कर्णालीको मुहान राक्षस ताल होइन

– प्रदिप सुवेदी

आजभन्दा करिव २ महिना अगाडि आफुसँग भएको ट्राइपोटको बेसप्लेट हराएपछि सुनिल दाजुसँग साथ लागेर विहानीको चिसो मौसममा नबिन बरालको बासस्थान पुगेको थिएँ । ट्राइपोटको खोजिमा त्यहाँ पुगेको म, मनमनै खुब डाडिएँ जब नबिन बरालले ४४ दिनको कैलाश देखि गङ्गासम्मको लगभग १०८० किलोमिटर यात्रा गरेर फर्केको कुरा सुनाउँदै हुनुहुन्थ्यो । कैलाश यात्रा मेरो बकेट लिस्टको अग्र ५ मध्येको एक यात्रा हो । दुई दाजुहरुको वार्तालाप एक छिन सुनेर आफुले खोजेको चिज पाएपछि हामी त्यहाँबाट आफ्नो गन्तव्यतिर लाग्याँैं । गन्तव्यमा पुगुनजेल नवीन दाइको कुरा मात्र गरियो ।  ‘जे जे भेटिन्छ खिचियो’ भनेका नबिन दाजुले के के खिच्नु भयो होला कुनै दिन हेर्ने मौका मिलेपनी हुने भन्ने मनमा लागि रहेको थियो ।

२०७५ साल चैत्र महिनाको २ गते शनिबार दिउँसो १ बजे, कैलाश देखि गङ्गासम्मको यात्राको फोटो प्रदर्शनीको निम्तो केही दिन अगाडि नै मैले पाइसकेको थिएँ । विहान ११ बजे नै बबर महल स्थित नेपाल कला परषिद्को भुइँ तलामा प्रवेश गरेँ । ८÷१० जना मानिसहरु प्रिन्ट गरेर ल्याएको फोटोहरु भित्तामा टँगाउनमा व्यस्त देखिन्थे । आफुले चिनेका नविन दाइ मात्र । उहाँ पनि बोल्ने फुर्सदमा हुनुहुन्नथ्यो । दिउँसो १ बजेको कार्यक्रमलाई सबै फोटो भित्तामा टाँगिसक्नुपर्ने । सोही काममा उहाँ पनि व्यस्त हुनुहुन्थ्यो ।

पत्रकार रमेश भुसाल र नवीन बरालले नेपाल नदी संरक्षण कोषको आयोजनामा ४४ दिन सम्म भएको यात्राका क्रममा उहाँहरुले खिच्नुभएको तस्विरहरु प्रदर्शनमा राखिएका रहेछन् ।

उद्घाटन कार्यक्रमका दौरानमा कैलाश क्षेत्रबाट बग्ने एसियाका चार वटा नदीहरु, पूर्वमा घोडाको मुखबाट निस्कने बह्म पुत्र । पश्चिममा हात्तिको मुखबाट निस्कने सतलज । उत्तरमा सिंहको मुखबाट निस्कने इन्डस र दक्षिणमा मयुरको मुखबाट निस्कने कर्णाली । कर्णाली नदीलाई तिब्बतमा माप्चा खम्बाब नाम दिइएको रहेछ भन्ने तथ्य पनि थाहा लाग्यो।

मैले धेरै समय अगाडिदेखि सुनेको कर्णाली नदी कैलाश क्षेत्रको राक्षस तालबाट निस्कन्छ र समस्थ कर्णाली बासीलाई दुःख दिन्छ भन्ने कथनलाई विज्ञहरुको अनुसन्धान र त्यस क्षेत्रमा पुगेर खिचिएको फोटोले गलत सावित गरिदियो । कर्णाली राक्षस तालबाट निस्केको नभइ तिब्बतको माप्चा खम्बाबबाट निस्केको रहेछ । हिल्सा पारी माप्चा खम्बाब, हिल्साबाट यता हुम्ला कर्णाली हुँदै मूल कर्णाली भएर बग्दै बर्दियाबाट नेपालको भुभाग छोडेर भारत छिरेपछि कर्णालीले घागरा भन्ने नाम पाउँदो रहेछ । घागरा अन्तिममा गएर गङ्गामा मिसिने रहेछ । कर्णाली हिमालयन ट्राउन, डल्फिन, दुई प्रकारका गोही, सौर माछा, विभिन्न जलचरहरुको बासस्थान रहेछ । त्यस्तै कर्णाली नदीको नाम पाएको कर्णाली प्रदेशमा ९७० भन्दा बढी चराचुरुङ्गी पाइने रहेछ । जडिबुटी अथाहा रहेछ । संस्कृति र सभ्यताको कुरा गर्दा तिब्बती सभ्यता, खस हिन्दुको सभ्यता, राजी, राउटे, मगर, सुनुवारको सभ्यता कर्णाली नदीको किनारबाटै सुरु भएको रहेछ ।

