अन्तर्राष्ट्रिय साहित्यको कुम्भ मेला

अन्तर्राष्ट्रिय साहित्यको कुम्भ मेला

विगत केही वर्षदेखि नेपालमा साहित्यिक महोत्सवहरु निरन्तर भइरहेका छन् । साहित्यको क्षेत्रमा भइरहेका गतिविधिलाई देखाउन यस्ता महोत्सवहरु आवश्यक हुन्छन् । यसले नेपालको साहित्यिक क्षेत्र कुन स्थानमा छ र साहित्यले कस्ता विषयलाई समेटिरहेको छ भन्ने पनि थाहा पाउन सजिलो हुन्छ ।

तर, नेपालमा विगतमा भइरहेका साहित्यिक महोत्सवहरुले उल्लेख्य मात्रामा विदेशी साहित्यकारहरुलाई समेट्न नसकिरहेको परिप्रेक्ष्यमा एउटा नयाँ प्रयोगको रुपमा यही आउँदो पुष ११, १२ र १३ गते नेशनल कलेज फर हाइयर एजुकेशन धुम्बाराहीले एउटा अन्तर्राष्ट्रिय साहित्यिक महोत्सवको आयोजना गर्दै छ ।

विगतदेखि वर्तमानसम्म कुनै पनि यस्ता कार्यक्रम नभएको र पहिलो पटक देशको राजधानी काठमाडौँमा फरक भाषाहरू, फरक संस्कृति एवं परम्परा, फरक फरक कला र अनुभूति, विचार एवं भावनाको प्रस्तुतिलाई एउटै साझा मञ्च प्रदान गरी नेपाली साहित्य तथा अन्य विभिन्न विदेशी साहित्यका बीचमा अन्तरक्रिया, छलफल, आदानप्रदान तथा सम्पर्क स्थापनाको लागि मद्दत पुग्ने गरी यस अन्तर्राष्ट्रिय साहित्य महोत्सव गर्न लागिएको अन्तर्राष्ट्रिय साहित्य महोत्सव २०१९ का संयोजक भीष्म उप्रेती बताउँछन् ।

महोत्सवले प्राज्ञिक वर्ग, साहित्यक वर्ग तथा विद्यार्थी वर्गमा समेत सकारात्मक सोच, सकारात्मक विचार एवं मानवीयताको अभिवृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ । त्यस्तै यस्ता कार्यक्रमले साहित्यिक निधिलाई पुस्तान्तरण गर्न समेत सहयोग पुग्ने विश्वास गरिएको संयोजक उप्रेती बताउँछन् ।

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजना गर्न लागिएको यस तीन दिने कार्यक्रममा नेपाल लगायत भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का, कम्बोडिया, हङकङ, कोरिया र अष्ट्रेलियाका कवि÷ लेखकहरूको सहभागिता रहनेछ । यस कुम्भ मेलामा कवि÷लेखकहरूले कवितावाचन, गद्य वाचन गर्नेछन् ।

नेपालमा भइरहेका साहित्यिक महोत्सव भन्दा तपाइहरु के फरक गर्दैहुनुहुन्छ भन्ने विषयमा उप्रेती भन्छन्– ‘नेपालमा केही लिटरेचर फेस्टिबलहरु हुन्छन् भइराखेकै छन्, फाइनप्रिन्टले गरिराखेको छ । त्यो भन्दा हामी दुई–तीन वटा अर्थमा फरक गर्दैछौं ।’

पहिलो, यो इन्टरनेशनल लिटरेचर फेस्टिबल हो । यसमा विभिन्न ९ देशका करिव २२ भन्दा बढी साहित्य अनुरागीहरुको सहभागिता रहनेछ । र, उनिहरु आफ्नै खर्चमा साहित्यिक क्षेत्रका आयामहरुलाई नेपालमा चिनाउन आउँदैछन् ।

