बर्ड हिलमा स्पेक्ट्रमको कला कार्यशाला

सुनिल पौडेल
सुनिल पौडेल २२ फाल्गुन २०७९, सोमबार ०८:००
6 Min Read
Aa

असत्यमाथि सत्यको विजय भएको पौराणिक मान्यता अनुसार रङ्गको चाड फागुपूर्णिमा नेपालीहरुले मनाउँदै आएका छन् । यस वर्ष पनि फागुन २२ गते परेको फागुपूर्णिमा धेरै नेपालीहरुले खुसीका साथ आफ्ना साथीभाइ तथा आफन्तहरुसँग मिलेर मनाए ।

नेपाली कलाजगतमा काम गरिरहेका मूर्धन्य स्रष्टा तथा सिर्जनामा लागि रहेका कलाकाहरुले पनि फागुपूर्णिमा आफ्नै ढङ्गले मनाए । विभिन्न रङ्ग कम्पनीहरुले पनि आफ्नै हिसावले मनाए । कलाकार तथा नाट्यप्रेमीहरुको पनि ठूलै जमघट रह्यो । यसै सिलसिलामा कला क्षत्रमा विगत एक दशकभन्दा अगाडिदेखि काम गर्दै आएको स्पेक्ट्रम कला संस्थाको आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, बर्डहिल फार्मस्टे प्रा.लि. र इनफिनिटि एड्भरटाइजिङ प्रा.लि को सहकार्यमा कला कार्यशाला गरेर कलाकारहरुले मनाए ।

बालाजु बाइपासबाट केही किलोमिटरको दुरीमा रहेको ओसो तपोवनबाट अलिकति माथि तीनपिप्ले भन्ने ठाउँको नजिकै रहेको बर्डहिल फार्मस्टेमा कार्यशाला सम्पन्न भएको थियो । उक्त कार्यशालामा नेपाल ललितकला प्राज्ञ प्रतिष्ठानका कूलपति नारदमणि हार्तम्छाली, प्राज्ञ सञ्जय वान्तवा, निवर्तमान कूलपति तथा स्पेक्ट्रम संस्थाका संस्थापक सल्लाहकार केके कर्माचार्य, स्पेक्ट्रम संस्थाका अध्यक्ष इन्द्र श्रेष्ठ, उपाध्यक्ष रामकृष्ण थापा, उप सचिव दल बहादुर राई, सदस्यहरु दिपक महर्जन, निशा महर्जन, रमेह कुँवर, महेश आचार्य, विनिता बुद्धाचार्यले भाग लिनु भएको थियो । त्यस्तै अतिथि कलाकारको रुपमा भीम श्रेष्ठ र अन्तर्राष्ट्रिय जलरंग समाज, नेपालका अध्यक्ष तथा कलाकार एन.वी गुरुङको उपस्थिति थियो ।

कला जगतमा केही न केही नयाँ काम गर्ने तथा कलामा लाग्ने कलाकारहरुलाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रम संस्थाले गर्दै आइरहेको स्पेक्ट्रमका अध्यक्ष इन्द्र श्रेष्ठ बताउनुहुन्छ । विगत ९ वर्षदेखि फगुपूर्णिमको अवसरमा यस्ता कार्यशाला गर्दै आइरहेको र यस कार्यशालामा बन्ने तथा बनेका अग्रज कलाकारहरुका चित्रहरुलाई संग्रहित गरि राख्ने र त्यसलाई कुनै पनि नाफामूलक कार्यमा प्रयोग नगर्ने इन्द्र श्रेष्ठले बताउनुभयो ।

ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति नारदमणि हार्तम्छालीले कार्यशालाका दौरानमा नेपालमा कलाको संरक्षण र सम्बद्र्धन गर्ने उदेश्यका साथ खुलेका संघ संस्थाहरुसँग मिलेर सहकार्य गर्दै कला क्षेत्रको विकासमा ललितकला प्रज्ञाप्रतिष्ठानको साथ तथा सहयोग रहने बताउनुभयो । त्यस्तै प्राज्ञ तथा चित्रकला विभागका प्रमुख संजय बान्तवाले यस्ता कार्यक्रमहरुले कलाकारहरुलाई प्रोत्साहित गर्ने र नयाँ तथा पुराना कलाकारहरु विच आपसी सम्बन्ध तथा भाइचारा स्थापित गर्न मदत गर्नुका साथ कामहरु सिक्न तथा सिकाउन मदत गर्ने हुनाले यस्ता कार्यक्रम हुनुपर्नेमा जोड दिनुभयो ।

अन्तर्राष्ट्रिय जलरंग समाज नेपालका अध्यक्ष एन.वी. गुरुले नेपाली कला जगतमा काम गरिरहेका संस्थाहरुले आयोजना गर्ने कार्यक्रमहरुमा कलाकारहरुलाई सम्मानजनक हिसावले बोलाइ अरुलाई पनि केही सिकाउने तथा आफुले पनि केही सिक्ने यस्ता अवसरहरु बारम्बार भइरहनु अति उपयोगी हुने बताउनुभयो ।

बर्ड हिल फार्मस्टेका प्रोपाइट तथा कलाकार आर.के थापाले यस्ता खालका कार्यक्रमहरु कलाकारहरुले बारम्बार गर्नुपर्ने र आवश्यकता परेको अवस्थामा आफ्नो फार्मले त्यसलाई सहयोग तथा सहकार्य गर्नसक्ने बताउनुभयो । निर्वतमान कुलपति केके कर्माचार्यले आफ्नो चित्रमा सप्तरङ्गलाई समट्नु भएको र त्यसले प्रकृति तथा मानव अस्तित्वलाई समेत इंगित गर्ने बताउनुभयो ।

