सिद्धार्थमा पर्खाइको पिडा

सुनिल पौडेल
सुनिल पौडेल १७ असार २०८०, आईतवार १५:२४
10 Min Read
Aa

कलाकार रीति महर्जन कलाको क्षेत्रमा आफुलाई नवउदित कलाकारको रुपमा आफुलाई परिचित बनाउँदै लगिरहेकी छन् । समाजमा दिनानुदिन घटित भइरहने घटनाहरुलाई एक कलाकारको आँखाले नियाल्दै उनी विभिन्न किसिमका कलाहरु सिर्जना गर्न तल्लिन भइरहेकी हुन्छिन् । उनले यस पटक भने नेपालीहरु जो मनभरि सपना अनि आँखा भरि आँशु लिइ विदेशी भूमिमा आफ्नो श्रम अनि पसिना बेचिरहेका छन् अनि उनीहरुको परिवारको पर्खाई अनि एक्लोपनलाई क्यानभासमा उतारेकी छन् । उनका कलाहरु सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा अवलोकन गर्न सकिन्छ ।

 

सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा भइरहेको ‘पर्खाइ’ शीर्षकको कला प्रदर्शनी                                                    Photo: Pradip Subedi/Khojpatra

ललितपुर जिल्लाको पाटनमा जन्मिएकी कलाकार महर्जनले ललितकला क्याम्पसबाट प्रविणताप्रमाणपत्र तह र स्नातक तहको अध्ययन सकिएपछि वि.संं २०७३ अर्थात् सन् २०१६ मा चीनको नान्जिङ युनिभर्सिटी अफ आर्टस्बाट चित्रकलामा एमएफए गर्न नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानबाट प्रतिष्ठित द्विपक्षीय चिनियाँ सरकारको छात्रवृत्ति प्राप्त गरिन् ।

उनी विदेश जानु अगाडि उनका दुईवटा एकल चित्रकला प्रदर्शनी सम्पन्न भइसकेका थिए । एउटा प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा भएको थियो भने अर्को सर्वनाममा । उनी दैनिक जीवनको घटनाहरुलाई क्यानभासमा उतार्न मन पराउँछिन् । उनले नेवारी समुदायका विषयहरुलाई चित्रमार्फत उतारी प्रर्दशनी गरेको बताउँछिन् । उनी चाइनाबाट फर्किए पछिको पहिलो एकल चित्रकला प्रदर्शनी ‘पर्खाइ’ शीर्षकमा सिद्धार्थ आर्ट ग्यालरीमा भइरहको छ । ‘द हिमालयन लाइट स्कलरसिप अवार्ड’ अन्तर्गत गरिएका कामहरुलाई ग्यालरीको भित्तामा बढो कलात्मक ढङ्गबाट प्रदर्शित गरिएको छ ।

‘द हिमालयन लाइट स्कलरसिप अवार्ड’ चिनियाँ कलाकार झाओ जियान्कीको सहयोगमा स्थापित अवार्ड हो । कला तथा सिर्जनालाई प्रवद्र्धन गर्न नेपालमा युवा पुस्ताका कलाकारहरुलाई प्रोत्साहन मिलोस् र उनीहरुको गुणस्तरमा निखारता ल्याउन मदत गरोस् भन्ने उदेश्यका साथ स्थापित भएको हो । सन् २०१९ मा यस अवार्ड पृथ्वी श्रेष्ठ र मन गुरुङले प्राप्त गरेका थिए । सन् २०२० मा लभकान्त चौधरीले प्राप्त गरेका थिए भने सन् २०२१ मा जदशीस मोक्तान र प्रियन्का सिंह महर्जनले पाएका थिए । सुवास तामाङ र सरेश बस्नेतले पनि यस अवार्ड पाइसकेका छन् ।

सन् २०२३ को अवार्ड प्राप्त गर्ने कलाकार रीति महर्जनका कलाले वैदेशिक रोजगारीमा जाने जथ्था, त्यसले परिवारमा पारिरहेको प्रभाव र सांस्कृतिक मूल्य मान्यतामा आधुनिकताबादको प्रभावलाई देखाउन खोजेकी छिन् ।

सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा भइरहेको ‘पर्खाइ’ शीर्षकको कला प्रदर्शनी                                                    Photo: Pradip Subedi/Khojpatra

