स्वर्ग वासी, नर्क वासी

स्वर्ग वासी, नर्क वासी

नेपालीमा एउटा उखान छ । ‘नमरी स्वर्ग देखिँदैन’ यो उखान जसले चलायो, ऊ विदेश गएको थिएन, यो कुरा पक्का हो । तपाइ नमरी स्वर्ग देख्नचाहनुहुन्छ भने विदेश बस्नुस् र नेपाल हेर्नुस् ।

म ताम्लो कुम्लो बाँधेर विदेशिनै लाग्दा मेरो प्रिय मित्रले भनेको थियो । ‘तैले नमरी स्वर्ग र नर्क दुवै देख्नेछस् ।’ तर मैले पैसा पैसा फल्ने रुख भएको देशलाई स्वर्ग सम्झेको थिएँ । नर्कवासी भएको ११३२ औं दिन आइ पुग्दा मेरा मित्रले त्यसबेला के भनेका थिए, छर्लङ्ग सबै बुझेको छु ।

आज स्वदेश जाँदैछु । मेरो गाउँ जाँदैछु । मैले जन्मेदेखि नै लिएर आएको शरीरले पहिलोपल्ट धर्ती टेकेको र श्रृष्टि देखेको ठाउँ जाँदैछु । जसरी ताम्लो कुम्लो बोकेर विदेशिएको थिएँ, आज त्यसैगरी स्वदेशिँदै छु । यो पचास डिग्रीवाला नर्क छोडेर आमाको न्यानो मायाँले भरिएको स्वर्ग जाँदैछु । यस्तै यस्तै कुराले तरङ्गित मेरो मन बोकेर एक भिमकाय एयरपोर्ट पुगेँ । जताहेर्यो टिलिक्क छ, झिलिमिलि छ तर रमाइलो छैन । जुनचिज आफ्नो होइन, त्यो चिज राम्रो त लाग्ला तर प्यारो लाग्दैन । मलाई त्यस्तै लाग्यो, त्यो भिमकाय एयरपोर्ट ।

खचाखच मानिस थिए, संसार भरी जस्ता जस्ता रुप रङ्गका मानिस छन्, त्यस्ता त्यस्ता मानिसहरु आ–आफ्नै तालमा थिए । कुन हवाइजहाज कता जान्छ र कति बजे जान्छ ? भन्ने इंगित गर्ने ठूलो टिभिको अगाडि पुग्दा, म जस्तो रुप रङ्ग भएका थुप्रै मानिसहरुको जमात देखेँ । आफन्त भेटिए जस्तो भयो । परिचय आदान प्रदान गर्ने क्रममा थाहा भयो, कोही पुर्वेली थिए कोही पश्चिमेली । तर समग्रमा सबै नेपाली । उनिहरुको पनि मेरो जस्तै हँसिलो अनुहारमा खुसी नाचिरहेको थियो ।

करिव दुई घण्टाको पर्खाइपछि बल्ल तल्ल हवाइजहाज भित्र छिरियो । सोेचेँ, यो एक अलौकिक हवाइजहाज हो । जसले थुप्रै जीवित स्वर्गबासीहरुलाई नर्क र थुप्रै नर्कवासीहरुलाई स्वर्ग पुर्याउँछ । स्वर्ग हिँडेका नेपालीहरु कोही पचास डिग्रीको घामले डढेका त कोही एसीका हावाले बढेका थिए ।

करिव तीन सय मानिस अटाउने हवाइजहाजमा आधाभन्दा धेरै नेपाली थिए । बाँकीका मान्छेहरुको रुप रङ्ग र बोल्ने ढङ्ग नेपालीको जस्तो थिएन । तिनै मध्येको एक मेरो सँगै सिटमा आएर बस्यो । उसले बस्नासाथ म तर्फ हातबढाउँदै आफु एक अमेरिकी भएको परिचय दियो । अमेरिकी पछाडि उसको अर्को परिचय थियो –‘फोटोग्राफर ।’ म नेपाली कामदार ।

