आम मानिसहरुको गतिविधिहरुलाई बहुआयामिक ढङ्गबाट हेर्नु र त्यसलाई दक्षताका साथ सुन्दर बनाउन कलाकारहरु दत्तचित्त भएर लागि रहेका हुन्छन् । उनिहरुको कल्पनाशिलताबाट निस्कने परिणामहरुमा भावना मिसिएको हुन्छ । त्यस भावना तथा खोजलाई क्यानभासद्वारा रङको माध्यमबाट कलाकारहरुले पस्किरहेका हुन्छन् । भोगाई र अनूभुतिहरुलाई नौलो ढङ्गबाट दुरुस्त अभिव्यक्त गर्ने खोज कलाकारहरुले जीवनभर गरिरहेका हुन्छन् । यस्तै किसिमको खोजलाई कला पारखीहरुमाझ पस्कनको लागि पहिलो पटक कलाकार कृति शाह चन्दले विकल्प आर्ट ग्यालरी, पुल्चोकमा आफ्नो एकल कला प्रदर्शनी गरिरहेकी छिन् । फाल्गुन १३ देखि २० सम्म उक्त कला प्रदर्शनी चल्नेछ ।
आफ्ना पिता अग्रज कलाकार शशी विक्रम शाहसँग सानै देखि घरमा रङ र कुचिसँगै खेल्दै हुर्किएकी हुन् कलाकार कृति शाह चन्द । शशी विक्रम शाहका कलाकृतिहरुले विश्व कला जगतमा एक अलग्गै नाम बनाउन सफल भइसकेको छ । पिताको कलाकारिताको विरासत त एक ठाउँमा छँदै छ, तर त्यो विरासततालाई कृति शाह चन्दले पछ्याइरहेकी छिन् । उनका कतिपय कलाकृतिहरुमा उनको बुबाको प्रभाव पनि नदेखिएको भने होइन ।

कृति कला अध्ययनको लागि सन् १९९१ मा ललितकला क्याम्पसमा भर्ना भइन् । उनीसँगै कला अध्ययन गर्नेहरुमा कलाकार आशा डङ्गोल, एरिना ताम्राकार, रोशन मिश्र, सुजन चित्रकार लगायत थिए । कृतिले स्नातकसम्मको अध्ययन ललितकबाट पुरा गरिन् । तत्कालिन समयमा ललितकलामा अध्ययन गर्दा उनले कोर्ने चित्र शिक्षकहरुले हेर्दा भन्ने गर्थे ‘तिम्रा रेखाहरु एकदमै स्ट्रङ छन्’– कृतिसम्झिन्छन् ।
स्नातकको पढाइ सकिएपछि उनको विवाह भयो । विवाहपछिको समयमा चित्रकलाले विश्राम पायो । तर उनको विश्राम त्यति लामो टिक्न सकेन र उनलाई चित्रकला प्रतिको मोहले तान्यो । उनको मनमा जागेको चित्रकलाको हुटहुटी र आफ्नो कलामा निखारता ल्याउन उनी आफ्ना गुरु तथा कलाकार विपिन घिमिरेसँग पुनः चित्रकला सिक्न पुगिन् । कलाकार विपिन एक प्रसङ्गमा बताउँछन् –‘आफ्नै घरमा त्यति ठूलो कलाका साधक हुँदाहुँदै किन बाहिर चित्रकलाको गुरु खोज्दै हिँडेको ? भनेर कृतिलाई भन्दा उनी ज्यादै रिसाएकी थिइन् ।’ कृति आफ्नो कलालाई परिस्कृत र आफ्नै ढंगबाट सजाउनका लागि घरबाट होइन घरभन्दा बाहिरको दुनियाँमा रहेको गुरु चाहन्थिन् होला सायद ।

आफ्ना बुबाले कलाकृति बनाइरहेको सानैदेखि देखेपनि आफु कसरी कलाकारितामा लागिन् कृति आफैंलाई पत्तो नभएको बताउँछिन् । ‘गल्ति मानिसबाट हुन्छ, मानिसले नै गल्ति गर्ने हो । तर गल्तिलाई समातेर बस्नु मूर्खता हो । त्यस गल्तिबाट पाठ सिक्दै अगाडि बढ्नु मानवीय धर्म हो’– आफ्नो पिताका यी वाणीहरुले उनलाई प्रोत्साहित गरेको कृति बताउँछिन् । अहिले उनी यहि कुरालाई मूलमन्त्र मान्दै कला तथा जीवनमा सधैँ लागु गर्ने गरेको बताउँछिन् ।
पारिवारलाई पनि समय दिनुपर्ने भएकाले चित्रकलामा अरु कलाकारहरुले जस्तो लामो समय साधना गर्ने अवसर भने उनले नपाएको बताउँछिन् । कलाप्रतिको मोह नटुटेकै कारण उनले भारतको दिल्लीमा बस्दा करिव एक वर्ष जति त्यो मोह तथा इच्छालाई पुरा गर्न चित्रकलामा समय दिइन् । त्यसपछि करिब बाह्र वर्ष जति उनी कलाकारिताको दुनियाँबाट अलग रहिन् ।
पुनः उनको कला प्रतिको मोह जागेको छ । त्यसको उपज अहिलेको प्रदर्शनीलाई लिन सकिन्छ । उनी हाल कलाकार रोशन प्रधानसँग पनि कला सिक्दै छिन् । उनले १२ वर्ष अगाडि बनाएका तथा अहिले बनाएका कलाकृतिहरुलाई प्रदर्शनीमा राखेकी छिन् ।

