भित्ते चित्रः इतिहास र वर्तमान

सुनिल पौडेल
सुनिल पौडेल ७ फाल्गुन २०७९, आईतवार ०६:००
17 Min Read
Aa

मूरल आर्ट वा भित्ते चित्रले एक विशेष सभ्यताका मानिसहरुका गतिविधिहरु चित्रण गर्दछ । समयको एक पललाई समेट्दछ । विभिन्न समयमा वा विभिन्न काल खण्डमा घटित भएका घटनाहरु । त्यस समयका यादहरु । त्यति बेलाको जीवनशैली र धार्मिक तथा मनोरञ्जनात्मक दृष्यहरुलाई देखाइन्छ । यसलाई विभिन्न प्रकारको कलात्मक शैली, यथार्थवादको नाटकीय भावना र अद्भुत गहिराइको संयोजन भन्न सकिन्छ ।  ढुङ्गे युगमा गुफाका भित्तामा मनिसहरुले आफ्नो पदचाप पछ्याउनका लागि केही न केही आकृतिहरु कुद्ने गर्दथे । आजको दिनसम्म आइपुग्दा सडक तथा ठूला भवनका भित्तामा कुदिने कलाले ठूलो फड्को मारिसकेको छ ।

यस कलाले हामीलाई विभिन्न समयमा भएका साँस्कृतिक तथा सामाजिक विविधताहरुलाई कुनै मूल्य तिरेर हेर्न नपाइने झल्को दिन्छ ।  क्यानभासमा तैल रङ्ग प्रयोग गरी भित्ते चित्रका रुपमा टाँसिने चलन १६ औं शताब्दीमा युरोपमा देखापर्यो । यस्ता कलाहरुलाई कलाकारको स्टुडियोमा पूरा गरेर त्यसलाई गन्तव्यमा पुराउने र त्यहाँका भित्तामा टाँसिने गरिन्थ्यो । यसमा रङ्ग र सतहको बनावट दुवैको चमक भने हुँदैन थियो । यस्ता चित्रहरु छोटो समयमा आफैं बिग्रन्थे ।

काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा अवस्थित चण्डेश्वरी मन्दिर जसलाई चासः अजिमा देगः पनि भनिन्छ । त्यस मन्दिरको एकापट्टिको भित्तामा रहेको चण्ड भैरवको चित्रले पनि भित्ते चित्रकलाको ऐतिहासिक पक्षलाई प्रष्ट पार्न मदत गर्दछ । कहिले देखि उक्त मन्दिर बन्यो भन्ने एकिन तथ्यांक नभए पनि १७ औं शताब्दीबाट मन्दिर निर्माणसँगै शुरु भएको भित्ते चित्र बनाउने शिल्पी पुस्तान्तरणहुँदै आइरहेको छ । त्यसो त चण्डेश्वरी मन्दिर भन्दा पुराना भित्ते चित्रहरु उपल्लो मुस्ताङका गुफाहरुमा हजारौं वर्षअगाडिदेखि कोरिँदै आएको पाइन्छ ।

काभ्रोपलाञ्चोक जिल्लामा अवस्थित चण्डेश्वरी मन्दिरको भित्तामा गरिएको भित्ते चित्र र लाजिम्पाट नजिकै एक ग्यालरीको बाहिरी भित्तामा गर्दै गरिरहेको भित्ते चित्र
काभ्रोपलाञ्चोक जिल्लामा अवस्थित चण्डेश्वरी मन्दिरको भित्तामा गरिएको भित्ते चित्र र लाजिम्पाट नजिकै एक ग्यालरीको बाहिरी भित्तामा भरत राईले गर्दै गरिरहेको भित्ते चित्र

