विगतभन्दा फरक राष्ट्रिय ललितकला प्रदर्शनी

सुनिल राज ढकाल
सुनिल राज ढकाल २५ जेष्ठ २०८०, बिहीबार ०६:००
8 Min Read
Aa

प्रत्येक वर्ष नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले राष्ट्र व्यापी रुपमा कला प्रदर्शनी गर्ने गरेको छ । त्यही परिप्रेक्ष्यलाइ नै निरन्तरता दिने क्रममा यो वर्ष पनि कला प्रदर्शनी जोडदार रुपमा शुरु भइरहेको छ । सातै वटा प्रदेशबाट नै कलाकृतिहरु आउने र सबैलाई समेट्नु कम चुनौतिपूर्ण कार्य भने होइन । कला कृतिहरु पनि विभिन्न माध्यमबाट बनेको र ती सबैलाई मिलाएर राख्न सक्नु र सबैको गालि नखाई प्रदर्शनीमा राख्नुका साथै सबैलाई चित्त बुझाएर लैजान कठिन नै हुने गर्दछ ।

समसामयिक कला, हस्तकला, लोक कला, प्रतिस्थापन कला, थान्का तथा पौभा कला देखि विभिन्न किसिमका ६९५ कलाकृति राखिएको छ । जसअन्तर्गत आधुनिक चित्रकला विधामा २३४ जना कलाकारका २६९ कलाकृति, परम्परागत चित्रकला विधामा १३० जना कलाकारका १३६ कलाकृति, आधुनिक मूर्तिकला विधामा ४२ जना कलाकारका ४६ कलाकृति, परम्परागत मूर्तिकला विधामा ३१ जना कलाकारका ३९ कलाकृति, हस्तकला विधामा ६३ जना कलाकारका ८५ कलाकृति, लोककला विधामा ४२ जना कलाकारका ४७ कलाकृति,  वास्तु तथा अन्य सिर्जनात्मक कला अन्तर्गत फोटोग्राफी विधामा १६ जना कलाकार २१ कलाकृति, प्रतिस्थापन कला विधामा १२ जना कलाकारका १२ कलाकृति, कार्टुन विधामा १७ जना कलाकारका १७ कलाकृति, भावभङ्गी विधामा १२ जना कलाकारका १२ कलाकृति,क्यारिकेचर विधामा ४ जना कलाकारका ४ कलाकृति र डिजिटल विधामा ६ जना कलाकारका ७ कलाकृति रहेका राखिएको छ ।

वि.सं. २०८० को जेष्ठ १५ देखि ३० गते सम्म चल्ने यस प्रदर्शनीमा लोककला तथा परम्परागत चित्रकला विधाका कलाकृति नेपाल कला परिषद्,बबरमहल तथा आधुनिक चित्रकला, वास्तु तथा अन्य सिर्जनात्मक कला, हस्तकला, परम्परागत मूर्तिकला, आधुनिक मूर्तिकला विधाका कलाकृतिहरु नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालमा राखिएको छ ।

पहिले पहिलेका प्रदर्शनीहरुमा समावेश भएका कलाकृतिहरुको छानिने तौरतरिकामा निर्णायक मण्डलको नामहरु बाहिर टाँसिएका हुँदैनथे भने यसपटक भने विधा अनुसारको निर्णायक मण्डललाई पनि सार्वजनिक गरिएको छ ।

पुरस्कृत हुने कलाकारहरुमा प्रस्थर अन्तर्गत जेरोम महर्जन रहेका छन् । उनले ढुङ्गाको प्रयोग गरी अमिताभ बुद्धको मूर्ति बनाएका छन् । झट्ट हेर्दा काठको जस्तो लाग्ने उनको कलामा अमिताभ बुद्धको आकृतिलाई विचमा राखि वरिपरि ढोकाजस्तो स्वरुप दिई मन्दिर जस्तो गरी बनाइएको छ । खोकना, ललितपुरमा जन्मेका महर्जन आफु १० वर्षको हुँदा देखि नै बुबासँग काम सिकेको बताउँछन् ।

