इतुम्बहाःमा रुविनले किन सहयोग गर्यो ?

सुनिल पौडेल
सुनिल पौडेल २१ श्रावण २०८०, आईतवार ०६:००
14 Min Read
Aa

इतुम्बहाःका समिति तथा समुदायले लामो समयदेखि एउटा म्युजियम बनाउन इच्छा राखेका थिए । त्यसमा इतुम्बहाः भित्रको भवनका केही कोठालाई म्यजिएममा रुपान्तरण गर्ने सोच थियो । छरिएर वा अव्यवस्थित रुपमा भण्डारण गरिएका सामाग्रीहरुलाई अभिलेखिकरण गर्दै व्यवस्थित ढंगबाट प्रदर्शनी कसरी गर्ने भन्ने कसैलाई थाहा थिएन । त्यतिबेला इतुंबहाःको मानिसहरुको भेट लुम्बिनी बुद्धिष्ट विश्वविद्यालयकी शिक्षक स्वस्ति राजभण्डारी कायस्थसँग भयो । ‘हामीलाई त्यतिबेला ढुङ्गा खोज्दा देउता मिलेजस्तो भयो ’ संरक्षण समितिका अध्यक्ष प्रज्ञारत्न शाक्य भन्नुहुन्छ ।

काठमाडौं महानगरका पूर्व प्रमुख विद्यासुन्दर शाक्य, बागमती प्रदेश सभासद् शैलेन्द्रमान बज्राचार्य लगायतले संयुक्त रुपमा म्युजिएमको उद्घाटन गर्नुभएको थियो । उक्त अवसरमा इतम्बहाःको ठूलो आँगनमा मानिसहरु भरिभराउ थिए, बाजागाजासहित, विहानी पुजा सकेर कार्यक्रम उद्घाटन गरिएको थियो । उद्घाटन पश्चात सर्वसाधारणको लागि समेत म्युजिएममा राखिएका मूर्ति, प्राचिन सांस्कृतिका महत्वपूर्ण बस्तुहरुको अवलोकन गर्न खुला गरिएको थियो ।

इतुम्बहाः म्युजिममा राखिएका सामग्रीहरु

कुराकानी विस्तारै अगाडि बढ्दै गए, त्यो भन्दा अगाडि प्रज्ञारत्नले ठूलो दुःख पाइसक्नुभएको थियो । करिब १५/२० वर्ष उहाँले यही विहारलाई कसरी व्यवस्थित गर्ने भनेर दौडधुप गरेको दुःखका कथा पनि सुनाउनुभयो । मन्दिर भत्किने अवस्थामा पुग्दा त्यसलाई आर्किटेक्ट निल्स गुट्सोले जोगाउन मदत गर्नुभएको प्रज्ञारत्न सम्झिनुहुन्छ । ‘करिब दुई महिना जति निल्स निरन्तर यहाँ आउनुहुन्थ्यो र यसको मर्म नमरोस्, यसको पुरातात्विक महत्वमा कुनै पनि समस्या नआओस् भन्ने हिसावले बढो होसियारीपूर्वक यस मन्दिरको मर्मत गर्न कालिगढहरुलाई सुझाउनुहुन्थ्यो’ प्रज्ञा रत्न सम्झिनुहुन्छ । उहाँ पनि त विदेशी नै हुनुहुन्थ्यो । उहाँले पनि यहाँ सहयोग गर्नुभएको नै हो ? विदेशीको सहयोग हुने वित्तिकै यहाँ विरोध गर्नुपर्ने, उहाँ प्रतिप्रश्न गर्नुहुन्छ ।

यसै विषयमा पाटन म्युजियमका सुरेश लाखे भन्नुहुन्छ– ‘सहयोग लिने ठूलो कुरा होइन, पाटनले पनि सुरुवाती दिनमा सहयोग लिएर अगाडि बढेको हो । यहाँका सामग्रीहरु विदेशमा प्रदर्शनीको लागि पठाउने हो भने त्यस विषयमा चाहिँ गम्भिर भएर सोच्नु आवश्यक छ ।’

