कलामा सम्झना र सम्बन्धहरु

सुनिल पौडेल
सुनिल पौडेल १ बैशाख २०८०, शुक्रबार ०६:००
6 Min Read
Aa

डाँफे आर्टसले कलामा लामो समय देखि काम गरिरहेका कलाकारहरु तथा नवउदयमान महिला कलाकारहरुको कलाहरुलाई विन्डर्स ग्यलरी, झम्सिखेलमा प्रदर्शनीमा राखेको छ । पाँच महिला कालकारहरुको बाल्यकालदेखिको भोगाइ तथा अनुभवहरुबाट सिर्जना भएको कलालाई एकै ठाउँमा अवलोकन गर्न सकिन्छ ।

ग्यालरीको बाहिरपट्टिको देब्रे भित्तामा कलाकार सौरगंगा दर्शनधारीको प्रिन्टमेकिङ्गका कामहरु राखिएका छन् । बाल्यकालमा आफुले देखेका विभिन्न आयामहरुलाइ प्रिन्टमेकिङ्गमा देखाउँदै क्रममा कित्लिबाट ग्लासमा चिया राख्दै गरेको चित्रलाई देखाइएको छ । भित्र पट्टि छिर्दा छिर्दै भने उनीको धागोले बनाइएको पुतलीको जस्तो चित्र राखिएको छ ।

सिन्धुपाल्चोक जिल्लामा जन्मिएकी मिनी तामाङले आफ्नो कामहरु धागोहरुबाट बनाइएका छन् । धागोहरुबाट बनाइएको जालो जस्तो देखिने उनका कलामा सबै कुराहरु एक अर्कासँग जेलिएर बनेका अन्तर्सम्बन्धहरुलाई देखाउन खोजेकी छन् । बाल्यकालमा आफुले काकीबाट सिकेको उक्त शीपलाई निखारताका साथ प्रस्तुत गर्दै उनले यस प्रदर्शनीमा राखेकी छन् । कुनै पनि विषयहरु जोडिँदै अगाडि बढ्ने हो भने त्यो सुन्दर आकृतिमा परिवर्तित हुन्छ । उनले बनाएको कलाहरु निला धागोले बनेको छन् । पुतलीका पखेंटा जस्तो देखिने उनको कला निकै आकर्षक छन् । जुन सम्बन्ध र अनुभवबाट सिर्जित छन् । आकाश निलो हुन्छ, समुन्द्र निलो देखिन्छ र मानिसको मृत्यु पछिको रङ्ग पनि निलो हुन्छ भन्दै उनले आफ्नो कलामा निलो रङको बाहुल्यता देखाएकी छन् ।

काठमाडौंको ज्याठामा जन्मिएकी श्रीती प्रजापतिले आफ्नो वरिपरि देखिने घरहरुलाई पेन एन्ड इन्कको माध्यमबाट प्रस्तुत गरेकि छिन् । त्यहाँ बस्दा एउटा चोकबाट अर्को चोक तथा एउटा घरको ढोकाबाट अर्काे घरमा छिर्ने स्वतन्त्रता पाएकी उनले आफ्नो बाल्यकालका सम्झनहरुलाई यहाँ प्रस्तुत गरेकी छिन् । जहाँ कुनै बन्देज छैन । उनि भन्छिन्–‘कुनै घरमा ताल्चा हुँदैनथियो । जहाँ जता जानलाई पनि छुट थियो । तर आज अवस्था त्यस्तो छैन । त्यही यादहरुलाई यहाँ प्रस्तुत गरेकी हुँ ।’

उनका कलामा घरहरु समानान्तर छन् जहाँ मानिसहरु एक अर्कासँग नजिक छन् । तर अहिले घरहरु समानान्तर भएपनि सम्बन्धहरु टाढा छन् । जहाँ घरको ढोका बन्द हुन्छ । उनको कलामा घरको छेउ छाउको दृष्य देखिँदैन । उनको सम्बन्ध मात्र त्यो घरसँग छ भन्ने उनको कलामा देखिन्छ । बाल्यकालमा घुमेको त्यही गल्लीहरु आज पार्किङको लागि प्रयोग हुन्छन् । जहाँ सुकुलमा विस्कुन सुकाउने तथा बस्नको लागि प्रयोग हुन्थ्यो अब त्यो मात्र सम्झनामा सिमित भइसकेको छ । त्यही सम्झनाहरु उनको कलामा देख्न पाइन्छ ।

