अनुभूतिले जन्माएको कला: रित्तो भित्रको पूर्णता

सुनिल पौडेल
सुनिल पौडेल २८ माघ २०७९, शनिबार ०९:००
12 Min Read
Aa
‘आउट अफ एम्प्टिनेश’

अनुभव, अनुभूति, सम्वाद, दृष्य र परिवेशले मानिसहरुलाई फरक ढङ्गबाट सोच्न बाध्य पार्दछ । त्यस्ता परिदृष्यहरुले सामान्य मानिसहरुलाई त्यति गहन प्रभाव नपारे पनि कलाकारहरु भने बढो संवेदनशील हुन्छन् । उनिहरुका सोच र प्रस्तुतीले सारा विश्व हल्लाउने क्षमता राख्दछ ।

सन् २००७ मा मनास्लु पद यात्रामा निस्किएकी एक कलाकार विधाता के.सी.को स्पर्श र त्यसपछिको अनुभूतिसँगै जन्मिएका कैयौं प्रश्नहरुले एउटा नयाँ सिर्जना  अंकुरायो । त्यो सिर्जना यथार्थ रुपमा प्रस्तुत भने हुन सकेको थिएन । ती विचारहरु, भावनाहरु र मन्थनहरुलाई उनले सँगालेर राखिन् । सन् २००९ मा एक जना क्युरेटरले भेनिसमा एक दक्षिण एसियाली कलाकारलाई प्रस्तुत गर्नुपर्ने भयो । त्यो सूचना कलाकार विधातासम्म आइपुग्यो । उनले मनास्लु पदयात्राको उक्त विषयमा अबधारणा पत्र बनाइ लिपिबद्ध गरेर पठाइन ।

उनको त्यो अवधारणालाई क्युरेटरले मन पराए तर त्यस सामग्री नेपालबाट लैजाने र त्यसलाई बनाउने कसरी भन्ने समस्या क्युरेटरले राखे । विधाताले ती सबै त्यहीं उपलब्ध हुने फालिएका विषयवस्तुहरुलाई संयोजन गर्ने हो भनेर नक्सा सहितको अवधारणा पत्र पठाएपछि त्यो काम सन् २००९ मा भेनिसमा प्रदर्शित भयो । उक्त कार्यक्रमको शर्त के थियो भने, त्यस क्युरेटरले कलाकारलाई भेट्न नपाउने । मात्र कलाकारको अवधारणालाई वास्तविक हिसावले प्रस्तुत गर्नुपर्ने चुनौती भने क्युरेटलाई थियो र त्यसले सफलता पनि पायो ।

Out of Emptiness
‘आउट अफ एम्प्टिनेश’

त्यसो त एउटा नेपाली कलाकारको अवधारणामा विदेशमा त्यो पनि भेनिसमा कला प्रदर्शित हुनुलाई एउटा ठूलो अवसरको रुपमा लिन सकिन्छ । तर के त हाम्रा अवधारणा, विचारहरु यहींका वासीहरुले अवलोकन गर्न नपाउने त ? यो प्रश्न धेरै मानिसको दिमागमा हुन सक्छ । पेन्टिङमा होस् या प्रतिस्थापनकला, आफ्नो देशको कलाकारको कलाकृति हेर्न कसैले बञ्चित गर्नु हुँदैन भन्ने मान्यता पनि एका तर्फ छँदैछ । त्यसैले कलाकारले त्यस विषयलाई नेपालमा प्रस्तुत गर्नुपर्छ भन्ने सोचिन् । तर, गरिदिने कसले ? करिव १३ वर्ष पछि तारागाउँ म्युजियमका क्युरेटर/निर्देशक तथा कलाकार रोशन मिश्रले विधातासँग अब्जेक्ट इन फोकस सिरिजमा काम राखौं भन्नुभयो, त्यसपछि विधाताले अहिले प्रतिस्थापित भइरहेको कलाको अवधारणालाई बताइन् र त्यसले करिब एक वर्ष पछि मूर्तता पायो ।

भेनिसमा राखिएको कामलाई तारागाउँमा प्रदर्शित गरौं ।’ विधाताले त्यो प्रस्ताव आएदेखि आफुलाई चाहिने सामग्रीहरु खोज्न थालिन् । प्रयोग गरेर फालिएका टिनका भाँडाहरु जसलाई संयोजन गरेर प्रस्तुत गर्न सकियोस् । करिब एक वर्ष लाग्यो सबै सामग्रीहरु जुटाउन र करिब सन् २०२३ को फेब्रुअरी ५ तारिखका दिन विधाताको उक्त अवधारणासँगै बनेको प्रतिस्थापन कला तारागाउँमा १० दिनको लागि प्रतिस्थापित भयो, सबै दर्शकहरुको लागि सार्वजनिक भयो ।