सम्पदा अभियानकर्मीहरुको विरोधका विषयमा स्वस्ति राज भण्डारी भन्नुहन्छ–‘नेपालले म्युजिएम शब्दलाई भण्डारण मात्र भनेर बुझ्नु हुँदैन । म्युजियम भनेको भण्डारण भन्दा धेरै ठूलो कुरा हो । हामी कहाँ भएका म्युजिएमहरुमा अझै पनि धेरै पुराना विषयवस्तुहरु हामीले अध्ययन गर्न र हेर्न पाउँछौं । जसको उदाहरणको रुपमा पाटन म्युजियम, हनुमानढोका भित्रको म्युजियम, भक्तपुरमा रहेको म्युजियम र छाउनीको म्युजियमलाई बुझ्नु जरुरी छ । त्यो भण्डारण मात्र होइन । हाम्रा सम्पदाहरु बेवास्ता भइरहेका छन्, ती सम्पदाहरुको सूचना पुस्तान्तरण हुन सकिरहेको छैन । विरोध गर्नु एउटा पक्ष होला तर विरोध के का लागि भन्ने अर्के प्रश्न पनि छ । जुन सहयोग रुविनले गरेको छ त्यसमा उहाँहरुको कुनै हस्तक्षेप नै छैन,  सबै काम समुदाय भित्रका व्यक्तिहरु तथा हामी नेपालीहरुकै संलग्नतामा भइरहेको छ ।’

रुविन म्युजिएम अफ आर्टस्का कार्यकारी निर्देशक योरिट भन्नुहुन्छ–‘म्युजियम भनेको जीवन्त संग्रह होइन । पश्चिममा म्युजियमको बुझाइ प्रयोगमा नभएका महत्वपूर्ण सामग्रीहरु जो प्रयोगमा छैनन् त्यसलाई राखिएको भन्ने बुझिन्छ । तर इतुम्बहाःको म्युजियमको व्याख्या पश्चिमाहरुको भन्दा फरक बन्यो । कारण, समुदायको मर्म अनुसार त्यसलाई राखिएको छ । कतिपय टुटेफुटेका सामग्रीहरुलाई जोडेर राखिएको छ । वर्षमा एक दिन मात्र सार्वजनिक रुपमा बाहिर राखिने मुकुटलाई पनि त्यहाँ राखिएको छ । जुन मुकुट बार्षिक रुपमा त्यस स्थानबाट निकाल्ने र फेरी सोही स्थान राख्ने प्रबन्ध मिलाइएको छ । त्यसैले यो जीवन्त छ भन्न सकिन्छ ।’

तपाइहरुसँग चोरी भएर पुगेका सामग्रीहरु अझै पनि छन् फिर्ता गर्नुभएको छैन भन्ने अरोपमा के भन्नुहुन्छ ? भन्ने प्रश्नमा उहाँको जवाफ थियो –‘रुविनले संकलन गरेका कलाकृतिहरु अमेरिकी बजारबाट लिएको हो । ती सामग्रीहरु व्यक्तिसँग हुँदा आम जनमानसले हेर्न नपाउने भएपछि ती सामग्रीहरु म्युजियम अन्तर्गत जनताले हेर्न पाउने व्यवस्था भयो । त्यसपछि सामग्रीहरु देखाइयो । त्यही दौरानमा चोरी भएका सामग्री भन्ने सूचना प्राप्त भयो त्यसै अनुरुप हामीले नेपालको सामाग्रीहरु पनि फिर्ता गर्यौं । त्यस पाठले गर्दा हामीसँग भएका सबै सामग्रीहरुको अध्ययन गर्ने मौका पनि पायौं । हामीसँग भएको सबै सामग्रीहरुको अभिलेख तयार गर्दै छौं । अनुसन्धानकर्ताहरु अध्ययनमा लागिरहनु भएको छ । यदि अनुसन्धान तथा अध्ययनहरुले हामीसँग भएका सामग्रीहरु गैरकानुनी रुपमा विदेशी भूमिमा पुगेको प्रमाणित भएको खण्डमा प्रक्रियागत रुपमा हामीले त्यसलाई सम्बन्धित ठाउँमा फिर्ता दिन्छौं ।’