घर रित्तो छ, ढोकामा लेखिएका चित्रहरु धमिलो हुँदै गइरहेका छन् । घरको भित्तामा कोरिएका चित्रहरुमा माकुराको जालो लाग्न थालेको छ । गाउँमा धेरै मानिसहरुको चहल पहल आजकल छैन । प्राय युवा पुस्ता कि त शहरमा छन् कि त विदेशमा । त्यसको असरले संस्कृति मासिँदै छ, कला हराउँदैछ, हाम्रा मौलिक पहिचानहरु लोप हुने अवस्थामा पुगिसकेका छन् । यो परिदृष्य नेपालको लमजुङ र तनहुँ जिल्लाका केही बस्तीहरुका घटना हुन् । जसलाई कलाकार रीति महर्जनले जीवन्त रुपमा उतार्ने प्रयास गरेकी छिन् ।

लमजुङ र तनहुँ जिल्लाको आफ्नै ऐतिहासिक पृष्ठभूमि छ । त्यहाँका पूराना घरहरुमा विभिन्न किसिमका आकृति बनाइएका भित्ताहरु तथा भुइँहरु देख्न सकिन्छ । जसको महत्वको विषयमा अझै अध्ययन अनुसन्धान गर्न जरुरी देखिन्छ । त्यस्तै चित्रहरु जसमा कतै मण्डल छन् त कतै व्रह्मा त कतै विष्णु । झ्वाट्ट हेर्दा तपाइहरुले मिथिला चित्रकला देख्नु भएको छ भने त्यसको झल्को पनि दिन्छ तर यो मिथिला चित्रकला भने होइन ।

रीति भन्छिन्–‘मेरो बुझाइमा मेरा सिर्जनाहरु अनुभवकै उपज हुनेरहेछन् । मैले भोगेको वा देखेको वा सुनेको विषयहरुलाई चित्रमा जानेर वा नजानेर कतै न कतै त्यस्तो पक्ष आउने गर्दछ ।’ कलाकारका अनुसार चीनमा पढ्दा बैदेशिक रोजगारीको विषयमा केही चित्रहरु बनेका थिए । नेपाल फर्किएपछिको यहाँको अवस्था र परिस्थिति फरक भए पनि त्यो वैदेशिक रोजगारीले हाम्रो कला, संस्कृतिक र एउटा सिंगो सभ्यता उजाडिएको विषयले गहन बन्यो । जुन मैले लमजुङ्गका घरहरु डुल्दा अनुभव गरें ।’

सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा भइरहेको ‘पर्खाइ’ शीर्षकको कला प्रदर्शनी                                                    Photo: Pradip Subedi/Khojpatra

रीति ललितकला क्याम्पसमा अहिले एनाटोमी पढाउँछिन् । तर उनका कलाकारितामा जति पनि मानिसका आकृतिहरु छन् कुनै पनि मिलेका छैनन् । ‘किन त्यस्तो बनाएको हेर्दा नै कस्तो अप्ठ्रोलो लाग्ने?’ उनको जवाफ थियो –‘यो जानी जानी मैले विगारेको हो नि, तपाइले चित्र हेर्दा जति अप्ठ्यरो पाउनु भयो नि, त्यो परिस्थितिले मलाई पनि अप्ठ्यारो पारेको छ । त्यही झल्को दिन यो चित्र बनाएकी हुँ ।’

विदेशीएको आफन्तको पर्खाइमा बसिरहेको शरीर जीर्ण भइसकेका आमाबुबाको अवस्थालाई नियालेर तयार पारिएको छ अधिकांश चित्रहरु त्यसमा युवा पुस्ता नहुँदा लोप हुँदै गएको  संस्कृतिलाई देखाइएको छ । एक जना महिला घरको दैलोमा आफ्नालाई पर्खिरहेकी छिन् । उनलाई घर छोड्न मन छैन । घर कुर्नुपर्ने बाध्यता छ । दैलोबाट बाहिर निस्कन सकिरहेकी छैनन् । आफ्नाको पर्खाइमा उनको जीवन सकिन लागिसकेको जीउँदो दस्तावेजको रुपमा एक चित्र प्रस्तुत गरेकी छिन् कलाकारले ।

अर्को एक चित्रमा परिवार विदेशमा छ तर उनका साना बच्चाहरु देशमा छन् । विदेशमा श्रम गर्न गएका आमाबुबासँग मोवाइलमा उनिहरुको फोटो मात्र छ । त्यो पनि विस्तारै पग्लँदै छ र मष्तिष्कबाट हराउँदै छ सन्देश दिन्छ ।

