‘जेल’देखि ‘म्युजियम’सम्म पुगेका कलाकार राजप्रकाश

सुनिल राज ढकाल
सुनिल राज ढकाल ४ श्रावण २०७९, बुधबार ०६:००
15 Min Read
Aa

नेपाली कला जगतमा निकै कलाकारहरु लामो समयदेखिको आफ्नो लगन अनि शिपले पहिचान बनाउँदै आइरहेका छन् । लामो समयको मेहनत अनि अध्ययनको उपज हो कलाकार राजप्रकाशमान तुलाधरको चित्रहरु ।

काठमाडौंको नरदेवीमा हुर्केका राजप्रकाशको चित्रकला प्रति लगाव भने सानै बेलादेखि रहेको बताउँछन् । आफुलाई याद भएसम्म उनि कापीमा चित्र कोरिरहन्थे । तर, उनको चित्रकलालाई प्रेरित गर्ने पात्र भने उनको आमा तथा बुबा हुन सक्नुभएन । तर पनि राजप्रकाश ठट्यौली पारामा भन्छन्– ‘मेरो टाउकाको एउटा छेउमा आमाले बनाइदिनु भएको ट्याटु छ भने अर्को छेउमा बुबाले बनाइदिनुभएको । त्यसैले म त सानै देखि कलाकार नि !’ आमा बुबालाई भने चित्रकार भन्दा पनि डक्टर वा इन्जिनियर बनोस् भन्ने चाहना थियो । तर उनि भने आफ्नो कपिहरुमा चित्र कोरिनै रहेका हुन्थे ।

त्यस समयमा उनले एकोहोरो रुपमा चित्र कोरिरहँदा कतिपटक बुबा आमाको टाउकोमा टुटिल्को उठ्नेगरी कुटाइ खाए जसलाई उनी आमा बुबाले बनाइदिएको ट्याटु भन्छन् । बाल्यकादेखि उनको आँखा कमजोर थियो । उनी नजिकको सबै कुरा देख्दथे भने टाढाको केही पनि देख्दैनथिए । त्यसैले गर्दा कक्षा कोठामा गुरुहरुले कालोपाटीमा लेख्दा उनी कालोपाटीको अक्षरहरु सार्नेभन्दा सँगै बसेको साथीहरुको कपीबाट सार्ने गर्दथे । यही कुराले पनि उनले गुरुहरुको धेरै चोटि भनाइ र कुटाइ खाएका थिए । तात्कालिन समय आफ्नो समस्याको विषयमा खुलेर कुराकानी गर्ने खालको थिएन ।

उनका चित्रहरुमा सानोसानो बस्तुस्थितिलाई पनि प्रष्ट सँग देखाइएको हुन्थ्यो । ‘यस्तो सानो सानो कुराहरु देख्ने मान्छेको आँखा कसरी कमजोर हुन सक्छ ?’ उनका बुबा आमाले भन्ने गर्नुहुन्थ्यो । यो कुराले गर्दा पनि उनका कुराहरु परिवारका मानिसहरुले पत्याउँदैन थिए । जसको कारण राजप्रकाशले पढ्न मन नलागेर ठगिरहेको छ भनेर आरोप लगाउँथे ।

समयक्रमसँगै उनी हुर्कंदै जाँदा कराँते अनि शारिरिक व्यायामहरुमा पनि प्रशस्त ध्यान दिने गरेको कुरा सम्झन्छन् राजप्रकाश । विस्तारै वयश्क अवस्थासम्म आइपुग्दा टोलका साथीहरुको संगत पनि त्यस्तै प्रकारको थियो । उनी त्यस बेलामा आफ्नो पाठ्यक्रममा भएको किताबहरु भन्दा पाठ्यक्रम बाहिरका किताबहरु धेरै पढ्ने गर्दथे । धर्म, संस्कृतिमा पनि राम्रो रुचि भएका राजप्रकाशले वि.सं २०४८ सालमा विद्यालयको शिक्षा सकाए ।

यो समयसम्म आइपुग्दा उनलाई क्याम्पसको पढाइ भन्दा चित्रकलामा कसरी निखारता ल्याउन सकिन्छ भन्ने कुराले पोलिरहेको थियो । त्यसैले त्यसै ताका कलाकार प्रेम मान चित्रकारको कक्षामा जान थालेका थिए । राजप्रकाशलाई  उनको घरबाट चित्रकारिताको विषयमा सहयोग गर्ने एक जना दाजु मात्र हुनुहुन्थ्यो । जसले प्रेममान चित्रकारकोमा सिक्न जाँदाको पैसा तिरिदिनुहुन्थ्यो र बेला बेलामा सहयोग गरिरहनुहुन्थ्यो ।

