बाल शोषण गरेको अभियोगमा मामाघर

खोज पत्र
खोज पत्र १८ आश्विन २०७६, शनिबार ०६:००
8 Min Read
Aa

दिन ढल्किँदै गर्दा कामको थकान महसुस हुन थालिसकेको थियो । कार्यालय समय पनि सकिन लागेको थियो, भित्तामा घडिको टिक टिक आवाज मेरा लागि कर्कस महसुस भइरहँदा…..ट्याङ ट्याङ आवाज आइसकेको थियो । त्यतिकैमा हतार हतार दफ्तरका फाइलहरु थन्काउँदै चियाको तलतल मेटाउने प्रयासमा लागियो चुस्की लगाउन ‘बुढा बा’ को चिया पसलमा ।

यहाँको माहौल विचित्रको लाग्छ । यहाँ बसेर आफ्नो मनमा रहेका कौतुहलतामा गम खादाँ बहुत आनन्द महशुस हुन्छ । मलाई यहाँ खिच्नुको कारण पनि अचम्मकै छ ! यहाँ आउने थरीथरीका मानिसहरु हेर्दै रमाउँदै र उनिहरुको दिनचर्याको बारेमा मनमनै कल्पिँदै मेरा थकान आपैmँ मेटिन्छन्, चियाको चुस्कीसँगै ।

चियाको चुस्की लिँदैगर्दा अनायास कानसम्म आइपुग्ने गुञ्जनहरुले मनमा छुट्टै तरङ्ग पैदा गर्दछ र आफैसँग प्रश्न गर्छ । कति थरी थरीका मानिसहरु इन्द्रेणीका रङ्ग जस्तै ! उनिहरुलाई हेर्दै गर्दा म एक रङ्गमा मात्र रुमल्लिन्छु उहि सेतो, चियापत्ति नमिसाइएको दुध जस्तै । चियाको मिठास र मगमगाहट, सिरसिरे बताससंगै बाहिर बाटोसम्म पुग्ने गर्छ, र त यहाँ उपल्लो ओहोदा देखि साना ओहोदाका मानिसहरुको घुइँचोनै लाग्छ ।

यहाँ हरेक दिन हरेक थरिका नाटक मञ्चन, विना पैसा हेर्न पाइन्छ । अनौठा र उदेकलाग्दा चिया गफ यहाँको दैनिकी भएको छ । रंगमञ्चमा मञ्चन हुने थरी थरीका नाटक जस्तै । राजनीतिक पार्टीका नेतालाई गाली गर्नेदेखि विश्वमा भइरहेका चर्चित खेलहरुको समेत चर्चा परिचर्चा हुने गरेको पाउँछु हरेक दिन । युवा र बृद्धको चाख र गफ यतिमा मात्रै सिमित हुँदैनन्, उनिहरु धर्म, संस्कृति, कला, मनोरञ्जनमा पनि गफिने गर्दछन् । लाग्दछ, यहाँ गफिने विषयमा उनीहरु एक एक विधामा विद्याबारिधीको उपाधि पाइसकेका हुन् ।

चियाको मगमगाहटले चिया पसलले मलाई मात्र मोहित गरेको हो कि भन्ने भ्रम चिर्न आज फेरि लिस्नोबाट तल झरेर पसलमा पुग्दा देखेका जमातले मेरो भ्रमको निवारण गर्दछन् । तर आजको दृष्य फरक थियो, काला कपालदेखि सेता कपालका जमात पनि मन्त्र मुग्ध भएर गफिइ रहेका थिए ।

एकाएक मेरो ध्यान पसलको एउटा कुनामा तानियो, उमेर पाकेका पुरुष आफ्ना नाती समानका बालकलाई ‘जीवन’ पढाइ रहेका थिए । उनले बाल्यकलदेखि आजसम्मको अनुभवका विषय र यो आधुनिक समाजमा गर्नुपर्ने कर्मका बारेमा सम्झाउँदै थिए । मेरो मस्तिष्कले बालकलाई एउटा रुझेको विरालो जस्तो देख्न पुग्यो । उसको अनुहारमा प्रस्ट देखिन्थ्यो कि, यो बुढाको दिमाग पकाउने गफ कहिले सकिएला र म यहाँबाट उम्किउँ । तर मलाई भने पाका मान्छेका कुराले मनलाई आनन्द बनाइरह्यो । म भने खाँबोमा झुण्डाइ राखिएको रेडियो बाट बजिरहेको संगीतको आनन्दमा रमाए जस्दै मन्त्रमुग्ध भएर उनका शब्दहरु सुनिरहेथेँ । जसका कारण मन प्रफुल्लित भइरहेको थियो ।

