एमक्युबमा अनन्त डोरहरु

#papercut #nepaliart #spritual #sandhyasilwal #mcube

सुनिल राज ढकाल
सुनिल राज ढकाल ४ जेष्ठ २०८०, बिहीबार ०६:००
6 Min Read
Aa

मानिसहरु सामान्यतयाः एक अर्कासँग कुनै न कुनै तरिकाबाट जोडिइ नै रहेका हुन्छन् । उनीहरु सानो तिनो कुरामा खुशी हुन्छन् अनि सानो तिनो कुरामा दुःखी पनि हुन्छन् । अनि सामान्तयाः कला मार्फत आफुले देखेको अनुभूतिहरुलाई दर्शक सामु पु-याइ नै रहेका हुन्छन् । कागजका टुक्राहरुलाई काटेर गाँस्दै तथा कागजलाई नै टाँसेर पेपर–कटका कामहरु कलाकारहरुले निकै कम गर्ने गर्छन् । कारणः उनीहरुले चाहे अनुसार कला बनाउँदा पनि कतै न कतै चुडिने डर रहन्छ । यस्तै यस्तै अनन्त  डोरहरुलाई गाँसेर कलाकार सन्ध्या सिलवालले यस पटक चाकुपाटमा रहेको ग्यालरी एमक्युबमा वैशाख २९ देखि जेठ १४ सम्म आफ्नो कलाहरुलाई प्रदर्शनीमा राखेकी छन् ।

कागज काटेर बनाइएका यी कलाहरु एक अर्कामा अन्र्तसम्बन्ध हुँदै हुँदै पनि नेपाली कागजलाई काटेर बनाइएका यी कलाहरु हावामा तैरिरहेको देखिन्छन् । सानो हावाको झोँकाले पनि उनका यी कामहरु फरफराइ रहेको देख्न सकिन्छ । मिहिन हातहरु अनि केही विग्रिएला कि भनी गरिएका यी कामहरु हेर्दा जति आकर्षक देखिन्छन्, त्यति नै जोगाउनको लागि पनि गाह्रो हुने गरेको बुझिन्छ । आफ्नो कामको बारेमा कलाकार सिलवाल अझ थप्छिन्, ‘मानिसको जीवन पनि त्यस्तै नाजुक हुन्छ नि, होइन र ? यहाँ सबै राम्रा अनि नराम्रा चिजहरु सधैँ त रहँदैनन् नि !’

कसरी आए त यी कामहरु ?

सामान्यतयाः कलाकारले विभिन्न माध्यमबाट आफ्नो कला अभिव्यक्ति गरिरहेका हुन्छन् । त्यही माध्यम मध्येको पेपर कट पनि एक हो । नेपालमा बाहेक विदेशमा पनि यस्तो किसिमको कामहरु पहिले देखि नै प्रयोगमा आइरहेको देख्न सकिन्छ । सन् १९४० को अन्तिम दशकमा एक कलाकार हेनरी माटिशका कामहरुलाई नै पेपर कटिङ्गको माध्यमबाट कला सिर्जना गर्ने कार्यको  प्रार्दुभावको रुपमा लिन सकिन्छ । त्यसपछिका विश्वव्यापी रुपमा एनरिको बाज, आउड केलमर्ड, ओल्गा भोल्ना जस्ता कलाकारहरुको नाम विश्वव्यपी रुपमा प्रख्यात नामहरु हुन् ।

आफ्नो कलाको उदयको विषयमा कलकार बताउँछिन्ः ‘हुर्कने क्रममा हामी दिदिबहिनी सबै सानै बेला देखि नै श्रृजनशील थियौँ । सानोमा बुवाले पिउने गरेको पाइलट या सूर्य चुरोटको भित्रपट्टि रहेको सुनौलो वा चाँदीजस्ता देखिने फोइलहरु संकलन गर्दै त्यसबाट गहनाहरु बनाइ लगाएर रमाउँथ्यौँ ।’ उनी अझ सम्झन्छिन्, ‘म भने सानै देखि अन्तर्मूखी स्वभावको थिएँ, त्यसैले पनि मेरा धेरै साथीहरु हुँदैनथे । मेरो धेरै जसो समय घरको माथिपट्टि रहेको बुइँगलमा आफुले संकलन गरेको विभिन्न कागजहरुलाई टुक्रा बनाइ त्यसबाट कुनै न कुनै आकृति निकाली खेल्नमा वित्ने गर्दथ्यो । मैले गरेको यस्तो किसिमको कामलाई पनि कला भनिँदो रहेछ भन्ने कुरा मैले काठमाडौँ विश्वविद्यालयको स्नातक (ब्याचलर डिग्री) गर्दा मात्रै थाहा पाएँ,’ उनी हाँस्दै आफ्नो विगत सम्झन्छिन् ।

