शर्मा जी , गुफा अनि लुतो

शर्मा जी , गुफा अनि लुतो

दुर्गम गाउँ बाट परिवारको ऋणको भारी हलुको पार्ने जीम्बेवारी बोकेर शहर पसेका लक्का जवान केटा थिए शर्मा जी उतिबेला । ५ फिट ५ इन्च अग्ला, गोरो बर्णका, चटक्क परेका मान्छे छन् शर्मा जी आजकल । उमेरले ३० औं बसन्त कट्दा पनि दारी कपाल चटक्क छाँटे भने २४ का देखिन्छन् उनी । उनको न्वारन दोश्रो पल्ट गर्ने क्रममा पुर्बेली जेठोले खैनी चपाउँदै , ल आजबाट तिमी शर्मा जी भनी देखुन्, उनी शर्मा जीको नामले परिचित छन् । उनको वास्तविक नाम उमाशंकर  थियो। उमाशंकर ,परिवारको आश थियो । उनी स्कुलमा सधै उत्कृष्ट ठहरिन्थे । कथा , कबिता लेख्न , गीत गाउन उसलाई कसैले भेट्दैन थियो ।

गाउँबाट शहर पस्दा उनको थाप्लोमा जति ठुलो भारि पुड्के साहुको ऋणको थियो त्यो भन्दा धेरै ठुलो भारि उनी स्वयम्को धेरै धेरै पढेर चस्मा लगाउने मास्टर बन्ने सपनाको थियो ।१२ किलास गाउमै तेस्रो श्रेणीमा खलास पारेका उन्लाइ काठमाडौंको बाकि जीन्दगी झकास हुन्छ भन्नेमा एक रत्ति पनि सन्का थियन ।उनी जो सङ्ग सङै बस्न भनि काठमाडौं पसेका थिय उनको नाम गाउँमा सिद्दार्थ थियो र शहरमा सिड ,जस्ट सिड । सिड दाजुले पहिलै दिन उमाशंकरको जनै चामलको धोक्रो को मुख बान्ने डोरि बनाइदिय । दोश्रो दिन ब्रोइलर को मासु सङै टुच्च सोमरस पिलाइ दिय । सोमरस को हल्का मात पछि उमाशंकरले मन मनै सोचे ‘साला यो हो नि जीन्दगी , मां कस्सम अब म खतरै मान्छे बन्ने भय । ट्वाइलेटको ऐना हेर्दा उन्लाइ लाग्यो ‘ म अब सिनेमाको हिरो बन्छु। हिरो बन्छु अनि हिरोनिको मोइ र गुन्डाहरुको सात्तो खान्छु।

उनलाई त्यो बेला के थाहा, हरेसको स्वाद कस्तो हुन्छ । वर्ष बित्यो तर उनले न राम्रो जागिर पाए , न क्याम्पसको नै राम्रो सङ्ग धाप । जागिर छाडौं भने गरिविले बाँच्न नदिने, पढाइ छोडौं सपनाले धिक्कार्ने । गाउँका पुड्के साहुको ऋणको ब्याज हलक्कै बढेर उनको बुवाको टुप्पी डुबाइ सकेको थियो । शर्मा जी शहर छिरेपछि एकपल्ट गाउँ फर्के, आमा पिलपिलाइन ,बा सुक्सुकाए । उनी घर पुगेको दोश्रो दिन पुड्के साहुका दुई लामघारे सेना आए र शर्मा जीको सातो खाए । उनले खाइ नखाइ जम्मा पारेको केही रकम उनीहरुलाई बुझाए । शहरको दुःखको रामकहानी बा–आमालाई सुनाए । घर पुगेको तेश्रो दिन फर्केर शहर आए । साहुको ऋण तिर्ने धन हुन्थ्यो भने उनलाई शहर फर्कने मन थिएन । ‘सीड’ दाजु  पुटु पुटु पैसा टिप्न रुख भएको देशतिर हानिए । शर्मा जी एक्लो परे, एक्लो शर्मा जी काठमाडौंको अर्को भित्तो डेरा सरे । ‘सीड’ दाजुले उनलाई धेरै सङ्ग परिचित गराएका थिए । देवकोटा, शम, भुपि, नारायण गोपाल आदि आदि । उनीहरुनै थिए शर्मा जी का परम मित्र ।  शर्मा जी उनीहरुसङ्ग निक्कै नजिक थिए । उनीहरुकै सङ्गतले बिस्तारै आफ्ना कथा व्यथा लेख्ने भए । यसरी लेख्दा उनको थाप्लोको ऋणको भारि नघटे पनि मनको भारि भने निक्कै हलुको हुन्थ्यो । ‘असफलताको नायक हुँ म’ भन्ने शर्मा जीले सफल हुने प्रयास नगरेका भने होइनन् । फेरि २/४ ठाउँ जागिर खाए, हरेक ठाउँको जागिर एक शब्दका भेटेनन्, ती दुइ शब्द ‘जा’ र ‘गिर’ मिलेर बनेका थिए । २/४ ठाउँ नराम्रो सँगै ‘गिरी’  सकेपछि यसरी हुन्न, अब केही गर्नुपर्छ भन्ने सोच राख्दै एउटा सानो व्यापार सुरु गरे, एउटा सानो झोलाको त्यो पनि एक झोला ऋण खोजेर । व्यापार फाप्यो शर्मा जी लाई, ‘व्यापार गरे अपार हुँदोरहेछ’ भन्थे शर्मा जी । फेरि शर्मा जीको दारी कपाल चुटुक्क छाड्ने दिन आए ।