दोस्रो, दुईवटा विषयमा प्यानल छलफल गराउने जसमा ‘महिला लेखन ः के यो पर्खाललाई भत्काउन पर्याप्त छ ?’ भन्ने र ‘आजको साहित्यले समाजलाई कसरी लेखिरहेको छ ?’ भन्ने विषय रहेका छन् । समाजलाई लेखनले कसरी बोकी राखेको छ, आफ्नो लेखनमा कसरी ल्याइरहेको छ ? त्यो पर्याप्त छ ? वा छैन ? भन्ने विषयमा छलफल हुन्छ । महिलाहरुको लेखनको बारेमा नेपाली एक जना र विदेशको दुई जना लेखकलाई राखेर छलफल गराउने, जसमा लेखाइमा आउने बारबन्देजहरुलाई केलाउने प्रयास गरिनेछ । र, भएका छेकबारलाई कसरी तोड्ने भन्ने विषयमा छलफल हुनेछ ।

तेस्रो, जसको नाम कसैले सुनेको छैनन्, त्यस्ता युवाहरुलाई लेखकको रुपमा ल्याउने, जो भर्खर पढिरहेका छन्, १० देखि १२ जना सम्मलाई उनिहरुका कविता वाचन गर्नको लागि एउटा स्थान दिन्छौं । त्यसबाट अहिलेका युवाहरु के सोच्छन् ? के लेख्छन् ? उनिहरुका सपना, समस्या, असन्तुष्टि, इच्छाहरु के हुन् भन्ने आउँछ । यसबाट कोही साँच्चैको राम्रो लेखक निस्कियो र निरन्तर लेख्दै गयो भने भविष्यमा स्थापित लेखक बन्नको लागि प्रेरणा पनि हुन्छ भन्ने सोच छ  । यस्तो खालको सेसन म स्वयम् सहभागि भएको कुनै पनि फेस्टिबलहरुमा देखेको छैन ।’

विभिन्न देशका विभिन्न शहरहरुमा लिटरेचर, कल्चरका फेस्टिबलहरु हुन्छन् । जसले मानिसहरुमा भावना भर्ने काम गर्छ । संवेदना बनाउने खालका मानिसहरुको जमात समाजमा बढ्ने हो भने समाजमा हुने विकृतिहरु घट्छन् भन्ने मान्यता छ त्यसैले पनि यस्ता महोत्सवहरु हाम्रा शहरमा निरन्तर हुनुुपर्छ ।

यस्ता फेस्टिबलले सभ्यताको समेत निर्माण गर्न मद्दत गर्दछ । ललितकला भित्र साहित्य, संगीत, फाइन आर्ट लगायत प्रस्तर कला पनि छन् । यी सबै विषयहरु समाजका सांस्कृतिक पक्ष हुन् जसले सभ्यताको निर्माण गर्छ । सभ्यताको निर्माणसँगै अर्थहरुको पनि निर्माण हुन्छ । शब्दहरुको निर्माणभन्दा पनि अर्थहरुको निर्माण र खोजि गर्ने कार्य हुन्छ र निर्माण गरेको अर्थलाई बचाउन र पुस्तान्तरण गर्न यस्ता खाले महोत्सवले मद्दत गर्दछ ।

कसैले पेन्टिङ बनाएर राखिदिएको छ भने त्यो पेन्टिङ आउने पुस्ताले हेर्न सक्छन्, त्यसले आफ्नो संस्कृति र परम्परालाई बुझाउन मदत पनि गर्दछ । कतिपय नराम्रा विषयहरु परिमार्जन हुँदै जान्छन् । परिवर्तनलाई समेट्दै लगेर सभ्यता बनाउने, अर्थहरुको सिर्जना गर्ने कामहरु पनि गर्छ । यस्ता कामहरु बौद्धिक हुन्छन् ।

हाम्रो समाज विग्रह हुँदै गइरहेको परिवेश छ, जहाँ आफ्नोपन छैन, पश्चिमाहरुको पनि दुरुस्त नक्कल गर्न सकेको छैन जसले दोधारको अवस्था सिर्जना गर्छ । यस्तो अवस्थामा राजधानी शहरमा अन्तर्राष्ट्रिय स्तरको साहित्यिक महोत्सव हुनु समाजको लागि राम्रो सन्देश जानु पनि हो ।