मेरा अगाडि पसलमा काम गर्ने सानो केटाले चियाको कप राख्दा थोरै छचल्किएर मेरो हातमा पर्दा म झसङ्ग भएँ, मानौ कुनै रमणिय संसारको सपनाबाट ब्युझिए जस्तै । चियाको चुस्की लगाउँदै मेरो मनले एकालाप गर्न थाल्यो, पानी नमिसाइएको दूधमा चियापत्ति राखेर, थोरै चिनि मिसाएर दिएको चिया, लाग्दथ्यो म कपाकप आधुनिक दुनियाँको क्रिम घुट्क्याइरहेको छु । चियाको घुट्क्याइमा पनि बेग्लै आनन्द, विल्कुलै फरक संसारमा गएर पिइएका अमृत सरह ।

विस्तारै मानिसको जमघट कम हुँदै थयो, आज अचम्म भइरहेको थियो, किन सारा मानिसहरु आज एकाएक बाहिरिँदै छन् ? मलाई कारण खोतल्न मन पनि थिएन, पसल न हो, कोही आउन् या नआउन्, मलाई के को टनटन… यस्ता कुराहरुले मानसपटलमा द्वन्द्वको सिर्जना गरिरहेका थिए, तर म भने जानी नजानी चिया घुट्क्याउँदै थिएँ ।

साँझको मौसम, बादलका डल्लाहरु पौठाजोरी खेलेर दौडिरहेका थिए, सूर्यको मधुरो किरण पहेँलिँदै थियो । वरिपरि आँखा डुलाएँ देखेँ एउटा अजीबको मानिस । अनुहारमा बेग्लै चमक कानमा गोरखनाथका बाबाका कुण्डल, लामा कैला जटा, एउटा हातमा सल्किएको चुरोट, मुखबाट धुँवाको मुस्लो निकाल्दै पसल भित्र पदार्पण हुन्छ, लाग्दथ्यो विग्रन लागेका मोटर गाडिबाट निस्किएको धुँवा हो । विस्तारै मेरो आँखा उसलाई नियाल्न थाल्दछ र अझै थप विषय मेरा आँखामा प्रतिविम्बित हुँदै मानसपटलमा म्यासेजको फ्लो गराउँछन् ।

२५/२६ वर्षको युवा घुँडामा च्यातिएको जिन्स, कालो टिसर्ट, डक्टर मार्टिन जुत्ता, घाँटिमा रुद्राक्षको माला, सुकेका पुठो, लाग्दथ्यो कुनै सिनेमाका लागि तयार पारिएको एउटा कलाकार । पसल भित्र अर्को कुनामा राखिएको मुढा निकालेर त्यसमा ठ्यास्स बस्दै चिया र चुरोटको अर्डर गर्दछ । आफ्नै धुनमा चुरोटमा आगो सल्काउँछ र त्यसबाट धुँवाको मज्जा लिँदै मस्त हुन्छ ।

आजको बसाइमा उसलाई नहेरि आफ्नो गन्तव्य तिर लाग्ने मानिस सायदै होलान्, सबैका नजर उसमा एक पटक परेकै थियो, कारण जे सुकै होस् तर ऊ अनौठो थियो मेरा लागि पनि ।

चुरोटका धुँवालाई यसरी उडाउँदै थियो कि, मानौ प्रतिस्पर्धामा कसले कस्तो धुँवाको धुवाँदार घेरा बनाउने ? धुँवालाई गोलाकार बनाउँदै मुख गोलो पार्नेमा ऊ मस्त थियो । जब धुँवाको कलाले आकास छुने कोसिस गर्दै हुन्थ्यो, तब उसको अनुहारको चमक फेरिन्थ्यो, मनौं उसले कुनै ठूलो पुरस्कार नै पाएको छ वा संसारमा उसले कायापलट गरिरहेको छ । सायद आफैं मनमनै फुरुङ्ग हुँदै कुनै परिक्षामा पास भए जस्तै लाग्दथ्यो ।

