माउन्टेन म्युजिमएममा नेपाली कलाकारका चित्र

सुनिल पौडेल
सुनिल पौडेल ३० असार २०८०, शनिबार ०६:००
11 Min Read
Aa

काठमाडौंँ आर्ट हाउसको एउटा कोठा भरिभराउ थियो । जुन कलाकार रोशन डंगोलको ग्यालरी/स्टुडियो हो । त्यहाँ नेपालका अग्रज तथा युवा कलाकारहरू उपस्थित थिए । अगाडिपट्टि एउटा ठूलो क्यानभासमा एक युवाले क्यामरा चलाइरहेको जस्तो लाग्ने श्यामश्वेत दृश्य थियो । जुन तस्विर हेन्स एर्टलको थियो र त्यसलाई चित्रको रुपमा तयार पार्ने कलाकार रोशन डंगोल थिए । कलापारखीहरू कुर्सीमा बसेर कसैको प्रतीक्षा गर्दै थिए । त्यतिकैमा सेतो दाह्री, सेतो कपाल अलि पाको उमेरका एकजना व्यक्ति र उनकी पत्नी भित्र आइपुगे । उनी थिए पर्वतारोही रेनहोल्ड मेसनर र उनकी श्रीमती डियान सुमाकर ।

सन् २०२१ को डिसेम्बर महिनामा ७७ वर्षको उमेरमा रेनहोल्ड नेपाल आएका थिए । उनी वर्षेनि जस्तो नेपाल आउने गर्दछन् । त्यतिबेला काठमाडौंँ गेष्ट हाउसभित्रको एक भवनलाई काठमाडौंँ आर्ट हाउसको नाम दिइसकिएको थियो जुन भवनमा रहेका प्रत्येक कोठाको ढोकामा कलाकारहरूका नाम लेखिएका थिए । कलाकारहरूले उक्त स्थानलाई ग्यालरीसँगै काम गर्ने थलोको रूपमा विकास गरुन् भन्ने उदेश्य राखिएको थियो । कलाकारहरूले उक्त कोठा उपभोग गरेबापत दस्तुर भने तिर्नुपर्ने थियो ।

मेसनरलाई हेन्सले क्यामरा चलाइरहेको चित्रकला हस्तान्तरण गर्ने उक्त कार्यक्रममा म्युजिएम अफ नेपाली आर्टका संस्थापक राजन शाक्यले  मेसनरको नेपालप्रतिको सम्बन्ध र उनको कलाप्रतिको दृष्टिकोणलाई सरलीकृत गर्दै रेनहोल्डलाई मन्तव्य राख्न अगाडि बोलाए । कार्यक्रम सकिएपछि मेसनर र उनकी पत्नी आर्ट हाउसमा रहेको ग्यालरी भ्रमण गर्न थाले । त्यही क्रममा कलाकार आशा डङ्गोलको एउटा चित्र रेनहोल्डले मन पराए र किने ।

कलाकार रोशन डंगोलले तयार पारेको हेन्स एर्टलको चित्र

रेनहोल्ड हातमा पाँचवटा तस्बिर लिएर हिँडिरहेका थिए । उनकी पत्नी पनि सँगै थिइन् । आशाको स्टुडियोमा पुगेपछि त्यो पाँचवटा तस्बिरमध्ये एउटा छान्न लगाए र त्यसको पेन्टिङ बनाइदिन अनुरोध गरे । आशाले त्यसलाई सहर्ष स्वीकार गरे । उनलाई त्यो कुन प्रयोजनको लागि किन बनाउन दिएको भन्ने त्यतिबेलासम्म थाहा थिएन । उक्त चित्र बनाइसक्नुपर्ने समय करिव एक हप्ताको थियो । पछि मात्र उनले थाहा पाए, आफूले बनाएको चित्र त इटालीमा रहेको मेसनर माउन्टेन म्युजियममा रहने रहेछ । आशाले बनाएको चित्र गिलगिट पाकिस्तानमा रहेको काराकोरम श्रृंखलाको पश्चिमी मोहडा हो । इटालियन आरोहण दलका वाल्टर बोनाट्टी र कार्लो माउरीद्वारा सन् १९५९ मा पहिलो पटक उक्त हिमाल आरोहण भएको थियो ।

