खासाबाट काठमाडौं रेल चल्छ रे

खोज पत्र
खोज पत्र १२ श्रावण २०७६, आईतवार ०६:००
7 Min Read
Aa

म कक्षा ४ मा पढ्थेँ । घरबाट स्कुल ३ किलोमिटर टाढा पर्दथ्यो । मेरो गाउँ सकिना साथ शुरु हुन्थ्यो घना जंगल । करिब आधाजस्तो बाटो त्यहि जँगलमा पथ्र्यो । घना जँगलमा बाघ के नहोस् ! एकपल्ट त आँपैmले देखेको छु । तर बाघ सानो थियो । माइलो दाइको त्यत्रो ठूलो गाइ यत्रो जाबो बाघले कसरी खायो होला ? थाह पाएँ गाउँका ठूला मान्छेहरु सब गफ लाउँदा रहेछन् यत्रो र उत्रो बाघ देखेँ भनेर । पछि थाह पाएँ कि हाम्रो जंगलमा के खाएर बाघ हुनु, त्यो त चितुवा रहेछ ।

बाघको डरले गाउँका सबै केटा केटी सँगै स्कुल जाने र आउने गथ्र्यौँ । अलिकति सम्झना भए अनुसार एक दिन कान्छा काकाले भनेको ‘अब चाँडै खासाबाट काठमाडौँ रेल चल्छ रे । बिचबाट रेल, दुइतिर  फुलबारी ।’ उत्सुक हुँदै मैले सोधेको थिएँ–

‘सानु काका त्यो रेल खाडिचौर आउँछ कि आउँदैन ?’

‘किन नआउनु, अहिले गाडि चल्ने बाटोको कुनाबाट कुद्छ रे त्यो रेल ।’

काकाले यसो भन्दा म दङ्ग परेँ । सधैँ भविष्यमा जिरी रोडको बसको डाइभर बन्छु भन्ने चाहना, अब खासाबाट खाँडिचौरहुँदै कुद्ने रेलको डाइभर बन्छु भन्ने भयो ।

पाँच कक्षामा पढ्दा बा–आमाले दिन रात मिहिनेत गरेर लामुसाँघु–जिरी सडकको एक कान्लोमाथि घर बनाउनु भएको थियो । अब स्कुल जान–आउन  जंगलको सानो चितुवाको डर थिएन । बरु बाटोमा चल्ने ठूला गाडिहरुको डर थियो । कैले रोडै रोडै हिँडेर, कहिले गाडिको पछाडि झुण्डिएर स्कुल जाने आउने क्रममा मैले रेलको डाइभर हुने सपना बिर्सिएको थिएँ ।

कक्षा ७÷८ तिर पढ्दा होला माथ्लाघरको श्यामश्वेत टिभिमा मैले मेरो जीवनमा पहिलो चोटि रेल देखेँ –  हिन्दी चलचित्र ‘दिलवाले दुल्हनिया ले जाएंगे’ मा । तीन घण्टा लामो फिल्ममा दुइ थरिको रेल देखेँ । एउटा चटक्क परेको र अर्काे धुवाँको मुश्लो फाल्दै ट्वाँ ट्वाँ कराउने घिनलाग्दो । एक पल्ट फेरी मेरो बाल्यकालमा रेल आयो । सोचेँ खासादेखि काठमाडौँ चल्ने रेल कस्तो होला ? स्वीजरल्याण्डको जस्तो चिटिक्क परेको रेल कि भारतको जस्तो धुवाँ उडाउने अनुहार मासिएको रेल । मनमा कौतुहलता बाँकि नै थियो । त्यसै राति सोचेँ खासाबाट काठमाडौँ जाने रेल पक्का बाह्रबिसेसम्म त आइपुग्यो होला ।

त्यसैताका गाउँका सबै मिलेर तातो पानी नुहाउन जाने कुरा चल्यो । म जति खुशी शायद अरु कोहि नहुँदो हो । म दङ्ग थिएँ, अब बाह्रबिसेदेखि तातोपानीसम्म रेल देखिन्छ । आमाले तातोपानी आयो उठ् भनेपछि बल्ला निद्राबाट म झल्यास्स ब्युझिँए ।

अहो ! रेल, हत्त न पत्त ओर्लिएँ । यता उता हेरेँ,  छेउमा घर थिए, तल खोला थियो, माथि भिर थियो तर रेल थिएन । कसैसँग सोधिन, किनकी रेलको डाइभर बन्छु भन्दा ठूला दाइहरुले हाँसोको पात्र जो बनाएका थिए । उनीहरुले गिज्याउँदै भनेका थिए, रेलको डाइभर त हुँदैन । तातोपानीमा नुहाउँदा आत्था पोल्यो भन्न हुँदैन भनेका थिए सबैले । तर मैले मन मनै कत्ति भनेँ भनेँ । नुहाएर खासा गइयो । त्यस बेला थाह भयो कि रेल त खासामा पनि आइपुगेको थिएन । साह्रै नरमाइलो लाग्यो । स्वीजरल्याण्डको जस्तो नसकेपनि कम्तिमा भारतको जस्तो मात्र भए पनि खासामा रेल देख्ने इच्छा इच्छामा मात्रै सिमित रह्यो ।

