राष्ट्रियताका  कसीमा  मिथकीय पात्रहरू

कुनै पनि मुलुकको सांस्कृतिक र  सामाजिक जीवन प्रणालीमा  त्यस मुलुकका विभिन्न धार्मिक साहित्य , परम्परा , किंवदन्ती , जनश्रुति , स्मृति आदिले महत्त्वपूर्ण भूमिका  निर्वाह गरेका हुन्छन् । परम्पराहरू सामान्यतया प्रामाणिक  रूपले  विज्ञानसम्मत हुँदैनन् , ती एउटा शिष्ट वा अशिष्ट जुनसुकै तरिकाले भए पनि सामाजिक जीवनपद्धतिका रूपमा रहेका हुन सक्दछन् । परम्परालाई समय सापेक्ष तरिकाले हेर्न सकेको खण्डमा यिनको  गुण र दुर्गुण दुबै सम्यक ढङ्गले छुट्याउन सकिन्छ। राष्ट्रियता आमजनताको भावनात्मक अभिव्यक्ति हो । राष्ट्रियताका विविध आयाम र पक्षहरू हुन्छन् । वस्तुत: राष्ट्रियता भन्नु  राष्ट्रको विविध सांस्कृतिक अभिव्यक्तिद्वारा अभिव्यक्त भावना , संकेत , भाषा , साहित्य, सौन्दर्यात्मक मानक , राष्ट्रप्रतिको प्रेम , आत्मीयता आदि तत्व अन्तर्घुलित  अवस्था हो , जो आम जनताको स्वाभाविक जीवनप्रणालीमा  मुखर भएको हुन्छ। राष्ट्रवादचाहिँ  दलीय राजनीतिको एउटा सस्तो र उत्तेजक साधन हो जसले आम नागरिकभित्र रहेको राष्ट्रियताको अविरल बग्ने नदीलाई साउने खहरेमा परिणत गराई विनाशलीला मच्चाउन प्रयोग गरिन्छ। दलीय औजारका रूपमा राष्ट्रवादले साम्प्रदायिकता , जातीय द्वन्द्व र उत्तेजनाको क्षणिक आवेगलाई पुँजीकृत  गरी राष्ट्रको सामाजिक जीवनमा साम्प्रदायिकताको विषालु बिरुवा रोप्न सिकाउँछ।

अतिशय भावुकता र विवेकरहित आवेग नेपालीहरूको आम मनोविज्ञान हो कि भन्ने पनि लाग्दछ।  अहिले हटकेक बनेको अयोध्या प्रकरणमा पनि यस्तै उत्तेजक राष्ट्रवादले काम गरेको छ। राम कुन देशका हुन्   भन्ने कुराले राष्ट्रियताका सन्दर्भमा के अर्थ राख्दछ ? यदि रामलाई वास्तवमै पूज्य भगवान् मानिएको हो भने उनको पूजा र भक्ती  गर्न चाहने उपासकहरूलाई  उनी जुन देशका भए पनि के फरक पर्छ होला र ?  खोज र अनुसन्धानले  उनी नेपालका हुन पुगे वा नेपाली टहरिए भने ठिक छ त एउटा नयाँ  र विस्मयजनक तथ्य फेला  पारिन्छ । यो हाम्रा लागि पनि आनन्दकै कुरा होला । तर हाम्रा  नेताहरूको उद्देश्य के हो ? रामको वास्तविक थलो पत्तो लगाउने कष्टसाध्य कार्य विशुद्ध प्राज्ञिक र मानवशास्त्रीय ढाँचाको मात्र हुन्छ कि ?  यसमा कति दलीय रङ दलिन्छ अनि यसको प्रयोजन सकिएपछि राम र हनुमान फेरि तपोवनमै अलपत्र  पारिने हुन्  कि तिनको फेरि उद्धार हुन्छ ?  यस्ता धेरै अप्रिय र असुविधाजनक प्रश्नहरू हाम्रा अगाडि उपस्थित हुन्छन्  तर यिनको जवाफ हाम्रा विश्वविद्यालय र बौद्धिक जगतले दिने गर्दैनन् वा दिएका छैनन् , किनभने हाम्रा विश्वविद्यालयहरू प्राज्ञिक थलो कम र भक्तिमार्गका सुयोग्य शिष्य ज्यादा हुन् ।