विहान सखारै उठेर उनैले लेखेको गीत गुनगुनाउँदै पसल सफा गर्थे । होटेलमा दुइ थाल मासु भात लतार्थे, दिनभर पसलमा माथिबाट कम तलबाट अनगिन्ती डकार्थे । त्यस प्रकारको डकारको अमिलो गन्ध अगरबत्तिको सुवासमा समाहित भएर बिलाउँथे । मुसुक्क मुस्कुराएर मात्र बोल्ने शर्मा जीको कपडा पसलमा १५ माथि ३० तलका स्त्रीहरुको राम्रो आवत–जावत थियो । कपडा हेर्ने बहाना पार्दै शर्माजीलाई हेर्न आउनेहरुको सङ्ख्या पनि बाक्लै थियो । यस्तै बहाना पारेर आउने मध्येबाट एउटी प्रेमिका पनि फेला परेका थिए शर्मा जीका लागि । शर्मा जीकी …मोनु ’ अस्पतालमा बिरामीलाई सुइ दिन्थिन् , अनि शर्मा जीका झुसे गालामा मुइ दिन्थिन् । पुड्के साहुको मुखमा दुइ पेटि पैसा हिर्काइ सकेपछि तालुबाट सर्लक्कै झरेर कम्मर सम्म आइपुगेको थियो साहु । त्यसपछि शर्मा जी बेलुका पसल बन्द गरेर चटक्क परेर ट्याक्सी चढेर कैले यो कैले त्यो रोधीघर । रोधी घरमा आफैंले लेखेका लोक दोहोरी गाउँथे । वियर र तरुनिमा पैसा उठाउँथे । यस अवस्थामा झन्डै दुई वर्ष विताएका शर्मा जीको जीन्दगीमा ठूलो भुइचालो बनेर दुइ डाक्टरहरु आए । एक डाक्टर प्रधानमन्त्री भएर आए र शर्मा जीको पसल रोडमा गिराए । अर्का डाक्टर जार बनेर आए, उनको प्रेमिकालाई डोली चढाएर सपनाको देश अमेरिका पु¥याए । केही बाँकी रहेन उनको । न मनको भारी बिसाउने प्रेमिका रहिन्, न ऋणको भारी घटाउने व्यापार नै रह्यो । दुई डक्टर यस्तो भयानक रोग दिएर गए । शर्मा जी हरेक नारी जातीसँग तर्सन भए । मुसुक्क हाँसेर बोल्न बिर्सने भए ।