लामो इतिहास बोकेको भित्ते चित्र आजको दिनसम्म आइपुग्दा त्यसले विभिन्न नाम धारण गरिसकेको छ । आधुनिक समयमा बन्ने त्यस्ता भित्ते चित्रहरुले पनि इतिहास बोल्ने काम गरेको पाइन्छ । काठमाडौंको लाजिम्पाटमा एउटा नयाँ आर्ट ग्यालरी खुल्दैछ । मूल सडकबाट अलिकति भित्र रहेको उक्त भवनको बाहिरि भित्तामा चित्र कोरिइरहेको छ । जुन चित्र कलाकार आङ्छिरिङ शेर्पाले सिर्जना गरेका हुन् भने त्यसलाई भित्तामा उतार्ने काम कलाकार भरत राईले गरिरहेका छन् । काठमाडौंमा भित्ते चित्र बन्ने प्रचलन बढ्दै गइरहेको छ । ‘यस ग्यालरीको बाहिरि भित्ता सेतो भएको कारण मलाई क्यानभास जस्तै लाग्यो । यहाँ केही बनाउँदा राम्रो हुन्छ भन्ने लागेर बनाउन लागिएको हो ।’– कलाकार आङछिरिङ शेर्पा बताउँछन् ।

उनी अगाडि थप्छन् – मानिसको जीवन चक्रको विषयलाई यहाँ उतार्न खोजिएको हो । जसलाई ‘ह्वील अफ लाइफ’ भनिन्छ । तर यहाँ बनाउन लागिएको ह्वील अफ लाइफ समसामयिक हिसावले बनाउन खोजिएको हो । यसमा रङ्हरुको संयोजन आधुनिक छन् भने प्रयोग भएका इलिमेन्टहरु पनि वर्तमान सुहाउँदो छ ।

त्यस्तै केही समय पहिले काठमाडौं आर्ट हाउसले आफ्नो एक भित्तामा चित्र बनाएको छ । त्यस विषयमा ‘मोना’का निर्देशक राजन शाक्य बताउँछन्–‘ भित्ते चित्र पनि नेपालको मौलिक धरातल बोकेको तथा सम्भावना भएको विधा हो । त्यसैले काठमाडौं गेष्ट हाउसको भित्तामा यस्ता चित्रहरुलाई प्रश्रय दिइएको हो । यो एउटा पहल हो, जसले काठमाडौं लगायत विभिन्न ठाउँमा ठडिएका कंक्रिटका कुरुप भवनहरुलाई सुन्दर बनाउन र कलाको विविध आयाम तथा पक्षहरुबाट नियाल्न मदत गरोस् भन्ने हो ।’ यस्ता कामहरु काठमाडौं उपत्यका जो मन्दिर नै मन्दिरको शहर, पुरातात्विक महत्वको सम्पदाहरु भएको स्थान हुँदा हुँदै पनि यहाँका नीति नियम र विकासको गतिले फरक बाटो पहिल्याउँदा ठूला ठूला कंक्रिटको जँगल नै स्थापित भइसकेको छ । तर यो कंक्रिटको जंगलले मानिसलाई आनन्द दिन सक्दैन, आँखालाई शान्ति दिन सक्दैन । त्यसैले यहाँका व्यापारिक भवनहरु, होटल तथा रेष्टुराँहरुका भित्ता तथा उनिहरुका पर्खाललाई अत्यन्तै सुन्दर ढंगबाट प्रस्तुत गर्न सकिन्छ ।

कुनै पनि कर्पोरेट हाउसले आफ्ना भवनहरुमा यस्ता किसिमका कामहरु गरेर आफ्नो कम्पनीलाई ब्रान्डिङ गर्ने हो भने त्यसले नाम, दाम र कलाको विकासमा पक्कै पनि मदत गर्ने शाक्य बताउँछन् ।

त्यसो त धार्मिक आस्थाहरु भन्दा फरक खालका भित्ते चित्रहरुको इतिहाँसलाई पछ्याउने हो भने सन् १९४० को दशकमा ‘किलरोए यहाँ थिए’ (Kilroy was here) नाम दिइएको एक भित्ते चित्र अमेरिकामा बनाइएको थियो जसमा लामो नाक भएको मानिसले पर्खालको माथि टकराइरहेको देखाइएको थियो । उक्त चित्र अमेरिकी सैनिकहरुमाझ लोकप्रिय भयो र पछि संसारभर फैलियो । यो सडक कलाको विश्वव्यापी मान्यता प्राप्तको पहिलो उदाहरण थियो भनिन्छ ।

