नागपोखरीमा प्रिन्ट मेकिङ्गको प्रदर्शनी

सुनिल राज ढकाल
सुनिल राज ढकाल १४ फाल्गुन २०७९, आईतवार ०६:००
6 Min Read
Aa

नागपोखरीको दक्षिणतर्फ एन.आइ.सि एशिया बैँकको प्राङ्गणमा एक प्रिन्ट मेकिङ्गको प्रदर्शनी भइरहेको छ । यस प्रर्दशनीमा १६ देशका प्रिन्ट मेकिङ्गमा दख्खल भएका कलाकारहरुको प्रदर्शनी एकै स्थानमा थ्रेसहोल्ड शिर्षक दिइ प्रदर्शनी गरिएको हो । यो प्रदर्शनीमा नेपालकी कलाकार टिशा श्रेष्ठ लगायत भारत, बङ्गलादेश, ताइवान, अमेरिका लगायत विभिन्न देशका प्रिन्ट मेकिङ्गमा आबद्ध कलाकारहरुले आफ्नो कलालाई प्रदर्शनीमा राखेका छन् भने उक्त प्रदर्शनी १२ फाल्गुन देखि १६ फाल्गुन सम्म चल्नेछ ।

धेरै देशका कलाकारहरुको कलालाई एकै स्थानमा हेर्न सकिने भएकाले पनि यो प्रदर्शनी नेपाली प्रिन्ट मेकिङ्गमा लागेका कलाकार तथा आउने दिनमा यसै विधालाई अंगाल्दै अघि बढ्ने सोच भएका कालाकारहरुका लागि पनि उत्तिकै महत्वपूर्ण हुने नेपालबाट छानिएकी कलाकार टिशा श्रेष्ठ बताउँछिन् । यस पटकको प्रदर्शनीका क्युरेटर भने अमेरिकि कलाकार निकोलस रुथ हुन् । इन्टरनेशनल प्रिन्ट एक्सचेन्ज प्रोग्राम २०२१ अन्तर्गतको प्रदर्शनी प्रत्येक वर्ष आयोजना हुने तथा प्रत्येक वर्षका लागि छुट्टाछुट्टै क्युरेटर तथा बेग्लाबेग्लै कलाकारहरुको कामलाई छनौट गरिन्छ । प्रदर्शनीमा सम्मिलित विभिन्न देशहरुमा छुट्टाछुट्टै समयमा प्रदर्शनी गर्ने गरिएको पनि कलाकार टिशा श्रेष्ठ बताउँछिन् । कोरोना महामारीका कारण विश्वभरका कलाकारहरु अझ सक्रिय र ऐक्यबद्ध हुँदै विभिन्न देशका अरु कलाकारहरुसँगै हातेमालो गर्दै कलालाई अगाडि बढाउन अझ बढी योगदान दिइरहेको सन्दर्भमा यस्तो किसिमको कार्यक्रम अझ बढी हुनुपर्ने कुरामा अर्का कलाकार पृथ्वी श्रेष्ठ जोड दिन्छन् ।

इन्टरनेशनल प्रिन्ट एक्सचेन्ज प्रोग्राममा नेपालको सौरगंगा दर्शनधारी, सुनिता महर्जन र सुस्मा शाक्य सन् २०१८ मा पहिलोपटक छनौटमा परेका थिए भने दोस्रो पटक २०२० मा महेशलाल श्रेष्ठ परेका थिए । हरेक वर्ष हुने यस कार्यक्रममा कलाकारहरुको काम छनौट भइसकेपछि त्यसको अन्तिम प्रिन्ट कपी जति जना कलाकार छानिएका हुन्छन् त्यति नै बनाएर आयोजकलाई पठाउनु पर्ने हुन्छ । त्यसपछि ती कलाकारहरुको कामहरु एक अर्कामा एक्सचेन्ज हुन्छन् । जुन आयोजकले पोष्ट गरेर सबै देशका छनौट भएका कलाकारहरुलाई पठाउँछ । त्यसपछि कलाकारहरुले आफ्नो क्षेत्रमा प्रदर्शनी पनि गर्नुपर्ने हुन्छ ।

क्यानभासमा बनाइने कलालाई जत्तिकै स्थान प्रिन्ट मेकिङ्गलाई पनि दिनुपर्ने कुरामा प्रिन्ट मेकिङ्गमा लागेका कलाकारहरुको एकमत हुने गरेको छ । प्रिन्ट नै त हो, यसमा जति प्रति निकाल्न पनि सकिन्छ र मेशिनको प्रयोगबाट नै यी कला बन्ने धेरै सर्वसाधारणमा भान भएको परिप्रेक्ष्यमा कलाकार टिशा श्रेष्ठ भने यी कलाहरु बनाउनका लागि सोच र दक्षता दुवै हुनुपर्ने भएकाले पनि  यी कलाहरुलाई अझ विशेष हुने बताउँछिन् । क्यानभासमा गरिने सिर्जना र प्रिन्ट मेकिङको लागि मेटलमा गरिने सिर्जना उस्तै हुन् तर एउटा स्केच बनिसकेपछि  मेटलमा काम गर्ने प्रक्रिया लामो र बढी मिहिनेत पर्ने कलाकार बताउँछिन् ।