योरिट थप्नुहुन्छ –‘रुविनले मात्र होइन विश्वमा भएका हरेक म्युजियम तथा ग्यालरीले गैरकानुनी रुपमा एक देशबाट अर्को देशमा पुगेको सामान राखेको अध्ययनहरुले देखाउँछन् भने ती सामग्रीहरु फिर्ता गर्नुपर्छ ।’

विदेशबाट आएका मूर्तिहरु नामका हिसावले मात्र फिर्ता नहुन् ती मूर्ति तथा कलाहरुले विदेशी भूमिमा जसरी एउटा इज्जतको स्थान पाएको थियो त्यस्तै स्थान यहाँ पनि पाउन सकोस् भन्ने चाहना आम जानमानसमा रहेका पाइन्छ ।

इतुंबहाः के हो र यसको महत्व के छ ?

काठमाडौं महानगरपालिकाभित्र १८ वटा प्रमुख महायान बौद्ध महाविहार अवस्थित रहेको तथ्यहरुले देखाउँछन् । ती मध्ये इतुंबहाः ११ औं शताब्दीको मध्यमा कान्तिपुर शहरको मध्यभागमा निर्माण भएको सबैभन्दा पुरानो र सबैभन्दा महत्वपूर्ण तथा प्रसिद्ध महाविहार मानिन्छ । ऐतिहासिक दस्तावेजहरुमा उल्लेख भए अनुसार काठमाडौ उपत्यकामा रहेको विहारहरु मध्ये सम्भवतः सबैभन्दा ठूलो आँगन भएको विहारको रुपमा यसलाई लिने गरिन्छ । संस्कृत भाषामा यसको वास्तविक र पूरा नाम श्री भास्करदेव संस्कारिता केशचन्द्र कृत परवर्त महाविहार हो । यो विहारलाई राजा भाष्करदेवका छोरा केशचन्द्रले निर्माण गरेको मानिन्छ । यस महाविहार भित्र विभिन्न मूर्त र अमूर्त सम्पदाहरु रहेका छन् । पुरातात्विक महत्वले भरिपूर्ण यो महाविहारमा हुने पुजाविधिहरु समेत रहस्यात्मक छन् । जसले यस सम्पदाको महत्वलाई झल्काउँछ । यस विहारमा हुने विशेष पुजाहरु गुँला पर्वको बेलामा देखाइने विभिन्न पुरातात्विक महत्वका सामग्रीहरु आफैंमा विशेष छन् ।

इतुंबहाःको अहिलेको अवस्था के छ ?

इतुम्बहाको क्षेत्र ठूलो छ । मन्दिर भित्र दैनिक रुपमा पुजाआजा हुन्छन् । बार्षिक रुपमा हुने विशेष पुजाको छुट्टै महत्व रहेको छ । यति पुरानो सभ्यता र संस्कृति बोकेको विहार भित्र यति धेरै सामग्रीहरु छन् कि ती सामग्रीहरु व्यवस्थित रुपमा राख्न सकिएको छैन । इतुम्बहाल संरक्षण समाजका अध्यक्ष प्रज्ञा रत्न शाक्य भन्नुहुन्छ– इतुम्बहालमा विभिन्न समयमा हुने पुजा तथा परम्परालाई अगाडि बढाउँदै लगिरहनु भएको व्यक्तिहरुले लिने दिक्षा आफैंमा महत्वपूर्ण छ । तर दिक्षा लिनेहरु तथा धर्मावलम्बीहरुले विभिन्न समयमा मन्दिरमा दान गरेका वस्तुहरुको कुनै अभिलेख छैन, ती दान गरिएका बस्तुहरुको अभिलेख नहुँदा कतिपय वस्तुहरु हराएर गएका पनि हुनसक्छन् । त्यस्तो नहोस् भन्नका लागि समितिको निर्णय अनुसार म्युजियम खोल्ने र त्यस्ता सामग्रीहरुलाई व्यवस्थित ढंगबाट राख्न सकियो भने संरक्षण पनि हुने, अभिलेख पनि रहने र नयाँ पुस्तामा त्यसको महत्व पनि हस्तान्तरण हुने उहाँ बताउनुहुन्छ । म्युजियमको उद्घाटन पनि भव्य रुपमा भएको र त्यस दिन म्युजिमको भ्रमण गर्ने जमात उल्लेख्य रहेको त्यस दिनको उपस्थिति दर्ता पुस्तिकाले देखाउँछ ।