यसरी विकसित हुँदै आएको भित्ते चित्रले नेपाली समाजमा पनि स्थान बनाइसकेको छ । समयको फड्को २१ औं शताब्दीसम्म आइपुग्दा नेपाली समाज र यहाँको शहरबजारमा समेत त्यस्ता भित्ती चित्रहरुले स्थान पाउन थालेका छन् । आफ्नो कामलाई अध्यय नगरी त्यसको मर्मलाई बुझेर मात्र काममा हात हाल्ने कलाकार किरण महर्जनले भित्तामा बनाउने प्रायजसो चित्रहरु क्रोध, लोभ, ईष्र्या, अल्छी र घमण्ड जस्ता विषयमा केन्द्रित हुने गर्दछन् । उनका स्प्रेहरुले स्वदेशका भित्ताहरुमा मात्र होइन विदेशका भित्ताहरु पनि रङ्ग पोत्न सफल भएको छन् ।  किरण र उनको समूहले काठमाडौं गेष्ट हाउसको पश्चिमी दिशामा रहेको आर्ट हाउसको भवनको भित्तामा काम गरिसकेका छन् । काठमाडौं गेष्टहाउसको बगैंचामा बसेर पश्चिमी दिशमा अवलोकन गर्ने हो भने त्यस चित्रले मानिसहरुलाई सोच्न बाध्य बनाउँछ सायद । आजभन्दा करिव ८ वर्ष अगाडि सन् २०१४ मा काठमाडौं विश्वविद्यालयबाट बी.एफ.ए. सकाएका उनले नेपाल तथा विदेशका स्थानहरुमा आफ्नो कलाले आफुलाई चिनाउन सफल भइसकेका छन् । उनका कामहरु कुपण्डोल, ठमेल, पोखरा, वीरगन्जका साना साना सडकका गल्लीहरुमा देख्न सकिन्छ भने अन्तर्राष्ट्रिय रुपमा डेनमार्क र फिनल्याण्डमा समेत देख्न सकिन्छ ।

मूरलको चर्चा गर्दा नेपालमा परापूर्व कालदेखि नै एउटा निश्चित घेराभित्र रहेर बनाउने प्रचलन रहेको पाइन्छ । त्यसको उदाहरणको रुपमा नेपालका विभिन्न मन्दिरका भित्ताहरुमा हेर्न सकिन्छ । मछिन्द्र नाथको रथलाई अर्को उदाहरण मान्न सकिन्छ । तर, त्यहाँ नीति नियमका विषयहरु समावेश हुन्छन् । अर्को उदाहरणको रुपमा मिथिलामा बनाइने मिथिला चित्रकलाहरु भित्तामा बनाइन्छन् । त्यसको आफ्नै धार्मिक तथा सांस्कृतिक मूल्य तथा मान्यताका पक्षहरु रहेका छन् ।

जनकपुर र काठमाडौंको नयाँ बानेश्वरमा आर्टटुडियोले अमेरिकन दूतावासको सहकार्यमा बनाएको भित्ते चित्र (तस्विर सौजन्यः आर्टटुडियो)
जनकपुर र काठमाडौंको नयाँ बानेश्वरमा आर्टटुडियोले अमेरिकन दूतावासको सहकार्यमा बनाएको भित्ते चित्र (तस्विर सौजन्यः आर्टटुडियो)

किरण महर्जन (उर्फ H11235) का नामले चिनिन्छन् । नेपाली समाज, प्रथा र यहाँको सोचमा भएका समस्याहरुलाई उजागर गर्नका लागि सडक तथा भवनका भित्ताहरुमा आफ्ना स्प्रेहरु प्रयोग गर्दछन् । जुन जथाभावी रुपमा नभई सौन्दर्यको हिसावले समेत बढो आकर्षक देखिन्छ । उनले आफ्ना कामहरु गर्नुपूर्व अध्ययन अनुसन्धान गरेर मात्र गर्दछन् । कुनै पनि विषयवस्तुलाई भित्तामा प्रस्तुत गर्न उनले प्रयोग गर्ने एलिमेन्टहरुमा क्यालिग्राफि समेत समावेश हुने गर्दछ । नेपालका सडकमा भित्ति चित्रहरु बनाउन सुरु गरिएको एकिन मिति भने पाइँदैन । तर नेपाली कलाकारहरुले आजभन्दा करिब १०/१२ वर्ष पहिलेबाट यो काम गर्न सुरु गरेको पाइन्छ ।