तीन पटक नेपाल घुमिसकेको उसले, थुप्रै बेवसाइट र पत्रपत्रिकाहरुकोलागि फोटो खिच्ने गरेको उसले बतायो ।

खैरो कपाल भएका मान्छे देख्नासाथ पाट्ट पुट्ट अंग्रेजी बोल्ने नेपालीहरुले हत्त न पत्त गरिहाल्ने प्रश्न मैले पनि ऊ सँग गरेँ ।‘हाउ इज नेपाल’ जवाफ थियो, ‘नेपाल इज हेभन।’ उसको जवाफ सुनेर झन्डै झन्डै मेरा आँखाबाट हामफाल्नै लागेका मेरा आँसुहरु रोक्दै फेरी प्रश्न गरेँ ‘त्यसो भए यो हवाइजहाज स्वर्ग जाँदैछ ?’ ‘हो, र म तेस्रो चोटी स्वर्ग जाँदैछु’ उसले मुस्कुराउँदै जवाफ फर्कायो ।

म केहीबेर टोलाएँ । ऊ पहिलो विश्वको मान्छे, मेरो देश तीन पटक घुमिसक्यो । ऊ मेरै देशको फोटो खिचेको भरमा राम्रो आम्दानी गर्छ । म केही पैसाको लागि त्यो नर्कमा शेखहरुको गुलामी गर्छु । कत्ति फरक छ !  उस्तै उमेर भएका ऊ पहिलो विश्व र म तेस्रोविश्वको युवा । ‘के को बारेका फोटोग्राफी गर्छस्?’ मैलेसोधेँ–‘यो पल्ट जलवायु परिवर्तनको विषयमा गर्दैछु । जुन तेरो देशको हिमाली क्षेत्रहरुमा स्पष्ट देखिन्छ ।’

‘अंग्रेजी त राम्रै बोल्दो रहेछस्, कति पढेको छस् ?’ उसले प्रश्न गर्यो । ‘मैले अंग्रेजी साहित्यमा मास्टर्स गरेको छु ।’ उसले अचम्मित हुँद भन्यो, ‘म त जम्मा हाइस्कुल पास । कसरी तँ र म मा यत्रो फरक छ ?’ उसले फेरी प्रश्न गर्यो । ऊ नम्र हुँदै थियो, म उग्र हुँदै थिएँ । तेरो जस्ता छाला भएका मानिसहरुले डिजाइन गरेको यस संसारमा मेरा जस्ता छाला हुनेहरुले जत्ति गरे पनि केही हुँदैन । तेरो पैसा बलियो छ, तेरो भाषा विश्वव्यापी छ, ऊ सुनिरह्यो ।

सडकमा भिखारीहरुले कचौरामा चिल्लर उफार्दै भिख मागिरहेजस्तै गरी स्वर्ग जस्तो देशका शासकहरुले तेरो जस्तो देशसँग भिख मागिरहन्छन् ।

दुःख गरेर आफ्नै माटोमा केही उब्जाउनु भन्दा रुवाबासी गर्दै माग्न असाध्यै सजिलो लाग्छ उनिहरुलाई । तँ भिख दिनेको सन्तान, म भिख माग्नेको सन्तान । अनि हुँदैन त फरक । ऊ चुप भयो ।

केहीबेर पछि ऊ बोल्यो ‘जे भएपनि सारा संसार घुमिसकेपछि यही नेपालको कुनै कुनामा जीवन विताउने मन छ । जहाँबाट माथि हेर्दा हिमाल र तल नदी देखियोस् ।’ उसको चाहना र मेरो वास्तविकता एउटै थियो । मेरो घरबाट माथि गौरीशंकर  र तल सुनकोसी देखिन्छ ।

गफाडी रहेछस्, मैले हाँस्दै भनेँ । सपनाहरु पुरा नहुन्जेल गफै त हो नि । उसले भन्यो – केहीबेर पछि उ निदायो ।