यस विहारमा निलो वर्णको अक्षोभ्य बुद्धको पुजा गरिन्छ । त्यही बुद्ध भगवानलाई चढाइएका सामग्रीहरुको थुप्रो धेरै भएको र कतिपय सामग्रीहरु माटोले समेत पुरिएको अवस्थामा निकालेर सफा गरिएको समतिको अध्यक्ष बताउनुहुन्छ । त्यसलाई सफा गरेर राखिएको छ । अझै धेरै सामानहरु सफा गर्न र त्यसको अभिलेखिकरण गर्न बाँकी छ ।

इतुम्बहाःमा रहेको अक्षोभ्य बुद्ध

नेपालबाट कसरी गैरकानूनी रुपमा मूर्ति तथा अन्य कलाकृति बाहिर पुगे भन्ने विषयमा तथ्यांकहरुले देखाए अनुसार सन् ६० को दशकमा जब नेपाल विदेशीहरुको लागि खुल्ला रह्यो । नेपालमा प्रजातन्त्र आयो । तब यहाँ रहेका विभिन्न पुरातात्विक महत्वका सम्पदाहरुमा चोरी बढ्न थाल्यो । ती चोरिएका मूर्तिहरु नेपालीहरुले नै चोरेर विदेशी भूमिमा पुर्याइएको विभिन्न दस्तावेजहरुले देखाउँछन् । ती चोरी भएर गएका वा गैरकानूनी रुपमा विदेश पुगेका मूर्तिहरु त्यतिबेलाका धनाढ्यहरुले आफ्नो घर तथा कोठा सजाउनका लागि खरिद गरे ।

रुविन म्युजियम नेपालको पुरातात्विक सम्पदामा छिरेर यहाँका बहुमुल्य सामान लान खोजेको हो ? भन्ने  प्रश्नमा  रुविन म्युजिएमका कार्यकारी निर्देशक योरिट व्रिट्सगी भन्नुहुन्छ – ‘हामीले कहिल्यै पनि नेपालबाट मूर्ति चोरेर लगेका छैनौं । हाम्रो उदेश्य यहाँको सम्पदाभित्र रहेका सामग्रीहरुलाई लैजाने पनि होइन । हामी त्यस्ता गैरकानुनी रुपमा विदेशमा पुगेका र कुनै माध्यमबाट हामीसम्म आइपुगेका त्यस्ता सम्पदाहरु भएको प्रमाणित भएको खण्डमा प्रमाण पुर्याएर जहिल्यै फिर्ता गर्न तयार छौं भने नयाँ मूर्तिहरु लैजाने सवाल नै पैदा हुँदैन ।’ कुराकानीको दौरानमा हामीले सोध्यौं – तपाइहरुसँग नेपालको थुप्रै सामाग्रीहरु छन् भनेर अभियन्ताहरुले तस्विरसहित विरोध गरेको छन् नि त्यसमा तपाइको प्रतिक्रिया के छ? उहाँको जवाफ थियो – ‘मैले पहिला पनि भनेको भनें, हामीसँग भएको सामानहरु कहाँबाट कति आएका छन् भन्ने विषयमा हामीले अध्ययन गरिरहेका छौं । त्यो अध्ययन पछि यदि हामीसँग रहेका सामग्रीहरु गैरकानुनी रुपमा पुगेका रहेछन् भन्ने प्रमाण पुगेका खण्डमा त्यो जसको हो उसैलाई हस्तान्तरण गर्न हामीलाई कुनै समस्या छैन ।’