३ बर्ष पहिले मेरो पनि केहि होला ,कोही होला भन्ने शर्मा जीको सपना २ बर्ष बिपना भए त्यस्पछी मुटुको घाउ बनेर रहे । उनको जीबनका दुइ अति नै प्यारा चीजहरुको साथ छुट्दा त्यति गाह्रो भएन । जती गाह्रो रित्तो खल्तीले गर्दा भयो । धन चुम्मक रैछ , धन हुनजेल सबै वर पर झुम्मन्थे फलाम जस्तै । जब धन सक्कियो शर्मा जीको अलौकिक चुम्बकिय शक्ती पनि एका एक बिलिन भयो । तीन बर्ष अगाडि भविष्यमा बाँच्दथे शर्मा जी , सपना देख्दथे,  चाहना राख्दथे । २ बर्ष बर्तमानमा बांचे ,सपना बिपना एउटै थियो, चाहना यथार्थ उस्तै थियो । अब उनीसँग बिगत सम्झिएर बाच्नु पर्ने हबिगत मात्र बाँकी थियो । उनी बुज्दै थिए , खल्तीमा रुपैया पैसा नहुनु भन्दा मान्छेसँग देख्नको लागि सपना नहुनु र सोच्नको लागि  चाहना नहुनु निक्कै ठुलो रोग रैछ । एक्लो भएका थिए शर्मा जी ।  न टेक्ने ठाउँ थियो , न समौने हाँगो ।

शर्मा जीको जीन्दगीको ‘जहाज’अन्धकार आँसुको समुन्द्रमा डुब्दै गर्दा सानु नाउ खियाउदै  उनका एक मित्र देखा परे । शर्मा जीले जीन्दगीमा पहिलो पल्ट भगवान देखे, त्यस बेला । शर्मा जी ती मित्र सँग यती रोए, यती रोए ती मित्रले पनि उनको रुवाइको भाकामा भाका मिलाए र बलिन्द्र धारा झारिरहे आँखामा आँखा मिलाए । अब त्यही मित्रको गुफा उपनाम पायको कोठा उनको मुख लुकौने र आसुका धारा बगाउँने साक्षी भयो ।गुफा यती धेरै अन्धकार थियो कि त्यति अन्धकार त शर्मा जीको बर्तमान पनि थिएन । ७ रितु आउथे जान्थे तर गुफालाई सुर्यको एक झल्को नसिब हुँदैन थियो ।  गुफा वाला मित्र पनि लगभग दोश्रो शर्मा जी  थियो एक्लो । अनि असफल। ‘जस्ता लाई त्यस्तै ढिडो लाई निस्तै’ भन्दै रुन्चे हाँसो हाँस्थे शर्मा जी । शर्मा जी भन्थे,  मान्छेको सपनालाई बेहोसीको रोग लाग्दो रैछ ।  बेलामा नै सोचेन भने सपना मर्दो रैछ, अनि बाँकी हुदो रैछ त केबल पश्चात्तापको पहाड । अब त्यस पहाड लाई फोर्न आशाको बज्र खोज्नु छ ।

गुफाको पल्लो खाटमा पल्टेका शर्मा जी पटक्कै निदाउन सक्दैनथे,कहिले गाउँ सम्झन्थे ।
“आफ्नै गाउँ कसरी जाउँ ? बदनाम छ नाउँ, बिरानो ठाउँ, कसरी जाउँ ? अपरिचित गाउँ ।”
कहिले प्रेमिका सम्झन्थे
“गयौ टाढा त के भयौ ? सँधै यो मन को कुनामा रह्यौ, कहिल्यै नथाक्ने घाउ भयौ ।”
यता खाटमा उत्तानो परेका दोश्रा शर्मा जी  सबै सुन्थे र भन्थे तिमी लेख मित्र आफ्नु बेदना लेख , पिडा लेख पोख, आफ्ना सबै मनको बेथा | लेखाइ नै हो तिम्रो पश्चात्तापको पहाड भत्काउने बज्र ।