म आफ्नो स्वर्ग जस्तो गाउँ कस्तो भयो होला ? अमृत जस्तो पानी आउने पँधेरो कस्तो भयो होला ? सोच्दै दिमागभरी परिकल्पनाका चित्र कोर्न व्यस्त भएँ । त्यो भिमकाय एयरपोर्ट छोडेको लगभग चार घण्टा बादलहरुको माथिपट्टि उडिरहेको हवाइजहाज अब बादलभन्दा तल थियो । झ्यालबाट ऊ पर सेता हाँसिरहेका हिउँचुली देखिए । ल स्वर्ग लोक आइपुगेछ, मन मनै सोचेँ, मनमनै हाँसेँ । अनि मन मनै रोएँ ।

अब देखिएका बादल आफ्नो जस्तो लाग्यो । जहाँ उड्दै छु, त्यो आकास आफ्नो जस्तो लाग्यो । मेरो नाकहुँदै फोक्सोसम्म पुग्ने हावा आफ्नो जस्तो लाग्यो । विस्तारै हवाइजहाज तल झर्दै थियो । हवाइजहाज भित्रका नेपालीहरुको अनुहारमा चमक बढ्दै थियो । अब झ्यालबाट स्वयम्भू देखियो । मेरो सिटको बाँयापट्टि बसेका पूर्वेली जेठादाइ आँखाभरी आँसुभर्दै मतिर हेर्दैबोले –“राज भाइ हाम्रो स्वर्ग आइपुग्यो ।” म हाँसेमात्रै, बोल्न सकिन ।

हवाइजहाजका परिचारिकाले सीटबेल्ट कस्न र नआत्तीकन बस्न अह्राइन । ज्याक ब्युँझियो र सोध्यो– ‘तलाइ डर लागिरहेको छ ?’ मरे पनि स्वर्ग, बाँचेपनि स्वर्ग अनि डर के को ? मैले उल्टो प्रश्न गरेँ र ऊ हो त है भन्दै फिस्स हाँस्यो ।  अघिसम्म उडिरहेको हवाइजहाज, ठूलो आवाज निकालेर केहीबेर हल्लिएपछि गुड्न थाल्यो । सबैले लामो स्वास फेरे । हवाइजहाजको आवाज गुन्जियो, सन्सारको एक सुन्दर नेपालमा तपाइलाई स्वागत छ । धन्यावाद ।

स्वर्ग छोडेको ११३२ औं दिन पछि मेरा पाइलाले फेरी स्वर्गको माटोमा टेक्यो । हवाइजहाजबाट झर्नासाथ दुई घुँडा टेकेर एक पश्चिमेली दाजुले नेपाल आमालाई माथाले ढोगे । र, बरररर आँसु झारे । त्यो देख्दा प्राय सबै नेपालीहरुको आँखा रसाए ।

स्वर्गको पहरेदारहरुले हामी नर्कका कामदारहरुलाई दोश्रो दर्जाको तुच्छ व्यवहार गरे । खाली कितावका पानाहरुमा डिस्क्रिमिनेसन पढेको मैले आफ्नै देशमा पहिलो पल्ट डिस्क्रिमिनेसन भोगेँ । यो भन्दा ठिक चार घण्टा पहिले म एक भिमकाय आलिसान एयरपोर्टमा थिएँ । जो मलाई आफ्नो लागेको थिएन । तर त्यहाँ मैले यस्तो व्यवहार भोग्नु परेको पनि थिएन । यहाँ अति साधारण तर प्यारो लाग्ने एयरपोर्टमा म लगायत सबैले ‘पराइ’ व्यवहार खेप्नु परेको थियो । अनेक झमेला पछि म बल्ल तल्ल बाहिर निस्केँ । जे हेर्यो, जता हेर्यो, जो हेर्यो आफ्नो । यीनै आफ्नाका भिडमा मैले मेरो लङ्गौटिया यार् लाई देखेँ । ऊ त झन् आफ्नो । ‘न मरी बाँचे, कालले साँचे’ भन्दै छुट्टिएका हामी दुवैलाई कालले साँचेकोमा मनमनै यमराजलाई धन्यवाद टक्र्याएँ । ‘कस्तो भयो त केटा, नर्क देखि स्वर्गको यात्रा ?’ उसले सोध्यो । ‘अद्भुत ।’

