भाग्यमानी को ?

भाग्यमानी को ?

“साग आयो साग…” हरेक साँझ रमाइलो पारामा दुइ साना नानिहरु गणेश मन्दिरको ठिक्क बिपरित बसेर भट्याइरहेका हुन्छन् । म उनिहरुको नियमित  ग्राहक हँु । जाडो याममा आमाका पछ्यौरामा गुटुमुटु भएर ‘साग लानुस् साग’ भन्दै भट्याउँछन् ।

‘जाडो भएन ?’ म सोध्छु ।

‘त्यहि भर त कराको’ उनिहरु हाँस्दै जवाफ दिन्छन् ।

दिन बिराएर कहिले सानि सङ्ग किन्छु, कहिले ठुलि सङ्ग । मलाइ देख्ने बित्तिकै उनिहरु हाँस्छन र सोध्दछन्–

‘दाइ आज कुन साग लाने ?’

उनिहरु दुबैलाइ आज मलाइ साग बेच्ने कस्को पालो हो थाहा हुन्छ । सुरु सुरुमा अरुलाइ बेच्ने सागको दाम र मलाई बेच्ने दाम बराबर हिुन्थ्यो तर आजकल मैले जुनसुकै जातको साग किनेपनि ५ रुपैयाँ सस्तोमा पाउने गरेको छु । मैले उनिहरुलाई अरुको जतिनै पैसा दिन खोज्दा पनि उनिहरु मान्दैनन् । अघिल्लो दिन मेरो रेट भन्दा जति बढि पैसा तिर्छु भोलिपल्ट उनिहरु त्यति नै पैसा समयोजन गर्छन । उनिहरुले गर्दा म हरेक दिन एक छाक साग खाने भएको छु ।

दिउँसो विद्यालय जान्छन् र बेलुका साग बेच्छन् । सरकारी विद्यालयमा पढ्छन । ठुलि नानि ७ मा पढ्छिन्, सानि ५ मा । विद्यालयबाट बस्ने कोठा आउँछन् खाजा खान्छन् र एक एक डोको साग बोकेर बजार आउँछन् । कहिलेकाहीँ उनिहरु मकै भटमास टोक्दै  हुन्छन् । म ‘खै मलाई’ भन्दै मागेर खान्छु । उनिहरु सङ्ग साग किन्ने थुप्रै म जस्ता नियमित  ग्राहक छन् । हरेक दिन लगभग ल्याएको सबै मुठा साग बेचेर ८ बजे तिर बस्नेठाउँमा फर्कन्छन् । आफ्नो लागि आँफै कमाउने उनिहरुको सीप देख्दा दङ्ग खान्छु । आज सम्म खर्च धान्न बुबा सङ्ग पैसा माग्ने म उनिहरुलाइ आदर्श मान्छु ।

मेरो छिमेकमा पनि ती सानि नानि जतिकै उमेर कि छोरि छिन् ।  आज सम्म उनको र मेरो दोहोरो कुराकानी भएको छैन । उनलाइ देख्ने बित्तिकै म ‘हेलो’ भन्छु, उनि पुलुक्क मलाई हेर्छिन र मम्मि भन्दै गुरुरुरु कुदेर उनको फ्ल्याटको ढोका बन्द गर्छिन ।

‘उनि किन त्यसो गर्छिन ?’

‘के म डरलाग्दो देखिन्छु ?’

ऐना हेर्छु, कुनै कोणबाट म डरलाग्दो देख्दिन आफुलाई । उनको बा–आमा सङ्ग पनि आजसम्म बोलचाल भएको छैन । छिमेकि नानि उनको फ्ल्याटबाट स्कुल जान मात्र बहिर निस्किन्छिन् । घर वरपर उनको कुनै साथी छैनन् । उनको साथिहरु त उनको मम्मिको मोबाइलको यूट्युब भित्र छन् । खेल्ने, कुद्ने, उफ्रने उमेरदारी उनि खालि मोबाइलमा उनिजस्तै साना साना नानी बाबुहरु खेलेको कुदेको उफ्रेको हेरेर दङदास पर्छिन् । उनको त्यस्तो दङ्दासि पन देखेर म उदासी हुन्छु । मोबाइल उनको घाँटीको चाबि हो । मोबाइल हातमा भए उनको घाँटी खुल्छ र खाने कुरा छिर्छ । नत्र बन्द । मोबाइल उनको सब थोक हो । यो संसारमा मोबाइल भन्दा प्यारो त उनको २ वर्षको सानो भाइ पनि होइन, न हुन् मम्मि र ड्याडि ।  जे गर्दा पनि हातमा मोबाइल हुनै पर्यो । उनि बोर्डिङ स्कुलमा पढ्छिन् । उनलाइ देख्दा लाग्छ कि त्यो स्कुल बोर्डिङ नभएर बोरिङ स्कुल हो । जसले त्यो उमेरका बच्चालाइ पनि बोरिङ बनाउन सक्छ । उसका मम्मि ड्याडि दङ्ग छन् कि उनि अंग्रेजी कार्टुन हेर्छिन् र त्यसै गरि बोल्छिन्  । “जाबो अंग्रेजी त हाम्रो छोरि पटटट बोल्छे” भन्दै उनकी मम्मि आफन्तहरुलाइ गफ ठोक्छिन् । ती नानी मलाइ कार्टुन जस्ति लाग्छिन् ।