राम , कृष्ण , शिवलगायतका पात्रहरू ऐतिहासिक हुन् भने यिनको ऐतिहासिकता के हो ? के कस्ता प्रमाण र साक्ष्यका आधारमा यिनको ऐतिहासिकता सिद्ध हुन्छ ? यी पात्रहरूको विषयमा लेखिएका ती साहित्यहरूको अध्ययनबाट तत्कालीन समयको उत्पादन प्रणालीको आधार पत्तो लागाउन सकिन्छ कि सकिँदैन ? जस्तै रामायण लेख्ने व्यक्ती  वाल्मीकि ऐतिहासिक व्यक्ति हुन् कि होइनन् ?  हिन्दुहरूका आराध्यदेव राम नि ? महाभारतका रचयिता मानिने वेदव्यासका सन्दर्भमा पनि यस्तै प्रश्न खडा हुन्छ। विद्वानहरू महाभारत एक होइन अनेक वेदव्यासहरूले संकलन गरेका हुन् भन्ने ठान्दछन् । असजिलो प्रश्न के हो भने साहित्यमा वर्णन गरिएको विषयवस्तु , घटना , कथा र विभिन्न प्रतीकहरूको सन्जालमा प्रवेश  गरेर तिनबाट तत्कालीन युग र समयको व्यवस्था आकलन गर्नु अति कष्टकर कार्य हो। हिन्दुहरूका आस्था र मर्यादाका प्रतीक भनिएका र धेरै हदसम्म हिन्दु नेपालीका भाषिक एकताका आधार मानिएका रामलाई विशेषगरी भारत र नेपालको दलीय राजनीतिमा अमुक अमुक दलहरूले आदर्शीकरण गर्दै गैर रामावलम्बी र रामावलम्बीका बीच जस्तो प्रकारको पराइपना र अन्यताको अन्धता फैलाउने आवेग सिर्जना गरिरहेका छन् ; त्यो मूलतः राष्ट्रवादको अराजक राजनीति हो । यसले समाजको प्राकृतिक गतिशीलतालाई अराजकता प्रदान  गर्दै सामाजिक वर्गहरूबीच वैमनस्य खडा गर्दछ। यस्तो खालको राष्ट्रवादको ध्येय  राजनीतिक नै हुने गर्छ जुन आमनागरिकका निम्ति मूलतः अप्रिय हुने गर्छ। अहिले राजनीतिक वृत्तमा आआफ्नो देशको  राष्ट्रियताको पगरी  गुथाउन लागिएका पात्र  राम र उनको जन्मथलोको समस्या मिथकीय राष्ट्रवादको डिस्कोर्स मात्र होइन विभिन्न मिथकीय प्रतीक र पवित्रीकरणको जटिल सांस्कृतिक सन्जालमा बाँधिएर आफ्नो जीवनपद्धतिमा मर्यादापुरुषोत्तम श्रीराम खोजिरहेका   हिन्दुहरूको आवेगशील  राष्ट्रियतामाथि उत्तेजनाको प्रवेग थप्न खोजिएको हो। पौराणिक पात्रहरूको मानवशास्त्रीय र पुरातात्त्विक खोज / अनुसन्धान बिल्कुलै प्राज्ञिक कर्म हो , यी र यस्ता अन्वेषण त बुद्धिजीवी र विश्वविद्यालयको मात्र होइन रुचि र चाख हुने सबैले गर्न सक्छन् । यसमा कसैको विमती हुने कुरा पनि भएन । यद्यपि आफ्नो कुत्सित अभिष्ट पूर्तिका निम्ति कसैको आस्थाको धरोहरमाथि प्रहार गरिनु चाहिँ  सम्बन्धित समुदायका निमित्त असह्य हुन सक्दछ।