समसामयिक चित्रकला विधामा  राष्ट्रिय ललितकला पुरस्कार पाउन सफल डान्स अफ कन्ट्र्याडिक्सन शिर्षकको उद्धव राज रिमालको काम पनि प्रदर्शनीको अर्को आकर्षण हो । नृत्य गर्दै गरेको भावभङ्गिमा सहितको ३ वटा सेट भएको यो चित्रकलाले वर्तमान समयको उत्सवलाई जनाएको कलाकार बताउँछन् । त्यस्तै समसामयिक चित्रकला विधामा ललितकला विशेष पुरस्कार भने रिता मानन्धर, टीशा श्रेष्ठ र रोशन प्रधानले प्राप्तगरेका छन् ।

विनय रिमाल अर्का प्रतिभाशाली कलाकारको रुपमा यस पटक राष्ट्रिय ललितकला प्रदर्शनीमा सम्मानित कलाकार हुन् । वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधामा उनले राष्ट्रिय ललितकला पुरस्कार प्राप्त गरेका हुन् ।  मिक्स्ड मिडियाको प्रयोग गरिएको उनको कलामा बढ्दो बेथितिले देशका युवाहरु विदेश पलायन हुँदै गरेको अनि गाउँका घरहरुको रखवाली ताल्चाले गरिरहेको वर्तमान परिप्रेक्षलाई ढुङ्गाहरु अनि ताल्चाले देखाएका छन् । हालको समाजलाई नमिठो व्यङ्ग्य गरिरहेको यो प्रतिस्थापन कला पनि निकै आकर्षक देखिएको छ ।

परम्परागत चित्रकला विधामा राष्ट्रिय ललितकला पुरस्कार राज प्रकाशमान तुलाधरले प्राप्त गरेका छन् । यस विधा अन्तर्गत विशेष पुरस्कार प्राप्त गर्ने रवीन्द्र महर्जन र तारामान भोम्जन हुन् । कलाकार तारा मान भोम्जनले बनाएको ‘सातौँ कर्मापा’ शिर्षकको कलाले पनि धेरै दर्शकहरुको ध्यान तनिरहेको देख्न सकिन्छ । तिब्बती भूभागको जस्तो पाश्र्व दृश्यमा सजिएको यस चित्रमा गुरु कर्मापाले धर्म देशना गरिहेको देख्न सकिन्छ ।

हस्तकला विधामा राष्ट्रिय ललितकला पुरस्कार ज्ञानीराज बज्राचार्यले प्राप्त गरेका छन् । ललितकला प्रादेशिक पुरस्कार भने कोशी प्रदेशबाट सुमन राई, मधेश प्रदेशबाट श्वेता साह, बागमती प्रदेशबाट वाङ्छु मोक्तान (आरके), गण्डकी प्रदेशबाट विश्वम्भर बस्नेत, लुम्बिनी प्रदेशबाट रम्बा चौधरी, कर्णाली प्रदेशबाट सोनम लामा तथा सुदूरपश्चिम प्रदेशबाट चक्रबहादुर थापाले प्राप्त गरेका छन् । विश्वम्भरको काम भने तारबाट बनाइएको पूर्ण कदको फिगर छ । प्रदर्शनीमा उक्त कलाले छुट्टै आकर्षण प्रदान गरेको छ । सोनम लामाले भने इन्सेन्स बक्स शिर्षक दिइएको कलामा दराज जसरी निकाल्न मिल्ने अनि धुप राख्न मिल्ने खालको बक्सलाई राखेकी छन् । यसमा कुँदिएका बुट्टाहरु निकै मिहिन देखिएको छ भने उनले थाङ्गका चित्रहरु पनि कोर्ने गरेको र हस्तकला तथा थाङ्ग्का चित्रहरुलाई सरकारले पनि उचित मूल्याङ्कन गर्नु पर्नेमा उनको जोड रहेको छ ।

कलाकार रविन्द्र श्रेष्ठ फरक डुङ्गको कलात्मक अभिव्यक्तिका कारण जहिले पनि चर्चामा आइनै रहेका हुन्छन् । यस पटक भने उनले नदिमा तारिदिने डुङ्गालाई नै डुङ्गा चिया घर शिर्षक दिइ प्रदर्शनीमा राखेका छन् । ‘कलालाई क्यानभासमा मात्र सिमित नगरि भावना आदान प्रदानको माध्यम बनाउन सक्नु पनि कला हो, त्यसैले मैले यो पटक औँठा छाप अनि डुङ्गालाई कलाका रुपमा ल्याएको छु,’ कलाकार बताउँछन् ।