खासमा के हो त उक्त प्रतिस्थापना कला, किन यो अहिले पनि सान्दर्भिक छ र समसामयिक छ त भन्ने प्रश्नमा विधाताको जवाफ थियो –‘हामीले प्रयोग गर्ने विभिन्न सामग्रीहरु हरेक तरिकाले फ्याँकिइरहेका छन्, त्यसलाई उचित ढंगबाट प्रयोग गर्ने हो भने त्यसको छुट्टै अर्थ राख्दछ ।’ सन् २००७ मा फुरेको अवधारणा नेपालमा नै प्रस्तुत गर्ने रहर थियो । अबसर तारागाउँले जुटाइदियो भन्छिन् विधाता के.सी ।

बौद्ध गुम्बाहरुमा वा स्तुपाहरुमा राखिने ‘माने’ लाई जीवनको चक्र वा भनौं भवचक्र भनिन्छ । बौद्धहरुले विश्वास गर्ने अस्तित्वको चक्रको प्रतिकात्मक प्रतिनिधित्व हो। बौद्धहरु जन्म, जीवन, मृत्युको निरन्तर चक्रमा विश्वास गर्छन् । त्यही जीवन चक्र(माने) ले मानिसहरुलाई हिमाल पद यात्रा गर्दा कति आनन्द प्रदान गर्दोहोस् । त्यहाँका मानिसलाई जीवन जीउन त्यसले कति धेरै प्रोत्साहित गर्दोहोस् । सत्कर्म गर्न कति प्रेरित गर्दोहोस् ।

‘आउट अफ एम्प्टिनेश’
‘आउट अफ एम्प्टिनेश’

एक जीव भित्र एउटा त्यस्तो शक्ति रहेको हुन्छ । जसले हरेक जीवनलाई चलायमान गरिदिन्छ । तर त्यो चलायमान हुन उसले खानेकुरा खानुपर्छ । त्यो खानेकुरा कुनै कुनै ठाउँबाट प्राप्ति हुन्छ । भाँडामा भएको खानेकुराले पनि जीवमा भएको त्यो जीवात्मा तत्वलाई जगाई दिन्छ । हिमालमा राखिएका वा बौद्ध गुम्बामा राखिएका ती ‘माने’हरुले पनि त्यही शक्तिलाई जगाइदिन्छ ।

एक प्रसंगमा विधाता भन्छिन्–‘हिमालतिरको पैदल यात्रा गर्दा मनमा कस्ता कस्ता खयालहरु आउँछन् । कतै आनन्द आउँछ, कतै तनाव तर त्यहाँ जाँदा एउटा अस्था, विश्वास भनौं या मनमा उब्जिने भावनाहरु त्यसलाई शान्त गर्न वा अन्य कुनै कारणले होला म ह्वील घुमाउँदै हिँड्थे ।’

कलाकारसँग त्यस्तो माने घुमाउँदाका धेरै अनुभूतिहरु छन् तर उनलाई एक ठाउँमा पुगेपछि भने अचम्मित तुल्यायो । जब उनले माने घुमाइसकिन् । उनलाई लाग्यो यो  त टिनको हो, यो प्रेयर ह्वील होइन ।

त्यो त कलाकारलाई लाग्यो । तर अरु सबैले त ‘माने’ नै मानेर घुमाइरहेका छन् । सायद वर्षौंदेखि । फालेको कुनै वस्तु, त्यस ठाउँमा मानेको रुपमा प्रतिस्थापित भएको छ । जसले हजारौं मानिसहरुलाई ‘हिल’ गराइरहेको छ । त्यो घुमाउँदा मानिसहरु उत्तिनै आनन्दित छन् । यी सबै परिदृयले अर्को सोच जन्मियो । त्यसले मानिसलाई कठिनाइबाट सहजतातिर ल्याइरहेको छ । मानिसहरुलाई ट्रान्सफर्म गरिरहेको छ भन्ने अनूभूति कलाकारलाई भयो ।

‘त्यो देखेपछि मलाई लाग्यो । एउटा वस्तुको अस्तित्व नै परिवर्तन भइरहेको छ । एउटा खानेकुराको राख्ने भाँडो, खानेकुरा सकिएपछि फालिन्छ । त्यस पछि त्यो हाइटमा भगवानलाई कनेक्ट गराउने माध्यम बन्छ ।’