प्रायजसो स्थानीय विषयवस्तुमा काम गर्न रुचाउने किरणले अहिले गरिरहेको कामलाई भने डिकन्स्ट्रक्सनको नाम दिन रुचाउँछन् । करिब १२ वर्ष पहिलेमात्र नेपाली कलाकारहरुले सडकमा चित्र कोर्न थाले । त्यस भन्दा अगाडि विदेशी कलाकारहरु आएर ठमेल, पोखरा लगायतका पर्यटकीय स्थलहरुमा भित्ते चित्रहरु बनाएको किरण बताउँछन् ।

कुनै विषयवस्तुको प्रतिनिधित्व देखाउने खालका काम उनको त्यतिबेला हुने गर्दथ्यो । आजभन्दा करिव १३/१४ वर्ष अगाडि उनले बनाएका चित्रहरु ग्यालरीका लागि उपयुक्त भएनन्, उनले प्रयास गरे तर पनि असफल ।

सुरुवाती दिनमा उनि चारकोल प्रयोग गरेर चित्र बनाउने गर्दथे । ग्यालरी आर्टिस्ट हुने रहरले कलामा छिरेका किरणलाई ग्यालरीले चिनेन सायद त्यसैले उनि आम जनताको माझमा आफ्ना कला देखाउन तम्सिए । ‘ग्यालरीले मेरो चित्र मन नपराए पनि मेरो कला आम नेपालीले देख्नेगरी सडकका भित्तामा बनाउँछु भन्ने सोच आएपछि म सडकमा आफ्ना कला प्रस्तुत गर्दै अहिलेसम्म आइपुग्दा १२ वर्ष वितिसकेछ’– पूराना दिनहरु सम्झदै किरण बताउँछन् ।

काठमाडौं गेष्ट हाउसको प्राङ्गणमा रहेको आर्ट हाउसको पश्चिमी भित्तामा बाँसका खटहरुमा बसेर चित्र बनाउँदै गर्दा उनि भन्छन्–‘मेरा कामहरु अष्ट्रेलियन एम्बेसिको भित्तामा, सिद्धार्थ आर्ट ग्यालरीसँगैको होटलको भित्तामा पनि देख्न सकिन्छ ।’ काठमाडौं गेष्ट हाउसमा रहेको नेपाल आर्ट हाउसको भित्तामा बनाइरहेको मूरलसम्म आइपुग्न उनलाई एक दशकभन्दा बढीसमय लाग्यो ।

काठमाडौं गेष्ट हाउसको प्राङ्गमा रहेको काठमाडौं आर्ट हाउसको भित्तामा बनाइएको भित्ते चित्र
काठमाडौं गेष्ट हाउसको प्राङ्गमा रहेको काठमाडौं आर्ट हाउसको भित्तामा बनाइएको भित्ते चित्र

स्ट्रिट आर्ट, ग्राफिटि, स्केट बोर्डमा राखिएका चित्रहरुबाट प्रभावित भएर यस क्षेत्रमा छिरेका किरण विस्तारै सडकतिर छिरे । यसरी सडकमा काम गर्दा उनलाई आफु स्वतन्त्र भएको महसुस हुने गरेको उनि बताउँछन् ।

एक्लै यो विधामा होमिएका किरणले नयाँ नयाँ प्रयोगहरु गर्न थाले । उनले गरेका प्रयोगहरुमा उनको वास्तविक रुचि के हो भन्ने पनि आफुमा खोजे । त्यसपछि उनले स्प्रे तथा अक्षरहरुको समेत प्रयोग थाले । आफ्नो कामको विषयमा कुरा गर्दै उनी थप्दछन्,  ‘करिब २/३ कार्टुन स्प्रे सकाएँ होला मैले आफु सिक्ने क्रममा ।