विकल्प आर्ट ग्यालरीको भुइँ तलाको भित्ताहरुमा टाँगिएका केही कामहरुमा स्टिल लाइफका छन् भने ल्याण्ड स्केप, तथा विचारपरक कामहरुलाई समेत राखेकी छिन् । उनले बनाएको चित्रहरुमध्ये एकमा सरस्वतीले विणा बजाइरहेको हात तथा छेवैमा उनको वाहन सेतो हंसलाई देख्न सकिन्छ । यहाँ प्रयोग गरिएका रङ्गहरु चरणबद्ध रुपमा एक पछि अर्को गर्दै रङ्गहरु पोतिएको छ । यस चित्रमा कलाकारले रङ्गसँगै खेल्दै लेयर माथि लेयर थप्दै कला सिर्जना गरेको बताउँछिन् ।
२०६३ सालको जनआन्दोलनको समयलाई चित्रण गर्दै उनले अर्काे चित्र बनाएकी छिन् । त्यस ताकाको समयमा मानिसहरुको ठूलो समूह सडकमा उत्रेको थियो । जलरङ्गको प्रयोग गरि बनाइएको उनको चित्रमा राजा, सर्वसाधरण, सत्ता पक्षका तथा विपक्षका नेताहरु, आन्दोलनकारी, जुलुश सबैको कोलाज देखाइएकोे छ । जसले तत्कालिन समयको सम्पूर्ण दृश्य दर्शकहरुलाई देखाउन सफल भएको छ ।

उनको अर्काे एक चित्रमा भने उनले भर्खरै विवाहको लागि श्रृंगारिएकी बेहुलीलाई देखाएकी छिन् । विवाहको समयमा महिलाहरुमा हुने भावभंगिमा र अनुहारको बनावट तथा भावहरुलाई उक्त चित्रमा देखाएकी छन् । रातो रङ्गको पृष्ठभूमिमा बनाइएको उक्त चित्र कलाकार स्वयंको मन छोएको खोजपत्रसँगको कुराकानीका क्रममा बताइन् ।

चित्रहरु एकै विषयवस्तुमा नभएकाले पनि दर्शकहरुलाई अझ नयाँ स्वाद मिल्ने कलाकारको धारणा रहेको छ । उनका अरु केही चित्रहरुमा महिला सौन्दर्यतालाइ देख्न सकिन्छ । न्यूड कलाहरु बनाउँदा बेग्लै किसिमको आनन्द लाग्ने उनी बताउँछिन् । उनका न्युड चित्रकलामा एउटा स्वतन्त्रता पोखिएको पाउन सकिन्छ । तर घरमा भने त्यस्ता चित्रहरु बनाउँदा कसैले मन नपराउने गरेको गुनासो कृति गर्दछिन् । कला भनेको त स्वतन्त्र हृदयबाट निस्कने भावना हुन् । त्यसमा कलाकार स्वतन्त्र हुन पाउँछ । उनको एक चित्रमा न्युड महिलाका हातमा पुरानो टेलिफोनको रिसिभर र अर्को हातका औलाहरुमा कठपुतलीहरु छन् । तर ती महिलाको हेराइ भने माथितिर छ । अर्को एक न्युड चित्रमा स्वतन्त्र भएर चिल जस्तै उड्न खोजिरहेकी एक नारीलाई देखाइएको छ । प्रविधिहरुको विकाससँगै हाल त्यस्ता फोनहरु स्मार्ट फोन बनिसक्दा पनि जीवनका केही यादहरु ती फोनसँग पनि रहेको कलाकार बताउँछिन् ।

कलाकार कृति शाह चन्द आफ्नो खोजलाई क्यानभासमा रङ्गहरुको प्रयोगद्वारा एकतृत गर्दै जाने र आगामि दिनमा चित्रकलामा अझ सिक्दै नयाँ नयाँ किसिमको कामहरु गर्दै जाने कुरामा विश्वस्थ रहेको बताउँछिन् ।
प्रतिक्रिया दिनुहोस्