मेरो घरबेटीको सानो बाबुको उमेर र मलाई काटुर्न जस्तो लाग्ने नानीको उमेर सायद उस्दै छ । म उसको उमेरको हँुदा गाउँको सानो चौरमा खल्तिको मकै हसुर्दै खालि खुट्टाले भकुन्डो भकुर्दै हुन्थें । ऊ आफैं भकुन्डो जस्तो छ । मलाइ कैले काँहि ऊ भर्याङ ओर्लंदा गुड्छ कि भन्ने डर लाग्छ । उसको शरीर उसको चस्मा जत्तिकै बाक्लो छ ।  उसको उमेर हँुदा म महाभारत हेर्न पल्लो गाउँ पुग्थें । दिनको दुइ चोटि घरको भर्याङ ओर्लनु र उक्लनु उसको लागि त्यहीँ महाभारत छ । घरबेटि दिदि उनलाइ गेट सम्म पुर्याउन जान्छिन्, उनको पनि शरीरका आकार सामान्य छैन । आइस्यो र गैस्यो भन्दै बोल्छिन् । उसलाइ लिन घर आगाडि एक बहुप्रतिष्ठत बोर्डिङ स्कुलको सलक्क परेको गाडि आउँछ । उसको साथि भाइ पनि ऊ जस्तै भकुन्डे छन् र गमक्क फुलेर अफ्नो आफ्नो सिटमा बिराजमान हुन्छन् । हेर्छु सबैको आँखालाइ बाक्लो चस्माको जरुरत छ देख्नको लागि । बेलुका छोड्न पनि त्यहि सलक्क परेको गाडि आउँछ । त्यति जाबो भर्याङ उक्लिनु पनि ५ मिनेट लगाउँछ, मलाइ ऊ ‘बुढो मान्छे’ जस्तो लाग्छ । मस्ति गलेको, हिँड्न नसक्ने रोगी जस्तो ।

गणेश मन्दिर अगाडी साग बेच्ने दुइ नानि मध्य ठुलिका ‘बा’ बोर्डिङ स्कुलमा पाले छन् । आमा तरकारी व्यापार गर्छिन । सागभन्दा बाहेकका तरकारी उनी सँङ्गै किन्छु । ती ठुलि नानिका दुइ भाई र एक बहिनि छन् । साग नबेचे खान मुस्किल छ । उनि बिरामी परिन भने पनि सकि नसकि साग बेच्न आउनै पर्ने बध्यता छ । तर उनलाइ गुनासो छैन । सानिका ‘बा’ मलेशिया छन् र आमा साहुका घरमा लुगा धुने काम गर्छिन् । एउटा भाइ छ र अर्कि झन् सानि बहिनि । सानि नानिको पनि ठुलिकै जस्तो सानो काँधमा ठुलो जिम्मेवारि छ । “जाबो साग बेच्ने त हो नि के गार्हो छ र ?” भन्दै ऊ हाँस्छे, म रमाइलो मान्छु । के गर्नु बाबु बोर्डिङ पढाउन सकेनौँ ठुलि नानिकि आमा गुनासो गर्छिन ।

उनिहरुको सपनाको जस्तै जिन्दगी बाँचीरहेका छिमेकि नानिका ड्याडि मोटरसाइकल चढेर अफिस जान्छन् र जागिर खान्छन् । मम्मि घरै बस्छिन र हिन्दी सिरियलमा भुल्छिन । छोरि कोठा आएपछि उनलाइ मोबाइल दिन्छिन् । ती नानि मोबाइलमा यूट्युव, मोवाइलको स्क्रिन सानो भयो– एउटा ट्याब चाहियो भन्दै खुब गुनासो गर्छिन् । इन्टरनेट गयो कि उनको सर्वस्व हरण भयो ।

‘बुढो बाबु’का ‘पापा’ कार चडेर आफ्नै अफिस जान्छन् । प्राय धेरै ढिला घर फर्कन्छन् र मामु हप्तामा तीन दिन सपिङ जान्छिन् । कुनै दिन के, कुनै दिन के परिकार बनाएर खान्छिन् र खुवाउछिन् ।

साना साग व्यापारी नानिहरुको बा–आमा आफ्नु छोरिहरुको दुःख देख्छन् तर  गर्न केहि सक्दैनन् । छिमेकी नानिका मम्मि–ड्याडि छोरिको अंग्रेजी सुन्छन् र दङदास हुन्छन् । बुढो बाबुका ‘पापा’लाइ छोरो भेट्ने फुर्सद छैन । मामु आफँै घटोत्कच जस्तो छिन् । छोरो फुलेको उनलाइ हेक्का छैन ।  म हरेक दिन यी तीन परिवारको दिनचर्या हेरिरहन्छु ।

सरकारी स्कुल पढ्ने ती दुइ नानिहरुको भिडमा साग बेच्न कुनै धक मान्दैनन् । तर आज देशमा फैलिरहेको महामारीमा म उनिहरुलाई सम्झिरहेको छु । के आज पनि उनिहरु साग बेचिरहेका छन्, त्यही चोकमा ? के आज उनिहरुको व्यापारमा धक्का लागेको हो भने उनिहरुलाई यस महँगो काठमडौंमा बस्न सहज भएको होला ?

Back to top button