पुराणहरूमा वर्णित सुर , असुर , देव , राक्षस , अवतार , ऋषि , दास र अन्य प्राणीहरू वास्तवमा को हुन्  ? पुराण रचयिताका कल्पना र  साहित्यिक उत्पादन मात्र हुन्  कि युग र परिवेशानुसार तिनको वस्तुपरक व्याख्या गर्न सकिन्छ ? पौराणिक पात्रहरू आदरणीय र आदर्शवान अवश्यै  होलान् तर आदर्शहरू पनि युगानुकुल बदलिँदै जान्छन् ? हाम्रा धर्मग्रन्थहरू सदैव आलोचनामुक्त र महान् मात्र भैरहन्छ्न् कि यिनको अध्ययन , अनुसन्धान , परिशीलन र विश्लेषण पनि गर्न मिल्छ ? के हाम्रा धर्मग्रन्थहरूको सुसंगत अध्ययन गर्दा हामी पश्चिमी देशहरूका एजेन्डा बोक्ने एजेन्ट ठहरिन्छौँ  र ? उहिले पश्चिमका उपनिवेशी शासकहरूका विद्वानले हिन्दुग्रन्थको अनुवाद गर्दा  के आधारमा गरे ? ती  प्रामाणिक छन् कि छैनन् ? हाम्रा ग्रन्थहरूको भाषान्तर हुँदा ग्रन्थमा भएका कुरा ठिक ढंगले  प्रसारित भए कि भएनन् ? यी सवालहरूको सही जवाफ प्राप्त गर्न पनि हाम्रा ग्रन्थहरूको खोजिनिती  त गरै पर्छ ।

हाम्रा राष्ट्रिय विभूतिको सूचीमा पर्न सफल आदर्श नारी सीताको प्रसङ्ग पनि यहाँ सान्दर्भिक हुन्छ। सीताका सम्बन्धमा पनि हामीले केही असुबिधाजनक प्रश्नहरूको सामना गर्नुपर्ने हुनसक्छ। सीता को हुन् ? उनी ऐतिहासिक पात्र हुन्  कि कविको सिर्जना ? उनलाई त हिन्दुहरू भगवती वा देवीको रूपमा पूजा गर्छन् । आस्था हुनेहरूका निम्ति यो  बिल्कुलै साधारण कुरा हो तर उनलाई राष्ट्रिय विभूति मानिएको छ , यसको आधार के हो ? अथवा भनौं  कुनै पनि देशको राष्ट्रिय विभूति हुने योग्यता के हो ? सीताका सम्बन्धमा एउटा प्रश्न सधैं उठिरहन्छ , त्यो के हो भने : राष्ट्रको जीवनमा असाधारण योगदान पुर्‍याउने व्यक्ति जो साहित्य , समाजसेवा , विकास निर्माण , विज्ञान , प्रविधि , अर्थतन्त्र , राजनीति जुनसुकै क्षेत्रमा कृयाशील हुन सक्तछ र राष्ट्रिय जीवनमा महत्त्वपूर्ण योगदान गर्दछ  भने उक्त व्यक्ति राष्ट्रको गहना हो र राष्ट्रिय विभूति यसैको उच्चतम सोपान हो । सीताले हाम्रो देशलाई दिएको त्यस्तो विशिष्ट योगदान के हो ? उनले के त्यस्तो काम गरिन्  जो आजसम्म  पनि हाम्रा मनमस्तिष्कमा अजर अमर छन् ? के पुराण वा अन्य कुनै पुस्तकमा वर्णन गरिएको पात्र पनि कुनै देशको विभूती हुने योग्यता राख्दछ ? कुनै धर्मको आदर्श पात्र , जसलाई मानव होइन भगवान मानिन्छ , त्यस्तो पात्र पनि राष्ट्रिय विभूती   हुन्छ  भने हामी धेरै असजिलो अवस्थामा पुग्दछौँ  र यसबाट थुप्रै  प्रश्नहरू पैदा हुन्छन् ।  बौद्धिकहरूले गर्ने काम दलीय व्यवस्थाका अधकल्चा लोकभन्जकहरूले गर्न थालेपछि लोकमा अलौकिकताको सिर्जना त हुन्न नै लौकिक पद्धतिमा दरारहरू उत्पन्न हुन्छन् ।17

Back to top button