टिनको डब्बामा भएको खानेकुरा खाँदा मानिसलाई सन्तुष्टि गराउँथ्यो वा भनौं भोक मेटाउँथ्यो, भनौं या आफुभित्रको भगवानलाई जगाइदिन्थ्यो । त्यही भाँडो खालि भयो र माने बन्यो । अब त्यसले मानिसको आस्था, विस्वास र भावनाहरुलाई अर्को तहमा वा भनौं उचाइमा पुराइदिन्छ । जब त्यो भाँडो ‘माने’ बन्दछ । जुन भगवानसँगको साक्षात्कार गराउने एउटा माध्यमको रुपमा प्रतिस्थापित हुन्छ ।

बस्तुहरु एउटा गतिमा विभिन्न तरिकाले प्रयोग भइरहेको छ । चाहे त्यो जानेर होस् वा नजानेर । अहिले हाम्रा सांस्कृतिक मूल्य मान्यताहरु समयअनुसार परिवर्तित भएका छन् तर आस्था भने त्यही नै छ जुन परापूर्वकालमा थियो होला सायद । टिन भनेको अधुनिक वस्तु हो । त्यसलाई मानेको रुपमा प्रतिस्थापन गरिनुले सांस्कृतिक पक्षमा परिवर्तन भइरहेको छ भन्न सकिन्छ । उनिहरुले त्यसलाई स्वीकार गरेर नै माने बनाएको हो, कलाकार बताउँिछन ।

मानिस आफैं पनि समय अनुसार परिवर्तन हुँदै गइरहेको छ भने हाम्रो सांस्कृतिक पक्षहरु पनि समयानुकल परिवर्तन हुँदै जानुपर्ने होइन त ? भन्ने प्रश्न गर्छिन् कलाकार । मलाई लाग्छ, हाम्रा सांस्कृतिक मूल्य मान्यतालाई सामसामयिक बनाइएन भने हाम्रा सांस्कृतिक विषयहरु कालान्तरमा हराएर जान्छन् ।

हाम्रा संस्कृतिले हाम्रो पहिचान बनाउन मदत गरिरहेको हुन्छ । चाहे तपाइ खाने संस्कार भन्नुहोस्, चाहे गाउने, चाहे नाच्ने वा चाहे कुनै जात्रा तथा पर्व कै कुरा गर्नुस् । हरेक विषयहरु समय अनुसार परिवर्तित हुँदै गइरहेको छ ।

जसरी घटिको पेन्डुलम कहिले यता र कहिले उता गर्छ तर त्यसले एउटा गतिलाई अगाडि बढाइरहेको हुन्छ । पेन्डिुलमको जुन हल्लिरहने गति छ त्यसको पनि त सुन्दरता हुन्छ । त्यो हुने थिएन भने घडिले समय बताउने थिएन होला । परम्परागत अवधारणासँग आधुनिक बस्तुहरुलाई मिलाएर नयाँ आविस्कार गरिएको हो ।

विधाता जतिबेला मनास्लु पद यात्रामा थिइन् । त्यहाँ उनले एउटा रित्तिएको भाँडो, त्यो रित्तिएर फालिएको भाँडालाई ‘माने’को रुपमा प्रयोग हुनुले रित्तो भित्र सबै कुरा छ भन्ने अनुभूति उनले गरिन् । रित्तो भन्नुको अर्को अर्थ शून्यता हुन्छ । शून्यताको ज्ञान नै बुद्धत्व प्राप्ति हो । यस प्रतिस्थापन कलाको शीर्षक त्यसैले ‘आउट अफ इम्पिटिनेश’ रह्यो  ।

‘आउट अफ एम्प्टिनेश’
‘आउट अफ एम्प्टिनेश’

यस प्रतिस्थापन कलालाई विधाताले सिल्भर कलर लगाएकी छिन् । ६×६ को डाएमिटरको पाङ्गामा उनले २१ वटा टिनका क्यानहरुलाई ‘माने’ जस्तै गरि राखेकि छिन् । त्यसको विचमा एउटा खम्बा छ जसले जमिन देखि माथिको निदालसम्मको दूरि कायम गर्दछ । यहाँ उनले ६वाइ ६ को डायमिटर राखिन । जसलाई गुणन गर्दा ३६ हुन्छ । जुन अंकलाई जोड्ने हो भने ९ बन्दछ । ९ लाई हामी मिस्टिरियस नम्बर पनि भन्दछौं । अर्को यहाँ राखिएका क्यानहरु २१ वटा छन् । जसको जोड ३ हुन्छ । त्यसलाई पृथ्वी, वायु र आकाशको हिसावले हेर्न सकिन्छ । अर्को अर्थमा भन्ने हो भने एउटा पोलको फेद जमिनमा छ । हावा(वायु)मा मानेहरु छन् र माथि निदाललाई आकाशको रुपमा लिने हो भने तीन तत्वलाई नै यसले कनेक्ट गर्दछ भन्न सकिन्छ । यो सबै विषयहरु विश्वासमा अडिएका छन् । आस्थामा अडिएका छन् । आधुनिक विषयवस्तुहरुले ती आस्था र विस्वासलाई कायम राख्न मदत गरेको छ ।