त्यसपछि मलाई यसमा काम गर्न मजा आउन थाल्यो ।’ किरणको भनाइ अनुसार उनी सन् २०१० मा आर्ट ल्यावमा संलग्न भए । आर्ट ल्याव सुरु हुँदै थियो तर त्यस बेलासम्म नेपालमा स्ट्रिट आर्ट थिएन । यो एउटा ग्रुपमा काम गर्ने अवसर थियो मेरो लागि र हामी सँगै काम गर्न थाल्यौं । त्यसपछिका करिब ६ वर्ष मैले आर्ट ल्यावमा नै विताए । प्रसाद प्रोजेक्ट उनको आर्ट ल्यावमा आबद्ध हुँदाको अन्तिम काम थियो । त्यहाँ काम गर्ने सहकर्मीहरुमा रोमेल भट्टराई पनि थिए ।

सन् २०१७ सम्म आइपुग्दा किरणको नाम यस क्षेत्रमा राम्रो बनिसकेको थियो । उनले कोर आर्ट कलेक्टिभको नामबाट नयाँ समूह खडा गरेर काम गर्न सुरु गरे । उनले गर्दै आएका कामहरु भन्दा अहिले काठमाडौं गेष्ट हाउस भित्रको काठमाडौं आर्ट हाउसमा गरिरहेको काम एकदमै फरक भएको किरण बताउँछन् । यस कामलाई उनी आफ्नो विकसित कामको रुपमा लिन रुचाउँछन् ।

आर्ट ल्यावले गरेको प्रसाद प्रोजेक्ट अन्तर्गत काठमाडौंको रत्नपार्कका भित्ताहरुमा कहिले व्यङ्ग्य त कहिले सामाजिक सन्देश मूलक चित्रहरु कोरिन्थे । तर, ती चित्रहरु कोरिएका केही समयमा नै ती चित्रहरुलाई मेटाएर राजनीतिक नाराहरुले भरिन्थे । त्यसो त ती चित्रहरु किन मेटिए भन्ने प्रश्न टड्कारो छ । या ती चित्रहरु समाजले मन पराएन या त त्यतिबेला राज्यको कला प्रतिको चेतनास्तरमा कमी थियो भन्छन् अर्का कलाकार कैलाश के. श्रेष्ठ ।

‘मेरो सुरुका कामहरु स्यामश्वेत पोट्रेट, अनुहारमा रातो रञ्जना लिपिको कालिग्राफि हुन्थ्यो, त्यसले मलाई चिनाउँदै गयो । त्यसको कन्सेप्ट नै इभोलुसन थियो । बौद्धिक इभोलुसन भर्सेस बायोलोजिकल इभोलुसन । हामी मानिसहरु जति इभल्भ भए पनि बायोजिकल्ली उस्तै मानिस नै हौं । तर इन्टेलेक्चुवल्ली इभोल भइरहेका हुन्छौं ।’

किरण महर्जनले सिद्धार्थ आर्ट ग्यालरी छेउको भित्तामा बनाएको भित्ते चित्र(दायाँ)
किरण महर्जनले सिद्धार्थ आर्ट ग्यालरी छेउको भित्तामा बनाएको भित्ते चित्र(दायाँ)

कालो रङ्गले बायोलोजिकल रिप्रिजेन्टेसन र रातोले इन्टेलेक्चुअल रिप्रिजेन्टेसनलाई देखाउने मान्यता राख्दै किरणले सोही रङ्गहरुबाट काम गरिरहेका हुन्थे । यसरी काम गरिरहँदा उनलाई कन्ट्राडिक्सनको कन्सेप्ट धेरै नै मन पर्न थाल्यो । पुरानो भर्सेस नयाँ, बौद्धिक भर्सेस शारीरिक कलाकृति देखाउने काममा उनी लागे । उनलाई एउटै काम गर्दा अल्छी पनि लाग्ने बताउँछन् । केही नयाँ गर्नुपर्छ भन्ने उनलाई जहिल्यै लागिरहन्छ ।  त्यसैको उपजका रुपमा डिकन्स्ट्रक्सन, कोलाज, इमेजका स्टाइलहरुबाट उनले अझ धेरै कुराहरु व्यक्त गर्न पाएको र त्यसको रिजल्ट अहिलेको काठमाडौं गेष्ट हाउसभित्र रहेको काठमाडौं आर्ट हाउसमा बनिरहेको मूरल हो । उनलाई रिसर्चमा काम गर्दा कमिशन वर्कमा क्रिएटिभ लिवर्टी हुने र यस काममा पनि त्यसै भएको उनको अनुभव छ ।