रुविन म्युजियमले इतुम्बहाःमा गरेको सहयोग चाहिँ के हो नि भन्ने प्रश्नमा उहाँको जवाफ थियो – ‘हामीले इतुम्बहाःको मूर्ति फिर्ता गर्ने क्रममा प्रतिवद्धता जनाएका थियौं कि, कुनै न कुनै रुपमा हामी तपाइहरुसँग मिलेर काम गर्न वा तपाइहरुलाई सहयोग गर्न तयार छौं भनेका थियौं, त्यसपछिको यो सहयोगमा समुदायको माग हो, समुदायले गरेको मागलाई हामीले सम्बोधन गरेका हौं । यहाँ जति पनि कामहरु भएका छन् त्यसमा लुम्बिनी बुद्धिष्टि युनिभर्सिटि, इतुम्बहा संरक्षण समिति र समुदायको सहभागिता छ । हामीले प्राविधिक तथा आर्थिक सहयोग मात्र गरेका हौं । हामी जहिले पनि प्राविधिक सहयोग माग भएका खण्डमा सुझाव सल्लाह दिन तयार हुन्छौं ।

इतुम्बहाः म्युजिममा राखिएका सामग्रीहरु

इतुम्बहाः संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यसँग हाम्रो अर्को प्रश्न थियो– तपाइहरुले म्युजियम बनाउन रुविनसँग सहयोग माग्नुको सट्टा नेपालीहरुबाट मागेको भए राम्रो हुन्थ्यो भन्ने गुनासो छ नि? त्यसमा उहाँको जवाफ थियो –‘हामीले पहल नगरेका होइनौं, तर हामीले वीस वर्षदेखि बनाएको योजनामा हामीले मिहिनेत नगरेकोभन्ने होइन तर यहाँ हामीलाई कसैले सहयोग गरेन । त्यही सहयोग नगरेका कारण हामीले विहारमा हुने पुजा अवधिभन्दा बाहेकको समयमा यस विहार बन्द गर्नुपर्ने बाध्यता पनि थियो र छ । अझै पनि कतिपय विदेशीहरुलाई घुमाउन यहाँ ल्याउने टुरिष्ट गाइडहरुले मलाई फोन गर्नुहुन्छ र भन्नुहुन्छ – जहिल्यै विहार बन्द हुन्छ, किन होला ? मेरो जवाफ भने उहि हो । आर्थिक अभाव र समयको अभावले । यहाँ हामीले कर्मचारी राख्न सकेका छैनौं, सुरक्षाको प्रवन्ध गर्न सकेको छैन । यस्ता विषयमा कसैले आएर सहयोग गर्छु भन्छ भने हामी सहयोग लिन तयार पनि छौं । तर रुविनको हकमा हामीले नै उहाँहरुसँग म्युजिएम खोल्ने कुरा राख्यौं । उहाँहरुले हुन्छ हामी कुनै तरिकाले सहयोग गर्छौं भनेर भन्नुभयो । सोही अनुरुप म्युजियम बन्यो । विरोध गर्नेहरुसँग मेरो अनुरोध के छ भने अझै यहाँ धेरै कामहरु गर्न बाँकी छ । त्यसमा सघाउन र आर्थिक सहयोगको लागि पहल गरिदिनुभएमा आभारी हुनेछु ।

रुविनका कार्यकारी अध्यक्षसँग हाम्रो अर्को प्रश्न थियो – रुविनले इतुंबहाःमा सहयोग किन गर्यो ? उहाँको जवाफ थियो– कुनै पनि सम्पदाहरु संरक्षित रुपमा रहनुपर्छ र त्यस्ता सम्पदाबाट गैरकानुनी रुपमा बाहिर नजाउन्, स्टोरमा बसेका पुरातात्विक महत्वका वस्तुहरुलाई संरक्षित ढंगबाट अभिलेखिकरण गरी प्रदर्शन गर्न मदत मिलोस् र शैक्षिक हिसावले पनि पुस्तान्तरणमा मदत मिलोस् भन्ने हाम्रो उदेश्य हो ।