केही चित्रहरुमा मण्डल बनाइएको जस्तो देखिन्छ । तर कलाकार भन्छिन्– ‘मैले गाउँमा जस्तो संस्कृति देखें र त्यो जसरी लोप हुँदैछ भन्ने लाग्यो । मैले मेरो चित्र मार्फत त्यसलाई जस्ताको तस्तै उतार्ने प्रयास गरेकी हुँ । यसमा मैले रङ्गमा मात्र प्रयोग गरेको छु ।’

सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा भइरहेको ‘पर्खाइ’ शीर्षकको कला प्रदर्शनी                                                    Photo: Pradip Subedi/Khojpatra

गाउँको सभ्यताले खान दिएन, सुविधा दिएन, उनिहरुको आवश्यकता पूरा भएन । त्यसैले मानिसहरु बैदेशिक रोजगारीको लागि तछाडमछाड गर्दै पासपोर्ट बनाउँछन्, भिषा लगाउँछन् र खाडी मुलुकमा सुन फल्ने लोभमा जान्छन् । तर कतिपय मानिसहरु उतै पलायन हुन्छन् त कतिपय बाकसमा प्याक भएर फर्किन्छन् । यी परिपदृष्यलाई चित्रकलामा कलाकार रीतिले उतारेकी छिन् ।

घर तथा त्यहाँ भएको प्रत्येक चित्रहरुले त्यहाँको सम्झनाहरुले कुरिरहेको हुनसक्छ । त्यो कला पुस्तान्तरण छैन, विस्तारै लोप हुँदैछ । गाउँबाट मानिसहरु सहर आउँदैछन् । अब ती प्याटर्नहरु टायलमा भएका बुट्टाले विस्तारै रिप्लेस गर्दैछन् ।

विदेश जानेहरु पहेंलो रङ्ग भएतिर गइरहेको चित्रमा देख्न पाइन्छ । जसले सुन खोज्न वा सम्पत्तिका लागि भन्ने इंगित गर्दछ । जुन आकर्षणको केन्द्र पनि हो । जसलाई मरुभूमि पनि मान्न सकिन्छ । एउटा चित्रमा धेरै हातहरु झ्याबाट भित्र देखाइएको छ । तल पट्टि एउटा कागजको हरियो प्लेन बनाइएको छ जसलाई पासपोर्टको सिम्बोल मान्न सकिन्छ भने त्यो हरियो प्लेनसँग पहेंलो रङ्गको तार जोडिएको छ ।

सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा भइरहेको ‘पर्खाइ’ शीर्षकको कला प्रदर्शनी                                                    Photo: Pradip Subedi/Khojpatra

कतिपय प्याटर्नहरु नेपाली ढाका जस्तो देखिन्छन् । तर ती हिन्दुहरुले मनाउने एक पर्व जसलाई हरिशयनी एकादशी देखि हरिबोधनी एकादशीसम्मको समयावधिमा घरमा बनाइने चित्रहरुको विषयलाई राखिएको छ । तुलसीको विवाह गर्ने अवस्थासम्मको लागि घर र तुलसीको मोठ सिंगारिने परम्परालाई देखाइएको छ ।

गाउँमा भएका रङ्गहरु पहिला पहिला प्राकृतिक रङ्ग बनाएर प्रयोग गरिन्थ्यो होला तर अहिले ती रङ्गहरु इनामेलले प्रतिस्थापित गरिसकेको छ। अझ त्यो रङ्ग बनाउन सक्ने मानिस पनि छैन, त्यो प्याटर्न बनाउने मानिस पनि छैन र त्यो किन बनाइन्थ्यो भन्ने स्पष्ट अध्ययन पनि पाइँदैन ।

बेलुकाको समयमा आफ्ना छोरासँग कुरा गर्न पाइन्छ, त्यो समय कति भावुक हुन्छ, त्यो समयलाई कैद गरिएको चित्र प्रदर्शनीमा देख्न सकिन्छ । एक्लो महिलाको पर्खाइलाई चित्रमा देखाइएको छ । प्रर्दशनी २०८० सालको असार २० गतेसम्म चल्नेछ ।

सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा भइरहेको ‘पर्खाइ’ शीर्षकको कला प्रदर्शनी                                                    Photo: Pradip Subedi/Khojpatra

प्रतिक्रिया दिनुहोस्

Array