नेपाल आर्ट काउन्सिलमा क्रिएटिभ स्ट्रोक

सुनिल राज ढकाल
सुनिल राज ढकाल २९ माघ २०७९, आईतवार ०८:००
7 Min Read
Aa

नेपाली कला जगत विस्तारै अझ परिस्कृत हुँदै गइरहेको छ । सामान्यतयाः कोरोना महामारी पछि केही समयको लागि अस्तव्यस्त तथा थल्लिएको झैं लाग्ने कलाका प्रदर्शनीहरु हाल सुचारु हुँदै गइरहेका छन् । नेपाली कलाकारहरु विदेशमा प्रदर्शनी गर्न जाने तथा विदेशी कलाकारहरु नेपालमा प्रदर्शनीका लागि आउने क्रम ज्यादै बढीरहेको सन्दर्भमा हाल नेपाल आर्ट काउन्सिल, बबरमहलमा माघ २८ देखि फाल्गुन १ सम्म नेपाली, बङ्ग्लादेशी, भारतिय, बेलायती तथा फ्रान्सेली जम्मा २९ कलाकारहरुको एक बृहत कला प्रदर्शनी भइरहेको छ ।

उक्त प्रदर्शनी बङ्गलादेशका एक कला समूह जोब्रा आर्ट भिलेजले आयोजना गरेको हो । कार्यक्रमको उद्घाटनको क्रममा नेपालका लागि बङ्गलादेशका राजदुत सलाहुदिन मोहम्मद चौधरीले पानसमा बत्ती बाली गर्नुभएको थियो । आफ्नो मन्तव्यको क्रममा उहाँले नेपाली कलाकारहरुसंग राम्रो चिनजान भएको र नेपालको संस्कृती अनि कला विश्व बजारमा अझ व्यापक हुँदै गइरहेको कुरा बताउनु भएको थियो भने बङ्गलादेशका कलाकारहरु समेत यसरी सामेल भइ कला प्रदर्शनी गर्नु खुशीको कुरा भएको बताउनु भएको थियो । त्यसैगरी जोब्रा आर्ट भिलेजले नेपाली कलाकार किशोर नकर्मीलाई जोब्राको नेपाली विभागको मताधिकार समेत प्रदान गरिएको थियो । मन्तव्यको क्रममा कलाकार नकर्मी बताउनुहुन्छ, “मेरो लागि यो आशा नै नगरिएको सम्मान भएको छ । आउने दिनमा नेपालमा नै रही नेपाली कलाको क्षेत्रमा अझ योगदान दिने योजना बनाएको छु ।” नकर्मी प्यागोडा कला समुहको एक संस्थापक सदस्य पनि हुन् ।

प्रदर्शनीको अघिल्लो दिनमा नेपाली तथा विदेशी कलाकारहरुलाई कला कार्यशालाको लागि सुन्दरीजल लगिएको थियो । त्यहाँको प्राकृतिक छटामा रमाउँदै कलाहकारहरुले आफ्नो कला श्रृजना गरी ती कलाहरुमध्येका केही कलालाई पनि यस प्रदर्शनीमा समावेश गरिएको कलाकार किशोर नकर्मी बताउनुहुन्छ । प्रदर्शनीमा राखिएका कलाकृतिहरुमा नेपालका केही अग्रज कलाकारहरुको कलालाई समेत समावेश गरिएको छ ।

अग्रज कलाकार मध्येका एक कृष्ण मानन्धरले यस पटकको प्रदर्शनीमा आफ्नो ओभरल्यापिङ्ग सिरिजका कामलाई राख्नु भएको छ । लामो समयसम्मको चित्रकलाको साधनाको फलस्वरुप उत्पन्न भएका उहाँको कलामा एक भिन्न किसिमको मिठास पाउन सकिन्छ । रङ्गहरुमा सुरुवाती दिनहरु देखि नै भिजेका यी कलाकारका कृती यस प्रदर्शनीको आकर्षण मध्येको एक मान्न सकिने कला अवलोकन गर्न आएका एक दर्शकको भनाइ रहेको थियो ।

अर्का कलाकार गोविन्द डंगोलका कलाकृतिहरु प्नि यस प्रदर्शनीको आकर्षणको रुपमा पाउन सकिन्छ । कलाकार डंगोलको पनि लामो समय देखि कला क्षेत्रमा निरन्तर साधनारत हुनुुहुन्छ भने उहाँको कलाको संयोजन अरु नेपाली कलाकारहरुले श्रृजना गर्ने कलाहरु भन्दा निकै पृथक रंग तथा आकृतीका आधारमा हुने गरेका छन् ।

कलाकार जीवन राजोपाध्यायले भने यस पटकको कला प्रदर्शनीमा आफ्नो अमूर्त कामहरुलाई नै समावेश गर्नुभएको छ । उहाँका कलाहरुमा रंगहरुको समायोजन तथा आकृतीहरुको मिठास पाउन सकिन्छ ।

कलाकार शुष्मा राजभण्डारीले यस पटकको प्रदर्शनीमा आफ्ना गणेशका चित्रहरुलाई समावेश गरेकी छन् भने अर्की कलाकार जया शर्माले विश्वलाई नै प्रभावित गर्दैै गइरहेको ग्लोबल वार्मिङ्ग र यसले वातावरणमा पार्ने प्रतिकुल असरले भविष्यका दिनमा कस्तो प्रभाव पार्नेछ भन्ने सन्दर्भमा क्यानभसमा कोरिएको चित्रलाई प्रदर्शनीमा समावेश गर्नुभएको छ ।