म्युजियम अफ नेपाली आर्टस्(मोना)मा प्रदर्शनीमा राखिएका राजप्रकाशमान तुलाधरको चित्र

त्यतिबेला उनको चित्रकला सिक्ने अर्काे साथी थिए – कलाकार समुन्द्र मान सिंह श्रेष्ठ । दुवै निकै मिल्ने साथी भएकाले पनि आफुले बनाएको चित्रहरु बेच्न उनीहरु समय समयमा ठमेल, भक्तपुर तथा पाटनका विभिन्न पसलहरुमा आफ्नो चित्रहरु बोकेर जाने गर्दथे ।

उनको चित्रकारिता पनि चलिरहेकै थियो भने अर्कोतिर टोलका साथीहरुसँग मिलि पैसा फसेका मानिसहरुको पैसा उठाइदिने काम पनि । यो कामबाट निकै राम्रो कमाइ त हुने तर मेहेनतको पैसा नभएकोले लामो समय सम्म पैसा नटिक्ने गरेको अनुभव छ कलाकार राजप्रकाशसँग । उनी कहिले कुटेर,कहिले थर्काएर, कहिले धम्क्याएर मानिसहरुको पैसा उठाइदिन्थे । तर यस्तो काम गर्दा गर्दै उनि कहिलेकाहीं हनुमानढोका स्थिति जेलमा समेत बस्नु परेको अनुभव सुनाउँछन् । एक कलाकार बाहिरबाट हेर्दा सालिन देखिने भएतापनि आफ्नो जीवनको यी अध्यायहरुको विषयमा पनि कुराकानी गरिनु पर्दछ भन्ने सोच छ कलाकार राजप्रकाशको । एक पटक उनले जग्गाको लेनदेनको समस्यालाई समाधान गर्दै उनले ५ लाख कमाएका थिए । तर त्यो पैसा हातमा परिसकेपछि भने उनलाई त्यस पैसामा वितृष्णा पैदा भयो । अब उप्रान्त यस्तो किसिमको कामबाट पैसा कमाउने छैन भनी उनले नरदेवीमा गई पाउमा छोइ माफी मागेर त्यस्तो काम अब कहिल्यै नगर्ने बाचा गरे ।

यो समय पछि उनले स्वअध्ययन तथा आफ्ना कला गुरु प्रेममान चित्रकारले बनाउने गरेको चित्रहरुमा रङ्गहरु भर्दै केही समय मासिक २००० तलबमा काम गर्न थाले । केही समय त्यहाँ काम गरिसकेपछि उनले आफैंल  घरमा बसीे चित्र बनाउने कामहरु गर्न थाले । चित्रकलाको बजार त्यो समयमा फस्टाइसकेको थिएन । विलासी वस्तुको रुपमा लिइने चित्रकलाहरु बनाउने एक सर्जक भइकन पनि त्यो बेलामा सोचे जस्तो नाम अनि दामको अभाव हुने गरेको सम्झना छ राजप्रकाशलाई ।

म्युजियम अफ नेपाली आर्टस्(मोना)मा प्रदर्शनीमा राखिएका राजप्रकाशमान तुलाधरको चित्र

पहिलो पटक चित्रकला बेचेको अनुभवको बारेमा बताउँदै कलाकार राजप्रकाश सम्झन्छन् कि ‘पहिलो चित्र उनले २०० मा बेचेको थिए ।’ त्यो समयलाई सम्झँदा उनले मिठो मुस्कानका साथ भन्ने गर्दछन् कि सफलताका सिँढिहरु एकै झट्कामा उक्लिँदा मानिसहरुलाई सफलता सस्तो लाग्न सक्दछ । त्यसैले पनि खुड्किलो खुड्किलो उक्लँदा लामो समयसम्म टिक्न सकिने अनुभव छ कलाकार राजप्रकाशलाई । अहिलेका नयाँ पुस्ताहरु काम गरिसकेपछि तत्कालै त्यसको फलको आशा गर्दछन् जुन गलत हो भन्ने लाग्दछ उनलाई ।

