप्छिन् । प्रदर्शनीमा राखिएको एक चित्रमा पाँच जना महिलाको अनुहारहरुलाई समेटिएको छ । जसले विभिन्न जातजाती र भूगोललाई समेट्दछ । त्यसैलाई आधार बनाएर उनिहरुको मनोभावनालाई अनुहारमार्फत व्यक्त गर्ने प्रयास कलाकारले गरेकी छिन् ।

एरिना ताम्राकारका चित्रहरुमा महिलाहरुको संवेदना र भावनालाई समेटिएको हुन्छ । रिफ्लेक्सन अफ लाइफ, रिफ्लेक्सन अफ रियालिटि, वुमन एण्ड नेचर, टच अफ प्युरिटि शीर्षकमा कला प्रदर्शनी गर्दै करिव २०१२ तिर एन्सिएन्ट इमेजेजमा काम गरिन् । त्यतिबेला उनले हाम्रा धर्मग्रन्थका पुस्तकहरुको अध्ययन गरिन् । त्यहाँ उल्लेख भएको तेस्रो नेत्रको बारेमा बुझिन् र उनले आफ्ना चित्रमा तेस्रो नेत्रलाई समावेश गर्न थालिन् । तर सन् २०२३ को फेब्रुअरीमा आइपुग्दा उनका चित्रमा केही परिवर्तन भेटिएका छन् । करिब ११ वर्षको तेस्रो आँखामा खर्चेकी एरिना अब भने भित्री आँखाले हेर्ने बानी परिसक्यो । अब एक ठाउँमा बसेर सबै हेर्ने भन्दा पनि बाहिरि दुनियाँमा एक्टिभ हुनुपर्छ, के भइरहेको छ भन्ने विषयलाई समेट् आँखा खोल्नुपर्छ भन्ने हिसावले आँखा खुलेका अनुहारहरु बनाउन थालेकी छिन् । किन अहिले त आँखा खुलेछ नि भन्ने प्रश्नमा उनको जवाफ थियो–‘अब भित्री आँखाले हर्ने बानी परिसक्यो, तेस्रो नेत्र सँगसँगै बाहिरि नेत्रले पनि संसार चियाउनु पर्छ भन्ने भावना जागृत भएर यसो गरेको हुँ ।’ प्रदर्शनीमा राखिएको केही चित्रमा दुईआँखा खुलेका छन् भने तेस्रो नेत्र पनि सक्रिय अवस्थामा देखाइएको छ ।

समानान्तर यात्रा(प्यारालल जर्नी) को पहिलो श्रृंखला सन् २०१७ मा भयो । अहिलेको प्रदर्शनी चौथो हो । आफ्नो काममा केही फरक पन आएपछि वा काममा भएको प्रोग्रेसलाई हेर्नका लागि पनि यही नाममा प्रदर्शनी गरिएको कलाकार आशा डंगोल बताउँछन् ।
करिव तीस वर्षको यात्रालाई यस ग्यालरीमा प्रदर्शनी गर्ने योजना सन् २०२१ को अन्त्यतिर भएको हो । उहाँहरुको काम प्रतिको लगाव र उहाँहरुले प्रयोग गर्ने विम्ब तथा रङ्गहरु विशेष लाग्छन् कलाकार तथा एमक्युव ग्यालरीका संचालक मनिस लाल श्रेष्ठलाई । उनि भन्छन् –‘आशा दाई र एरिना दिदीको काम गर्ने शैली र रङ्गको प्रयोगले एक अर्कामा कुनै असर नगरेको पाउँछु । उहाँहरुको कामले नयाँ पुस्ताका कलाकारहरुलाई समेत मार्गनिर्देश गर्न सक्छ । उहाँहरुले प्रयोग गर्ने विम्व र रङ्गहरुको संयोजन पृथक देखिन्छ ।’
प्रदर्शनी माघ २० गते देखि फागुन ५ गते (फेब्रुअरी ३ देखि १७) सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्