मसँगै नर्क देखि स्वर्गको यात्रा गरेका सबैसँग विदा मागेँ । ज्याकले उसको कार्ड मलाई थमायो र हरियो प्लेटको सानदार गाडिमा छिर्यो । मेरो यार् ट्याक्सी लिन अघि बढ्यो । म मेरा सामान कुरेरै बसेँ । ट्याक्सी चालक दाजुले आफुलाई मिटरमा जाँदा फाइदा नहुने कुरा बारम्बार भट्याइरहे । र, यो देशका मालिकहरु त तपाइ–हामी जस्ताको रगत चुस्ने परजीवि रहेछन् भनी नयाँ नयाँ उदाहरण पेश गरीरहे । साथी दाजुसँग गफ गर्न व्यस्त भयो । मैले बा को मोवाइलमा फोन गरेँ । आफु नेपाल आइसकेको जानकारी दिएँ । र, भोली घर आउँछु भन्दै फोन काटेँ ।

रात अबेरसम्म हामी दुई भाई आ–आफ्ना व्यथा ओकल्नमा तल्लिन रह्यौंँ । उसलाई नर्कमा राती सँगै कुरा गरेर सुतेको साथी जो उसको प्रेमीकालाई लभ लेटर लेखेर मलाई सुनाएर पल्लो खाटमा सुतेको थियो, विहान ऊ उठेन । उसको मृत घोप्टो परेको शरीर पुलिसले पल्टाउँदा उसको लभ लेटर गुजुमुजु परेको थियो । पोस्टमार्टमले उसको हर्ट एट्याएक भएको भन्ने रिपोर्ट देखाएपछि मात्र मलाई पुलिसले छाडेको थियो । त्यो गुजुमुजु कागज सुसाइट नोट नभएर उसको प्रेमीका प्रतिका मनका भावहरु थिए ।

ह्यान्डक्यारीबाट उक्त प्रेम पत्र निकालेर साथीलाई देखाएँ । ऊ दुई लाइन पढेर बरबरी रुन थाल्यो । म भन्दै गएँ –‘पर्सा जिल्ला वाला राजमोहन दाजुलाइ कसरी फिल्मि पारामा गाडिले ठोक्यो र उनी ठाउँको ठाउँ स्वर्गे भए । उनको हातमा श्रीमतीलाई पैसा पठाएको रातो कागज थियो । उनी स्वर्गे भएको केही क्षणमानै हमारी गुड्डुले पैसा पाएँ भन्दै गरेको फोनको जवाफ मैले कसरी दिएँ उसलाई सुनाए ।’

यी दुई त आफ्नै आँखा अगाडि भोगेको घटनाहरु मात्र थिए । हरेक हप्ता जस्तो यस्ता घटनाहरु नर्क लोकमा भइनै रहन्थे । कहिलेकाही त लाग्दथ्यो – त्यहाँ पुगेका नेपालीहरुको आँसु र पसिना जसरी झर्थ्यो, त्यसरी त्यो मरुभूमीमा आकाशबाट पानी झर्थ्यो भने नेपालमा जस्तै हरियाली हुन्थ्यो होला !

पीडा, धोका, अभाव, आँसु, विछोड भन्दा अर्को खाले नियति कसैको थिएन, त्यस ठाउँमा । मेरो धर्ती सम्झेर म हरेक रात रुने गर्थेँ । तैले भनेजस्तै साथी । मैले नमरी नर्क र स्वर्ग दुवै देखेँ । अब मरेर काल्पनिक नर्क नै पुगिएछ भने पनि म आफ्नै वास्तविक स्वर्गमा मर्छु ।

Back to top button