यस प्रदर्शनीमा कलाकार टिशा श्रेष्ठले कोरोना महामारीको समयको चित्रण आफ्नो कलामा ल्याएकी छिन् । परापूर्व कालमा जब नेपालमा एक भयानक महामारी आएको थियो, त्यस समयमा गुरु कामदेवले सपनामा देवीको नाच लगाए महामारी रोकिने सपना देखे । त्यही अनुरुप ‘दि प्याखाँ’ नामक नाच जसमा देवीको मास्क (मुखौटा) लगाइ नाच्ने चलन ल्याइयो र यो नाच नाचेपछि महामारी विस्तारै साम्य भएको मानिन्छ । हालको कोरोना महामारीमा पनि मास्कको प्रयोग पछि कोरोना केही हदसम्म बढि मात्रामा नफैलिएको परिप्रेक्ष्यलाई उनले आफ्नो कलामा समावेश गरेकी छन् ।

इस्टोनियाकी कलाकार हेलेन टागोले भने एक आकर्षक आँखाको चित्रलाई प्रदर्शनीमा समावेश गरेकी छन् । डिसकनेक्ट शिर्षक दिइएको उनको प्रिन्ट फोटोपोलिमर विधिबाट बनाइएको हो । कोरोनाको समयमा मानिसहरु प्रकृतीसँगको साक्षात्कारलाई अझ बढाउनु पर्ने हामीले बनाएको प्रविधि र डिजिटल दुनियाले मात्रै पनि जीवन नचल्ने विषयलाई उनको कलाले इंगित गर्दछ ।

भारतीय कलाकार भानु श्रीवात्सवले भने इनएभिटेबल ट्रान्सफरमेशन शिर्षक दिइ आफ्ना पिताका पैतालालाई उनी आँफैंले हेरिरहेको चित्र बनाएका छन् । पिताले आफ्नो पुत्रलाई ठूलो बनाउने क्रममा विभिन्न संघर्षहरु गर्नुपर्ने र ती संघर्षहरुका छाप पाइतालामा देखिने गर्दछ । त्यही संघर्षको कथा जीवन चक्र जसरी नै चलिरहेको हुन्छ र जीवनमा सबै कुरा अनित्य हुन्छ भन्ने सन्देश दिने यो चित्र पनि सामान्य मानिसहरुलाई सोच्न बाध्य बनाउने खालको छ ।

अमेरिकी कलाकार केथरिन चाउभिनले भने लिथोग्राफिको प्रयोग गर्दै थ्रेसहोल्ड शिर्षकमा आफ्नो कलालाई समावेश गरेकी छन् । जेलिएका झारहरु जस्ता लाग्ने उनका चित्रले कोरोना महामारीको दुइ वर्षको समयमा मन तथा व्यवहारहरु झन् जेलिँदै गएको र प्राकृतिक रुपमा जेलिएका झार तथा मनको मनोभावलाई चित्रमा प्रस्तुत गरेकी छन् ।

दक्षिण अफ्रिकी कलाकार कोलबर्ट मासिलले भने लिनोकट विधिबाट ‘ग्रीड’ (लोभ) शिर्षकमा आफ्नो कलालाई प्रदर्शनीमा ल्याएका छन् । सात भयानक पापहरुको रुपकलाई विषय बनाइ उनले भेडाको चित्र बनाएका उनले मानव जातीले प्रकृतीमा रहेका विभिन्न जनावरलाई खानाको रुपमा प्रयोग गर्दै आएको र ती अवोध जनावरहरुको पिडा आफ्नो समय अघि नै मानव जातिका लागि विसर्जन हुने गरेको सन्दर्भलाई आफ्नो कलामा देखाएका छन् ।

क्यानडेली कलाकार हेलेन डेरीले रेशमको पारदर्शी फाइबर कागजमा मेशोनाइट बोर्डको प्रयोग गरी आफ्नो कला प्रस्तुत गरेकी छन् । थ्रेसहोल्ड अफ आइस शिर्षक दिइएको उनको कला ग्लोबल वार्मिङ्गका कारण हिउँहरु पग्लिदै गएको र यसले प्रकृतीमा पारेको असरलाई देखाउँदछ ।

दक्षिण कोरियाली कलाकार सुङ्गघी पाएले भने सिल्कस्क्रिन विधिबाट पहाडको दृश्यलाई आफ्नो कलामा देखाएकी छन् । पहाडमा रहेका बोटबुट्यानहरु र त्यसले पर्यावरणमा पारेको प्रभावलाई उनले आफ्नो चित्रमा समावेश गरेकी छन् ।

सन् २०२१ मा छानिएका कलाहरुलाई हाल प्रदर्शनी गरिएको छ भने सन् २०२२ का लागि पनि कलाकृतिहरु छानिसकिएका छन् । उक्त प्रदर्शनीको क्युरेसनको लागि भने नेपालका कलाकार मनिष लाल श्रेष्ठलाई छानिएको छ । उक्त कला प्रदर्शनी २०२३ भित्र हुनसक्ने अनुमान लगाउन सकिन्छ । सन् २०२१ को लागि छनौट भएका कामहरु किन सन् २०२३ मा प्रदर्शनी गरेको भन्ने प्रश्नमा कलाकार टिशा बताउँछिन् –‘यस पटक विभिन्न कारणले गर्दा आउनुपर्ने चित्रकलाहरु ढिलो आइपुगेको कारणले मात्र प्रदर्शनी ढिलो हुन गएको हो । आउँदा दिनमा समयमै प्रदर्शनी हुन्छ भन्ने आशा गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्

Array