आशा सम्झिन्छन् –‘मैले बनाएको चित्र जसमा सूर्य उदाउँदा हिमालमा परेको सूर्यको किरण र त्यसको फेदमा देखिएको छायाँजस्तो लाग्ने निलो देखिएको भागमा मैले मिहिनेत गरेको हो । अर्को वास्तविकता भनेको जुन माथिको बादल छ त्यसमा झन बढी मिहिनेत गर्नुपरेको थियो । यस्तो खालको काम मैले पहिले गरेको थिइन । यो पहिलो थियो ।’ यस काम अहिले इटालीको मेसनर माउन्टेन म्युजिएममा रहेको जानकारी पाउँदा उनि एकदमै खुसी रहेको बताउँछन् ।

आशा डङ्गोल र एरिना ताम्राकारको स्टुडियो एउटै हो । रेनहोल्डले एरिनालाई  एउटा तस्विर दिँदै त्यसको चित्र कोरिदिन अनुरोध गरे । त्यो फोटो माशरब्रुम हिमालको थियो । माशरब्रुम हिमाल गिलगिट– बलुचिस्तान, पाकिस्तानको काराकोरम हिम शृङ्ंखलाको थियो जुन हिमालको आरोहण सन् १९६० मा पहिलो पटक जर्ज इरभिङ बेल र विली अनसोल्डले गरेका थिए ।

एरिना सामान्यतया महिलाहरूको कथा व्यथामा केन्द्रित रहेर चित्र बनाउने गर्दछिन् । हिमालसँग महिलालाई जोडेर पनि चित्र कोरेको अनुभव एरिनाको छ । उनले हिमालीहरूको कथा–व्यथालाई क्यानभासमा पोख्ने प्रयास गरेकी छिन् । त्यसै अनुभूतिलाई आत्मसाथ गर्न सक्ने कुशल कलाकार भएको कारण नै होला सायद रेनहोल्ड र उनकी पत्नीले एरिनालाई ‘चुचुराहरूकी रानी’ को नामले परिचित माशरब्रुमको चित्र कोरिदन भने ।

जसरी दक्षिण एसियामा तिब्बती बौद्ध देवी मियोलाङ्साङ्माको घर मानिने चोमोलुङ्गमा(सगरमाथा) लगायत अधिकांश त्यस्ता हिमालहरूलाई देवीको रूपमा पनि पुजा गरिन्छ ।

हिमाल प्रकृतिको अनुपम उपहार हो । यसले मानव सभ्यतालाई सन्तुलनमा राख्न समेत मदत गर्दछ, जीव जगत हिमालबाटै सञ्चालित हुन्छ भन्ने मान्यता पनि कतिपय दर्शनहरुमा पाइन्छ । कलाकार एरिना ताम्राकारले यस हिमाल बनाउँदा एउटा महिलाको आकृतिलाई हिमालसँगै मिलाएर राखेकी छिन् । जुन महिला त्यस हिमालयको काखमा विलिन छिन् । उनले उक्त हिमालमा बनाएको महिलाको चित्र प्राय उनले बनाउने तेश्रो नेत्रको महिला जस्तै देखिन्छ । जुन सबैले रातो पृष्ठभूमिमा देखिरहेका थिए भने यहाँ हिमाललाई पृष्ठभूमिमा देखाइएको छ । यस हिमालले नारीको चित्रण गर्दछ जुन एरिनाको ट्रेडमार्क पनि हो ।

अर्का कलाकार रोशन डङ्गोलले हिमाल मात्र बनाएनन्, पाँचवटा चित्रहरू रेनहोल्डको आग्रहमा बनाए । ती चित्रहरू सहित अर्को एक चित्र पनि अहिले मेसनर माउन्टेन म्युजियममा रहेको रोशनले बताए ।

एकजना हान्स एर्टल नामका एक जर्मन पर्वतारोही तथा सिनेमेट्रोग्राफर थिए । रोशनले उनको एक तस्बिर बनाउने मौका पाए, जहाँ एउटा मानिसले क्यामरा समाइरहेको छ । उक्त चित्र बनाउँदाको अनुभवमा रोशन भन्छन् –‘त्यो क्यामराको विस्तृत अध्ययन गर्न धेरै कठिन भएको थियो किनकी फोटोमा त्यो सबै डिटेल देखिँदैन थियो । चित्र बनाउँदा त सबै हुबहु उतार्नुपर्ने हुन्छ । त्यसमा मैले बढी मिहिनेत गरेंँ ।’