सामान्यतयाः उनले बनाउने गरेका चित्रहरु देवी वा देवताहरुलाई बुझ्नको लागि बनाउने गरेको बताउँछन् यी कलाकार । मानिसहरु स्वयम्भुमा गई केही सोच्दै नसोची भगवानको मुखमा पर्ने गरी चामल फ्याँकिदिन्छन्, अनि मैले राम्रो धर्म गरेँ भनी मनमनै मख्ख पर्ने गर्दछन् । वास्तवमा पहिलेदेखिको चलनमा भने चामल परेवा तथा अरु पंक्षीहरुका लागि चढाइने गर्दथ्यो । मानिसहरुले कुरा बुझ्दै नबुझी देखासिखि नक्कल गरेको देख्दा उनी कहिलेकाहिँ अचम्म मान्दछन् अनि ती गरिएका व्यवहारलाई एक तमासले हेर्ने गर्दछन् । ‘गुँला पर्व’ का बेलामा प्रत्येक घरबाट एक जना बाजा बजाउँदै स्वयम्भू जानेमा उनी पनि पर्दछन् । उनी नरदेवी नृत्यका वाद्य गुरु हुन् । नरदेवीको मन्दिरलाई अझ राम्रोसँग बनाउने र व्यस्थि तगर्ने तथा सुसज्जित गर्ने काममा नेपाल तिब्बत लाडाईका बेला त्यहाँ समातिएका एकजना भोटु पाण्डे नामका काजी समातिए । त्यहाँका नेपाली मुलका व्यापारीहरुले उनलाई नरदेवीको भाकल गरी आँखा नखाली सात दिन सात पाइला चाल्नु त्यसपछि तिमी नेपाल खाल्डो पुग्छौ भनेकाले भोटु पाण्डेले त्यसै गरे । त्यसो गरी नेपाल आउन सफल भए र उनले आँखा खोल्दा सोह्रखुट्टेमा आइपुगेका थिए आँखा खोल्दा । त्यसै बेलादेखि उनले नरदेवीको जीर्णोद्दार गर्दै तीन तलामा सुनको छाना चढाएका थिए । उहाँले यस मन्दिरका लागि विभिन्न जग्गाहरु गुठी बलियो पार्नका निमित्त दान दिएका थिए ।

आफुलाई मन पर्ने संस्कृतीका विविध पक्षहरुका विषयमा तथा देवी तथा देवताहरुको चित्र बनाउनमा तल्लिन रहने राजप्रकाशका सन्दर्भ सामाग्रीहरु कहिले पहिले देखी अरुले बनाउने गरेको पौभाहरु हुन्छन् त कहिले गुह्य मूर्तिहरु । बज्रयान तथा शैव तन्त्रका विभिन्न सन्दर्भहरुलाई अझै पनि गुह्य रुपमा लिइन्छन् । यी कला तथा ग्रन्थहरुलाई किन गुह्य रुपमा राखिएका होलान् भन्ने कुरामा राजप्रकाश देवीहरुलाई ज्ञानले भरिपूर्ण भएकाले नग्न रुपमा प्रस्तुत गरिन्छ अनि त्यहि कारण गलत अर्थ नलागोस् भनी गुह्य रुपमा राखिएका होलान् भन्ने तर्क दिन्छन् ।

राम्रो चित्र बनाउने कलाकारहरुलाई नदेखी कलालाई नै देखेर पनि यो बनाउने कलाकार कस्तो होला भनी मानिसहरुमा खुल्दुली हुने गरेको कुरा सम्झन्छन् कलाकार । त्यस्तै एक प्रसंगमा उनी आफ्नो चित्रको पैसा उठाउन तथा चिया खाइ गफिने गरेको एक पसलमा एक दिन अर्का कलाकार समुन्द्रमान सिंह श्रेष्ठसँग पुगेकाथिए । एक विदेशी संकलक पनि त्यतिबेला त्यही पसलमा आएका थिए । पसलका साहुजीले यो चित्र बनाउने कलाकार यिनै त हुन् नि भनी भनेपछि ती विदेशी निकै बेर उनको मुख हेर्दै हाँसेको सम्झना छ कलाकारलाई । ती विदेशीलाई लागेको थियो कि यस्तो किसिमको कला बनाउने कलाकार निकै बूढा होलान् भन्ने अनुमान लगाएका रहेछन् ती विदेशीले । ‘त्यतिबेला समुन्द्र पनि निकै कलिलो युवा थिए अनि म पनि त्यस्तै थिएँ शायद त्यही भएर पनि ती व्यक्तिलाई हामी कलाकार हौँ भनी पत्याउन मुश्किल परेको हुनसक्छ,’ कलाकार सम्झन्छन् ।

म्युजियम अफ नेपाली आर्टस्(मोना)मा प्रदर्शनीमा राखिएका राजप्रकाशमान तुलाधरको चित्र