अहिलेको यो मूरलमा के गर्न लाग्नु भएको त? भन्ने प्रश्नमा उनको जवाफ थियो–‘मैले सुने अनुसार ‘ज्याठा’ तिर भाँडा बनाउने ठाउँ थियो रे त्यो विषय मलाई मनपर्यो । त्यसको प्रतिनिधित्वका लागि माटोको भाँडा पुरानो विषय वस्तु हुनपुग्यो र सिंगिङ्बल नयाँ ।’ उनले आफ्ना काममा प्रज्ञा पारमिताको अक्षरहरु, नेवार समुदाय, शेर्पा समुदाय लगायतका विषयलाई आप्mनो कामको विषयवस्तु बनाएका छन् ।

उनले प्रज्ञापारमिताको केही अक्षरहरुलाई रञ्जना लिपिमा लिपिबद्ध गरेर भित्तामा सजाएका छन् । ‘सिर्जना गर्नेले जे सिर्जना गर्दछ त्यो सिर्जनालाई अवलोकन गर्नेले के बुझ्छ त्यो बढी सान्दर्भिक हुन्छ । बनाउनेले एउटा विषवस्तुलाई लिएर सिर्जना गरेको हुन्छ तर हेर्ने व्यक्तिले आफ्नो जीवनसँग भनौ या व्यक्तिगत अनुभवसँग त्यो कलालाई जोडेर हेरेको हुन्छ । यसको सुन्दरपक्ष नै त्यही हो । यस्ता विषयहरु ग्यालरीमा सिमित हुँदैनन् । यी सडकमा, सार्वजनिक स्थानमा सबैको पहुँचमा हुन्छन् ।’ यसरी सबैको पहुँचमा हुने कला जहिले पनि सशक्त र बलियो हुन्छ ।

अष्ट्रेलियन दूतावासको बाहिरि भित्तामा किरणले बनाएको भित्ते चित्र (तस्विर सौजन्यः किरण महर्जन)
अष्ट्रेलियन दूतावासको बाहिरि भित्तामा किरणले बनाएको भित्ते चित्र (तस्विर सौजन्यः किरण महर्जन)

नेपाली कलालाई विश्व बजारमा पुराउन यस्ता कलाले मदत गर्दछन् । नेपालमा वर्षेनी धेरै भन्दा धेरै विदेशी पर्यटकहरु घुम्न आउँदछन् । उनिहरुले यति सुन्दर मूरलहरु हरेक भवनका भित्ता तथा कम्पाउन्डका भित्तामा देखेर जाँदा पक्कै पनि नेपाली कलाकारहरुको प्रचार र नेपालको प्रचार विश्व कला बजारमा पुग्नेछ । जसबाट किरण महर्जन जस्ता कैयौं कलाकारहरुलाई आफ्नो कला र आफ्नो पन विश्व बजारमा पु-याउन मद्दत गर्नुका साथै कर्पोरेट हाउसहरुको नाम र त्यहाँ बनेको कलाले ख्याति पाउनेछ । मानिसहरु कस्तो कला बन्यो भनेर भन्न नसके पनि कर्पोरेट विल्डिङको नाम लिएर त्यहाँ बनेका कलामा यस्तो छ, त्यसले यस्तो देखाउन खोजेको छ भनेर मानिसहरु गफ गर्न थाल्नेछन् । जब मानिसहरुको चिया गफको विषय कला हुन जान्छ तब यो क्षेत्रको विकासमा कुनै अंकुश लाग्ने छैन ।