दल बहादुर राइ (डि.बि.राइ) ले बनाएको आदिवासी आमा र प्रकृती शिर्षकको काम पनि धेरै दर्शकले रुचाएको काममा परेको छ । पाश्र्वमा ढुङ्गा जस्ता आकृति देखिने उनको कलामा एक वृद्ध महिला को अनुहारको चाउरीलाई पनि ढुङ्गे आकृतिले कोरिएको छ ।

त्यसै गरि अर्का कलाकार कृष्ण गोपाल श्रेष्ठले बनाएको नेपाली कलामा आर्किटाइप शिर्षकको कला पनि उत्कृष्ट देखिएको छ । विशेषगरि संस्कृतिलाइ नै मूख्य विम्व बनाइ कला प्रस्तुत गर्ने यी कलाकारले यस पटक भने धार्मिक सम्पदा तथा ग्रन्थहरुमा लेखिने लिपिलाई आप्mनो कलामा समावेश गरेका छन् ।

म, मेरो देश र मेरो सिर्जना गरि तीन भागमा विभक्त गरि गरिएको यस प्रदर्शनीको क्युरेसन भने कलाकार तथा मूर्तिकार प्रदिप शाक्यले गरेका हुन् । राष्ट्रिय भावनाले ओतप्रोत हुँदै कलाकृतिमा रमाउने चाँजो मिलाएका शाक्यले यस पटकको प्रदर्शनीलाई अझ थप रचनात्मक बनाउँदै आगामि दिनमा समेत अझ टेवा पुग्ने विश्वास लिएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले भने यस पटक पुरस्कार विजेता सबै कलाकारहरुलाई वर्ष भरि नै कुनै न कुनै रुपमा एकेडेमीसँग जोडिदै कलाकारहरुको कलालाई अझ प्रवद्र्धन गर्ने बताउनुभयो ।

यस राष्ट्रिय कला प्रदर्शनीलाई अझ परिस्कृत र विवाद रहित बनाउनकोलागि केही विषयहरुमा ध्यान दिनुपर्ने कलाकार तथा कला पारखीहरुले सुझाव दिएका छन् ।

  • धेरै कलाकृतिहरुलाई एकै स्थानमा राखिएको र एक चित्र र अर्काे चित्रबिचमा दुरी कम भएकाले हेर्नलाई कठिन भएको ।
  • नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको ठूलो हलमा चित्रहरु साँघुरो गरि राखिएको र धेरै दर्शक एकै चोटि पुग्दा चित्र कोरिने सम्भावना रहेको । उद्घाटनको दिन कतिपय दर्शकहरुले बोकेका झोलाले चित्रमा असर पारिरहेको थियो ।
  • प्रदर्शनीको लागि पठाइएका चित्रहरु कुनै कुनैमा राम्रो सँग जतन गर्न नसक्दा विग्रन सक्ने भएकाले यसतर्पm ध्यान दिइनु पर्ने । यसमा ‘नाफा’ले सँधै कलाकारहरुलाई मात्र दोस दिने प्रवृत्तिको अन्त्य हुनुपर्ने ।
  • प्रदर्शनीमा पुरस्कृत नहुनु पर्ने चित्रहरु पनि पुरस्कृत भएको गुनासो । पुरस्कृत चित्रहरुभन्दा सँगै रहेका चित्रहरु बढी आकर्षक, सुन्दर देखिएको ।
  • पुरस्कृत कलाहरुको विवाद अन्त्य गर्नको लागि विदेशी निर्णायक मण्डललाई नियुक्ति गर्ने हो भने छनौटमा तथा पुरस्कृत कृतिमा विवाद कम हुन्थ्यो कि ।

पहिले पहिलेका ललितकला प्रदर्शनीमा पनि विवाद नभएका भने होइनन् । यस पटकको प्रदर्शनी पनि विवाद रहित भने हुन सकेन । तर पनि नयाँ तरिकाबाट अगाडि बढेकोका भने धेरैको एक मत देखियो । विगतमा पुरस्कृत भएका चित्रकलाहरुमा पनि विवाद आउने नगरेका भने होइनन् । त्यसको निरन्रता अहिले पनि देखियो । यस्ता विषयहरुलाई समाधान गर्न ललितकला प्रज्ञा प्रतिष्ठान आगामी दिनमा चनाखो हुनु पर्ने देखिन्छ । त्यसलाई स्वतन्त्र र निष्पक्ष ढङ्गबाट अगाडि बढाउन सक्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array