उनले हिमालको पनि एउटा चित्र बनाए जुन अस्ट्रियामा रहेको माउस्कपिट्ज थियो । उनले त्यसमा काम गर्दा खुबै आनन्द लिए । त्यसो त कलाको संरक्षण इटाली र फ्रान्समा बढी भएको मानिन्छ । त्यसमा पनि इटालीका एक व्यक्ति जो आफँैंमा एउटा मूर्धन्य व्यक्तित्व हुन्, त्यहाँबाट आएर नेपाली कलाकारहरूलाई चित्र बनाउने काम दिनु ठूलो गौरवको विषय हो भन्छन् रोशन डङ्गोल ।

यथार्थवादी चित्र बनाउन रमाउने मनिश धोजुँ, आफ्नो कलमले प्रायः ‘रियालिस्टिक’ चित्रहरू कोरिरहेका हुन्छन् । उनको आर्ट हाउसमा रहेको ग्यालरीमा पनि त्यस्तै चित्रहरू हेर्न पाइन्छ ।

‘मेसनर ग्यालरी हेर्दै आए, म पनि त्यहीं थिएँ । सायद उनलाई मेरो काम राम्रो लाग्यो । त्यसैले मलाई पनि हिमालको चित्र कोरिदिन अनुरोध गरे । म एकदमै डिटेलमा काम गर्ने मान्छे । उहाँलाई छोटो समयमा काम चाहिएको थियो । मलाई त्यस्तो काम गर्न एक महिनाजति लाग्छ । तर मैले दिन रात गरेर धेरैभन्दा धेरै समय त्यही चित्र बनाउन खर्चिएँ र एक हप्तामा बनाइसकेँ ।’ आफ्नो अनुभव सुनाउँछन् मनिष । कुराकानीकै सन्दर्भमा उनी भन्छन्– ‘यो परियोजनाभरि फरकफरक विषयहरूलाई अध्ययन गर्दै, पुनरावलोकन गरेर त्यसमा खेल्दै काम गर्नुपर्ने थियो ।’ उनले गर्ने काम छोटो समयमा सकाउनु उनका लागि पक्कै पनि चुनौती थियो । चुनौतीसँग खेल्न धेरै आनन्द आएको बताउने मनिष काम सकेपछि पाएको सन्तुष्टिको बयान गर्न कठिन भएको बताउँछन् । आफ्नो काम मेसनर माउन्टेट म्युजियममा रहनु गर्वको विषय ठान्ने मनिस भन्छन्– ‘एक आर्किटेक्ट जसले मेसनरको म्युजिएमहरूमध्ये एकको डिजाइन गरेका थिए । म आपूm पनि एक आर्किटेक्चरको विद्यार्थी भएकोले मेरो काम त्यहाँ पुग्नु ठूलो उपलब्धि ठानेको छु ।’ मनिष बताउँछन् ।

अर्का कलाकार विशाल महर्जन ट्याटु आर्टिष्ट हुन् । उनले कहिल्यै हिमाल बनाएका थिएनन् । त्यसमा पनि कसैको अनुरोधमा त्यस्तो काम गरेको उनीसँग अनुभव नै थिएन । तर पनि उनी त्यस दिनलाई सम्झिन्छन्– ‘कलाकारहरूको जमात थियो, त्यो बिचमा म थिएँ । रेनहोल्डले चारजना कलाकारहरूलाई छानेर काम दिइसकेका थिए । उनी पाचाँैं कलाकारको खोजिमा थिए । उनको कमिसन वर्क गर्छु भन्ने कोही थिएन । एकाएक मैले सोचेंँ, मै पनि गर्न सक्छु । त्यसैले भनेंँ– ‘म गर्छु ।’

रेनहोल्ड मलाई बारम्बार भन्दैथिए– ‘तिमी साँच्चै यो काम गर्न सक्छौ ?’