कहिलेकाहीं उसका आँखाले पसलमा काम गर्ने केटोलाई नियालीरहेको भान हुन्थ्यो, र भयो पनि त्यस्तै । काम गर्ने केटोले देव्रे हातले सकि नसकी चियाका जुठा भाडाँ माझिरहेको देखेर होला सायद । चियाको चुस्की नसकाउँदै केटालाई बोलाएर एक हजारको नोट उसको हातमा थमाइदियो र बाँकी सबै तैँ राख भनेर ऊ आफ्नो बाटो लाग्यो । म भने अचम्म मान्दै हेरेको हे¥यै भएँ । मनमा कौतुहलता पनि नपालाएका होइनन्, किन त्यसले एक कप चिया र एक खिल्ली चुरोटको एक हजार दिएर हिँड्यो भनेर ।

मन न हो, कतै यसले नक्कली पैसा पो दियो कि भन्ने जस्तो पनि लाग्यो । एकछिन गम खाएर त्यो पसलको सानो केटालाई बोलाएर उसको बारेमा सोध्न थालेँ ।

“बाबु, के त्यो मानिस यहाँ सधैँ आउँछ ?”

“आउनुहुन्न दाइ, त्यस्तै महिनामा ५–६ पटक हो ।”

“अनि सधैँ आउँदा तिमीले हजार रुपैयाँ पाउँछौ ?”

“कहाँ पाउनु दाई, उहाँ असाध्यै दयालु हुनुहुँदो रहेछ ।”

“त्यो त मुल्ला तिमीले पैसा पाएसी दयालु त भन्दि नै परो नि, कि कसो, हा. हा. हा…” मेरो प्रतिउत्तर थियो ।

जवाफी उत्तर “तेसो होइन दाइ, यहाँ कुरो अर्कै छ । हिँजो मैले अर्काे पसलमा चिया पु¥याउन जाँदा प्लेटमा तीन कप चिया थिए, अनि लाँदा लाँदै बाटोमा ठेस लागेर चिया घप्लक्कै पोखियो । अनि हाम्रा साहुजीले रिसले आगो भएर चिया पकाउने तातो दिब्रेले मेरो ढाडमा सेकिदिनुभो । म बेस्मारी रोएँ, चिच्याएँ, धेरै पिडा पनि भयो । सोही दिन आजका दाजु पनि यहीँ हुनुहुन्थ्यो र उहाँले मलाई उपचार गराउन अस्पताल लानुभो र बाल शोषण गरेको अभियोगमा हाम्रा साहु्जीलाई मामाघर (प्रहरीको खोर) मा लगेर जाकिदिनुभो । म पनि रीसले आगो भएँ र यो काम अहिले नै छोड्छु गर्दिन भनेर हिँड्ने सुरमा थिएँ । अस्पतालमा पुगेपछि मेरो ढाडमा ५ वटा टाँका लगाइयो । उपचारको सम्पूर्ण पैसा उहाँले दिनुभयो । साहुजीको आयश्रोत यहि चिया पसल हो । यदि यो तिमीले धान्देनौ भने उनका बालबच्चाको बिजोग हुन्छ भनी उहाँले मलाई काम छोड्न दिनुभएन । म यहाँ आज सबै पसलको जिम्मेवारी सम्हालेर बसेको छु ।”

मानसपटलका द्वन्द्वमा चलेका हजारौं बुलेटहरुले मलाई  झसङ्ग बनाइदिन्छ र सोच्न बाध्य बनाउँछ, मानिस बाहिरी आवरणले होइन आचरण र भित्री आवरणले फरक हुँदो रहेछ । मानवताको परिभाषा बाहिरी आवरणले होइन भित्री मनको तत्वले दिनेरहेछ ।

प्रतिक्रिया दिनुहोस्

Array