कार्यक्रमका दौरानमा कलाकारहरुले एक आपसमा रङ्गहरु दल्दै नाफाका कूलपतिको हातबाट क्यानभास लिएर आफ्ना सिर्जना बनाउनमा तल्लिन रहे । एन.वी. गुरुङले जलरङ्गको प्रयोग गरेर निकै मनमोहक चित्र बनाउनु भयो । उहाँले कुनै एक मौसम तथा वातावरणको विषयलाई आफ्नो क्यानभासमा उतार्नुभयो । जहाँ रङ्गको संयोजन निकै मिठासपूर्ण देखिन्थ्यो । कूलपति नारमणि हार्तम्छालीको कलामा रङ्गहरु बगेका थिए । उहाँका सिर्जनाले मानिसहरुको ध्यान खिच्ने खालको थियो ।

अर्का कलाकार महेश आचार्यले भने यस समयमा मौसमले पनि फागु खेलिरहेको बताउनुभयो । उहाँका चित्रमा हिमालको छेउमा फुलिरहेको गुराँस अनि त्यो भन्दा अलिक तल काइँयो फुल र त्यस भन्दा तल ज्याकरण्डा फुलिरहेको छ । बसन्त ऋतुको आगमनमा फुलहरु फुल्दछन् । त्यसैले विभिन्न रङ्गहरुको फुल फुल्ने हुनाले प्रकृतिले पनि होलि खेलेर वातावरणलाई उल्लास पूर्ण बनाउने समयमा नै फागु पूर्णिमा पनि परेको बताउनुभयो ।

रामकृष्ण थापाको चित्रमा प्रकृतिका सात रङगहरुको समायोजनमा यस धर्ती बन्नु अगाडिको प्रकृया र धर्ती बनिसकेपछिको अवस्था दुवैलाई जोडेर बडो मनमोहन तथा रङ्गीन चित्रको सिर्जना गर्नुभएको थियो । उहाँले पनि आफ्नो चित्रमा हाम्रा शरीरमा रहेका सात चक्रको कलरलाई प्रस्तुत गरेको बताउनुभयो ।

अर्का कलाकार दल बहादुर राईले एक योगीको चित्रलाई जलरङ्ग मार्फत प्रस्तुत गर्नुभएको थियो भने निशा महर्जनले एक महिलाको आधा अनुहारको रङ्ग हरियो र अर्को आधा सुन्तला रङ्गको बनाउनु भएको थियो । महिलालाई पनि पूर्वीय दर्शन अनुसार प्रकृतिको उपमा दिइने गरिन्छ ।

रमेश कुँवरको चित्र मिनिएचर थियो । जहाँ उहाँले किंग फिसर चरालाई प्रस्तुत गर्नुभएको थियो । उहाँ विशेषत बोन्साइमा काम गर्ने कलाकारका रुपमा परिचित हुनुहुन्छ । विनिता बुद्धाचार्यको चित्रमा आफ्नो मौलिक घरको वर्णन पाउन सकिन्थ्यो। ग्रामिण भूभागमा रहेको जंगको छेउमा अवस्थित उक्त घर निकै सुन्दर तथा सफा तरिकाले बनाउनु भएको थियो । उहाँ कार्यशालामा भाग लिँदा अग्रज कलाकारहरुसँग काम सिकिने तथा आफ्नो सिपलाई तिखार्न समेत मदत पुग्ने बताउनुहुन्छ ।

प्राज्ञ संजय बान्तवाले एक जोडि घोडालाई आफ्नो चित्रमा प्रस्तुत गर्नुभएको थियो । निलो र रातो रङ्गको पृष्ठभूमिमा दुई घोडालाई प्रस्तुत गर्नुभएको थियो भने अर्का कलाकार भीम श्रेष्ठले एक साधु जस्ता देखिने मानिसको पोट्रेट जलरङ्गमा बनाउनुभएको थियो । कार्यशालाका दौरानमा इन्द्र श्रेष्ठले आफ्ना कलामा विभिन्न प्रयोग गर्न मन पराउने बताउनुभयो । उहाँले क्यानभा देखिने टेक्चरहरु तथा त्यसमा प्रयोग भएको विम्लाई आफ्नै हिसावले प्रयोग गरिरहेको र अहिले पनि सारंगीको विषयलाई चित्रमा प्रस्तुत गरेको बताउनुभयो । उहाँका सारंगीका श्रृंखलाहरु धेरै नै बनेका छन् । उहाँ लामो समय पौभा चित्र समेत बनाउनमा व्यस्त हुनुभएको कलाकार हुनुहुन्छ ।

फागू पूर्णिमको दिन कलाकारहरुले क्यानभासमा रङ्ग पोतेर बढो उल्लासमय तरिकाले रङ्गहरुको पर्व मनाउनुभयो । यस्ता पर्वहरुले हाम्रा सामाजिक तथा सांस्कृतिक मूल्य तथा मान्यतालाई जगेर्ना गर्नुका साथै भविष्यमा कलाकारहरुको कलामा भएको विकासलाई समेत अध्ययन गर्न मदत मिल्ने कुरामा कार्यशालामा भाग लिनुभएका कलाकारहरुको एकमत थियो ।

प्रतिक्रिया दिनुहोस्

Array