सन् २०२२ मा काठमाडौंको बानेश्वरमा रहेको यातायात व्यवस्था विभागको भित्तालाई एकताको भित्तो नाम दिइ भित्रे चित्रकला सम्पन्न भयो । जुन कला एक परियोजना अन्तर्गत बनाइएको थियो । जसमा अमेरिकी राजदूतावासको सहयोग तथा काठमाडौं महानगरपालिकाको सहकार्य रहेको थियो । जसमा अमेरिकी ग्राफिटि कलाकार म्यान वान, सुदिप बल्ल, मनिषा शाहा, किरण महर्जन, खेम बहादुर पाल्पाली, छिरिङ फुन्चोक गुरुङ र विशाल मानन्धरले काम गरेका थिए । सन् २०१० देखि भित्ते चित्रमा काम गर्दै आएका कैलास के. श्रेष्ठले क्युरेशन गरेको तथा आर्टटुडियोको आयोजनामा भएको भित्ते चित्र काठमाडौं तथा जनकपुरमा सम्पन्न गरेको थियो । विभिन्न भौगोलिक धरातललाई प्रतिनिधित्व गर्ने कलाकारहरुका कामहरुमा उनिहरुको भूगोल, संस्कृति, लिपि जस्ता कुराहरुलाई स्थान दिइएको छ । भेषभूषा, भाषा, लिङ्गका आधारमा नेपालका जातजातीका विषयवस्तुलाई समावेश गरिएको छ । जसलाई समावेशीकरण र समताको हिसावले एकताको भित्तो भनी नामाकरण गरिएको भित्ते चित्रको अर्को नमूना मान्न सकिन्छ ।

भित्ती चित्रकला(मूरल) अभिव्यक्तिको महत्वपूर्ण माध्यम हो भने प्रायजसो यसमा विवादहरु पनि आउँछन् तर यस्ता कला स्वतन्त्रता, आशा र एकता तथा ऐतिहासिक पक्षको प्रतिकका रुपमा रहँदै आएका छन् ।

विश्व मानचित्रमा मूरलले ल्याएको सामाजिक, राजनीतिक तथा सांस्कृतिक क्रान्तिहरु महवपूर्ण मानिन्छन्  । जतिबेला अभिव्यक्तिको सशक्त माध्यम नै भित्ती चित्र थियो र बढी प्रभावकारी पनि । मूरल उत्तरी आएरल्यान्डको सबैभन्दा महत्वपूर्ण विशेषताहरु मध्ये एक पर्दछ । उक्त क्षेत्रको विगत र वर्तमान राजनीतिक र धार्मिक विभाजनहरुलाई मुरलले चित्रण गर्दछ । सन् १९७० को दशकदेखि त्यहाँ भएका वा विगतमा घटित भएका राजनैतिक तथा धार्मिक विभाजनहरुलाई चित्रण गरियो । जहाँ धेरै नस्लवाद र पर्यावरणबाद विरुद्धको लडाइमा समर्पित लगभग २००० भित्तामा चित्रहरु कोरिएका थिए । यसै सन्दर्भमा अर्को राजनैतिक भित्ति चित्र(मूरल) को आरोप लगाइएको प्रसिद्ध ठाउँ बर्लिनको पर्खाल थियो । जहाँ पश्चिमी पक्षले सन् १९६१ मा यसको निर्माण भयो र करिब २८ वर्ष पछि सन् १९८९ मा उत्त पर्खाको विनाश भयो । जसमा प्रसिद्ध चित्रकार किथ ह्यारिङ्ग र थियरी नोइरको कामहरु खण्डहर बन्दै पृथ्वीको गर्भमा विलिन भए ।

नेपाली मूरलको इतिहासलाई हेर्दा विभिन्न धार्मिक तथा सांस्कृतिक मूल्य मान्यताका विषयहरु जनश्रुतीमा आधारित भएर भित्ते चित्रलेखन हुने गर्दथ्यो । तर आधुनिक समाजमा धार्मिक तथा सांस्कृतिक पक्षहरुले मात्र स्थान नबनाई समसामयिक विषयवस्तु र विभिन्न कालखण्डका घटनाक्रमहरुलाई विम्बका रुपमा प्रयोग गर्दै भित्ते चित्रलेखन अगाडि बढ्दै गइरहेको छ । यसै परिप्रेक्ष्यमा हाल आएर कलाकारहरुले डिजिटल प्रविधिहरुको प्रयोग मुरलमा गरिरहेका छन् । सुरुमा कम्प्युटरको माध्यमबाट सबै काम बनाइसकेपछि त्यसलाई भित्तमा बनाउने प्रचलन बढ्दै गएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array