उनले मेरो काम हेरिसकेका थिए । म एउटा ट्याटु आर्टिष्ट त्यसमा पनि हिमाल कहिल्यै नबाएको । मैले कसरी हिमाल बनाउन सक्छु भन्ने रेनहोल्डलाई लागेको थियो । तर विशालले म बनाउन सक्छु भने । उनले बनाउने हिमालको चित्र कस्तो बन्छन् भन्नेमा उनले रेनहोल्डकी श्रीमतीलाई पनि बताएका थिए ।

विभिन्न देशमा जाँदा विभिन्न प्रकारका, विभिन्न सोच एवम् दृष्टिकोण भएका मानिसहरू भेटिन्छन् । यसै गरी, हिमाल आरोहण गर्दा पनि विभिन्न स्वरुप भएका, विभिन्न सोच, दृष्टिकोण तथा सृजनात्मक गुण भएका मानिसहरू भेटिन्छन् । तिनीहरूको प्रतिनिधित्व हुने गरी मुकुण्डोको प्रयोग गरी चित्र बनाउँछु भन्ने सोच विशालमा थियो । यो आइडिया उनले डियान सुमाकरलाई पनि सुनाएका थिए । अन्ततः त्यो आइडियाले काम ग-यो । उनको चित्र पनि त्यस्तै बन्यो ।

रातो ढुङ्गाको चट्टानजस्तो लाग्ने र त्यसमा परेको फुसफुसे हिउँलाई चित्रमा समेटिएको छ । फेदीमा विभिन्न प्रकारका मुकुन्डोहरू राखिएका छन् । त्यसले एउटा भूगोलको मात्र होइन समग्र भूगोलमा रहेको मानिसहरूको प्रतिनिधित्व गर्ने विशाल बताउँछन् । जसरी रेनहोल्ड हिमाल आरोहण गर्ने क्रममा विभिन्न प्रकारका, विभिन्न स्वरुप भएका मानिसहरू भेटे, त्यसको प्रतिनिधित्व पनि हो त्यो मुकुन्डो ।

रेनहोल्ड र डियान सुमाकरले अर्जेन्टिना र चिलीबीचको सिमाना पाटागोनियामा अवस्थित माउन्ड फिट्जरोएको उक्त चित्र बनाइदिन भनेका थिए । जुन माउन्टेन सन् १९५२ मा फ्रान्सेली अल्पाइनिस्ट लियोनेल टेरे र गुइडो म्याग्नोनले पहिलो पटक आरोहण गरेका थिए । यो चुचुरोको आरोहण गर्न सहज भने थिएन । यो एकदमै कठिन चुचुरो हो । यसको आकार र यहाँ चल्ने हावाका कारण त्यहाँ पुग्न धेरै कठिन छ । दक्षिण अमेरिकामा मास्कलाई संस्कृतिको महत्वपूर्ण भाग मानिन्छ । यसले धर्मको पारदर्शी पक्षको कल्पना गर्दछ र शक्ति एवम् सुरक्षा दिन्छ भन्ने विश्वास समेत गरिन्छ । पर्वतारोहण पनि एक उत्कृष्ट चुनौती हो किनभने मेसनर भन्छन्– ‘यो मर्ने कला हो ।’ यो कठिन चुचुरो आरोहण गर्नेहरूलाई ठूलो आध्यात्मिक शक्ति चाहिन्छ, जसलाई कलाकारले ‘मास्क’को माध्यमबाट प्रतिबिम्बित गर्दछ ।

सन् २००६ मा इटालीका पर्वतारोही रेइनोल्ड मेसनले ‘मेसनर माउन्टेन म्युजियम’ उत्तरी इटालीको साउथ टिरोलमा खालेका थिए । यो म्युजियम खोल्नुको उदेश्य त्यहाँ आउने आगन्तुकहरूलाई मानिसको हिमालसँगको जम्काभेट तथा सम्बन्ध लाई देखाउनु थियो । हिमनदी कसरी बन्दछ, पर्वतारोहण तथा चट्टान चढ्नेको इतिहास, हिमाल चढ्को मिथसँगको इतिहास तथा  हिमाली भेगमा बसोबास गर्ने मानिसहरूको इतिहासका बारेमा जानकारी दिने उदेश्यले यो सङ्ग्रहालय खोलिएको थियो । उनले स्थापना गरेका ६ वटा सङ्ग्रहालय छुट्टाछुट्टै ठाउँमा अवस्थित छन् ।

प्रतिक्रिया दिनुहोस्

Array