आफुले चित्र बनाइसकेपछि ती चित्रहरु अरु सिकारु कलाकारहरुले साभार गर्ने गरेको धेरै प्रसंग छन् कलाकारसँग । यसरी साभार गर्दा कहिले काहिँ ती चित्रहरु अरुले पनि राम्रै पैसामा विक्रि गरेको अनुभव सुनाउँदै कलाकार बताउँछन् कि जसको ब्रह्मले जति जान्यो त्यही अनुसार नै गर्ने हो र यसमा मलाई कुनै दुःख मनाउ छैन भनी भन्दछन् ।

एक फरक प्रसंगमा कलाकार राजप्रकाशले चोभारमा रहेको आदिनाथको मन्दिरमा रहेको एक सांस्कृतीक पक्षबारे अध्ययन गर्ने मौका पाए । त्यहाँका एक गुरुले उनलाई राजा अशोकको पुत्री नेपाल आएको घटना सुनाएका थिए । कथा अनुसार ती राजकुमारी छाला सम्बन्धि रोग(कोरी)ले गर्दा भारतमा कसैले पनि मन नपराउने अवस्थामा पुगेकी थिइन् । भारतका जानकारहरुले नेपालमा गए रोग ठीक हुन सक्ने बताइसकेपछि उनी नेपालको चोभारमा रहेको आदिनाथको मन्दिर नजिकै कार्तिक पूर्णिमादेखि मंसीर पूर्णिमासम्म एक महिना शुद्ध भई व्रत बस्दा रोग ठीक भएको भन्ने जनविश्वास छ । त्यस विषयलाई राजप्रकाशले सबैतिरबाट बुझेर उक्त महिला एक महान् भिक्षुणी भइ त्यहीं दिव्य शरीर पाएको कुराको विषयलाई समेत उनले चित्रमा उतारेका छन्।

त्यसो त उनलाई विदेशमा बसेर कला सिर्जना गर्न अनुरोधहरु नआएका होइनन्, उनलाई लन्डन तथा चाइनामा बसेर काम गर्न र त्यहाँ सबै व्यवस्था मिलाइदिने समेतको अफर थियो । तर उनको नेपाल प्रेमले बाहिर गएनन् । बरु यहीं बसेर उनको चित्रकलाहरु बाहिर पुगे । उनी आफ्नो भूगोल, आफ्नो समाज, आफ्नो रितिरिवाजमा गर्व गर्छन् ।

सन् २०१४ तिर उनले बनाएको हरित ताराको एक चित्र ठमेलका व्यापारी मार्फत चीन पुगेको र त्यहाँ उनको चित्रकला पुगिसकेपछि उनको चित्रकलाको माग बढी मात्रामा हुन थाल्यो । उनले उक्त चित्रकलाको मूल्य भन्न पनि डराएका थिए । विस्तारै उनले चाल पाए कि आफ्नो त्यो चित्र चीनका कुनै कला संकलकले निकै मन पराएर किनेका थिए । त्यस पछि ती चीनी संकलकले उनको जति पनि चित्रहरु छन्, सकेसम्म सबै नै संकलन गर्न थाले । समयक्रमसँगै यिनै संकलकले गर्दा उनको चित्रको मूल्य पनि बढ्दै गयो । वर्षमा दुइ वा तीनवटा चित्र मात्र बनाउने गरेका यी कलाकारसँग हाल पनि आफुले गरेका कुनै पनि काम आफुसँग नभएको बताउँछन् । विभिन्न समयमा बनेका उनका चित्रहरु मध्ये ५ वटा भने अमेरिकामा स्थित रुविन म्युजिममा रहेको र धेरै जसो चीन तथा विभिन्न देशहरुमा पुगीसकेका छ्न् भने केही चित्रहरु भने काठमाडौँ गेष्ट हाउस भित्र रहेको म्युजियम अफ नेपाली आर्ट्स मोनामा संचालक राजन शाक्यले राखेका छन् ।

म्युजियम अफ नेपाली आर्टस्(मोना)मा प्रदर्शनीमा राखिएका राजप्रकाशमान तुलाधरको चित्र

आफ्नो निजी संकलनमा रहेका कलाकार राजप्रकाशका यी चित्रहरु स्वदेशी तथा विदेशी कलाप्रेमीहरुले पनि हेर्न अनि बुझ्नु जरुरी छ भन्ने मान्यताका साथ यहि असार ३२ गते(जुलाई १६ तारिख ) देखि मोनाको म्युजियम कक्षमा प्रदर्शनीमा राखिएका छन् । उनका पन्ध्र चित्रहरु यहाँ राखिएका छन् भने विदेशमा गएको केही चित्रहरुको प्रिन्ट पनि जानकारीका लागि राखिएको राजप्रकाश बताउँछन् ।  जहाँ पाँच योगिनी, पद्सम्भव, हेरम्ब गणेश लगायतको चित्रकलाहरु राखिएका छन् ।