कलाकार प्रभात श्रेष्ठले ढुंगाहरुले इतिहास बोकेका हुन्छन् भन्ने कुरामा विश्वास गर्नु भएको छ । ती ढुंगाहरु कहिले शिलालेखका रुपमा आउँछन् त कहिले त्यहीँबाट शंखेकिराको रुपमा नयाँ जीवन शुरुआत हुन्छन् भन्ने थिममा गरिएका कामलाई प्रदर्शनीमा समावेश गरिएको छ । अर्का कलाकार रत्न शाक्यले भने यस प्रटकको प्रदर्शनीमा आफ्नो अमूर्त कामहरुलाई समावेश गर्नुभएको छ ।

कलाकार किशोर नकर्मीले भने यस पटकको प्रदर्शनीमा बुद्धको चित्रलाई समावेश गर्नु भएको छ । रंगहरुको सम्मिश्रणमा एक बेग्लै मिठास रहने उनका कामहरु बुद्धको अहिंसा अनि सत्यको मार्गमा विश्वलाई नै प्रेरित गर्ने हिसाबले गरिएको बताउनुहुन्छ भने अर्का कलाकार रोशन प्रधानले पनि आफ्नो शिल्पीलाई प्रदर्शन गरेका छन् । नेपाली कला जगतमा उनको कलाहरु दिनानुदिन धेरै दर्शकहरुको रोजाइमा पर्ने गरेका छन् ।

अर्का कलाकार गौरव बज्राचार्यले भने भ्यालेन्टाइन डेलाई लक्षित गर्दै एक प्रेमिल जोडिको चित्रलाई प्रदर्शनीमा समावेश गरेका छन् भने ललितकला क्याम्पसका प्राध्यापक समेत रहेका कलाकार नेम बहादुर तामाङ्गले आफ्नो अमूर्त चित्रकलालाई प्रदर्शनीमा राखेका छन् । रंगहरुको संयोजनमा एक भिन्नै शिल्पी रहेको यी कलाकारका कामहरुलाई पनि नेपाली दर्शकहरुले निकै रुचाइएको पाउन सकिन्छ ।

भारतिय कलाकार डा. कुसुमलता शर्माले पनि आफ्नो कलाहरुलाई यस प्रदर्शनीमा समावेश गरेकी छन् । झट्ट हेर्दा पेन एण्ड इन्कबाट गरिएका जस्तो लाग्ने उनका कामहरु ब्रशले गरिएका हुन् भनेर विश्वास गर्न मुस्किल रहेको देख्न सकिन्छ । त्यसैगरी अर्का फ्रान्सेली कलाकार भिन्सेन्ट ग्रेबीले भने यस पटकको प्रदर्शनीमा उनले क्याम्बोडियामा देखेका दुइ दिदिबहिनीको चित्रलाई प्रदर्शनीमा समावेश गरेका छन् । लामो समयदेखि नेपालमा नै बस्दै आएका यी कलाकारका चित्रहरु अमूर्तता र मूर्तताको दोसाँधमा उभिएको पाउन सकिन्छ ।

बङ्गलादेशी मूलकी बेलायती कलाकार नाओशिन फर्जाना आफ्नो कामलाई प्रकृयागत कला भन्न रुचाउँछिन् । मूलतः कलाहरुलाई हेर्ने दृष्टिकोण फरक कलाकारहरुको फरक हुने गरेको पाइन्छ । सुन्दरीजलमा कार्यशालामा भाग लिँदै गर्दा उनले त्यहाँका ढुंगाहरु तथा पानी अनि हावाका तरङ्गहरुले पारिरहेको प्रभावलाई देखाएकी छन् । अमेरिकी कलाकार ज्याक्सन पुलोकले सुरु गरेको प्रोसेस आर्टलाई नै अझ विस्तारित ढंगबाट नयाँ नयाँ प्रयोगहरु गरिरहेको बताउँछिन् । बेलायतबाट यस प्रदर्शनीको लागि आर्थिक सहयोग पनि गरेकी यी कलाकार भविष्यको दिनमा कलामा अझ सक्रिय हुँदै नयाँ नयाँ कामहरु गर्ने योजना रहेको बताउँछिन् ।

अर्का बङ्गलादेशका कलाकार तौहिद शिमुल जोब्रा आर्ट भिलेजका संस्थापक समेत रहेका छन् । नेपाललाई आफ्नो दोश्रो घरको रुपमा चित्रण गर्न रुचाउने यी कलाकार आफ्नो कामहरुमा दत्तचित्त देखिन्छन् । आफ्नो कामको बारेमा कुरा गर्दा यी कलाकारले आफ्नो कामको शिर्षक भने, विस यु वेर हियर दिएका छन् । कलामा प्रकृतिलाई देख्ने यी कलाकारले ५४ देशका कलाकारहरुलाई आफ्नो जोब्रा आर्ट भिलेजको सदस्यता दिइसकेका छन् भने आगामि दिनमा अझ बढी कलाकारहरुलाई थप्दै अझ थप गर्दै लैजाने योजना रहेको बताउँछन् । बङ्गलादेशको चितागोङ्ग विश्वविद्यालयकै क्षेत्रमा जोब्रा आर्ट भिलेज रहेको बताउने यी कलाकार कोरोना लकडाउनको समयमा यो संस्था स्थापना गरी देश तथा विदेशमा कलालाई अझ माथि उकास्ने योजना रहेको कुरा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

Array