प्रदर्शनी हल भित्र पैसा नतिरि छिरेपछि भित्तामा झुन्डिएका ५० फोटोले मन्त्र मुग्ध बनाइरहेको थियो । ती फोटोहरु हेर्दै गर्दा म आफैंपनि त्यो डेढ महिने यात्राको यात्री भए जस्तो अनुभूति गरेँ । सुरुमा मानसरोवरको मनमोहक पानोरोमिक फोटोबाट ५० ओटा फोटोको यात्रा सुरु गरेँ । कैलाश पर्वत देखेँ । कर्णाली नदीको किनारै किनार आफैं हिँडेको अनुभूति गरेँ । कर्णाली जति ओर्लदै थियो नदीका किनारका बोट विरुवा उति ठूला र हरिया हुँदै जाँदै थियो । क्रमशः कर्णाली किनारमा मानव बस्ती देखिँदै थियो । बस्तीका मान्छे देखिए । मान्छेका अनुहार सङ्गै उनिहरुका भेषभुषा, दिन चर्या देखिए । कर्णालीको भेषभुषा पहिरिएकी एक जना महिलाको तस्विर देख्दा कुनै प्रसिद्ध फेसन डिजाइनरले डिजाइन गरेका हुन् र ती महिला कुनै पश्चिमा देशहरुमा हुने ‘फेसन शो’ की एक सहभागी मोडल हुन्।

मुख्य कर्णालीले मुगु कर्णालीको साथ पायो । कर्णाली माथि राफ्टिङको मज्जा लिँदै गरेको मान्छे देखिए । मुगु कर्णालीको साथ पाएर ठूलो भएको कर्णाली ठूला ठूला पहाड चिर्दै, झर्दै समथल भुभाग पुग्यो । कर्णालीको किनारमा मान्छा मार्दै गरेका ‘माझि बा’ देखिए । सुन खोज्दै गरेकी दिदी देखिइन् र बालुवामा खेल्दै गरेका बाबु नानि देखिए । अब कर्णालीलाई हतारो थिएन । उसको कन्चन पानीमा दुर्लभ एक सिङ्गे गैँडा नुहाउँदै देखियो । काठका डुङ्गा देखियो । बेखबर कर्णाली अब भारत पुग्यो । गिरिजापुरि तटबन्धले उसलाई अवरोध ग¥यो । उसले बाटो मोड्यो र सायद किसानको खेत पुग्यो । कर्णालीले बाटो फेर्दा बनेको बालुवानै बालुवाको मरुभूमिमा कोही पर्वल लगाउँदै गरेको दृष्य देखियो भने त्यसको ओल्लो छेउको सानो पोखरीमा दुइ भताभुङ्ग काठे डुङ्गा देखियो । आनन्द सङ्गै फैलिएर सागर भेट्न हिँडेको कर्णालीले गङ्गा भेट्यो । दोभानमा भैसीँ गोठाले बात मादै देखिए र भैसीहरु नुहाउँदै देखिए । अब कर्णाली गङ्गा भयो ।

एक चोटिले नपुगेर फेरि हेर्न थालेँ । रदिप जीको मुखारबृन्दबाट प्रत्येक फोटो पछाडिको कथा सुनेँ । आँखाले फोटो हेर्दै कानले कथा सुन्दै गर्दा झन् आनन्दित भएँ । फोटोले कर्णालीको यात्राको कथा देखायो, रदिप जीले ती फोटो कति कष्टसँग खिचिएको हुन् त्यसको बेथा सुनाउनुभयो ।  हल्काफुल्का क्यामेरा चलाउने म, नवीन बरालले कुनै एक फोटो आफ्नो क्यामरामा कैद गर्नका लागि रात्रिको चिसोमा स्यालका हुइँययाँ र जंगली जनावरका गर्जनहरुको बीच कठ्याङ्ग्रिनु परेको कथा पनि सुन्ने मौका पाएँ । विशाल कर्णालीको कञ्चन पानीमा रमाउँदै गरेको एक सिङ्गे गैँडाको मनमोहक तस्विर कैद गर्ने क्रममा नवीन र रमेश भुसाल दुवै जना फोटो खिच्नका लागि रुख चढ्नु परेको पनि सुन्न पाएँ ।

म निस्कदै लाग्दा रमेश भुसाल दाइ ढोका अगाडि हुनुहुन्थ्यो । दाइ यात्राभरि क्यामेराको लेन्सले के देख्यो हेरियो । अब त्यो यात्रालाई कलमले कसरी लेख्छ र कहिले पढ्न पाइन्छ भनेर मैले मेरा जिज्ञासा तेस्र्याए । रमेश दाइले हाँस्दै भन्नुभयो, ‘अब साना तिना लेखभन्दा पनि किताब नै आउने सम्भावना छ, हेरौ । के हुन्छ ।’ अब त्यो किताबमा दाजुहरुले के के लेख्नु होला ? पढ्न सारै मन छ । यात्राका क्रममा धेरै भन्दा धेरै खिचिएका फोटाहरु पनि त्यस कितावमा समावेश होलान्, त्यसलाई पनि नियाल्ने रहर छ ।

Back to top button