गणेशलाई हिन्दु धर्म तथा बुद्ध धर्ममा समेत ठूलो देवताको रुपमा लिइन्छ । मूलतः म्युजियम अफ नेपाली आर्ट भित्र राखिएको यस गणेशको चित्रमा भने गणेशको टाउकोमाथि अरु टाउको थप्दै पाँच टाउको भएका गणेशका चित्रहरु कोरिएका छन् । जसलाई हेरम्ब गणेशको नामले जानिन्छ । नेपालमा गणेशको तान्त्रिक अभ्यासको लागि यस हेरम्ब गणेश महत्वपूर्ण मानिन्छ ।

त्यसैगरी उनको अर्काे चित्रमा भने गुरु पद्य्मसम्भवलाई देखाइएको छ । चोभारमा रहेको गुरु पद्य्मसम्भवको फोटोलाई समेत चित्रको नजिकै राखिएको छ । वस्तुतः यसरी चित्रको नजिकै फोटो राख्दा कहाँ अवस्थित देवता हुन्, त्यो बुझ्नको लागि पनि सजिलो भएकाले यसो गरिएको कलाकार राजप्रकाश बताउँछन् । त्यसैगरी काठमाडौँमा उपासना गरिने ५ योगिनीहरुको चित्रलाई पनि प्रदर्शनीमा राखिएको छ । अर्काे चित्र भने कुरकुल्लाको रहेको छ । यो नेपालमा हाल अभ्यास गर्न छोडिसकिएको छ, त्यही चित्रको बारेमा एउटा चित्र बनाइएको छ ।

म्युजियम अफ नेपाली आर्टस्(मोना)मा प्रदर्शनीमा राखिएका राजप्रकाशमान तुलाधरको चित्र

नेपाली कलाकारहरुका चित्रकलाहरुमा नेपाली संकलकहरुले चासो नदिएको खण्डमा ती चित्रहरु विदेशी भूमिमा पुग्न सक्दछन् भन्ने धारणाका साथ म्युजियमका निर्देशक राजन शाक्य, जसले यस प्रदर्शनीको क्युरेट समेत गरेका छन्, उनले कलाकार राजप्रकाशका ती चित्रहरु जुन छिमेकी देश चीनका कुनै संकलकले किनेका छन्, ती चित्रहरुको प्रिन्टलाई समेत प्रदर्शनीमा राखेका छन् । यसले नेपाली समाजमा अहिले आफ्नो सम्पदाहरुलाई जतन नगर्दा भविष्यमा ती सम्पदाहरुलाई खोज्न विदेशी मुलुकमा पुग्नु पर्ने कुरालाई बढो कुशल ढंगबाट देखाएका छन् ।

आफुले प्रयोग गर्ने रङ्ग तथा ब्रशहरुलाई पनि त्यही प्रदर्शनीमा राखिएको छ । यी ब्रशहरु सामान्य नै छन् तर पनि मानिसहरुमा कौतुहलता हुन सक्दछ कि यी चित्रहरु बनाउन विशेष खालका रङ्गहरु वा ब्रशहरु पो प्रयोग हुन्छन् कि भन्ने । त्यसैले उक्त कौतुहलतालाई मेटाउन यी चिजहरु पनि सँगै राखिएको बताउँछन् कलाकार राजप्रकाश ।

उनले बनाएका सिमित चित्रहरु भने नेपालका केही ग्यालरीहरुमा समेत रहेका छन् । सामान्य रुपमा उनलाई नेपालमा बसी लोक कला बनाउने विभिन्न कलाकार तथा कलामा रुचि भएका विद्यार्थीहरुले कलालाई उत्कृष्ट कसरी बनाउने भनी सोध्ने गरेको अनुभव छ । यसरी कसैले सोधेको अवस्थामा उनी ती कलाकारहरुलाई सिकाइदिने समेत गर्दछन् । कोही एकदम राम्रो अनि लगनशिल विद्यार्थी भेटिएमा आफुले पाएका अनि अनुभव गरेका ज्ञानहरु बाँड्न सकिने कुरालाई पनि उनले मनमा लिएका छन् । ‘तर आजकलका केही  विद्यार्थीहरुमा त्यो धैर्यता अनि लगनशिलता पाउन निकै कठिन हुने गरेको छ । राम्रो अनि धैर्यवान विद्यार्थी कहाँ पाइन्छन् र अचेल’– राजप्रकाश आफ्नो अनुभव सुनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

Array