लुम्बिनी बुद्धिष्ट विश्व विद्यालयकी स्वस्ति राजभण्डारी कायस्थ भन्नुहन्छ–‘सम्पदा भित्र म्युजियम बनाउने काम समिति र विश्वविद्यालय मिलेर रुविनको आर्थिक तथा प्राविधिक सहयोगमा भएको हो । यहाँ समुदायको सहभागिता छ, रुविनको कुनै हस्तक्षेप मैले अनुभव गरिन । यहाँ हुने पुजा तथा संस्कारहरुमा दिक्षा लिएकाहरुले मात्र प्रवेश पाउँछन्, अन्यथा यही समितिका व्यक्तिले पनि भित्री रुपमा प्रवेश पाउँदैनन् भने बाहिरि हस्तक्षेप भएको भन्ने त मैले महसुस गरेकी छैन ।’

इतुम्बहाः म्युजिममा राखिएका सामग्रीहरु

सम्पदा अभियन्ताहरुहरुले विदेशमा गैरकानुनी रुपमा पुगेको विभिन्न कलाकृतिहरु स्वदेशी फिर्तीका लागि काम गरिरहनु भएको छ । गैरकानुनी रुपमा विदेशमा पुगेका मूर्तिहरुको यथेष्ट प्रमाण जुटाएर प्रक्रियागत रुपमा अनुरोध गरिरहँदा पनि मूर्तिहरु समयमा फिर्ता भइरहेका छैनन् । त्यसको लागि हाम्रो सरकारी पक्ष र विदेशमा रहेको त्यहाँको कानुनी व्यवस्था तथा त्यहाँको पक्षको जिम्मेवारी बढी हुने सम्पदा अभियन्ताहरुसँगको कुराकानीले बताउँछ । केही प्रावधानहरु वा अन्य केही विषयहरुले गर्दा होलान् सोचेको वा अनुमान गरेको समयमा मूर्ति फिर्ता भइरहेका छैनन् ।

नेपालमा प्रायजसो विदेशी सहयोग वा दाताहरुको विषयले ठूलो चर्चा पाउँदै आएको छ । पाटन म्युजियम पनि विदेशी सहयोगबाट सुरुवाती दिनमा अगाडि बढेको हो । त्यस्तै अन्य पुरातात्विक सम्पदामा पनि विदेशीहरुले नै सहयोग गरेर सम्पदालाई सुरक्षित बनाएका छन् । यस तथ्यले आगामी दिनमा हाम्रा सम्पदाहरुमा रहेका पुरातात्विक महत्वका वस्तुहरु कसरी संरक्षित गरिन्छन् ? तिनीहरु नेपाली दाताहरुको सहयोगमा कसरी व्यवस्थित हुन्छन् ? नेपालमा भएका व्यक्तिहरु त्यस्ता सामग्रीलाई व्यस्थित गरेर राख्न कत्तिको दक्ष छन्? यस्ता वहाःवही तथा विहारहरुमा भोलिका दिनमा बन्न सक्ने म्युजियमहरुमा विदेशी वा स्वदेशी सहयोग कसरी परिचालित हुन्छन् ? आज भन्दा ४० वर्ष अगाडिको परिवेश र आजको परिवेशमा धेरै अन्तर पाउन सकिन्छ । समयको माग र परिवर्तन निरन्तर प्रक्रिया हो । त्यसैले अबको४० वर्ष पछाडि हाम्रा सम्पदाहरुको अवस्थ कस्तो हुन्छ भन्ने विषय आगामी दिनले नै बताउने छ ।

प्रतिक्रिया दिनुहोस्

Array