आखेट  युगको आधुनिक संस्करण

मानव उद्विकासका विभिन्न चरणहरू पार गर्दै हामी भौतिक विकासको उच्चतम् शिखरमा आइपुगेका छौँ । यस चरणलाई मानवशास्त्री र समाजशाशास्त्रीहरु ग्लोबल भिलेज भन्न रुचाउँछन् । यो मानव उद्विकासको कति विस्मयजनक अवस्था हो भने अबको विश्वको शासन र सरकार मूलतः  टेक्नोक्र्याटहरूको हातमा गइसकेको अनुभूति हुन्छ। सूचना नै शक्ति हो भन्ने मूल आधारमा टेकेर मानव समुदायका गतिविधि र सरकार सञ्चालन प्रक्रिया अघि बढिरहेका छन् । संसार सूचना सञ्जाल र यसका अनेकन सरल , अनर्गल  र अत्यन्तै जटिल प्राविधिक पक्षहरूमा डुबुल्की मारिरहेको छ, यसबाट  डुब्ने , उत्रने र डुबुल्कीको मजा लिने सबै मानिसहरू सकारात्मक र नकारात्मक दुवै हिसाबले प्रभावित छन् । सूचनाक्रान्तिको विकास र बाढीको सम्यक र सन्तुलित विश्लेषण गर्न खोज्ने भन्दा यसबाट प्राप्त सबै खालका सूचना उल्लासित भई ग्रहण  गर्नु हाम्रो अपरिहार्य आवश्यकता बनेझैँ लाग्दछ र हाम्रोजस्तो समाजका निम्ति सूचनाक्रान्ति बाँदरका हातमा नरिवल त भएको छ नै त्यो भन्दा ज्यादा सामाजिक अनुशासनमा विशेष समस्या भएका हामीलाई सूचनाको यो सीमाहीन बाढीले खुराफाती र पटके बदमासीका निम्ति बाँदरलाई भर्‍याङ लाइदिए जस्तो भएको छ। मानिसले विकास गरेको  विज्ञान  प्रारम्भमा वस्तुतः तटस्थ देखिए पनि शक्ति , सत्ता र राजनीतिले विज्ञानको उपयोग र प्रयोगको दिशा निर्धारण गरेको हुन्छ।

आखेट युगको मूल विशेषता मानिने सिकार कर्म र खाना सङ्कलनका क्रियाकलाप मानव समुदायको अस्तित्व रक्षाको प्रश्नसँग जोडिएका थिए। सिकार गर्नुको मुख्य ध्यय आफू र आफ्नो समुदायको जीवन रक्षा गरी भोलिको सिकारयात्राका निम्ति तम्तयार रहनु थियो । भोजन सङ्कलन गर्नु , नयाँ मानव झुन्ड र कबिलासँग युद्ध गर्नु , मर्नु , मार्नु वा सम्झौता गरि आफ्नो   झुन्डमा मिलाउनु , नयाँ  ठाउँ पत्ता  लगाउनु र जङ्गली जनावरको सामना गर्दै आफ्नो अस्तित्व अगाडि बढाउनु सिकार र घुमन्ते युगका मानव झुन्डको दिनचर्या थियो। त्यस युगमा सिकार भन्नू भोजनको अर्को नाम थियो र त्यो अत्यन्तै सरल प्राकृतिक जीवनप्रणाली थियो। वास्तवमा सिकार युग छलछाम र षड्यन्त्रभन्दा परको एक आदिम मानवीय अनिवार्य क्रियाकलाप थियो जसका कारण आज हामी कम्तीमा हाम्रो अस्तित्व मानव  भन्ने प्राणीका रूपमा छामिरहेका छौँ ।  बाघ , सिंह , ब्वाँसो , स्याल , बिरालो , सर्पजस्ता कतिपय मांसाहारी जनावरहरू अर्को जीवको सिकार नगरी बाँच्न सक्दैनन् , यो उनीहरूका निम्ति एक अनिवार्य प्राकृतिक जरुरत हो , जसका कारण उनीहरू जीवित रहेर आफ्नो  अस्तित्व रक्षा गर्न सक्छन् । आधुनिक आखेट युग चाहिँ  कम्प्युटर र सूचनाका प्रविधिसँग सम्बन्धित विषय हो। हाम्रो दुनियाँ कम्प्युटर र सूचनाको अभेद्य र अपरिमेय जालोभित्र प्रवेश गरिसकेको हुनाले सिकार युगमा आफ्नै प्रजाति समेतलाई आहार बनाउन पछि नपर्ने मानव समुदाय( यद्यपि त्यो सिकार भोजनका निम्ति थियो) आज फेरि प्रविधिको सहयोग लिएर आफ्नै प्रजातिमाथि शिकारको नयाँ जाल फ्याँकिरहेको छ।  कम्प्युटर र प्रविधिको  प्रयोग  गरी मानिसहरू अपराधको यस्तो नौलो संसारमा अल्झिएका छन् , जहाँ अपराध गर्नु जोखिमपूर्ण कम र रोमान्चक ज्यादा लाग्छ। यसरी सूचना प्रविधिको दुरुपयोगबाट हुने वा गरिने अपराधलाई साइबर क्राइम भनिन्छ । यो नयाँ किसिमको मात्र नभई जटिल प्रकृतिको अपराध भएकाले यस्ता अपराधसित जुध्न सहज छैन । हाम्रो जस्तो मुलुकमा सूचनाप्रविधिसँग सम्बन्धित जनशक्ति पनि कम भएकाले यहाँ साइबर अपराध नियन्त्रण र नियमन एकदमै चुनौतीपूर्ण छ।