यस्ता फेस्टिबलहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ब्रान्ड बनाएर लग्न सकियो र प्रत्येक वर्ष काठमाडौंमा यस्तो हुन्छ भन्ने सन्देश अन्तर्राष्ट्रिय जगतमा गयो भने त्यसले काठमाडौं शहर तथा लिटरेचरको एउटा नाम रहन्छ । अन्र्तक्रिया गर्ने, छलफल गर्ने, आफ्ना विषयहरु आदान प्रदान गर्ने थलो बन्छ । जसले सिक्ने र सिकाउने पनि काम पनि गर्छ । अन्तर्राष्ट्रिय स्तरका लेखकहरु एकै थलोमा बस्दा एकले अर्कोबाट सिक्ने अवसर पनि पाउँछन् ।

तपाइलाई यस्तो कार्यक्रम गर्नुपर्छ भन्ने सोच कहाँबाट आयो भन्ने प्रश्नमा कार्यक्रम संयोजक उप्रेती भन्छन्– ‘यो काम आफ्नो रुचिको क्षेत्र भएको हुनाले गरेर हेरौं, कस्तो हुँदो रहेछ भन्ने लागेर व्यक्तिगत हिसावले सोचेको हो । साहित्य भनेको परम्परा, सोच र संस्कारबाट बन्छ । सभ्यताको निर्माण संस्कृतिबाट नै हुन्छ । महोत्सवमा साहित्यका कृतिहरु अनुवाद हुँदा त्यसले समग्र विश्वलाई कसरी जोड्छ र शान्तीलाई कसरी प्रवद्र्धन गर्छ भन्ने विषयमा ‘कि नोट’ पढ्छौं । यस्तो ढङ्गले कार्यक्रम चलाउन पाए समाजलाई केही अर्थमा सहयोग गर्न सकिन्छ भन्ने लागेर यो गर्न लागिएको हो ।’

कार्यक्रमको पहिलो दिन बेलुका सांस्कृतिक कार्यक्रम पनि समावेश भएको यस महोत्सवमा तीन वटा नाच र नेपाली लोक गीतका धुनहरु बज्नेछन् । नेपालको संस्कृति विदेशी माझ देखाउने यो उत्तम अबसर पनि हुनेछ ।

कार्यक्रममा देखाइने नाचहरु किन र कुन सन्दर्भमा देखाइन्छ भन्ने प्रष्ट पारेर मात्र बज्रयोगिनी, कुमारी र मञ्जुश्री नाच देखाउने कार्यक्रम रहेको छ । विदेशी पाहुनाहरुलाई काठमाडौंको धार्मिक तथा साँस्कृतिक महत्वका स्थानहरुको समेत भ्रमण गराइने संयोज उप्रेती बताउँछन् ।

भारत, भुटान, बंगलादेश, श्रीलंका, कम्बोडिया, हङकङ, कोरिया, अष्ट्रेलिया र  अमेरिकाका लेखकहरुको सहभागिता रहने यस कार्यक्रममा नेपालका ४५ भन्दा बढी लेखकहरुको महोत्सवमा प्रत्यक्ष सहभागिता रहनेछ । साहित्यको यस कुम्भ मेलामा नेशनल कलेज लगायत विभिन्न कलेजका करिब १० जना भन्दा बढी युवा लेखकहरुको प्रत्यक्ष सहभागिता हुनेछ ।

काठमाडौँको एलिस रिसेप्सन, गैरीधारामा आयोजना हुने अन्तर्राष्ट्रिय साहित्य महोत्सवलाई नेपाल टुरिज्म बोर्ड, प्रभू बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट बैंक लि. ग्लोबल आइएमई बैंक लि., सानिमा बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडले सहयोग गरेका छन् भने नेशनल कलेजका विद्यार्थीहरूको सांस्कृतिक नृत्य तथा लोकधुनको प्रस्तुति पौष ११ गतेको साँझ कलेजकको सभाकक्ष धुम्बाराहीमा गर्नेछन् ।

Back to top button