एस एल सी पास गरेँ  । पढेर ठूलो मान्छे बन्ने अभिलाषा बोकेर स्वीजरल्याण्ड सरकारले बनाइदिएको आठ किलोमिटर रोड अनि चाइना सरकारले बनाइदिएको ७८ किलोमिटर रोडमा भारतको टाटा कम्पनीले बनाएको बस चढी झल्झली गाउँ सम्झिँदै गुड्दै काठमाडौँ आएँ । चार कक्षा पढ्दा आउने भनेको रेल नआइपुग्दै, म थुप्रै सपना बोकेर काठमाडौँ आइपुगेँ ।

आँखा अगाडि रेल हेर्ने सपना ११ कक्षाको जाडो बिदामा सानो हजुरआमाको घर सिमरा गएको तेश्रो दिन पुरा भयो । रामचन्द्र काकाले ‘ल हिँड् केटा रक्सौल, रेल हेर्न जाम्’ भनेर मोटरसाइकलको पछाडि चढाएर लानुभो । काकाले मितेरी पुल कट्नासाथ ‘ल विदेश आइस् केटा’ भनेपछि साह्रै नरमाइलो महशुस गरेँ । रक्सौलको रेल प्लाटफर्म यति फोहोर थियो कि के भन्ने । जता ततै मान्छे अनि मान्छेका मलमुत्र । रेल पनि त्यहि कालो धुवाँ उडाउदै ट्वाँ ट्वाँ गर्दै कुद्ने अनुहार मासिएको रेल । भित्र डब्बामा चढेँ, त्यस्तै फोहोर । लाग्यो यस्तो रेल मेरो देशमा आउनु भन्दा त नआएकै ठीक ।

‘अरु कालो रेलको धुवाँले म त कालो छाता हजुर अढ्दै नओढ्नाले’ भन्ने गीतले के भन्या होला जस्तो लाग्थ्यो, त्यस बेला थाहा पाएँ । रेलबाट झर्ने अनि चढ्ने कोहि गोरा थिएनन् ।

म ११ कक्षामा पढ्दा वर्तमान कालको वाक्य जयनगरबाट जनकपुरसम्म रेल चल्छ भन्ने वाक्य आज आउँदा अगाडि भविष्यत कालमा नभइ भुतकालतिर पछाडि फर्केर जयनगरबाट जनकपुरसम्म रेल चल्थ्यो भन्नेमा परिवर्तन भइसकेको छ ।

विद्यालय पढ्दा देखि आजसम्म थुप्रै अंग्रेजी फिल्ममा चटक्क परेका रेल देखेको छु । जापानमा चल्ने सिन्कान्चेन रेलको बारेमा पनि जानकार छु । जापान गएको साथीले ‘चढेको छु’ भन्दा डाडिएको पनि छु । मलाई थाह छ १२०० किलोमिटर प्रतिघण्टा कुद्ने इलन मस्कको महत्वाकांक्षी योजना हाइपर लुक के हो । भारतको मेट्रो रेल कुद्छ त्यो पनि थाह छ । पहिलो पल्ट ११ वर्ष अघि देखेको रक्सोलको प्लाटफर्ममा फेरी टेकेको पनि छु । पछिल्लो पटक जस्तो जताततै मलमुत्र थिएन । सफा थियो प्ल्याटफर्म । रेलभित्र चढेर हेरेँ । रेल पनि सफा थियो । अब रेलको ट्र्याकमा बिछ्याएको काठ हाम्रो देशबाट लगेका त हुन् नि भनी गर्व लाग्न छोडिसक्यो ।

नेपालको सिमाबाट ५०० मिटर जति अगाडि चल्ने रेलको ट्वाँ ट्वाँ आवाज रातको समयमा विरगंजबाट सुनेको पनि छु । उता उत्तरतिर सन् २००८ मा चाइनाले उसको झाङ्मु र नेपालको खासासम्म रेल ल्याइदिन्छु भनेको कुरा पनि सुनेको थिएँ ।

सानो छँदा ठोकर्पाबाट चेहरे झर्ने कच्ची सडकमा गाडी चढ्दा मेरी आमाले ठूलो स्वरमा राम राम भन्दा सबै हाँसेका थिए । हिजो आज खाडीचौरबाट घर जाँदा होस् वा घरबाट खाडी चौरी झर्दा रामको नाम म पनि जप्छु तर मनमनै । कठै मेरो रेल चढ्ने सपना अर्थको खेलले व्यर्थ बनाइदियो ।

प्रतिक्रिया दिनुहोस्

Array