गुफा दुइ जनाको मात्रै बासस्थान थिएन । त्यहाँ एउटा डुकुरे मुसो पनि बस्थ्यो , दिनभर कहाँ जान्थ्यो थाहा थिएन , राती केबलको तार हुदै लुसुक्क पस्थ्यो ।गर्मिमा लाम्खुट्टेको राजधानी थियो गुफा । अनि साङ्लो र उडुसको रेस लगाउने खेल मैदान ।शर्मा जी गुफाबाट बहिर निस्कदा सदा मुख माक्सले ढाक्थे , उनी ३ बर्ष गाउँ पनि गएनन । कैले काहि दुइ भाइ मदिरा पिउथे । मदिराले माते पछि शर्मा जी दोश्रो शर्मा जी लाइ सुनाउथे ‘साला यो गुफाबाट बिरालो जस्तो लुसुक्क निस्कनु छैन । म एक दिन यो गुफा बाट सिंह जस्तो गर्जदै निस्कने छु र त्यो गर्जन पुरा सहरले सुन्ने छ ‘। सिंह बनेर गर्जने सोचेका शर्मा जी लाइ त्यसै ताका लुतो आयो । खर्याक खर्याक लुतो कन्याउथे , ऊ परै लुतोको औषधी गनाउथे । भन्थे लुतो र माया उस्तै रैछ, लुतो कन्याउन्जेल आनन्द, माया लगाउन्जेल आनन्द्, लुतोले छोड्यो शरिरमा टाटा, मायाले छोड्यो मनमा खाटा ।शर्मा जीको लुतो उनको परम मित्र बनेको थियो । कहिले यता कन्याउथे, कहिले उता कन्याउथे , कहिले माथि कन्याउथे,  त कहिले तल कन्याउथे  । भन्थे – कन्याउदा कन्याउदै समय बितेको पत्तो नहुदो रैछ । मानसिक पिडा हुनेलाई लुतो त बर्दान रैछ , दिमागले लामो सोच्नै नपाउने, चिलायसि कन्न्यौनै पर्‍यो । लुतो दोश्रा शर्मा जी लाइ पनि सर्यो । अब दुइ भाइ दोहोरी खेल्थे खर्याक खर्याक– खर्याक गर्दै एउटाले प्रश्न गर्थ्यो र उस्तै खर्याक खर्याकमा अर्कोले जवाफ दिन्थ्यो ।

यिनै अनिँदो रात र खर्याक खर्याकका बिच शर्मा जी ले लेखेका लघु कथाहरुले एक प्रचलित पत्रिकामा राम्रो ठाउँ पायो । छ्क्क पर्दथे उनको कथा बारे पढ्नेहरुको प्रतिकृया पढेर । उनले लेखेका दुइ गीत रेकर्ड पनि भए र तीन लघुकथाले लघु चलचित्रको रुप पाए ।शर्मा जी को शरिर लाई लुतोका टाटाहरुले बिर्सदै गए । उनी मोनु याद हरुलाई नसम्झने भए । यसै क्रममा लुते शर्मा जीले अन्धकार गुफामा बसेर लेखेका लेखको एक प्रसंशक उनको जीवनमा प्रेमिका बनेर आइन । उनैसङ्ग शर्मा जी ले  लगन गाठो कसे र गुफा छोडेर अन्तै बसे । उनका परम मित्र पनि सुन्दर सपना बोकेर लाहुर पसे ।

अब शर्मा जी सँग देख्नको लागि सपना पनि छ, रमाउनको लागि बर्तमान पनि छ अनि लेख्नको लागि बिगत पनि । उनको न खल्ती रित्तो छ, न मन । राम्रो जमेका छन् शर्मा जी लेखनमा आजकल शर्मा जी को नयाँ उपन्यास  ‘मैले भागवन देखे’ आउदै छ भन्ने सुनिन्छ । पुड्के साहुलाइ पैसाले पुरिदिए पछि उनको परिवार ऋणको भारि बाट मुक्त भइसकेको छ । उनी सिनेमाको हिरो बनेर हिरोनि को मोइ र गुन्डाको सात्तो खान त सकेनन तर थुप्रै चलचित्र हरु लेखेर अरुलाइ त्यस्तो मौका दिए ।
कहिले काही सोच्छु  शर्मा जी गुफामा आउदैन थिए भने कहाँ जान्थे ? उनलाई लुतो आउदैन थियो भने के हुन्थे ? लाग्छ जीन्दगीमा जे हुन्छ राम्रैको लागि हुन्छ |  सम्योग हो जीन्दगी, त्यस्तै एक सम्योग हो ‘शर्मा जी , गुफा अनि लुतो |

Back to top button