हालसम्म चार वटा एकल कला प्रदर्शनी गरिसकेकी कलाकार सिलवालको यो प्रदर्शनी भने पाँचौ हो । यसअघिका कला प्रदर्शनी मध्येको पहिलो प्रदर्शनीमा भने उनको काम प्रदर्शनीमा राखिनु अघि नै कुनै एक विदेशी कला संकलकले अघिल्लो दिनमा नै बुकिङ्ग गरी किनेर लगेको मिठो सम्झना छ उनीसँग ।

यस पटकको प्रदर्शनीमा उनका कामहरु निकै थोरै रहेको बताउने यी कलाकार भावनामा डुबेर गरिएका आफ्ना कलाहरुको बारेमा पनि निकै बेर घोत्लिँदै गफ गर्न रुचाउँछिन् । ‘कहिले काहिँ कम कलाहरुले पनि आफुलाई चाहे अनुसारको सन्देश दिन सफल हुन्छन्, अनि यी कामहरु यति मिहिन अनि लगनका साथ गरिएका छन् कि संख्या भन्दा पनि गुणात्मकताले महत्व राख्दछन्,’ कलाकार आफ्नो कामको शैलीको बारेमा गफिँदै बताउँछिन् ।

यस प्रदर्शनीको माथिल्लो तल्लामा उनले गरेका पेपर कटको कामलाई राखिएको छ जसमा सबैभन्दा ठूलो काममा एक ध्यान गरिरहेको व्यक्तिलाई देखाइएको छ भने त्यसको मुन्तिर अर्काे एक व्यक्तिलाई देखाइएको छ । ‘तल पट्टि एकदम खुम्चिएर बसेको मान्छे बनाएकी छु । त्यो दुवै चित्रलाई मैले आफु नै मानिरहेको छु । कुन ठाउँमा थिएँ, त्यहाँबाट कता पुगेँ अनि त्यहाँ बाट कता पुग्छु भन्ने कुरा हामी कसैलाई पनि थाहा हुँदैन ।’

उनको अर्काे पेपरकटमा भने एक अर्कामा जोडिइराखेको त्रिभूज देख्न सकिन्छ । उनको अनुसार त्रिभुजको तीनवटा कोणले “आमा, बुबा अनि सन्तानलाई” जनाउँदछ । समय क्रमसँगै एउटा त्रिभूज अरु त्रिभूजसँग जोडिँदै अनि गाँसिदै गएका हुन्छन् । ‘यी त्रिभूजहरुलाई कोठा भरि अनन्तसम्म लैजान सकिन्छ, तर मलाई त्यति धेरै त्रिभूजको आवश्यकता पर्दैन किनकि मैले देखाउन खोजेको सन्देश यति त्रिभूजले नै जनाइसकेको छ,’ कलाकार सिलवाल आफ्नो कामको विषयमा अझ थप प्रकाश पार्दछिन् ।

पेपरकटबाट गरिएको उनको अर्काे काम भने इम्बोर्स गरिएको जस्तो देखिन्छ । त्यहि कामबाट नै उनले भुइँ तलामा रहेको प्रतिस्थापन कलाको लागिसमेत अवधारणा बनाउन मद्दत गरेकोे बताउँछिन् । “अतीतका छालहरु” शीर्षक दिइएको उनको कलामा उनले आफुले लगाएका पूराना लुगाहरु तथा करिब १५ वर्ष अघि स्वर्गिय हुनुभएको उनको पिताजीको लुगाहरुलाई सिलाई एक पृथक कलाको निर्माण गरेकी छन् । ‘मानिसको जीवन पनि पूरानो भएपछि जसरी लगाउने लुगा परिवर्तन हुन्छन्, त्यसरी नै लुगा पनि परिवर्तन गरिने गर्दछ । लुगाहरुले मिठा अनि नमिठा सम्झनाहरु बोकेका हुन्छन्, कतिपय अवस्थामा बुवाको वासना अझ पनि यी लुगामा जोडिएका छन् जस्तो लाग्छ । यो कला बनाउनु मेरो लागि चुनौतीपूर्ण पनि थियो, तर धेरै दर्शकहरुले काम मन पराइदिनुभएकोमा खुशी पनि लागेको छ,’ कलाकार सिलवाल आफ्नो कामको बारेमा अझ थप्दछिन् ।

मूलतः नेपाली कला जगतमा पेपरकटको माध्यमबाट निकै कम प्रदर्शनीहरु भएकाले पनि नयाँ पुस्ताका कलाकारहरु जो क्यानभासबाट बाहिर निस्किएर थप सिर्जनशील कलाहरु बनाउन रुचाउँछन्, उनीहरुका लागि यो प्रदर्शनी एक कोशेढुङ्गा सावित हुनेमा दुइमत छैन ।

प्रतिक्रिया दिनुहोस्