साइबर अपराधमा मानिसको प्रजाति मानिसकै सिकार गर्छ। कम्प्युटर प्रणाली र नेटवर्कका विभिन्न कमजोर सुरक्षा प्रणालीको फाइदा लिने ह्याकरहरू , सामाजिक सन्जालमा कसैको मानहानि गर्ने , गाली गर्ने , अश्लीलता फैलाउने , नग्न तस्बिर सेयर गर्ने , गोप्यता भङ्ग गर्नेदेखि लिएर ब्लफ कल गरेर सताउने , अरू धेरै सामाजिक र नैतिक रूपले अपाच्य र अशोभनीय सन्देश फैलाउने जस्ता काम गरेर मानिसहरू एक अर्काको सिकार गरिरहेका छन् , यसलाई कम जोखिमयुक्त  मस्ती ठानेर एकथरी समूह स्लो बिलिजरेन्ट वारमा संलग्न भएका छन् ।

मानिस किन कसैको सिकार गर्छ ?

मानव व्यवहार अध्ययनका विभिन्न पाटाहरू छन् । मानिससित जे छ त्यो उसको आदिम सोच  र प्रवृत्तिकै पुनरागमन भएकाले मानिस मूलतः सज्जन वा दुर्जन केही होइन ऊ केवल एउटा प्रवृत्ति हो भन्ने मनोविश्लेषकहरू मानव मन वासना , लालसा र कामनाको पुन्ज हो भन्नेमा विश्वास गर्छन् । यसो भएको हुँदा मान्छे अपराध गरिरहन्छ र अपराध दोहोर्‍याई रहन्छ , यो मान्छेको नियति र दुर्भाग्य हो भनेर मन बुझाइन्छ। समस्यालाई हेर्ने  यो एउटा निराशाजनक दृष्टिकोण हो, यसले हामीलाई नियतिवादी बनाउँछ। एकथरी सोसियोबायोलजिस्टहरू मानिसलाई जनावरकै विकासक्रमको एउटा कडी ठानेर मान्छेभित्र सभ्यता र बर्बरता दुवै गुण विद्यमान छन् , तसर्थ मान्छेको सभ्यतालाई अझ परिष्कृत गर्दै मानिसलाई ज्यादा मानवतत्वयुक्त बनाउनुपर्नेमा जोड दिन्छन् । एकथरी समाजशास्त्रीहरू चाहिँ  मानिस मूलतः सभ्यताको निर्माता हो , ऊ प्रगतिशील , मानवीय र सदगुणहरूले भरिएको हुँदा उसलाई सज्जनता र परोपकारिताको पाठ पढाउन सके सामाजिक अपराध कम भएर जाने कुरामा विश्वास गर्दछन् ।

हाम्रो परिवेश र हाम्रो सांस्कृतिक आधारशीला नै कमजोर भएकाले साइबरमात्र होइन जुनसुकै अपराध पनि फस्टाउने र फैलने उर्वरभूमी बनिरहेको छ। बैंक , सरकारी निकायहरू , होटल , अस्पताल , विद्यालय आदि सबै ठाउँ साइबर सुरक्षाकादृष्टिले अति सम्वेदनशील ठाउँ बन्दै गएका छन् र साइबर युगका शिकारीहरू कसैको पनि कुनै पनि अकाउन्ट ह्याक गरेर आफ्नो जालमा पारिदिन सक्छन् । यसो भएको हुनाले अनेक किसिमका झिल्के सामाजिक सन्जालमा आफ्ना जिन्दगीका सबै चिज सेयर गरेर हामी सिकारीलाई चारो छरिरहेका हुन्छौं । आवश्यक , अनावश्यक , खानेकुरा , कपडा, घर, फुलबारी , छोराछोरी , गीत, नाच , हाँसो , रुवाइ, अफिस आदि सबै चिज सेयर मात्र गर्दैनौं आफना धेरै प्राइभेट चिज कसैलाई रोमान्चक मस्तीमा बताईरहेका हुन्छौं र यिनै चिज हुन् , जसमा टेकेर यो युगको सिकारी हाम्रो सिकार गर्न हरदम हरपल दाउ हेरेर  बसिरहेको हुन्छ।  यी कुराहरूप्रती  सरकार कति सजग छ र यसका निम्ति कस्ता कानुनी प्रावधान तयार पारिरहेको छ , त्यो अर्कै पाटो भयो तर हामी यी सामाजिक सन्जालहरूमा कति असामाजिक बनिरहेका छौँ  , एक पटक ठन्डा  दिमागले सोचौं  र आखेट युगको नयाँ संस्करण सुरु नगरौं ।

Back to top button