समय सम्बन्ध र सपना

समय सम्बन्ध र सपना

गुड मर्निङ,

कति ढिलो हो के रिप्लाई पनि ।

उनको गुड मर्निङको जवाफ मैले हल्का तितो पोख्दै दिएँ । उनलाई मैले झण्डै १२ घण्टा अघि उक्त मेसेज पठाएको थिएँ । मेरो सुत्ने समय १० बज्नु केही मिनेट अघि मात्र । उनले ‘सिन’ पनि नगरेपछि दिक्क मान्दै निदाउनुको विकल्प थिएन् । किनकि सधैँ बोल्नै पाईन्छ भन्ने छैन भन्ने कुराको हेक्का यो मनलाई राम्रोसँग छ । विहान छिट्टै निस्केको म, कत्ति मेसेज आईरहेका थिए, कसैलाई रिप्लाई दिन भ्याईन, जम्मा दुई दिनको बसाइ छ यहाँ, न्युयोर्क पुरै घुम्न परेन? ह्वारह्वारती आएका उनका मेसेजमा ‘स्याडवाला’ ईमोजी  रियाक्ट गरेँ । किन स्याड  ईमोजी ? एँग्री वाला ईमोजी आयो ।

अरू औपचारिकताका कुरा नगरी ‘ओके गुड नाईट’ दर्शाएँ । मेरो ईन्ष्टामा हेर, सबै फोटोहरू पोस्ट गर्छु । मेरो गुडनाईट मेसेज वास्तै नगरी आएको मेसेजले केही उत्साहित बनायो । घुमघाम कस्तो रह्यो त ? औपचारिकताको लागि सोधे ? ठीकै भो तिम्लाई अलिअलि मिस गरेँ, मेरो मन हलुको भयो । ह्याप्पी वाला ईमोजी पठाएँ । आज त छुट्टी के छ प्लान ? उनको मेसेजको जवाफमा केही छैन अब तिम्रो ईन्ष्टाको फोटो हेर्दै बस्नि , स्माईली वाला ईमोजी सहित पठाएँ । यत्तिकैमा कुराकानी रोकियो ।

केही क्षणपछि, तिमी अमेरिका गएपछि म आफुलाई अपुर्ण महसुस गरिराछु, टाईप गरिसकेको मेसेज डिलिट गरेँ । यस्ता कुरा उनलाई पच्दैन थाहा छ मलाई ।

बाहिर घाम चर्किदै छ । जेठको महिना ३–४ दिन पानी नपरेकोले ह्वात्तै गर्मी बढेको छ । मन न खुसी छ न दुखी छ । न मज्जैले हाँस्ने वाहना भेटाएको छ न मज्जैले रूने ।

उनको ईन्ष्टा चिहाउन थाले, टन्नै फोटोहरू ‘अपलोडेड’ थिए  । धेरै जसोमा क्याप्सन । फोटोहरू हेर्दै गएँ । ‘कायाकिङ ईन हडसन् रिभर, स्टेटन आईल्याण्ड फेरि, मेनह्याटन सिटी सिन, स्ट्याचु अफ लिबर्टी, ब्रुकलिन ब्रिज ,सेन्ट्रल पार्क,आर्ट ग्यालरीज,हाईलाईन यस्तै ठाउँहरूका नाम जोडिएका  क्याप्सन सहितका केही फोटोहरू अनि केही भिडियो क्लिप्स हेर्न भ्याएँ । हरेक फोटोमा उनी धपक्कै बलेकी देखिन्थिन । मान्छे राम्री त्यसमाथी ठाउँ राम्रो । फोटो नराम्रो हुने कुरै भएन् । तिमीलाई त्यहीँ सुहाउँछ बस्न । नेपाल नफर्के कै जाति । उतैको ग्रीनकार्ड लिएर बसेको जाती ।मनैमनै सोचेँ । सँगै आवेदन दिएपनि मेरो मात्र रिजेक्ट  भएको तितो अनुभवले छाती पोल्यो । अमेरिका भन्दा पनि  उनलाई गुमाउदै छु भन्ने कुराको भित्री दवावले पिल्सिदै थिएँ । उनी सँगै एउटै अफिसमा  काम गरिरहेको  म उनी गए देखि बेचैन छु । उनी सँगै बोलीरहन, जिस्किरहन मन पराउने म उनी गए पछि साच्चिकै अपुरो भएको छु । ईन्ष्टाका फोटा पुन दोहोराएर हेर्न थाल्छु, उनी सँगै गरेको त्रिशुलीको र्याफ््िटङ सम्झिन्छु,फेवातालको बोटिङ ,दश मिनेट लगाएर पार गरेको महाकाली पुल ,गोदावरी पार्कमा पिकनिङमा नाचेको नाच,आँखाभरी घुम्न थाल्छन्।

भोली बोलौला है,हामी टाईम्स स्क्वायर घुम्न जान लागेको ।केही बेरमा आएको मेसेज ,भारी बनेर आयो। तिमी ,निक्की र निकेश जान लाग्या हो?  मैले सोधेँ।निर्मल पनि हुनुहुन्छ ।को निर्मल हो ? जिज्ञासा मेट्न तुरून्त मेसेज गरिहाँले ।तिमी पुरै फोटो हेरेनौ हो ? मैले क्याप्सनमा पनि लेखेकी छु।हेर फेरि ?जेलस हुन नपाई नि फेरि ,स्माईली वाला ईमोजि सहित जवाफ फर्काई ।मिल्यो भने टाईम्स स्क्वायरबाट लाईभ आउछु नि …ओके ह्याव फन , भनेर विदा भएँ ।

उता टाईम्स स्क्वायर ,यता मलाई दरवार स्क्वायर जाने भुत चढ्यो एक्कासी । अफिसमा परिचय भएको दोश्रो दिन नै निसुसँग  त्यहाँ पुगेको थिएँ । एउटा रूफटप क्याफेमा खाजा खाईसकेर फर्किदा बाटोमा अकस्मात भोमिटिङ भयो ,त्यो समयमा उनको अनुहारमा बदलिएको रङ छ वर्ष वितिसक्दा  पनि याद  छ।सायद मिल्ने भए उनले नै भोमिट गर्दिन्थिन् होला।उनले उक्त दिन गरेको केयरले म उनी प्रति प्रभावित भएँ।छ वर्ष एउटै अफिसमा काम गरियो।समयले अहिले दुरीगत हिसाबले टाढा बनाएको छ। यो दुरी निशुको लागि मजवुरी बन्ने लगभग पक्का छ। उनको त्यहाँको वैधानिक बसाइँका लागि उनले दिएको ‘निर्मल’ वाला  हिन्ट्स छातीमा विजाउदै छ।

दरवार स्क्वायर जाने एकाएक मुड बन्यो ,उनी टाईम्स स्क्वायरमा रमाउन ,म दरवार स्क्वायर निरको रूफटप क्याफेमा टोलाउँछु । हार्ड ड्रिङ्स सहितको भोमिटिङको कल्पना गर्दै दरबार स्क्वायर रूफटप क्याफे तिर लागेँ ।

Back to top button