विधाताको हरेक प्रतिस्थापन कलाहरुमा आफ्ना भावनाहरु जोडिएका हुन्छन् । ती भावनाहरु कहाँ र कसरी जागृत हुन्छन् वा ती भावनाहरुले कसरी छुन्छन् भन्ने विषय फरक हुन् । तर उनका सिर्जनाहरु भावनाहरुमा डुबेर नै निस्कने उनि बताउँछिन् ।

यस पटक तारागाउँमा भइरहेको ‘अब्जेक्ट इन फोकस’ को छैटौं श्रृंखलामा विधाता के.सीको कामलाई कन्टेम्पोररी आर्ट अफ नेपाल फाउन्डेसन र तारागाउँ आफैंले सहयोग गरेको छ । अवधारणालाई मूर्त रुप दिन प्रडक्टस मेन्टरको रुपमा दिपक लामा काम गरेका थिए । उनि आकार कला घर नामक संस्था चलाउँछन् । ‘हाम्रो आइडियालाई भिजुअल्ली राम्रो बनाउन सक्ने क्षमता दिपकमा छ । उसले फलाम र स्टिलको क्यानहरुलाई संयोजन गरेर मैले सोचेको जस्तै काम निकाल्न सफल भएको छ’– विधाता बताउँछिन् ।

यस्ता प्रतिस्थापन कलाहरु एक्जिभिसन पछाडि के हुन्छन् भन्ने प्रश्नमा कलाकारको जवाफ थियो –  ‘एक्जिभिसन पछाडि यो कामलाई कहाँ राख्ने भन्ने हिसावले तारागाउँले पनि सोचेको छ । कसैले यो काम लिन चाहेको अवस्थामा तारागाउँ वा कलाकारसँग कुराकानी गर्न समेत सक्छ । यो कामलाई कसरी कहाँ राख्ने वा कहाँ पठाउने भन्ने विषयमा आयोजकले कलाकारसँग कुराकानी गरेर निक्र्योल गर्न सक्छ ।’

हिमाली सम्पदा र संस्कृति सम्बन्धी विधाताले गरिरहेको अध्ययनको उपजको रुपमा यो प्रतिस्थापन कला आएको हो । उनका कलाहरुले दैनिक जीवनको उपभोगमा आएर फालिएका बस्तुहरुलाई सांस्कृतिक तथा भौगोलिक पक्षहहरुसँग जोड्दै त्यसको अन्तरसम्बन्धको विषयमा अन्वेशष गर्दछ भन्छन् कलाकार तथा क्युरेटर रोशन मिश्र । ‘कलाकारले रुपान्तरण गरेको टिनका क्यानहरुले आध्यात्मिकता, सांस्कृतिक मापदण्डहरु, आस्था र विश्वासलाई सम्बोधन गर्दछ ।’

विधाताका प्रतिस्थापन कलाहरु धेरै प्रख्यात छन् । उनले सन् २००७मा कोरियामा, २००८ मा यालामायाँ केन्द्रमा,  २००९ मा भेनिसमा सोलो प्रदर्शन गरिसकेकी छिन् ।  उनको धेरै ग्रुप शोहरु भइसकेका छन् । उनले स्थानिय स्तरमा उपलब्ध सामग्रीको प्रयोग गरेर प्रतिस्थापन कला पनि बनाएकी छिन् । उनले धेरै परियोजनाहरुमा काम गरिसकेकी छिन् । उनि कहिले मूर्तिकला, कहिले प्रिन्टमेकिङमा, कहिले प्रतिस्थापन त कहिले चित्रकलामा काम गर्ने गर्छिन् । उनका प्राय कामहरु अवधारणामा आधारित हुन्छन् । सन् २०१७ मा गरेको मछिन्द्रनाथको काम पनि अवधारणासँग आधारित थियो ।

तर अवधारणाहरु भावना (इमोसन)कै कारणले निस्किएका हुन्छन् । मानिसको अस्तित्व निर्माणको लागि टिनबाट बनेको मानेले खेलेको भूमिकाले मानव सभ्यताको विकासमा टेवा पुराउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

Array