‘मेरो लागि ड्रोइङ गर्नु भनेको फोटो खिचेर आर्काइभ गरेजस्तै हो । तर फोटोमा धेरै डिटेल आउँदैन त्यसको लागि महँगो क्यामेराको जरुरत पर्न सक्छ । तर स्केच गरियो भने धेरै भन्दा धेरै डिटेललाई राख्न सकिन्छ । मैले यहाँ बनाएको अधिकांश चित्रहरुमा ज्याठा, असन र भेडासिङ्गका छन्’– श्रीती थप्छिन् ।

सोनी राईले प्रिन्टमेकिङ र उडकटको माध्यमबाट तयार गरिएको कलालाई यस प्रदर्शनीमा प्रस्तुत गरेकी छिन् ।  ठूलो परिवारमा हुर्केको र त्यहाँ अवस्थित जीवन्त संस्कृति तथा परम्पराहरुको गहिराइलाई बुझेर काम गर्न मन पराउने उनले पस्किएको कला युवा पुस्ताका लागि महत्वपूर्ण तथा सान्दर्भिक हुनसक्छ । उनले सानो उमेर देखि देख्दै आएको परम्पराहरु विस्तारै हराउँदै गइरहेका छन् । त्यसलाई भविष्यसँग पनि जोड्नुपर्छ र हाम्रा परम्परागत पहिरनहरु आधुनिकताले पुरिँदै र छोपिँदै गएको उनको कलामा देख्न सकिन्छ । विभिन्न ब्रान्डहरुले सांस्कृतिक पहिचान बोकेका पहिरनहरु लोपहुँदै गइरहेकोमा उनी चिन्ता व्यक्त गर्छिन् । ‘मैले यो कलालाई यसरी प्रस्तुत गरिँन भने आउने पुस्ताले हाम्रो परम्परा र संस्कृतिलाई नियाल्न पाउनेछैनन् ।’– सोनी भन्छिन् । उनले आफ्नो हजुरबुबाले बजाउने रेडियोलाई बढो कलात्मक तरिकाले प्रस्तुत गरेकी छिन् । जसमा उनको बाल्यकादेखिको सम्बन्धहरुलाई अवलोकन गर्न सकिन्छ ।

त्यस्तै अर्की कलाकार दिपमाला महर्जनले बच्चा र आमासँगको सम्बन्धलाई धागोको माध्यमबाट प्रस्तुत गरेकी छिन् । एउटा बच्चा जब आमाको पेटबाट बाहिर निस्किन्छ त्यहाँ जोडिएको एउटा तार छुट्टिए पनि त्यहाँ भावनात्मक सम्बन्धहरु कायम रहन्छन् । त्यो जतिसुकै जेलिएको भए पनि त्यसलाई मिलाउन सक्ने दक्षता भएको आमाले बढो सुन्दर ढंगबाट त्यस सम्बन्धलाई अगाडि बढाउँछिन् । एउटा सानो धागोको डोरोले त्यसलाई बचाइराखेको हुन्छ भन्ने हिसावले धागोलाई प्रतिकात्मक रुपमा प्रयोग गरेकी छिन् । उनले ‘मातृत्वः प्रेम, शक्ति र मित्रता’ शीर्षकमा आफ्नो कला प्रस्तुत गरेकी छिन् । आफु र आफ्नो आमा वीचको सम्बन्ध र आफु आमा बनिसकेपछि आफ्नो र बच्चा वीचको सम्बन्धलाई देखाउने प्रयास गरेकी छिन् ।

पाँच जना कलाकारहरुको कामहरु बाल्यकालदेखि वर्तमानसम्मका सम्झनाहरुलाई एकिकृत गर्दै त्यसलाई कलामार्फत प्रस्तुत गरेका छन् ।

नेपालमा समसामयिक कला कसरी विकसित भइरहेको छ भन्ने देखाउनु पनि यस प्रदर्शनीको उदेश्य रहेको डाँफे आर्टसकी संस्थापक/निर्देशक शिवांगी बंशल बताउँछिन् । ‘यी पाँच कलाकारहरुको काम एकदमै सवल लागेको हुनाले र हामीले सोचेको थिमसँग मिलेको हुनाले गर्दा उनिहरुको कलालाई शोकेश गरिएको हो ।’– शिवांगी थप्छिन् । डाँफे आर्टस्ले नेपाली कलाको विकासका लागि कलाकारहरुसँग कुराकानी, कलाकारहरुको स्टुडियो भिजिट तथा विभिन्न समयमा कला कार्यशालाहरु तथा कला रेसिडेन्सी समेत गर्दै आइरहेको छ । कलाकारहरुको अनुभव तथा कला सिर्जना गर्दाका मनोभावनाहरुलाई प्रदर्शनीका दौरानमा कुराकानी मार्फत अन्य कला पारखीमाझ समेत पस्किरहेको छ ।

कला प्रदर्शनी यही चैत्र २१ देखि वि.सं. २०८० वैशाख ६ सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array