हिउँदका यी चिसा रातहरूको
उच्चाटलाग्दो पर्खाइपछि
भोलिको बिहानी सुन्दर हुन नपाउँदै
घाम तन्नेरी हुनु अघि नै
धर्तीमा मिर्मिरे खस्नै नपाई
उसलाई खेत , खलियान र बुट्यानहरूले डाकिसकेका हुन्छन् !
ती चराचुरुङ्गी र सप्तरङ्गी फूलबारीले
निम्त्याइसकेका हुन्छन् !
झुलिरहेका बाली
खेतका आली र सुनाखरीले
बाबरी र चमेलीले सम्झाइरहन्छ्न
सताइरहन्छ्न !
यो सताउनुसँग पनि पिरती गाँसिन्छ उसको
यो सम्झनुसँग पनि अतिथि निम्तिन्छ उसको
आरुका फूल सँगै फुल्ने उसका सपनाका फूलहरू
सयपत्री सँगै फक्रने उसका खुसीहरू
एक ढक्की टिपेर लगिदिनु छ
एक पिँडी लिपेर राखिदिनु छ ।
न्याउली रुँदा मेरो मन रुन्छ
नरोए है न्याउली
पसिना र तिर्खाको साइनो
जून र जुनेलीको शीतलता
पैँयुका रूखले सम्झाइरहने तीतो अतीत
व्यस्तता र मिहिनेतले जोगाएका
चौपाया , पखेरू र मानिस
अनि तिनका सन्तान र दरसन्तानहरू
एक टुक्रा खुसी
अनि
एक धर्सो मुस्कुराउनु
डोको डालो र कोदालोले हातमा ठेला उठाउनु
समय नपुगी सेताम्मे हुन लागेका
उसका सुनकेस्रा जुल्फी देखेर
मलाई अनायास रुन मन लाग्छ।
तँ घुम्दा मेरो मन घुम्छ
नघुमे है सप्तकोशी !
मखमली बैंसले कानैमा आएर सुसेल्दा पनि
जोर पैँयुका बोटहरूले सग्लो पिरती लाइसक्दा पनि
पसिनै मात्र बगाइरहने
असिनै मात्र टिपिरहने
ए मेरी सङ्गीनी
तिम्रो जोबन कता गयो ?
तिम्रो यौवन कता गयो ?
सल्लाघारीको सल्लो सुसाउँदा
उसकै सुस्केरा सुनेझैँ लाग्छ।
तँ सुसाउँदा मेरो मन सुक्छ
नसुसाए है सल्लाघारी !
प्रतिक्रिया दिनुहोस्